जहाँ एकता त्यहाँ उन्नति

रेशम शर्मा बस्ताकोटी
पौष २७, २०७७

कुनै पनि राष्ट्र, गाउँ, टोलमा नेतृत्व गर्ने व्यक्तिले समय चिन्न सकेन भने आफू नै परिबन्दमा पर्न सक्छ । गंगा भित्र थुक्दैमा न गंगा बिटुलो हुन्छ, न गधा धोएर गाई हुनसक्छ । यसैले कुनै पनि राष्ट्रका जनता नै जनप्रतिनिधिका लागि पवित्र गंगा हुन् । यो बुझ्न आवश्यक छ । किनकि संसारमा जहाँसुकै सत्यकै महत्व छ । आँफूले कबोल गरेको सत्य वचन त्याग्नु भन्दा राज्य त्याग्नु बेस भन्ने राजा हरिश्चन्द्र सकुनीको जालमा फसी राज्य छोड्न तयार भएका थिए । युधिष्ठिर जस्ता राजा वनवास तथा गुप्तबास भोग्न बाध्य भएका थिए । यो सबै हुनु समयको गति बुझ्नु र सत्य बाटो अपनाउनुको परिणाम थियो । सत्यको हत्या गर्न सकेको भए राज्य छोडने या जंगल जाने अवस्था आउने थिएन ।

हिजो आज धेरै मानिस आत्मश्लाघामा रमाउन चाहन्छन् । यो हुनु भनेको तर खान पल्केको बिरालो दूध खान नमान्नु जस्तै हो । मौसम परिवर्तन भए जस्तै, बिरालाको मन तरमा गए जस्तै हो । यसैले मानिस परिवर्तन हुँदा उसको विचारमा परिवर्तन आवश्यक छ, त्यो परिवर्तन सर्वहितका लागि हुनुपर्छ । हिजो र आजको समय उही भए तापनि यो कालक्रममा धेरै परिवर्तन भएका छन् तर हाम्रा पुर्खाको चाालचलन, रहनसहन, लवाइखुवाई र वर्तमान हेर्दा उदेक लाग्दो छ । हाम्रा पूर्खाका दिनचर्या सत्य थिए, सत्यमा टिकेका थिए, जुन समयको वास्तविकता बुझ्दा हामीलाई कथा हालेजस्तो लाग्छ ।

नेपाली दाजुभाइमा मेलमिलाप नहुँदा, राष्ट्रिय राजनीतिमा एकता नहुँदा अनेक बहानाबाजी चलिरहेको छ

मानिस सामाजिक प्राणी भएकाले उसलाई समाज आवश्यकता हुन्छ । एक हातले ताली बज्न नसकेजस्तै संसारमा रात पनि दिन पनि छ । सूर्य, चन्द्र, तारा, जल, थल, पशुपंक्षी, स्त्री–पुरुष, राजा–प्रजा, मुर्ख–ज्ञानी धनी–गरीब तितो–मीठो जन्म–मृत्यु स्वर्ग–नर्क, आदि छन् ।

नेपाल अहिले ७७ जिल्लामा विभाजित छ । सबै जिल्लामा हाम्रा पूर्खाको योगदान झल्किरहेको छ तर आजभोलि अरूले गरेका योगदानको मूल्यांकन गर्नु भन्दा मेरो मूल्यांकन गरिदेउ भन्ने बाजीमा शासक दौडिरहेका छन् । जसले न समाजमा परिवर्तन, विकास र समृद्धि आएको छ न परिवारमा मेलमिलाप हुन सकेको छ । न राज्यमा विकास, प्रगति र उन्नति नै भएको छ ।

हिजो जनताको घरको धुरीबाट धुवाँ उठेको नदेख्दासम्म खाना नखाने राजा नेपालमै थिए । समयको कालक्रममा नेपालको राजसंस्थासँग जनता खुसी छैनन् भनेर जनताको नासो जनता माझ फिर्ता गर्ने राजा पनि नेपालमै छन् । जनताको मन जित्न नसक्ने राष्ट्रप्रति माया ममता नहुने व्यक्ति चाहे राजा, नेता तिनीहरूलाई सधैंका लागि जनताले बिदा गरेका छन् भनेर हाम्रो राज्य सञ्चालन गर्नेहरूले बुझ्न आवश्यक छ ।

आज पनि विपी कोइरालालाई यो राष्ट्रले सम्झन सक्छ, यस्तै, भारतका महात्मा गान्धी, चीनका माओ र बेलायतका राजालाई त्यहाँका आम नागरिकले उच्च सम्मान दिनु भनेको उहाँहरूबाट भएको योगदानको मूल्यांकन हो । उहाँहरू साच्चै जननेता हुनुहुन्छ । देशका लागि नेतृत्व गर्नेहरूले जहिले पनि देशका लागि के–के गर्नुपर्छ ? के आवश्यक छ ? जनादेशले के मागिरहेको छ ? त्यसतर्फ नेतृत्वले ध्यान दिन, सुझाव लिन र कार्यान्वयन गर्न उपयुक्त हुन्छ ।

हामीले पढेर आएका छौं, पृथ्वीनारायण शाहले आफ्ना भारदार सानोठूलो जोसँग पनि सुझाव मागेरै साना राज्यलाई विशाल राष्ट्र निर्माण गराउन सफल भएका हुन् । यहाँ वडामहाराजको नेतृत्वबाट विशाल राष्ट्र नेपाल निर्माण भएको भन्दा केहीले हाम्रा पुर्खाले निर्माण गरेका हुन् भन्ने सीमित व्यक्तिले गरेका टिकाटिप्पणी पनि सुनिन्छ । बदमास हो, अत्याचार, अन्याय गरेको थियो भन्ने गरेको पनि सुनिन्छ । यस्ता सबालले वर्तमानमा नेपालीको सम्मानप्रति आँच आउने गरेको देखिन्छ, बुझिन्छ । बाह्य तत्वको चलखेल सुरु हुन्छ, यसैले काम गर्ने हनुमान नाम लिने गुनाको प्रवृत्ति समाजमा रहिरह्यो भने इतिहास मेटिन्छ । हामीले हाम्रो इतिहासलाई मेट्न हुँदैन ।

हामीलाई थाहा छ, मैदानबिना खेलाडीले फुटबल खेल्न सक्दैनन् । फुटबल खेल्ने मैदान उपयुक्त हुनुपर्छ । आज राज्यलाई फुटबल बनाइरहेका छन् । कसको नेतृत्वबाट पूर्वको टिष्टा, पश्चिमको कागडा, सुस्ता, लिपुलेकसम्म फैलियो त ? नेपालको मैदान अनि आज किन त्यो भूभाग फिर्ता गराउन सरकारले आवाज बलियो गरी उठाएको छैन ? मातृभूमिले वर्तमान अवस्थामा पनि विभिन्न विद्वान्, बुद्धिजीवि, वीर योद्धाको जन्म दिएकी छन् । ती योद्धाहरू आफ्नो घर परिवारका लागि मात्र होइन, राज्यका लागि लाग्न आवश्यक छ । यदि राज्य हितमा लाग्न सकिँदैन भने पुरानो पुस्ताले अब नयाँ पुस्ताका काँधमा नेपाल राष्ट्रको भविष्य उज्वल गराउन जिम्मेवारी सुम्पन सक्नुपर्छ । त्यो भयो भने हाम्रो राष्ट्रमा फलाम पनि हिरा हुने अवस्था छ ।

पृथ्वीनारायण शाहको नेतृत्वमा पुर्खाको साहसी कदमबाट विशाल आजको नेपाल निर्माण भएको सबै नागरिकमा जगजाहेर हुँदाहुँदै लाजै नमानी शाह विभूतिका शालिक भत्काउने, शिलालेख फुटाल्ने, फोर्ने भाँच्ने काम राष्ट्रवादीबाट हुन सक्दैन । ती सबै दलाल हुन् दलालले देश बनाउँदैन् । यसैले इतिहास एउटा दिनभरि ज्यालादारी गर्ने सर्वसाधारण जनताको पनि छ, राजा महाराजाको मात्र हुँदैन । पुराना इतिहासका पाना च्यात्न थाल्यौ भने वर्तमानमा भइरहेको योगदान भविष्यले त्यसै गरी च्यात्ने छ त्यसै कारण पुर्खाले देखाएको र सिकाएको गोरेटोलाई आत्मसाथ गर्न सकेनौं भने छिमेकीको सामु टाउको ठडाउन आँफैलाई लाज हुने छ । असल चरित्र भएका गुरुले कैयौं असल शिष्य उत्पादन गरिरहेको पाइन्छ । यसैले हिजो पृथ्वीनारायण शाहले उत्पादन गरेका असल शिष्यले आजसम्म राष्ट्रको पहरेदार गरिरहेका थिए आज फेरि सिंगो राज्यलाई फुटालेर आफ्ना डम्फु बजाउन थालिएको छ यो राम्रो कदम होइन । जुन जनप्रिय छैन ।

अब हामीले यो बुझ्न आवश्यक छ, हाम्रा पुर्खाले भोट अंग्रेजसँग युद्ध हुँदा नुन खाएर विजय प्राप्त गरे । माटो र ढुंगा, जनता र शासकमा नङ र मासुसँगको सम्बन्ध रहे झैं रहन सकेन भने देशभित्र विकास र दीर्घकालीन शान्ति स्थापना हुँदैन । जनताबाट निर्वाचित जनप्रतिनिधिले राष्ट्र र जनताको म सेवक हुँ भन्ने भावनाले जनतामा जान नसकेर उल्टै जनता रुवाउने प्रयास गर्न खोजियो भने मौरीका घारमा ढुङ्गाले हाने जस्तै हो । जसले गर्दा विदेशीको चलखेलमा मद्दत पुग्ने भएकाले यस्ता विषयमा ख्याल गर्नुपर्ने हुन्छ । जुनसुकै विषयलाई गहन रूपमा लिन आवश्यक छ । नत्र हामी नेपाली हुनुको नेपालीपन रहँदैन । त्यसै कारण पुर्खाले देखाएको बाटोलाई भुल्नु भनेको घर परिवारलाई बिगार्नु हो । आज हाम्रो घर परिवारको वातावरण बिग्रेको छ । नेपाली जनताले दुःख भोग्नु परेको छ । विभिन्न दिन र सन्दर्भ पारेर मेलमिलापका कुरा गरे तापनि सबैमा साझा सङ्कल्प नहुँदा हाम्रो भविष्यमा कालो धब्बा लागेको छ । हाम्रो वर्तमानमा धब्का लाग्नु भनेको हाम्रा सन्ततिलाई गलत मार्ग देखाउनु हो । यसैले परिवारमा घरमुलीको राज्यमा शासकको मुख्य दायित्व र कर्तव्य हो उनीहरूलाई मार्ग निर्देशन गर्नु । चाहे घर होस्, चाहे पर । एकलौटी पद्धति कहिँ कतै पनि राम्रो हुँदैन । यतिबेला हाम्रा नेपाली दाजुभाइमा मेलमिलाप नहुँदा, राष्ट्रिय राजनीतिमा एकता नहुँदा अनेक बहानाबाजी चलिरहेको छ । जनता सडकमा उत्रर्नु परेको छ । यो राष्ट्रका लागि घातक कदम हो । राष्ट्रिय एकता विरुद्धको षडयन्त्र हो । यो षडयन्त्रले व्यक्ति र राष्ट्रलाई ध्वस्त पार्छ यसतर्फ हामी सचेत हुन आवश्यक छ । यो भयो भने बल्ल राष्ट्रिय एकता दिवसको सार्थकता रहन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width