म सुहाउँदो समय

शेषराज भट्टराई
भाद्र २७, २०७७

समय सबैसुहाउँदो नहुन पनि सक्छ । कुन समय को सुहाउँदो छ त्यो त्यसैले भन्ने कुरा हो । अर्थात् उसको यावत गतिविधिले समय सुहाउँदो या नसुहाउँदो थाहा हुन्छ । यही विषय वनस्पतिको हकमा पनि लागू हुन्छ । हरेक किसिमका बोटवृक्षहरु सप्रिन मौलाउनलाई मल जल र उपयुक्त वातावरणको आवश्यकता पर्छ । तराइमा इमली अमिलो (तित्री) र मुस्ताङमा स्याउ फल्नु मौसमकै करामत हो । भनेजस्तो वातावरण भयो भने लौका घिरौलादेखि मान्छेका पिडौला पनि काँधमा हाली हालुँ जस्ता देखिन्छन् । खाइलाग्दा मोहक पाँसुला पिडौलाको साथ संगत र स्पर्श नपाएर कतिपयले आफ्नै आहुति दिएका पनि छन् । भनेजस्तो चाहेजस्तो नहुँदा रोग लाग्ने, मासिने, नासिने, मर्ने, अप्ठ्यारो पर्ने अनेक हुन्छ । तर आफू सुहाउँदो वातावरण छ भने सबै किसिमका अनिष्ठहरु आफै छेउ लाग्छन् । कोरोना महामारीपछि हक भोग गरेको समय किन किन म सुहाउँदो बन्दै गएको छ । लकडाउन र बन्दाबन्दीले म जस्ता सुतेर खानेलाई त भगवान्ले छप्पर फोरेरै दिएकै मान्नु पर्छ नि । कस्तो काइदा । यसको विपरीत पहिला पहिला प्रतिपक्षले सरकारलाई घुँडा टेकाउनु र पावर देखाउनु प¥यो भने नेपाल बन्द जस्तो निकृष्ट काम गर्थे । दुनियाँले हजार हण्डर र अचाक्ली सास्ती व्यहोर्नु पथ्र्याे ।

आफू खोज्दै नजाने तर खोज्दै आउने मान्छेलाई थला पार्ने प्याका प्याका पार्ने, आसु नै झार्ने समय आइलागेको छ । धर्तीका लागि एक किसिमको बोझ ।

दश वर्षे माओवादी जनयुद्धमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नेतृत्वमा सत्र हजार जनता बलीको बोको बने । तेत्तिकै सङ्ख्यामा बेढङ्गसँग अङ्गभङ्ग बने । भोका नाङ्गा, लुटपाट र संस्कार संस्कृतिको दोहन त गनि साध्यै छैन भनि साध्यै छैन । सोझा सिदा नेपाली जनतालाई आतंकको दन्किदो भुङ्ग्रोमा होमेका थिए । अनेक पीडा, दमन, शोषण, अत्याचारका भुक्तभोगी मध्ये धिप्रिक धिप्रिक बलिरहेको मध्ये म पनि एक हुँ । त्यसपछि राम्रोसँग सास फेर्न नपाईबहत्तर सालको भूकम्प प्राकृतिक विपत्ति बनेर आयो । त्यसको पनि नेपाली जनताले सामना गरे । नेपाली गरीब दुःखीको तन, मन, छिया छया हुने गरी च्यातियो, चुँडियो, चोट लाग्यो । त्यसको लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शक्ति प्रदर्शन गर्दै नाकाबन्दी जस्तो घिर्णित, निकृष्ट र अधर्मी काम गरे । नेपाली जनता राति एक दुई बजे देखि खाना पकाउने ग्यासको लाइनमा बस्थे । कहिले पाउँथे कहिले पाउँदैन थिए । यसमा पनि पहुँचवालाहरुको वर्चस्व थियो । यस्ता दर्दनाक शर्मनाक भुक्तभोगी प्रत्यक्षदर्शी दुनियाँ नेपालीमध्ये म पनि एक हुँ । त्यो समय म सुहाउँदो थिएन । तर यो समय म सुहाउँदो छ तथापि दुःख दर्द त जोसुकैले जन्मिँदै लिएर आएको हुन्छ कसरी हटोस्, कसरी छुटोस् ।

अहिले सरकारले कोरोना महामारीको डरले पुरा नेपाल बन्द गरेर एकाएक सुनसान र शान्त बन्न थाल्यो समाज । रोय पनि भित्र भित्रै रुन्छन् । यस विषम परिस्थितिमा मुख छोपेर देशको इज्जत राख्दै रुने मध्येमा मेरो परिवार पनि पर्छ । कोही खान नपाएर रुन्छन्, कोही उपचार नपाएर रुन्छन् । कोही स्वदेश फर्किन नपाएर रुन्छन् । गुजारा गर्न नसकेर रुने, उपचार गर्न पैसा नपाएर रुने, आफन्तसँग भेटघाट काज किरया गर्न नपाएर रुने, महामारीले मारेर रुने र अप्ठ्यारो पारेर रुने लाखौँ छन् । घर टेक्न र देख्न नपाएर रुने पनि उत्तिकै छन् । नेपाली जनमनको कर्ममा यस्तै हण्डर र सास्ती सास्ती मात्रै लेखेको रहेछ कि क्या हो उद्युम सास्ती मात्र्रै व्यहोर्नु परिरहेको छ किन होला ? मलाई लाग्छ यस किसिमको विविध भाँडभैलो अद्यम गतिविधि उपलब्धि हिन शून्य समय ठ्याक्कै मेरो प्रकृतिसँग मेल खान्छ । म यो उमेरसम्म बाँचे, नाचे हाँसे तर दुनियाँको हितार्थ कहिल्यै लैनु बन्न सकिनँ । सधैँ थाराको थारै गाराको गारै । न उत्पादन न उपलब्धि न प्रगति न परोगति । एक तमासले खुम्चिएको खुम्चिएकै, दोब्रिएको दोब्रिएकै, डल्लिएको डल्लिएकै परोपकारी कहिल्यै बन्न सकिनँ । उपलब्धिहीन प्राणीले प्यार पाउन नसक्दा सबैको धिक्कार र शिकार बन्न सक्छ । धेरैको मन पेटको विकार बन्न सक्छ । त्यही विकार मध्ये यस समयमा शिकार हुन लायक म पनि एक हो ।

अहिले भोगेको याम कोरोना पीडा परेसान म जस्तै पीडक छ । दुनियाँमा व्याप्त छ भन्छन् देखिँदैन तर असर ज्यूँका त्यूँ । दुनियालाई ठहरै पारिराखेको छ तर दुनियाले केही गर्न सकिराखेको छैन । महामारीबाट निरन्तरको हार निर्दाेष मानव माथिको प्रहार । दोष कसलाई दिनु ? आफै दोषी आफै सर्जक आफै विसर्जक । आफै बोक्सी आफै धामी । कस्तो विडम्बना, कस्तो आपत कस्तो विपत् । मान्छेले मान्छेमा थपेको आपत र प्रकृतिबाट प्रदत्त विपतको सामना गर्दा गर्दै यो स्वर्णिम चोला खोलामा बिसर्जन गर्ने घडी पला पनि कोरोनालाई उछिनेर थाप्लामा आउनै लागिसक्यो । बरु मानव, महामारी र प्रकृति कसले पहिला प्रहार गरेर खुत्रुक्क पार्छ पत्तै पाइँदैन ।

कोरोना महामारी भन्दा अगाडिको समय क्वाँटी खिचडी जस्तो मिसमास मात्र होइन मान्छे मान्छेमा छोइछिटोको कुरै आउँदैन थियो । उथलपुथल, भिडभाड ठेलमठेल घन्चमन्च र घचारोमा जीवन चल्थ्यो । तर अहिले कलविष समय सुरु भएको छ । व्यापक छोइछिटो व्याप्त छ । कोही कसैको घरमा जानु नहुने, कसैले कसैलाई छुनु नहुने । हेर्दा हेर्दे महामारीले ठक्कर टक्कर प्रदान गर्‍यो । आपत विपत् उद्युम उथलपुथल र चक्कर प्रदान गर्‍यो । तथापि गन्जागोल खिचडिमय अशान्त समयलाई लखेटेर शान्त ठक्कर चक्कर रहित समयको श्री गणेश भएको छ । मौसम वातावरणमा कल्पना भन्दा ज्यादा सुधार भएको छ । तर पनि अर्घाङ्गीनीले लाली पाउडर नलगाएको छ महिनाभन्दा ज्यादा भएको छ । किनकि जुन चिज लगाइन्छ, गरिन्छ, पोतिन्छ र त्यो कसैले देख्दैनन् भने किन लगाउने भन्ने सिद्धान्तको प्रतिपादन भएको छ । सधैँ मुखडाले छोपिएर रहनु पर्ने अधर ओठले माक्सबाट कहिले मुक्ति पाउँछ ?

आफू खोज्दै नजाने तर खोज्दै आउने मान्छेलाई थला पार्ने प्याका प्याका पार्ने, आसु नै झार्ने समय आइलागेको छ । धर्तीका लागि एक किसिमको बोझ । म जस्तै बोझ तथापि त्यही बस्तु कतिलाई खाँचोको हुँदो हो । कतिलाई अनावश्यक कसिङ्गर साबित होला । कतिका लागि अनौठो दुर्लभ पनि साबित होला भने कतिका लागि सस्तो सारै सस्तो र बेकामे पनि होला । हामी भन्छौ यो कोरोना काम छैन तर कसैका लागि अर्थात् अन्वेषकका लागि यो अनुसन्धानमूलक भगवान् बनेर आइ दियो । यो नआइदिएको भए त्यो किसिमको सम्पन्नता हात पर्दैन थियो । कसैका लागि पीडक बनेर आइदियो । हो कसैलाई समस्या अनुकूल बन्छ त कसैलाई प्रतिकूल । यस्तै हो हामी सचेत प्राणी परिस्थितिसँग जुध्न कुद्न आवश्यक परे गोद्न पनि तयार भएर बस्नु पर्छ । अत्तालिने, हतासिने, बतासिने गर्नुहुँदैन । समयको चालसँग चाल मिलाउँदै अवगालबाट बच्न सिक्नु र सक्नु पनि म सुहाउँदो समय हो । किनकि म हर समस्या र समयसँग मुकाविला गर्दै बाचिरहेको जिउँदो इतिहास हुँ ।

मेरो स्वभाव भौतिक रूपले ठक्कर दिँदै चक्कर नमार्ने अप्ठ्यारो नपार्ने भन्ने हो । विगार विठ्याइ के को नाम हो थाहा छैन तर फोहोरी अल्छी हात मुख नधुने बानी व्यहोराले ठगिएका जोरी खोज्नेलाई थला पार्ने शेषी झार्ने रहेको छ । यही समयले स्रष्टा सर्जकलाई घरभित्रै घोटिन रटिन खटिन प्रेरित गरेको छ । आफन्त परिवारसँग मात्रै डकारुन्जेल उठबस गर्न उक्साएको छ । घरका कुनाकाप्चा फोहोर मैला गन्थे थैला सात पत्रे सफा गर्न बाध्य पारेको छ । अल्छीलाई नुहाउने धुवाउने पारेको छ भने महाअल्छीले डकारुन्जेल सपना देख्न पाएका छन् । जाँगरिलाहरु सपना पूरा गर्न सबेरै उठ्छन् र सपना साकार पार्नका लागि मरिमेट्छन् भने अल्छीले कोल्टो फेरि फेरि सपना देखिरहन्छन् तर पूरा गर्दैन ।

कसैले कसैलाई छुनु नहुने, कसैको कोही सम्मुख हुनु नहुने कस्तो कन्चन समय । मैलो सर्ने रोग सर्ने त चिन्तै भएन । खाक्क खुक्क हाइ हाच्छिउ खकार विकार रुघाखोकी दिसा पिसाब मलमोचन सोचन सबैलाई यस महान् म सुहाउँदो समयले कोर्रा लगाएको छ । म स्वयंलाई खुट्टा तन्काउनै नमिल्ने गरी कुँजे बनाएर थन्क्याइ दिएको छ । त्यसैले त म ठोकुवा गर्दै भन्छु मेरो प्रिय समय मलाई नै भनेर आएको म सुहाउँदो समय तिमी कल्पनै नगर्दा पनि कसरी कहाँबाट आयौँ । जानु परे कहाँ जान्छेउ ? किन मानवको फोक्सोमा रजाई गर्न उद्यत छौ । यस्तो उद्युम प्यारो समयलाई सरकारले पनि साथ दिँदै लकडाउन बन्दाबन्दी जस्तो महान् काम गरेर एक तमासले स्वागत गरेको छ । दुनियाँलाई अगाडि बढाउन पछाडिबाट निरन्तर धकेली रहेको छ । हामी समयसँग चल्मलाउन चल्न चटपटाउन चाहँदैनौ त्यसैले समयसँग चल्न फल्न फूल्न फक्रिन सिकाउँदै छ । हामी निरिह प्राणी तातेतातेको तालमा जसो जसो पुरेत बाजे उसो उसो स्वाहा गर्दै छौ महामारिमा ।

समय अप्ठ्यारो आयो । अप्ठ्यारो समयसँग तालमेल गर्ने मानव मन भारी छ तथापि प्रयास जारी छ । कसैले कसैलाई दया माया करुणा रोदन क्रन्दन, उद्धार उपकार समवेदना सहानुभूति कुनै बाहनामा पनि छुन नजिक हुन नहुने कस्तो पशुतुल्य समय । यस्तो निष्ठुर समयसँग मिलेर बाँच्ने प्रयास गर्नु पर्ने विकट जिन्दगी बाँचिएको छ । मरेका आपत परेकामा हुल बाँधेर जानु नहुने, साथमा केही बोकेर लानु नहुने, खानु नहुने, निष्ठुरताको पराकाष्ठा नाघेको समय । मर्ने मरिराखुन, बिरामी पर्ने परिराखुन, बाँच्ने बाचिराखुन, कसैको कसैप्रति सरोकार नराख्ने कडा पशुतुल्य म सुहाउँदो समय खास मेरै लागि आए जस्तो लाग्छ । न कतै उल्लास न उमङ्ग न कतै भोज भतेर न कतै जन्ति मलामी न थलयातायात न बायुयान सारा सुसान नितान्त एकान्त प्रिय म सुहाउँदो समयलाई के दिउ गिफ्ट ह्याम्पर के दिउ सलामी । भजन, कृतन, बालन रत्यौली, रसरङ्ग कतै छैन अन्त सब शान्त । हो यस्तै छ अहिले विश्वमा मुर्दा शान्तिले ढपक्कै ढाकेको छ । दुनियाँको मन पाकेको छ । उद्यारकर्मीको ज्यान थाकेको छ । रोग भोक र आपतमा छटपटाएकालाई क्वार क्वार्ती हेरेर मात्रै कसरी बस्नु ? त्यसैले सेवा नै धर्म हो जप्दै आफूले आफैलाई काम थप्दै दिन र रातको विदाई र स्वगत गर्दा गर्दै सजिलै बितिरहेको छ म सुहाउँदो समय ।

समय ननिको भए पनि हामीलाई आफ्नै भुपडीमा थपडी बजाउँदै बस्न सिकायो । पेटको सारङ्गीको तालमा नाच्न सिकायो । आफ्ना ओछ्यान वरिपरि रम्न जम्न सिकायो । आफ्ना महलमा जे छ त्यो खायो पियो जियो अनि त्यहीको कोपरामा मलमोचन गर्‍यो बस्यो । कस्तो मजा । पिरैपिर भिरैभिर भित्र पनि मजा लुट्नु परिरहेको छ । तन्किएर खाने कि खुम्चिएर खाने, उत्तानो परेर खाने कि घोप्टिएर खाने मुस्किएर खाने कि ठूस्किएर खाने, मोटाउने कि दुब्लाउने आफ्नै मुठी र अधिनमा छ म सुहाउँदो समय ।

सबैलाई फुर्सद छ तर अमन चयन छैन । सारा खुल्ला छ तर कतै जान सकिँदैन । आपत छ उपकार छैन । बिरामी छन् औषधी छैन । डाक्टर नर्स छन् उपचार छैन । पाइलै पिच्छे नाफा मूलक अस्पताल छन् तर उद्धार उपकार, उपचार छैन । कसैलाई सरोकारै नराख्ने तर दामको हाम गर्न सबै हतारिन्छन् । देश लुट्नु अपराध ठानिँदैन । सबैले म मात्रै, आफू मात्रै घोकि रहेछन् । त्यसैले त म भन्छु निर्जीव शान्त म सुहाउँदो समय, महामारी विना भिसा विना राहदानी चाइनाबाट आएको छ । छिमेकी देशबाट आयातित महामारीको स्वागत डाक्टर लेबलका मान्छेले गर्नै पर्‍यो । त्यही भएर पनि म सुहाउँदो समय मलाइ मन पर्‍यो ।

महामारीमा जिउ जोगाउ अनिकालमा विउ जोगाउ भन्थे हो रहेछ क्यार अन्न पानी नहुँदा धन्न पाहुनाको पसारो लाग्छन् कि भन्ने टन्टो पनि हरायो । कुनै निहुँ पारेर पाहुना लाग्ने उद्देश्यमा पनि नराम्रोसँग ठेस लाग्यो । घरमै थच्ची राख्दा एउटै लुगा कति धुनु, एउटै ज्यान कति नुहाउनु, एउटै कुरा गफ कति दोहोर्‍याउनु, काम देखाउन कपाल कति कोरौ, दाँत कति माझौ । लोटादेखि अर्घौतो आचमनियम, अम्खरा सबै सिनित्त टिलिक्क टल्किएका छन् । अब अरू के काम गर्नु बन्दाबन्दीमा । छ महिना भइ सक्यो सरकारले काम नगरी बसिबसि खा भनेको । कामधामको लन्ठा हरायो तर महामारी हराएन । आशा र उद्देश्य हरायो महामारी हराएन । ऋणी साहु महाजनले पहिल्याएर पाता कस्छन्, कि भन्ने चिन्ता पनि हरायो । शत्रु सम्मुख हुन्छन् कि भन्ने त्रास पनि हरायो । तर महामारी हराएन । प्रेम प्रेमीकाको लगनगाठाहरु धेरै फुस्किए, कतिका गले लागौला भन्ने उद्देश्य उद्युम चाहना पनि महामारीले चकनाचुर पार्‍यो । म सुहाउँदो समयले के गर्‍यो के ग¥यो, बडो अप्ठ्यारो पर्‍यो । घरमा निरन्तर हात मुख धोयो, तातो तातो खाँदे पिउँदै डकार्‍यो । हेप्न हप्काउन मिल्नेलाई हकार्‍यो । धिक्कार्न मिल्नेलाई धिक्कार्‍यो । स्वीकार्न मिल्नेलाई स्वीकार्‍यो। यस समयले उसलाई पनि बिगार्‍यो त्यसलाई पनि बिगार्‍यो । तै पनि कोरोनाको कहर बाँच्ने, नाच्ने, हाँस्ने उद्युम रहर । आफ्नै परिवेश आफ्नै संसारमा रमाउन कमाउन, जमाउन, थमाउन, सिकाउन म सुहाउँदो समय अर्थात् सर्जक, स्रष्टा सुहाउँदो समयको जय होस् भलो होस् भय नहोस् भै गो नि ।

Related News

सम्बन्धित समाचार

hero news full width