इतिहासको पानाबाट योगमाया

के.वी. मसाल
मंसिर १२, २०७९

नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगसाधनामा संलग्न, निस्वार्थ, तपस्विनी अनुकरणीय महिला योगमाया हुन् । उनले ले सुशासन र सत्यका पक्षमा आवाज उठाएर गरेको सामाजिक रुपान्तरणका कार्य महिला अधिकारका बारेमा आवाज उठाउँदै आएका संघ/संस्थाहरुले खोज्नुपर्ने भएको छ । योगमायाले बाल विवाह, बहुविवाह र सती प्रथाको अन्त्य, विधवा विवाहलाई मान्यता दिएर प्रोत्साहन तथा नारी शोषणको अन्त्यका लागि सामाजिक सुधारका पक्षमा योगदान पु¥याएकी थिइन् । योगमायाले आफ्नो जीवनमा समाजका विकृतिहरुलाई हटाउन समय खर्चिइन् । राणा शासनको समय त्यसबेलाको त्यो सत्य घटना आज एकादेशको दन्त्य कथा जस्तो लाग्न सक्छ ।

सतीप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्धा योगमायाको जन्म वि.सं १९१७ मा भोजपुरको षडानन्द १ नेपाले डाँडामा भएको थियो । समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर निकाल्ने क्रममा सतीप्रथा, छुवाछुत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेकी थिइन् । उनले समाधि लिएको ठाउँ षडानन्द ६ को मझुवाबेंसीमा पर्दछ । योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारी हुन् । बूढी औंठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशु कवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न सक्ने र जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सक्थिन् । जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्ने योगमाया तीक्ष्ण प्रतिभाशाली थिइन् । उनी त्यतिबेला जन्मेकी थिइन् जुन बेला नारीले रजस्वला हुनु अघि नै वैवाहिक जीवनमा बाधिनुपथ्र्यो । त्यसैअनुरुप योगमायालाई पाँचै वर्षमा उनका बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाले कन्यादान रामहरि कोइरालालाई गरिदिएका थिए । तर योगमायाको बिहे भएको दुई वर्षमा पति रामहरिको मृत्यु भएको थियो । ७ वर्षीया योगमायाका लागि रामहरि कोइरालाको मरण कुनै पीडादायक विषय बनेन, बाल मस्तिष्कले कुरा बुझेकै थिएन । त्यसैले उनी फेरि आफ्नै बालक्रिडामा नै मिसिन थालिन् ।

दिन बित्दै गयो, योगमायामाथि अनेक सामाजिक कुसंस्कारका बज्र ठोक्किन थाले । कतिसम्म भने तत्कालीन समाजबाट प्राप्त अपमान, घृणा र तिरष्कारका पीडाले उनको शरीर भरिन पुग्यो । अलच्छिनी र पोई टोकुवा जस्ता लाञ्छना समाजले उनलाई लगाउन थाल्यो । किशोरावस्थामा हँुदै जाँदा गाउँको एउटा युवकप्रतिको आकर्षण उनको दिनचर्यामा अनुवाद हुन थाल्यो । अनि गाउँकै प्रजापति डोटेल जैसीसित भागेर उनी आसाम पुगिन् । यी दम्पतीबाट एउटी छोरी नैनकलाको जन्म भयो । केही वर्षपछि आफ्ना गाउँमा पुराण लगाउने हल्ला योगमायाले सुनिन् । त्यसपछि डोटेल दम्पती छोरी च्यापेर पुराणस्थल पुगे । जनकलाल शर्माको जोसमनी सन्त परम्परा र नेपाली साहित्य नामक ग्रन्थमा लेखिएअनुसार पुराणको प्रसंग थियो,परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा नर्कको यातना भोग्नुपर्छ । यत्तिकैमा पुराणको अर्को प्रसंग आयो । यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ ।

योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन् । पुराणको कथाले योगमायाको मन चिराचिरा भयो । त्यसपछि उनले आफ्ना पति प्रजापति डोटेलसँग यसबारे छलफल गरिन् । अनि यिनीहरुले एकअर्कामा छुट्टिएर बस्ने निर्णय गरे । त्यसबेला योगमायाकी छोरी नैनकलाचाहिँ योगमायासँगै बस्ने सहमति पनि भयो । योगमायाले आफ्नो हृदयान्तरको बिस्फोट पोख्न छाडिनन् । त्यसैले उनले कवितामार्फत् पीडा पोख्न थालिन् । आमाका शब्द एक–एक गमेर नैनकलाले आफ्नो मन मस्तिष्कको कम्प्युटरमा राख्ने गर्थिन् । वास्तवमा योगमाया जति कविता भन्थिन्, नैनकला त्यति नै कण्ठस्थ पार्थिन् । आमा योगमाया र छोरी नैनकला दुवै निरक्षर थिए ।

योगमाया पश्चिम नेपालको प्युठानमा पर्ने स्वर्गद्वारी पुगिन् । उनी स्वर्गद्वारी गएताका स्वर्गद्वारीका महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन् । त्यही प्रभावले उनी पनि महाप्रभुका साथ सत्सँगमा समर्पित भइन् । योगमायाको आचरणले महाप्रभु पनि प्रसन्न बने । त्यसैले उनी महाप्रभुबाट दीक्षित पनि भइन् । अनेक साधना गरेर योगमायाले वर्षसम्म स्वर्गद्वारीको गुफामै बसेर साधना गरिन् । पछि योगमायाले जाडो दिनमा आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनासमेत गरिनन् । गर्मी महिनामा धुनी जगाएर आगाको रापसँगै उनले कठोर साधना कर्म पनि गरिन् । उनलाई न जाडो हुन्थ्यो, न गमी । वास्तवमा उनले एउटा विशेष ईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् । कतिसम्म भने कुनै कुनै बिरामीलाई उनी आवश्यकताअनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन् । सर्पले डसेर मरणासन्न मान्छेलाई पनि उनले झारफुक गरेकै भरमा निको पारिदिन्थिन् ।

योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन् भने अर्कोतिर राणा शासनले जनतामा आतंकित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन् । सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्याय निसाफ पाऊन् र शोषणरहित समाजको सिर्जना होस् आदि माग राख्दै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको शंख फुकिन् । उनी न्याय माग माग्दै पैदलै काठमाडौंसम्म पनि पुगिन् ।

नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेसँगै नेपाली महिला आन्दोलनका अभियन्ताले गर्व अवस्था बन्यो

त्यतिखेर योगमायाका मागहरु पूरा गर्न श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिए । तर क्रमशः श्री ३ आनाकानीमै रुमल्लिन थाले । पछि अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिन विभिन्न कदम चाले । तर योगमायाको जीत भयो । त्यतिखेर उनले जुद्ध शमशेरको बेलाका दरबारिया विद्वानसन्गको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका महाप्रभुको शिक्षादीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरुप भएर बसेको थियो । त्यस बेलाको उनको प्रचण्ड बौद्धिक शक्ति देखेर जुद्धशमशेर तीन छक्कै परेका थिए । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रुपमा योगमायालाई चिनिन्छ । योगमायाले श्री ३ जुद्धशम्शेरसँग भेट गरी धर्म भिक्षा मागेकी थिइन् । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरुले कुनै काम नगरेपछि उनमा थप क्रान्तिको बीजारोपण भएको पाइन्छ ।

योगमाया काठमाडौंबाट भोजपुर दिङ्लाको मझुवाबेंसीस्थित आफ्नो आश्रममा फर्केपछि झन् विद्रोही भइन् । त्यही विद्रोहको पराकाष्ठामा उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकलाले आमाका ती शब्द कण्ठ पार्दै जान्थिन् । योगमाया दिङ्ला पुगेपछि उनी महाप्रभुको व्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा महाप्रभलेु गरेझैं यज्ञ गर्न उनी जुटिन् । कठिन योगसाधनामा लागिन् र धाराप्रवाह प्रवचन र कविता वाचन गर्न थालिन् । भोजपुरको दिङ्लामा १९९७ सालमा ठूलो यज्ञको आयोजना भएको थियो । त्यहाँ श्रद्धालु भक्तहरुको भीड लागेको थियो । यज्ञ सदाको भन्दा भिन्न थियो । त्यहाँ उपस्थित सबै चेलाचेलीलाई योगमायाले भनिन्, ‘अब भक्तहरुले बाँच्ने युग छैन । अतःयसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रुपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ । योगमायाको घोषणाअनुसार त्यसैबेला उनका २ सय ४० जना भक्तहरुले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरे ।

योगमायाका अग्नि समाधिसम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यान अर्पण गर्न जुर्मुराएका उनका अनुयायीका विषयले भोजपुर खैलाबैला भयो । त्यो खबर धनकुटामा रहेका राणाका कारिन्दा माधव शमशेरका कानमा पनि पुग्यो । परिणामस्वरुप राणाको निर्देशनअनुसार सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो । साथै राणाका निर्देशनमा योगमायाका हातगोडामा नेल ठोकियो । अनि योगमायालगायत उनका भक्त र अनुयायीलाई सरासर जेल चलान गरियो । महिला जति ३ महिना जेलमा बसे भने पुरुषहरु साढे २ वर्षसम्म कैदी भए । त्यस काण्डले पण्डित प्रेमनारायण पनि १८ महिना जेलमा परे । त्यसबखत राणाका सिपाहीको बन्देजका कारण योगमाया यज्ञकुण्डमा हामफाल्न पाइनन् । त्यसपछि आफ्ना भक्तलाई पछि लगाएर उनी अरुण पुगिन् । योगमाया अरुण किनारा बाहिर मझुवाबेंसीमा संवत् १९६६ तिर कुटीमा बस्न लागिन् । उनकी एउटी भाइ बुहारी गंगा न्यौपाने भक्त भइन् । अरुण नदीको किनारामा उभिएर फेरि योगमाया बोलिन्, ‘हामीलाई अग्नि प्रवेशमा सरकारले बाधा गर्‍यो । तर आजको दिन अग्निको अभावमा जल समाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ । अतः इच्छा हुनेले मेरो अनुकरण गर्नू ।’ त्यसपछि योगमायाले उर्लंदो अरुणको भेलमा हाम फालिन् । उनका अनुयायीहरु पनि क्रमशः जल समाधिमा सहभागी हुँदै गए । जल समाधि लिने नारी पुरुषको संख्या ६८ पुगेको थियो ।

योगमायाको धार्मिक कार्यशैली नै आकर्षक थियो । उनले धुनी बालेर, रुद्राक्षको माला लगाएर, विहुँँतको तीन धर्के टीका लगाएर आफ्नो आसनमा बस्थिन् । साथै उनका छेउमा ५/५ फुट उचाइको त्रिशूल ठड्याइन्थ्यो । त्यही बसेर उनी आँखा चिम्लेर धारा प्रवाह धार्मिक र सामाजिक प्रवचन दिन्थिन् । उनको साहस देखेर उनका सेवकहरु भक्तमा रुपान्तरित भए । हरे राम प्रभुका नाउँले परिचित स्वामी पं.प्रेमनारायणले चारैतिर डुलेर योगमायालाई औतारी शक्तिमाताको नाउँले प्रचार गरे । स्वामी प्रेमनारायणले योगमायाका नालीबेली पूर्वी पहाडका रनवन पुर्‍याए भने काठमाडौं उपत्यकामा पनि उनले योगमायाको यथेष्ट प्रचार गरे । त्यतिमात्र होइन, योगमायाका भक्त चेलाहरु पं.कविप्रसाद गौतम र लोचननिधि तिवारीले पनि योगमायालाई शक्तिमाताका रुपमा स्थापित गराए ।

योगमायाले जीवनमा आफूप्रति बज्रिएका प्रत्येक वचनको स्मरण गरिरहिन् । उनले नारीप्रतिको भेदभावका विषयमा पुराणका कथाहरुको पनि खुलेर नै आलोचना र विरोध गरिरहिन् । नारीहरुलाई पशुवत् व्यवहार गरेर लेखिएका धार्मिक कथाहरु योगमायाका भावनाका शत्रु थिए । लोग्नेमान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण प्रचलनले उनको मन रन्थनिएको थियो । त्यतिमात्र होइन, ब्राह्मण पुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र ब्राह्मण स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै बिहे गर्दा जात घट्ने र सामाजिक रुपमा अपहेलित हुनुपर्ने प्रचलनको उनले घोर भत्र्सना गरिन् । योगमायाको योगदानको बारेमा वर्तमान पुस्ताले जानकारी लिनु आवश्यक छ ।

योगमायाले श्रीमतीको मृत्युपछि श्रीमान्ले बिहे गर्न हुने तर श्रीमान्को मृत्युमा श्रीमतीले जिउँदै चितामा जल्नुपर्ने जनाउँदै यसको जवाफ तत्कालीन राणा सरकारसँग मागेकी थिइन् । त्यस्तै उनले श्रीमान्को मृत्यु भएको खण्डमा श्रीमती पनि अर्को विवाह गर्न पाउनुपर्ने भनी आवाज उठाउने गरेकी थिइन् । यसको परिणामस्वरुप अहिले समाजमा धेरै नै परिवर्तन आएको देखिन्छ । पछिल्लो समय राज्यले दिएको आरक्षको व्यवस्थालाई यसैको उपजका रुपमा मान्न सकिने महिला अधिकारकर्मीको भनाइ छ । योगमायाले उठाएको समानताको क्रान्तिको अभियानले समाज रुपान्तरणका लागि निकै ठूलो योगदान पुगेको छ ।

महिलाका विषयमा थुप्रै साहित्य लेखिएका छन् । तर, प्रायः पूर्वीय साहित्यमा महिलाका रुप, रंग, जवानी र कमजोरीकै वर्णन गरिएको पाइन्छ । महिला पात्रको बुद्धि, विवेक, बहादुरीको वर्णन गरेका साहित्य कमै पाइन्छ । पौराणिक साहित्यदेखि पछिल्लो समय लेखिएका गीत, कविता, गजल, खण्डकाव्य, महाकाव्य, कथा, उपन्यास र गैरआख्यानसम्ममा नारी पात्रलाई त्यति स्थान दिइँदैन, जति पुरुषलाई दिइएको हुन्छ । इतिहास वा आख्यान उसैको बारेमा लेखिन्छ, जो शक्तिशाली छ । पुरुषवादी समाजमा महिलाको स्थान पुरुष समान हुने कुरै भएन, त्यसैले आजसम्म धेरैजसो शक्तिशाली पुरुषपात्रकै गाथा गाइएको छ । पछिल्लो समय सामाजिक न्यायका लागि सशक्त आवाज उठाउने ऐतिहासिक अभियन्ता योगमाया न्यौपानेबारे खोज, अनुसन्धान गरी नीलम कार्की निहारिकाले योगमाया उपन्यास लेख्नु भएको छ । उपन्यासले मदन पुरस्कार २०७४ प्राप्त गरेसँगै नेपाली महिला र समग्र सामाजिक आन्दोलनका अभियन्ताले गर्व गर्ने ठाउँ रहेको छ ।

राणाकालीन समयमा राणा शासनले अन्याय विरोधमा समाज परिर्वतनका लागि जीवन नै बलिदानी दिने साहसी महिला भए पनि राज्यले भने उचित सम्मान दिन सकेको छैन । शोषण, दमनको जीवन बिताइरहेका महिलाको आवाज खरोरुपमा उठाउने योगमाया न्यौपानेको योगदान आवश्यक प्रचारको अभावले पनि ओझेलमा परेको देन्खिन्छ । योगमायालाई राष्ट्रिय विभूतिका रुपमा राज्यले घोषणा गर्नुपर्ने आवाज पनि उठिरहेको छ । राज्यको तर्फबाट योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्नु उनीप्रतिको सम्मान हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width