तीर्थका मुक्तकः भिन्नभिन्न भङ्गिमा

डा. मुरारि पराजुली
असार १३, २०७७

विषयप्रवेश

तीर्थराज अधिकारी (जन्म ः वि.सं. २००३, दुराडाँडा, लमजुङ) साहित्यिक हिसाबले मुख्यतः काव्यकर्मी नै हुन् । यिनका अहिलेसम्म प्रकाशित सामग्री अप्रबन्धात्मक कविताहरू मात्रै रहेका छन् । यिनका जुनकिरी (२०५३), ऐना (२०५७), तीन लय तेह« गीत (२०६०), झटारो (२०७०), बिरिमफुल (२०७३) र जूनका टुक्राहरू (२०७७) जस्ता कविताकृतिहरू प्रकाशित छन् । यी मध्ये झटारो , बिरिमफुल र जूनका टुक्राहरू यिनका मुक्तकसंग्रह हुन् भने अन्य कृतिहरू फुटकर कविताका आयाममा रहेका छन् । यिनका प्रकाशित तीनै मुक्तकसंग्रह मूलतः रुबाई शैलीमा रहेका छन्, तथापि अगिल्ला मुक्तकसंग्रहका मुक्तकहरूमा भने रुबाई इतर बान्कीहरू पनि देख्न पाइन्छ । भिन्नभिन्न भंगिमामा देखिने यिनका मुक्तकहरूको ढाँचागत विषयमा चर्चा गर्ने जमर्को यस आलेखमा गरिएको छ ।

मुक्तकसन्दर्भ

मुक्तक एक श्लोकमै पूर्ण हुने कविताको एक उपप्रकार हो । यही एक श्लोकमा पाइने विषय, भाव वा विचारलाई बुझाउनका निम्ति अगाडिपछाडि कुनै अतिरिक्त प्रसंग ल्याएर जोडिरहनु पर्ने हुँदैन । यसरी अगाडि वा पछाडिका प्रसंगबाट मुक्त रहेर पनि अर्थवहनका निम्ति पूर्ण हुने भएकाले नै यसलाई मुक्तक भनिएको हो । तसर्थ हरेक एक श्लोकी कविता जो आफैमा स्वायत्त रही एक भुल्का विषय, भाव वा विचारलाई खँदिलो रूपमा पुष्टि गर्न सक्ने सामथ्र्य राख्दछन्; तिनै लघुतम कवितालाई मुक्तक भनेर परिभाषित गरिँदै आएको हो ।

श्लोक भनेको कविताको एउटा प्रासाङ्गिक एकाइ हो । यो पद्यको एउटा अनुच्छेद हो अर्थात् पद्यात्मक अनुच्छेदलाई श्लोक भनिँदै आइएको छ । पद्य भनेको लयात्मक भाषा हो । लय सृजना हुन यसले कम्तीमा एक फन्को मार्नैपर्छ । लयले एक फन्को मार्नु भनेको वर्ण वा अक्षरहरूका शब्दगत उस्तै हारीहरूको कम्तीमा एउटा आवृत्ति हुनु हो । एउटा आवृत्ति हुन दुई पंक्ति वा चरण हुनुपर्छ । यसैले एउटा श्लोक निर्माण हुनु भनेको कम्तीमा दुई पंक्ति वा चरणको मेल हुनु हो । संस्कृत परम्परामा दुई पंक्ति वा चरणदेखि माथिका पंक्तिपुञ्जलाई श्लोकका रूपमा स्वीकार गरिएको छ । तर, कविताका हकमा प्रायः चार पंक्तिलाई एक श्लोकका रूपमा वरण गरिँदै आएको कुरा पनि यथार्थ हुँदै हो । यसैले मुक्तक कविताको प्रसङ्गमा यो बहुशः चतुष्पदी रूपमा अगि बढ्दै आएको छ र नेपालीमा पनि अधिकतर मुक्तक कविताहरू यही ढाँचामा लेखिँदै आएका छन् । तर यसो भन्नुको अर्थ मुक्तक भनेको सर्वथा चार पंक्तिकै हुन्छ भन्ने चाहिँ होइन ।
नेपालीमा दुईदेखि करिब सात चरण/हरफ/पंक्तिसम्मका कवितालाई मुक्तकका काँटामा राखेर हेर्न सकिन्छ/हेरिँदै आएको छ । यस्ता मुक्तक कवितालाई विभिन्न नामबाट पुकारिएको पनि पाइन्छ । हामीकहाँ दुई पंक्तिका सायरी, फर्द शैलीका मुक्तक भेटिन्छन् । त्यस्तै आज भोलि तीन पंक्तिमा पाइने हाइकुको लेखन पनि त्यत्तिकै बाक्लिँदै गएको पाइन्छ । तीन हरफे नेपाली लोकलयमा प्रचलित रोइलालाई पनि पूर्वापरप्रसङ्ग निरपेक्ष रचनाका रूपमा शिष्ट साहित्यमा प्रयोग गर्दै आएको समेत देखिन्छ । चार पंक्तिमा हुने संस्कृत शैलीको चतुष्पदी र फारसी शैलीको रुबाई त विशेष रूपमा प्रचलित नै छन् । त्यसैगरी जापानी शैलीमा लेखिने गरेको पञ्चपदी कविता ताङ्का शैली पनि नेपालीमा पाइन्छ । जापानी शैलीकै षट्पदी सेदोका र भारतीय शैलीको कुण्डली कविता पनि यस काँटका मुक्तक कविता हुन् । नियमित लयमा मात्र नभई मुक्तलयमा पनि छोटा कविताका नाममा गद्य मुक्तकहरू लेखिँदै आएको देखिन्छ । यस्ता सात हरफसम्मका गद्य मुक्तकहरू नेपालीमा प्रशस्तै पाइन्छन् ।

यसप्रकार नाम जेजे दिइए पनि यी सबै मुक्तक काँटका कविता हुन् । काव्यको लघुतम रूपमा रहेका यिनका खुद्रे नाम जे भए पनि यिनीहरूको साझा नाम मुक्तक हो । मुक्तकको छाताभित्र यी सबै मसिना कविताहरू ओतिएका छन् । किनभने यी सबै एक श्लोकी कविता हुन्; यी पूर्वापरप्रसंग निरपेक्ष छन्; यी आफैमा पूर्ण छन्; यिनमा पाठकश्रोतालाई चमत्कृत गर्ने सामथ्र्य छ; यिनमा एकल भाव वा विचार पाइन्छ; यिनमा कथ्यताको सूक्ष्मता पाइन्छ; यी सबैमा लघुतम काया छ र यिनमा विषय क्षेपण, कुतूहलता र तृप्तिपूर्ण बैठानको तारतम्य पाइन्छ ।

तीर्थका मुक्तकीय संरचनागत विविधता

मुक्तककार तीर्थ अधिकारीका मुक्तकहरू प्रायः रुबाई शैलीमा लेखिएका छन् तथापि रुबाईलाई मात्र भने यिनले अवलम्बन नगरी अन्य विविध ढाँचाका मुक्तक शैलीलाई पनि पछ्याएका छन् । यिनका मुक्तकहरू द्विपदी, संस्कृत चतुष्पदी, रुबाई र गद्यशैलीमा पाइन्छन् । यिनले आफ्ना द्विपदी मुक्तकलाई दुई हरफमा नदेखाएर बरु तिनलाई तोडेर चारवटा बनाई प्रस्तुत गरेको देखिन्छ । कविताको एउटा हरफ वा पंक्ति भनेको एक वाक्यगत एकाइ हो । कतिपय कविहरूले आफ्नै लहडले वा मुद्रण सुविधाका लागि एउटै पंक्तिलाई दुई, तीन हरफमा टुक््रयाएको पनि पाइन्छ । तीर्थ अधिकारीले पनि आफ्ना केही द्विपदी मुक्तकलाई टुक््रयाएर चार वटा पंक्तिमा विस्तार गरेका छन् । तिनका यस्ता मुक्तकमा दुई पंक्ति जोडेर बल्ल एउटा पंक्ति बन्ने वास्तविकता टडकारै महसुस गर्न सकिन्छ । तर, मुक्तक कविता अक्सर चार पंक्तिका हुने गरेको देखेका कारण यिनले शायरी वा फर्द शैलीमा गएका यस्ता द्विपदी कवितालाई पनि चार पंक्तिगत विस्तारमा फैलाएको देखिन्छ । जस्तो:

तल माथि यता उता
चारैतिर रिस्वत छ
सोझालाई कुन्नि के हो ?
बाङ्गालाई त किस्मत छ । (झटारो, पृ. १३०)

उपर्युक्त मुक्तकको वाक्यगत झोक्का द्विपदीमा सकिने देखिन्छ । तर कविले यसलाई चार पंक्तिमा विभाजन गरेका छन् । यस मुक्तकको खास स्वरूपलाई यसरी देखाउन सकिन्छ:

तल माथि यता उता चारैतिर रिस्वत छ
सोझालाई कुन्नि के हो बाङ्गालाई त किस्मत छ ।

यिनले रुबाई ढाँचामा आउन सक्ने कतिपय मुक्तकलाई तोडताड पारेर छ सात हरफे पनि बनाएको देख्न पाइन्छ । हुन सक्छ, मुक्तकमा आएका पंक्तिहरूको विस्तारमा असमानता आएका कारण यिनले तिनलाई अझै टुक््रयाएर छसात पंक्तिसम्म पनि पुर्‍याएका हुनन् । तिनलाई रुबाईको चतुष्पदी ढाँचामा राख्न नसकिने पनि होइन तर यिनले त्यस्ता मुक्तकलाई यस स्वरूपमा प्रस्तुत गरेका छन्:

दुलाहाको भाइ पनि रङ्गिन सक्छ
जन्ती पर्सिएको बेला
ओभानो मानिस पनि रुझ्न सक्छ
पानी बर्सिएको बेला
हात्तीको सुँडको कुरै छोडौँ अहिले
बिरालाको छाया पनि बाघ हुन सक्छ
मनै तर्सिएको बेला । (झटारो, पृ.११५)

खासमा उपर्युक्त मुक्तक रुबाई शैलीमा नै ढाल्न खोजिएको हो तर पंक्तिगत समानताका लागि अक्षर वा भनौँ शब्द संयोजनको अनियमितताले ठ्याक्कै चार पंक्तिमा राख्न नसकेको देखिन्छ । चार पंक्तिमा राखेर देखाइएको भए यो मुक्तकमा पहिला, दोस्रो र चौथा पंक्ति समानजस्तै देखिए पनि तेस्रो पंक्ति अस्वाभाविक हिसाबले अन्यका तुलनामा सानो छ । साँच्चै नै रुबाइ बान्कीमा ढालेको भए यो मुक्तकको स्वरूप यस्तो हुने थियो:

दुलाहाको भाइ पनि रङ्गिन सक्छ जन्ती पर्सिएको बेला
ओभानो मानिस पनि रुझ्न सक्छ पानी बर्सिएको बेला
हात्तीको सुँडको कुरै छोडौँ अहिले
बिरालाको छाया पनि बाघ हुन सक्छ मनै तर्सिएको बेला ।

तर, उपर्युक्त तेस्रो पंक्ति पहिलो, दोस्रो र चौथो पंक्तिका तुलनामा खिनौरो भएकाले मुक्तककारले सिङ्गो मुक्तकलाई नै तोडताड पारेर छ पंक्तिमा विस्तार गरेका हुन सक्छन् ।

रुबाई शैली अहिले प्रचलित नेपाली मुक्तकहरूको लोकप्रिय शैली हो । ककखक ढाँचामा रहने यो शैली फारसी, उर्दू र हिन्दी भाषा हुँदै नेपालमा प्रवेश गरेको कविता ढाँचा हो । नेपालमा वि.सं. २०१० तिर भित्रिएको यो शैली अहिले बहुसंख्यक नेपाली मुक्तककारहरूको प्रिय शैलीका रूपमा लोकप्रिय छ । कतिपयले त मुक्तक भनेको यही रुबाई शैलीमात्र हो भन्ने हिसाबले बुझ्ने गरेको पनि पाइन्छ । रुबाई खासमा फारसी शास्त्रीय छन्द हो । यस शैलीको कविता २४ प्रकारका फारसी शास्त्रीय छन्दहरूमा आधारित रहेर लेख्न सकिने बुझिन्छ । यस ढाँचाको मुक्तकमा विषयको उत्तरोत्तर विकसन, उत्सुकतापूर्ण उत्कर्ष र मर्मभेदी बैठानको संरचना पाइन्छ ।

नेपालीमा लेखिएका यस खाले मुक्तकमा फारसी छन्दलाई पछ्याएको देखिँदैन । बरु कतिपय मुक्तककारहरू जो छन्दका ज्ञाता छन् उनीहरूले संस्कृतमा विकसित कतिपय छन्दको प्रयोग गरी अनुप्रासीय ढाँचालाई वरण गरेको देखिन्छ । प्रष्ट शब्दमा भन्ने हो भने नेपालीमा प्रचलित रुबाई शैली अनुप्रासीय ढाँचामा मात्र सीमित छ, फारसी छन्दले निर्दिष्ट गरेको लयविधानमा रहेर लेखेको पाइँदैन । स्वभावतः तीर्थका रुबाई शैलीका मुक्तकको अवस्था पनि त्यही हो । जस्तो:

मुटु काटी किमा हुन्न
पिरतीको बिमा हुन्न
दृष्टिदोष हुन सक्छ
सौन्दर्यको सीमा हुन्न । (झटारो, पृ.२८)

तीर्थका मुक्तकहरू संस्कृत चतुष्पदी शैलीमा पनि भेटिन्छन् । संस्कृत चतुष्पदी कककक, ककखख, कखकख आदि स्वरूपमा भेटिन्छन् । यिनको ककखख स्वरूपको चतुष्पदी यसप्रकारको छ:

एउटी देउमा
आइन् छेउमा
आँखाभरि सुरमा
हेरिन् बेसुरमा । (झटारो, पृ.१५८)

यिनले चतुष्पदीकै पनि विविध शैलीलाई अनुसरण गरेर मुक्तककारिता गरेका छन् । जस्तो कखकख शैलीको अर्को चतुष्पदी यसप्रकारको छ:

तासको खेलमा
तुरूपको पत्ता
जसको हात प¥यो
उसैको महत्ता । (झटारो, पृ.२७)

नेपाली कवितामा गोपालप्रसाद रिमालले भित्र्याएको अंग्रेजी गद्य शैलीको निकै ठुलो प्रभाव पाइन्छ । हिजोआज फुटकर कवितालेखनमा ज्यास्ती प्रयोगमा आएको यो शैली महाकाव्य र खण्डकाव्यमा प्रयोग भइसकेको सफल लयढाँचा हो ।
२०३० र २०४० को दशकमा मुक्तक कविताका क्षेत्रमा पनि यो शैली निकै लोकप्रिय रह्यो । महाकाव्य, खण्डकाव्य र फुटकर कवितामा लोकप्रिय भइसकेको यो शैली मुक्तकका निम्ति प्रयोग नहुने भन्ने कुरो रहेन । कयौँ लेखकहरूले गद्यका यस्ता लघुतम मुक्तकीय कविताका संग्रहहरू प्रकाशित गरेको पाइन्छ ।

तीर्थका मुक्तकहरू केलाएर पढ्दा यिनका मुक्तकमा पनि यसको प्रभाव पाइन्छ । यद्यपि यिनका यस्ता गद्य मुक्तकमा रुबाईमा प्रयोग हुने अनुप्रासीय चमत्कार अवलम्बित नै भएगरेका हुन्छन् तर पंक्तिगत पुञ्ज निर्माणका सबालमा यिनले रुबाईका सीमानालाई भत्काई गद्यको स्वरूप दिएको पाइन्छ:

उसको चस्मा कालो छ
तिम्रोमा त माकुराको जालो छ
जस्तो खोज्यो उस्तै मिल्ने
हजुर्कोमा ओ हो
चस्माको सँगालो छ । (झटारो, पृ.१५७)
….
सर ! हजुरको भागमा कुन ओहदा प¥यो ?
आफ्नो त पाउँला भन्ने आशै म¥यो
बेलैमा कुनै दलको झोला बोक्नु पर्दोरहेछ
विश्वविद्यालयको प्रमाणपत्र बोकेर
हिँड्दा-हिँडदै यत्रो समय त्यसै टर्‍यो । (बिरिमफुल, १०९)

उपर्युक्त गद्यमुक्तकहरूमा कालो, जालो र सँगालो एवं पर्‍यो, मर्‍यो र टर्‍यो जस्ता अनुप्रासीय विन्यास भेटिए पनि रुबाईमा हुने चतुष्पदी ढाँचा पाइँदैन । यसैले ती मुक्तक गद्यका तहमा रहेका छन् । त्यसैगरी, तलको गद्यमुक्तकमा रदिफजस्तो देखिन्छ तापनि काफिया पाइँदैन । काफिया नै नभएपछि रदिफ एवं चतुष्पदी भएर पनि यो मुक्तक गद्यका काँटमा गएर बसेको छ:

जरा नै नभएको रुखजस्तो
तारा नै नभएको आकाशजस्तो
किन खोक्रो लाग्न थाले छ जीवन
केही नभएको रित्तो बाकसजस्तो । (झटारो, पृ. १३६)

मुक्तक कविता कविताको सबैभन्दा सानो स्वरूप हो । सानो भएर पनि अर्थपूर्ण हुनु यसको विशेषता हो । तीर्थको मुक्तककारिताको अर्को विशेषता के हो भने मुक्तकजस्तो लघुतम संरचनाको कवितामा पनि अत्यल्प शब्दमा मुक्तककारिता गर्नु । यिनले सारै कम शब्दमा मुक्तकको निर्माण गरेका छन्, जुन यिनको मौलिक वैशिष्ट्य हो:

केले तान्छ
आँखा जान्छ
देखेपछि
मन खान्छ । (झटारो, पृ.१५९)
……
लागे झर्छ
नलागे टर्छ
हान्यो झटारो
जता पर्छपर्छ । (झटारो, पृ.२५)

मुक्तक कविताकै एउटा आयामगत प्रकार भएकाले स्वभावतः यसमा लयतत्त्व अनिवार्य छ । लयको उन्मेष नियमितताले प्राप्त गर्दछ । गद्य (मुक्तलय) कवितामा समेत आन्तरिक लय हुने गर्दछ । गद्यबाहेकका कवितामा त बाह्य रूपमै लयलाई अनुभव गर्न सकिन्छ । यसका निमित्त पंक्तिहरूको समान हारी मिल्दा हामी समान लयको निकटमा पुग्न सकेका हुन्छौँ । कुनै पंक्ति लामो र कुनै छोटो हुनेबित्तिकै त्यहाँ लय खज्मजिएको अनुमान गर्न सकिन्छ । पछिल्लो चरणमा आउँदा मुक्तककार तीर्थ धेरै सम्हालिएका देखिन्छन् तथापि यिनको लय व्यवस्थापनमा भेटिने कमजोरीलाई केही उदाहरणबाट यसरी पुष्टि गर्न सकिन्छ:

(राज्.नि.ति.मा)(औ.चित्.य.को)(हि.साब्)(हुन्.छ) ११ अक्षर
(सार्.ब.भौम्)(जन्.ता.को)(नि.साब्)(हुन्.छ) १० अक्षर
(बा.चा)(ग.रे.का)(कु.रा.मा)(बिस्.वास्)(जित्.न)(स.कि.ए.न)(भ.ने) १८ अक्षर
(आफ्.नो)(ला.गि)(त्य.हि)(नै)(अ.भि.साप् )(हुन्.छ) ११ अक्षर । (झटारो, पृ.१०३))

उपर्युक्त मुक्तकमा पहिलो पंक्तिमा ११, दोस्रोमा १०, तेस्रोमा १८ र चौथोमा ११ अक्षर पाइन्छ । पहिलो, दोस्रो र चौथामा करिबकरिब अक्षरवितरण समानजस्तै देखिए पनि तेस्रोमा भने अस्वाभाविक ढंगले १८ हुन पुगेको छ । अक्षरवितरणको यस असमानताले स्वतः लयमा समस्या उत्पन्न गरेको हुन्छ नै ।

(कि)(यो)(चार्)(धाम्)(कि)(तिर्.थ.यात्.रा)(हो) १० अक्षर
(कि)(यो)(मा.न.सिक्)(औ.ष.धि.को)(मात्.रा)(हो) १२ अक्षर
(पङ्क्.ति.बद्.ध)(भ.ए.र)(दक्.छिण्.ति.र)(हुर्.रि.ने)(क्रम्) १५ अक्षर
(को.ही)(भन्.छन्)(ता.बे.दा.रि)(त)(को.हि)(भन्.छन्)(गा.इ.जात्.रा)(हो) १८ अक्षर । (बिरिमफुल, पृ.१८)

उपर्युक्त मुक्तकमा त झन् अक्षरको वितरण एकदमै असमान छ । पहिलो पंक्तिमा १०, दोस्रोमा १२, तेस्रोमा १५ र चौथोमा १८ अक्षरसंख्या रहेका छन् । यसरी हरेक पंक्तिहरू फरकफरक अक्षरसंख्यामा रहेका छन् । हरेक पंक्ति अर्को पंक्तिभन्दा फरक अक्षरसंख्यामा आएपछि लयको एक रूपतालाई कति भञ्जन गर्दछ स्वतः अनुमान गर्न सकिन्छ ।

(निक्.कै)(ठु.लो)(स्वर्.ले)(क.रा.उ.नु.भ.यो) १२ अक्षर
(म.नै)(काँप्.ने)(ग.रि)(ड.रा.उ.नु.भ.यो) १२ अक्षर
(अ.रु.को)(भन्.दा)(बेग्.लै)(कि.सिम्.को)(यो) (दु.नि.याँ.मा) १५ अक्षर
(त.पा.ईं.सँ.ग)(के)(थि.यो)(र)(के)(ह.रा.उ.नु)(भ.यो) १६ अक्षर । (जूनको टुक्रा, पृ…)

उपर्युक्त मुक्तकमा पनि अक्षरवितरणगत संख्यामा असमानता नै छ । पहिलो पंक्ति १२, दोस्रो पंक्ति १२, तेस्रो पंक्ति १५ र चौथो पंक्ति १६ अक्षरमा रहेको छ ।

मुक्तलयका बाहेक अन्य कविताहरूको विशेषता नै लयगत एकरूपता हो । लयलाई एक रूपमा लैजान अक्षर वितरण योजना पनि समान हुनु जरुरी हुन्छ । यही समानताले एक खाले लयको नियमितता उन्मेष हुन्छ र कविता सुन्दा लयको रन्कोले श्रोता वा पाठकलाई आकर्षित गर्दछ । रुबाई शैलीका कवितामा पनि हरेक पंक्तिमा रहेका अक्षरहरूको वितरण समानसंख्यामा हुनु बढी उपयुक्त हुन्छ । अक्षरहरूको वितरण असमान हुँदा त्यसले लयको अवस्थामा अनियमितता उत्पन्न हुन्छ । तीर्थका मुक्तकमा पनि यस खाले समस्याले नछोडेको देखिन्छ ।

उपसंहार

तीर्थ अधिकारी प्रणयिक मुक्तकमा विशेष रुचि राख्दछन् । त्यसो त सामाजिक असंगति र राजनीतिक विसंगतिका विरुद्धमा व्यङ्ग्य कस्ने काम पनि यिनले गरेका छन् । कयौँ मुक्तकमा यिनले आत्मगत चिन्तनका माध्यमबाट आफ्नो बुझाइ प्रकट गरेका छन् । कतिपय यस्ता मुक्तकले सूक्तिलाई पछ्याउन खोजेको पनि प्रतीत हुन्छ । शृङ्गार, हास्य, पीडा, आक्रोश, विस्मय, शम जस्ता भावहरू यिनका मुक्तकमा पाइन्छन् । यिनी मूल रूपमा स्वच्छन्दतावादी भावधारागत विचारमा बढी खेलेका छन् । यिनी खासमा रुबाई शैली/ढाँचाकै मुक्तककार हुन् । तर यिनका मुक्तकमा रुबाईबाहेकका ढाँचाहरू पनि देखापर्दछन् । मसिनोसँग केलाउँदै जाने हो भने यिनका प्रारम्भिक मुक्तकहरू रुबाई बनाउने साँचोमा ढाल्दाढाल्दै दुर्घटनावश त्यसको उपजबाट निर्मित भिन्नभिन्न बान्कीका मुक्तक हुन् जस्तो लाग्दछ । पछिल्लो चरण जूनका टुक्राहरूसम्म आइपुग्दा यिनले रुबाईलाई अलि कसिलोसँग उनेर लगेको देखिन्छ । अक्षरवितरणका मामलामा पनि यिनी अलि बढी सचेत भएर गएका छन् ।

जेहोस्; जेजस्तो ढाँचा/शैली/संरचनामा लेखिए पनि मुक्तकमा च्वाट्ट दिल झङ्कृत हुने बैठान हुनुपर्छ । त्यसको रमरम सधैँभरि रहिरहने हुनुपर्छ । हामीकहाँ लघुतम कविता लेख्नेको आजभोलि ठुलो संलग्नता त देखिन्छ तर ती रचनाले कसरी हृदयलाई चमत्कृत गर्न सक्छन् भन्ने ध्याउन्नमा लाग्ने साधनाको बडो कमी पाइन्छ । अनुप्रासको विन्यास र लघुतम कायिकताले मात्रै मुक्तक बन्ने होइन साँच्चै मुक्तक बन्न त मुक्तकले मथिङ्गल रिंगाउनै पर्छ । म अझै पनि तीर्थ अधिकारीका बहुशः मुक्तकमा मुक्तकीय चमत्कारको आगमन अपेक्षित रहेको महसुस गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width