तपाईं हामीलार्ई फेरि लाग्न थालेको छ, अब के हुन्छ ? भोलि के होला ? कलाकार मनोज गजुरेलकै शब्दमा भनौं ‘ढुक्क हुनुहोस् केही नहुन्जेलसम्म केही हुँदैन ।’ आज या भोलि केही हुनलाई हिजो केही नयाँ भएको हुुनपर्छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि देश अस्थिरतातर्फ धकेलिन लाग्यो भन्दै धेरैले रोइलो गरेको छन् । हाम्रोमा यसअघि कहिले स्थिरताको अभ्यास भएको थियो र ? अनि ओली, प्रचण्ड, माधव नेपालसँग बढी अपेक्षा गरेका हौं भने त्यो उनीहरुको गल्ती होइन । हाम्रो भ्रम हो । कोदो पेलेर तेल आउने सपना देखेका थियौं भने त्यो कमजोरी थियो । उनीहरुबाट हुने नै यहि हो भने अब के होला भनेर समय बर्बाद नगरौं ।
अब विगत तर्फ जाऔं । विसं २००७ मा प्रजातन्त्र आयो । १५ मा विपी प्रथम जननिर्वाचित प्रधानमन्त्री भए । १७ मा राजा महेन्द्रले दलहरुलार्ई प्रतिबन्ध लगाए । ती घटनाक्रमपछि देशमा केही भयो । अहँ केही भएन । विसं २०४६ मा देशमा पुन प्रजातन्त्र आयो । २०५२ मा माओवादीले सशस्त्र युद्ध थाल्यो । १७ हजार निर्दोष नेपालीले ज्यान गुमाए । ६२/६३ मा जनआन्दोलन भयो, लोकतन्त्र आयो भनियो । विसं २०६४ देखि ७४ सम्म मा ३ पटक चुनाव भयो । नयाँ संविधान बन्यो । देशले एकदशकमा वर्षै पिच्छे प्रधानमन्त्री फेर्ने अवसर पाइराख्यो । मन्त्री र सांसदको संख्याको त कुरै छोडौं । सिंहदरबार र बालुवाटारका भित्ता भरिइसके होलान । नेमप्लेट बनाउने पेन्टर थाकिसके होलान । आखिर देशमा यतिका धेरै परिवर्तन त भइसकेको रहेछ । तर पनि केही भएको छ त ? त्यसैले फेरि पनि ढुक्क हुनुस् केही हुँदैन । धर्ती फाट्नेवाला छैन, आकाश चोइटिने पनि छैन । सगरमाथा समुद्र बन्ने पनि छैन । अनि समुद्र नै नभएको हाम्रो देशमा छाल पनि आउने छैन । त्यसैले आत्तिएकाहरु नआत्तिनुस, फुर्किएकाहरु नमात्तिनुस केही हुनेवाला नै छैन । यस्ता काण्ड र फण्डा त कति भए कति खै त के भयो ? अहिले फेरि भएको यत्ति हो, सांसदहरुको जागिर खुस्कियो । नचाहंँदा नचाहँदै २/४ थान मन्त्री राजीनामा धस्काउन बाध्य भए । बेमौसमको चुनाव घोषणा गरेर राज्यको ढुकुटी सिध्याउन लागे भन्ने कतिलार्ई चिन्ता होला । अब भन्नुस् त त्यो ढुकुटी जोगिँदा पनि त जनतालार्ई के भएको थियो र खै ? तसर्थ तपाईं हामी भुइँमान्छेलार्ई केही भए पनि केही हुनेवाला छैन । यसको मतलब हामी जनता न उत्तेजित भई हाल्नुपर्छ न हतोत्साही नै । घाटा या नाफाको हिसाब त टाउकेहरुकै लागि हो ।
फेरि चुनाव होला कांग्रेस, कम्युनिस्ट, राजावादी अनेकथरिले जित्लान् । तर हाम्रो भोटमा चोट पुरयाउनेले जबसम्म जित्नेछन तबसम्म केही हुँदैन
ए साँच्चै केही चाही फेरि अवश्य हुन्छ है । ढुक्क हुनुस । उसो भए के हुन्छ त ? ‘प्वाक्क आफैले आफैंलार्ई प्रश्न सोधें ।’ उत्तर पनि आइहाल्यो । हिजो जे भएको थियो त्यही नै हुन्छ । संसद विघटनको पक्ष र विपक्षमा गरमागरम बहस हुन्छन् । अब केही दिन या महिनासम्म स्वघोषित विश्लेषकहरुको चर्का चर्का अन्तरवार्ता टेलिभिजनका पर्दा र युट्युब च्यानलहरुमा हेर्न पाइन्छ । पत्रपत्रिका र न्युजपोर्टलहरुमा क्षण क्षणमै न्युज ब्रेकिड हुन थाल्छन् । गाउँका चिया पसलहरुमा झिसमिसेदेखि भट्टीहरुमा मध्यरातसम्म समस्याको चुरो खोज्न वादविवाद चल्नेछ । कतिले टाउको फोराफोर गर्लान् । हामीकहाँ ठाउँ र स्तर अनुसार एक से एक विश्लेषक छँदैछन् । कुनै एउटा दलको ट्याग नभिरी कोही बस्नै सक्दैन । विद्यार्थीदेखि शिक्षकसम्म डाक्टरदेखि इन्जिनियरसम्म सबैको आआफ्नै दलीय सँगठन छँदैछ । कामविहीन बेरोजगारहरु गाउँदेखि सहरसम्म हिमालदेखि तराईसम्म यत्रतत्र सर्बत्र छँदैछन् । तिनीहरुले फेरि काम पाउने नै भए । काम भएका रोजगारकर्मीलार्ई पनि राजनीतिक बहस गरेर समय काट्ने अवसर जुरिहाल्यो । हो यो सब हिजो भएकै थिए त्यसैले आज या भोलि पनि हुने यत्ति नै हो ।
फेरि पनि भन्छु केही चाहिँ अवश्य हुन्छ है । कोरोनाकालमा बढ्दो पक्ष विपक्षको जुलुसले कि कोरोना ह्वात्तै बढाउनेछ । कि कोरोना यतिमै सिमित रह्यो भने कोरोनाको डर भ्रम हो भन्ने पुष्टि गर्नेछ । किनकि हाम्रोमा जस्तो परिस्थिति होस् सभा, जुलुस, चक्काजाम, नेपाल बन्द, तोडफोड नगरी राजनीतिक गतिविधि हुने त कुरै भएन । हिजो सिकाउनेले पनि त्यही सिकाए । आज सिक्नेले पनि त्योभन्दा बढी केही सिकेन । त्यसैले त हामी हिजो जहाँ थियौं त्यहीं नै छौं । यो परिवर्तन, विकास, समृद्धि, सुशाशन त नेताले भाषणमा भन्ने कुरा हो । अहिले च्याउसरी उम्रेका ठुटे नेताहरुले पनि त्यही नै सिकिरहेका छन् । यसर्थ हामीले अनियमितता, भ्रष्टाचार, कुशासनको प्रतिस्पर्धामा एसियालार्ई उछिनीसक्यौं । अब बाँकी विश्वलार्ई पनि जित्ने दौंडमा छौं । स्थिरता, त्यागि र इमान्दार नेतृत्व पाउने त नेपालीको भाग्यमा लेखेको छैन । हामीलार्ई २०६४ सालपछि शान्ति, स्थिरता, समानता आइहाल्यो जस्तो लाग्यो । २०७४ मा इपुग्दा त अब विकासको मुल नै फुट्ने भयोजस्तो ग¥यौं । निशुल्क शिक्षा, स्वस्थ्य, रोजगार, रेल पानीजहाज, घर घरमा ग्याँस पाइप विकास त कति हो कति । दिउँसै सपना देख्न थाल्यौं । जुन हिजो पनि पटक/पटक देखेकैै थियौं ।
तानातान, हानाहान अनि अस्थिरता त २ तिहाईको जादुले सखाप पार्छ भन्ने ठान्यौं । जुन ३ वर्ष पनि टिक्न सकेन । हिजो पनि भएको यही थियो । २ तिहाईमा पनि त्यही भयो । केही नयाँ भएकै छैन । वास्तवमा देश चलाउँछु भन्नेले जानेकै यत्ति नै हो । कति देशप्रेमीलार्ई चिन्ता पनि होला देश अझ बिग्रने भयो ? कतिले भन्न थालिसके अझ ठूलो संकट आउने भयो ? सोच्नुस् त, अझ पनि देश बिग्रने ठाउँ छ र ? कस्ता÷कस्ता संकट त पचाइसक्यौं हामीले । हत्या, आतंका, त्रासदी कति कति । उनीहरुको व्यक्तिगत स्वार्थको लडाइँमा हिजो पनि जनता पिसिएकै थिए । आज पनि पिसिएकै छन् । पात्रहरु उहि, प्रवृत्ति उही, पारा उही ।
अनि अर्को कुरा कमरेड केपी ओलीको ठाउँमा कमरेड प्रचण्ड या माधव नेपाल भएको भए संसद विघटन हुन्थ्यो हुन्थेन त्यो तपसिलको कुरा हो । तर देश भने आज जहाँ छ त्यहीं नै हुने थियो । कुशासन, भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद, व्रम्हलुटको अवस्था उही नै हुने थियो । किनकि उनीहरुको सफलता पनि हिजोदेखि सकेकै हो । अब पनि फेरि के होला भनेर टाउको नदुखाउनु होला ।
अझ महत्वपूर्ण कुरा त भन्नै भुलिएछ । वैशाखमा चुनाव होला नहोला तर एक दिन चाँहि अवश्य हुनेछ । त्यो चुनावमा तपार्इं हामीमाँझ उनीहरु फेरि आउने छन् । टिभीको स्क्रिनमा मात्र देखेका उनीहरुलार्ई आँखै अगाडि देख्न पाउदा भगवान नै पैदा भएजस्तो गर्ने छौं । ‘उनीहरु आउन थालेपछि झुपडीहरुमा स्वर्ण युगको बहार आउनेछ । भोका नांगाहरुको पनि दिन आउनेछ । कोही बेरोजगार बस्ने छैन । देशमा रामराज्य छाउनेछ ।’ चर्का चर्का स्वरमा यो सबै सुनिरहेका हामीहरु फेरि केही वर्ष पछि दंग पर्नेछौं । पेटमा भोकको ज्वाला छुटे पनि, शरीर नांगै भए पनि, आकाशकै छानो हालेर फेरि एक पटक आफ्नो नेतालार्ई जिताउन तछाडमछाड गर्ने नै छौं । उनीहरुका लागि बुथ कब्जा गर्न जानेछौं । मतपत्र च्यातेर, टाउको फोराफोर गरेर भए पनि चुनाव जिताउन कुनै कसर बाँकी राख्ने छैनौं । चुनाव जिताएर फर्काएपछि फेरि हामी गाली गर्न थाल्नेछौं । खै त विकास, खै त सुशासन, खै निशुल्क स्वस्थ्य, शिक्षा के भयो रोजगारका नारा आदिआदि ।
केही वर्षपछि फेरि उनीहरु उसैगरि फर्केर आउनेछन् । हामी सबै भुल्नेछौं । उनीहरुलार्ई देखेर उसैगरी छक्क पर्नेछौं । देशले यसैगरी हारिरहनेछ । उनीहरुले पटक पटक जितिरहनेछन् । जब सम्म हामीले उनीहरुलार्ई सहिरुपमा चिन्न सक्दैनौं तबसम्म यहि चक्र चलिरहनेछ । अरु केही हुने छैन ।
कथंकदाचित चुनाव छिटै भइदिइ हाल्यो भने केही चाहिँ फेरि अवश्य हुनेछ । लुकाइएको कालोधनको वर्षा हुनेछ । ती पैसाले निरीह गरिब, असहायको स्वभिमानमाथि फेरि खेलवाड गरिनेछ । भोटको खरिद बिक्री गरिनेछ । संधै यसैगरी स्वभिमानमाथि खेलवाड गर्न चाहने उनीहरुको छलकपट सोझा गरिबहरुलार्ई जहिलेसम्म थाहा हुँदैन तबसम्म केही हुँदैन । जबसम्म अभाव र गरिवी ती नेताका निम्ति अवसर बनिराख्नेछ तबसम्म केही हुनेवाला छैन । यहि प्रवृत्ति भएकाको हातमा सत्ता र शक्ति रहेसम्म यस्ता काण्ड, फण्डा र उदण्ड त मच्ची नै रहनेछ । फेरि चुनाव होला कांग्रेस, कम्युनिस्ट, राजावादी अनेकथरिले जित्लान् । तर हाम्रो भोटमा चोट पुरयाउनेले जबसम्म जित्नेछन तबसम्म केही हुँदैन । त्यसैेले उनीहरु रहेसम्म र यही अवस्था रहे सम्म फेरि पनि भन्नैपर्छ हामी भुइँ मान्छेका लागि केही हुँदैन ।
Related News
सम्बन्धित समाचार
मास्क महिमा
आदर्श फिल्म : मेडम गीता रानी
सत्ताप्राप्ति र राज्य दोहनमा बितेको एक युग
बुबाआमा भगवानका स्वरुप
दोषी नेता होइनन्, हामी हौं
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७