कोरोनाको कोलमा स्वतन्त्र र संयमशील पत्रकार

असफल गौतम
जेठ १६, २०७९

पत्रकारिताको धर्म स्वतन्त्र र निष्पक्ष हो । तर हामी बाँचेको वर्तमानमा पत्रकारिता हराएर पर्चाकारितामात्रै छ । यही पर्चाकारिता शुद्धीकरण अभियानका निम्ति जन्मेको स्वतन्त्र पत्रकार संघ नेपालले एक वर्ष अगाडि आजकै दिन कोरोनाको कोलमा एक स्वतन्त्र र संयमशील पत्रकार यज्ञप्रसाद बास्तोलालाई गुमाउन पुग्यो ।

कास्कीको पुरुञ्चौरमा जन्मेका बास्तोला पोखरा ५ मालेपाटनमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए । चार दशकदेखि पोखरेली पत्रकारिताको जग बलियो बनाउँदै त्यसको उचाइ चुल्याउन क्रियाशील थिए । पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज दैनिक, आदर्श समाज राष्ट्रिय दैनिक र स्वतन्त्र सन्देशलगायत सञ्चार संस्थामा कार्यक्रम प्रस्तोता हुँदै सह सम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गरेका बास्तोलाको योगदानको चर्चा जति गरे पनि कमै हुन्छ । यो दुखद् घडीमा उनको दिवंगत आत्माको चिरशान्तिको कामना ।

वर्तमानको नेपाली पत्रकारिता कर्म, विवेक र धर्म नभएका विधर्मीहरूकै कारण दुर्गन्धित छ, यो पंक्तिकारको धारणा हो । यसमा सबै सहमत हुनुपर्छ भन्ने छैन । एउटै यात्रा र सहयात्रामा हिँडेका श्रीमान् श्रीमतीबीचको सामान्य विमतिमै बलात्कारको अभियोग लाग्ने समाजमा लठैतहरूको लहड र हुललाई पंक्तिकारका वाक्यांश रुचिकर नहुनु नौलो होइन, तर सत्य भने यही नै हो ।

आदर्श समाज राष्ट्रिय दैनिकमा दायाँबायाँको टेबलमा बसेर केही समय सहकार्य गर्ने अवसर समयले जुराइदियो । सोही अवसरमा पंक्तिकारले बास्तोलालाई नजिकैबाट राम्ररी अनुभूत गर्न पायो । जति समय, जुन कामप्रतिको उनको जिम्मेवारी थियो, त्यसमा कहिल्यै बेइमानी थिएन । पत्रकारिताको खोलमा बेइमानीको ढोल बजाउनेहरू, ज्यालादारी रिझाएर जागिर बचाउने चाटुकारहरूभन्दा धेरै माथि थियो । बास्तोलाको चिन्तन यो पंक्तिकारले आदर्श समाजको सम्पादन कक्षबाटै अनुभव गरेको विषय थियो । बास्तोलामा कहिल्यै उच्छृङ्खलता र उदण्डता देखिँदैनथ्यो । देखिन्थ्यो केवल भद्र, शालीन, संयमशील र विवेकशील व्यक्तित्व ।

एकदिन रिडर्स कर्नरमा क्याफे चिनो र ह्वाइट बे्रडसँगको बसाइँको कुरा, उनको पोखरेली पत्रकारिताप्रतिको बेलगाम यात्राप्रतिको गहिरो चिन्तन र चिन्ता थियो । देशमा आमूल परिवर्तन भइसकेको छ । आजको परिवर्तनका लागि धेरै नेपालीले रगतको खोेलो बगाएकाले नेपाली जनताले राम्ररी अनुभूत गर्न नपाए तापनि लोकतन्त्र आयो ।

बास्तोलामा कहिल्यै उच्छृङ्खलता र उदण्डता देखिँदैनथ्यो । देखिन्थ्यो केवल भद्र, शालीन, संयमशील र विवेकशील व्यक्तित्व

कागजमा आएको लोकतन्त्र व्यवहारमा आउन सकेन । स्वस्थ र व्यावसायिक पत्रकारितालाई गतिशील बनाउने शक्ति लोकतन्त्र अलोकतान्त्रिक हुँदै गयो । नेपाली पत्रकारिताको अर्थतन्त्र झन् राप र चापको बीचमा अड्केर गयो । नेपाली समाजलाई अगाडि बढाउन पत्रकारितालाई समालोचनात्मक र विश्लेषणात्मक ढंगले मार्ग निर्देशन गर्न आवश्यक रहेको बेला पत्रकारिता नै पाटीकारिता र पर्चाकारिता भयो भन्ने उनको गुनासो थियो ।

रजत वर्षको विरासत बोकेको मोफसलको आदर्श समाजको आदर्शलाई जोगाउन यज्ञप्रसाद जस्ता निष्ठावान् पत्रकारको योगदान अतुलनीय छ । कुनै समय ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीतिमा रहेका दुष्ट आत्माहरू जस्तै नेपाली पत्रकारितामा केही त्यस्तै धमिरा लागेका छन् । ती धमिराहरू जुन पार्टीको चस्मा चलाउँछन्, त्यही आँखाले पत्रकारितालाई हेर्छन् । जसका कारण पत्रकारले विषयवस्तुको प्रकृति र गुणस्तरलाई ध्यान दिएर आफ्ना सामग्रीलाई तिखार्न र निखार्ने होइन, पत्रकारिताका नाममा पर्चाकारिता गरेर मसी र कागजको खर्चबाहेक अरु केही गर्न नसक्नु नेपाली पत्रकारिताका लागि दुखद् सन्दर्भ हो । यस्तै चिन्तनमा चिन्तनशील रहन्थे पत्रकार यज्ञ बास्तोला ।

पत्रकार पेसाप्रति मर्यादित नहुँदाको परिणाम पत्रकारिताले सार्वजनिक हितको पक्षमा सत्य उद्घाटन गर्न सकेन । पत्रकारितालाई पेसा बनाउने कि नशा बनाउने भन्ने प्रश्नको जवाफ पत्रकार हुँ भन्ने कसैसँग रहेन । श्रमजीवी पत्रकार र उसको कर्मको सम्मान कहिल्यै हुन सकेन । त्यसको मारमा यज्ञ बास्तोला पनि परे । राज्यले पत्रकारका लागि विविध सेवा र सुविधाका दायरा बनाएको छ । ठूला र साना पत्रकार भनेर मापदण्ड निर्धारण गरेको छ । तर जसले ‘पनि’ र ‘पानी’ शुद्ध लेख्न जान्दैनन् यो राज्यको वरिष्ठ पत्रकार उही कहलाएको छ । राज्यले दिनुपर्ने र पाउनुपर्ने सम्मान पुरस्कार उसकै पोल्टामा छ । जो निस्वार्थ निरन्तर निष्ठाको कर्ममा लागेको छ, उनका भागमा सधैं आँसु र पसिनाबाहेक केही परेन ।

चार दशक लामो पत्रकारिता कर्ममा लागेका बास्तोलाको कर्मको उचित सम्मान सरोकारवालाबाट हुन नसक्नुका पछाडि के कारण छ ? भनेर कसैले प्रश्न गर्‍यो भने उत्तर पनि भेटिँदैन र पंक्तिकारको धारणाप्रतिको सत्य पनि मेटिँदैन । पत्रकारलाई निरन्तर आफ्नो कर्ममा स्थापित गराउन केही सामाजिक चिन्तनका व्यक्तित्वले विभिन्न सम्मान पुरस्कारका व्यवस्था गराएका छन् । तर ती सम्मान पुरस्कार यज्ञप्रसाद बास्तोला जस्ता पत्रकारका लागि हुन सकेका छैनन् । एउटा मालिकले स्थापना गरिदिएर अर्का मालिकले भित्र्याउने पाहुर बनेका छन् । ती सम्मान र पुरस्कार श्रमजीवीका लागि, कलमजीवीका लागि हुन सकेका छैनन् । स्वतन्त्र पत्रकारितामा क्रियाशील पत्रकारका लागि त झन् जीवनभर हुँदैनन् । यसैले पत्रकारिताको मर्म र कर्मबाट विशृंखल नभई सारा जीवन निष्ठापूर्वक बाँच्ने अभ्यासमा रहँदा रहँदै कोरोनाको कोलमा परेर जीवन गुमाउन पुगेका बास्तोलाबाट पोखरेली पत्रकारिता जगत्ले केही सिक्न सकोस् । यही कामनासहित बास्तोलाप्रति हार्दिक श्रद्धासुमन ।

Related News

सम्बन्धित समाचार

hero news full width