राजनीतिमा विचारले उत्तराधिकारी निर्माण गर्छ

इन्द्रबहादुर बराल
वैशाख १०, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गति समातिसकेको छ । वडादेखि केन्द्रीय अधिवेशन असार ५ गतेबाट प्रारम्भ भई भदौको ७–१० सम्ममा सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक भयो । यस सन्दर्भमा आकांक्षीमा सरगर्मी बढकोे छ । सक्रिय सदस्यता नवीकरणदेखि नयाँ सदस्यका लागि सिफारिस गर्ने काम युद्धस्तरमा भएको देखिन्छ । यद्यपि एकथरी कांग्रेस आफैंमा विश्वास गुमाएझैं आसन्न १४ औं महाधिवेशन हुन्छ/हुँदैन भनी भ्रमको खेती गर्न खोज्दै छन् ।

केही नेताहरुमा विचार, सिद्धान्त र आदर्शभन्दा पनि कुरौटे स्वभाव अनि अरुलाई आरोप र दोषमात्रै देखाएर नेतृत्व हत्याउने खेलमा लागेको प्रष्ट देखिन थालेको छ । प्रष्ट भन्नुपर्दा कांग्रेसमा नीति प्रधान नभई बिरासत प्रधानको चर्चा सुनिन थालेको छ । कांग्रेसले आफ्नो स्थापना कालदेखि अंगीकार गरेको केही पक्ष छोड्नुपर्ने बाध्यता थियो । त्यसको कारण हो, जंगलमा बसेर हत्या, हिंसा र आतंक मचाइरहेको माओवादीलाई शान्ति प्रक्रियामा मात्रै होइन, लोकतान्त्रिक प्रक्रियासम्म ल्याउनु । देशलाई आतंक र भयमुक्त बनाउन एकमात्र विकल्प थियो गणतन्त्रमा जाने । त्यतिबेलाको समयको माग थियो संवैधानिक राजतन्त्र छोडेर गणतन्त्रमा फड्को मार्नु । अर्को बाध्यात्मक अवस्था पनि थियो थिएन भन्ने विषय बहस हो । त्यसक्रममा कांग्रेसले आफ्ना संस्थापक र आदर्श पुरुष सन्तनेतालाई समेत राष्ट्रिय राजनीतिको मूलधारबाट अलगिन पर्ने स्थिति उत्पन्न भयो । यो सबै घटनाक्रमलाई विशेष गरी नेपाली कांग्रेसप्रति आस्थावान् र शुभचिन्तकलाई विश्वस्त पार्न अझै बाँकी छ । यी सबै जिम्मेवारीलाई बिर्सेर एकोहोरो रुपमा नेतृत्व लिने दौड निकै अघि बढिसकेको छ । यसरी विचार, सिद्धान्त र आदर्शको चर्चा/परिचर्चा नहुँदा आफ्नो पार्टीको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ जस्तो मूल आदर्शबारे धेरै नेता कार्यकर्ताले ८/१० मिनेट पनि बोल्न अन्कनाउँछन् । त्यसैले निकट भविष्यमा हुन गइरहेको महाधिवेशनमा नेतृत्व लिने/दिनेमात्र नभई साथ/साथै राजनीतिक र वैचारिक दृष्टिकोणले तिखार्दै निखार्दै लानुपर्ने देखिन्छ । अहिले केही वंंशवादी वा विरासतको हक ठान्नेहरुले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको पाइन्छ । लोकतान्त्रिक पार्टीमा आफ्नो प्रबल दाबेदारी राख्नु एकहदसम्म स्वाभाविक र सामान्य मानिन्छ तर अरुको मान मर्दन भने गर्न मिल्दैन । चाहे जुनसुकै तहको नेतृत्व किन नहोस्, त्यसका लागि दाबी गर्नेले पहिला आफ्नो भावी कार्य योजना भरपर्दो रुपले सार्वजनिक गर्नुपर्छ । खालि कुनै अमुक व्यक्तिले गरेन त्यसैले म योग्य छु भन्नु हास्यास्पद कुरा हो ।

अहिलेसम्मको स्थिति हेर्दा केन्द्रीय सभापतिमा देखिएका आकांक्षीमध्ये कुनैले पनि प्रष्ट राजनैतिक र सैद्धान्तिक आधार प्रस्तुत गरेको पढ्न पाइएको छैन । जिल्ला दौडाह गरेको देखिन्छ/सुनिन्छ तर राजनैतिक र सैद्धान्तिक आधारबारे बहस र छलफल भएको सुनिंदैन । यसर्थ पार्टीको जुनसुकै तहको किन नहोस् नेतृत्वको दाबी गर्नेले आफ्नो कार्य योजनाका साथ कार्यकर्ता माझ जानुपर्छ । राजनीतिमा विचार र सिद्धान्तले नै प्रमुखता पाउनुपर्छ । अनिमात्र पार्टी बलियो र मजबुत हुन्छ । विचार र सिद्धान्तले खोक्रो पार्टी एउटा विशेष अवस्था भेला हुने मानिसको भिडमात्र ठहरिन्छ । २१ औं शताब्दीको चुनौती सामना गर्न परम्परागत सोच र कार्यशैलीबाट सम्भव हुँदैन ।

विचार र नेतृत्वको सम्बन्धमा लन्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर हेराल्ड जे.लास्की को एउटा भनाइ स्मरणयोग्य छ । प्रोफेसर लास्की प्रजातान्त्रिक समाजवादको परमपितामह हुनुहुन्थ्यो । उहाँ उक्त संस्थामा प्राध्यापन गर्दा कैयन मेधावी छात्रहरुको रूपमा उत्पादन गर्नु भयो तर कसैलाई औंल्याउनु भएन कि फलानो मेरो वैचारिक उत्तराधिकारी हो । यसरी हेर्दा कुनै पनि महापुरुषले उत्तराधिकारीको रुपमा विचार छाडेको हुन्छ, व्यक्ति छाडेको हुँदैन । हाम्रै सन्दर्भमा विचार गर्ने हो भने पनि विपी कोइरालाले आफ्नै जीवन कालमा स्वास्थ्यका कारणले हुन सक्छ पार्टीको कार्यवाहक सभापति किसुनजीलाई किन रोज्नु भयो होला ? के त्यहाँ (पार्टी ) आफ्नै भाइ भतिजा थिएनन् ? अवस्य थिए, खुदै आफ्ना कान्छा भाइ गिरिजाप्रसाद कोइराला नेतृत्व तहमै पुगेका थिए तर पार्टीको कार्यवाहक सभापति किन दिएनन् होला ? यो सन्दर्भमा एकछिन विचार गर्दा प्रोफेसर लास्कीको उक्त भनाइ त्यहाँ साबित भयो । विपीको विचारको उत्तराधिकारी बन्नका लागि कृष्णप्रसाद भट्टराई उपयुक्त र योग्य पात्र हुनुहुँदो रहेछ भन्ने प्रमाणित हुन्छ । मृदुभाषी, सहज पहुँच जस्ता गुणहरु नेतामा हुनुपर्ने अनिवार्य गुणहरु हुन् । तर कुनै पनि पार्टीको शीर्ष नेतृत्वका लागि त्यतिमात्रै प्रर्याप्त हुँदैन । देशको सामान्य राजनैतिक अवस्थामा ठीक भए पनि हाम्रो जस्तो अस्थिर र तरल राजनीति भइरहने ठाउँमा मृदुभाषी र सहज पहुँचले मात्र अप्ठेरो परेको अवस्थामा पार्टीको अस्तित्व जोगाउन सक्दैन । त्यसको लागि नेतृत्व लिने व्यक्ति संघर्ष र विचारले राम्रैसँग खारिएको र तिखारिएको हुनुपर्छ ताकि जस्तो सुकै संकट र अप्ठेरो परेको बेलामा पनि पार्टीलाई जोगाइ राख्न सकोस् । अन्यथा पार्टीलाई संकटबाट बँचाइ राख्न धेरै कठिन हुन्छ । इतिहास साक्षी छ, २०१७ साल पुस १ गतेको घटनापछि कति नेताहरु पलायन भए । आत्म समर्पण गरे । विपी, गणेशमान, किसुनजी लगायतका नेताहरु जेल बस्दा पार्टीको दियो जोगाउनै धौ धौ परेको स्थिति सहजै अनुमान गर्न सकिन्छ । परशुनारायण चौधरी, श्रीभद्र शर्मा जस्ता आशलाग्दा नेताहरु पार्टी परित्याग गरेका घटना अझै ताजा नै छन् । परशुनारायण चौधरी, श्रीभद्र शर्मा जस्ता महामन्त्री थिए । यदि पार्टीको कार्यवाहक सभापति दिएको भए के हुन्थ्यो होला ? त्यसैले एकपटक इतिहासतिर पनि आँखा लगाउनैपर्ने हुन्छ । यो सबै परिस्थितिको समग्रमा राम्रो अध्ययन विश्लेषण गर्नै पर्छ । कांग्रेस १३ औं महाधिवेशनले पनि पुरापुर कुनै एउटा प्यानललाई मत घोप्ट्याएनन् र पार्टीलाई आवश्यक हुने अधिकांश नेताहरु जित्न सफल भएका थिए । अपवाद केही आउन सकेनन्, छुट्टै कुरा हो ।

विपीको विचारको उत्तराधिकारी बन्न कृष्णप्रसाद भट्टराई उपयुक्त र योग्य पात्र हुनुहुन्थ्यो । मृदुभाषी, सहज पहुँच जस्ता गुणहरु नेतामा अनिवार्य हुन्छ

महाधिवेशन प्रतिनिधिहरुको विवेकपूर्ण निर्णय त्यो बेलामा पनि नदेखिएको होइन । हाम्रा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि विपी कोइरालाको मूल्यांकनमा खरो उत्रेका युवा नेता थिए त्यो बेला । यो कुराको पनि जानकारी सायद कमैलाई होला । केही मानिस इतिहासलाई पौराणिक ग्रन्थ वा मिथकको रुपमा लिने गर्दछन् । जुन प्रवृत्ति अत्यन्तै खतरनाक प्रवृत्ति हो । यस्तो प्रवृत्तिले पार्टीको त्यो ऐतिहासिकतालाई कुनै पनि बेला मेटाउन सक्छ । यसर्थ भन्न के खोजिएको भने आसन्न १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने आधार कुनै लहड, वंश वा बिरासतमात्रै प्रर्याप्त हुँदैन । उमेर पनि एउटा आधार होला तर सम्पूर्णता होइन । मुख्यत वैचारिक उत्तराधिकारी नै प्रमुख आधार हो । अरु सहायक तत्वहरु हुन् । त्यसैले वैचारिक र सैद्धान्तिक उत्तराधिकारीको अझै कांग्रेसमा खाँचो छ । राजनीतिमा उत्तराधिकारी पैतृक सम्पत्तिमा जस्तो होइन र हुनु हँुदैन पनि । यति कुरा सामान्य हेक्का राख्नैपर्छ । राजनीति गर्ने थलो पहलमानी गर्ने जस्तो थलो होइन । त्यहाँ त विचार र सिद्धान्त को आधारमा नीति तथा कार्यक्रम बनाइन्छ र त्यही आधामा आवधिक निर्वाचनमार्फत जनतासँग मत माग्न जाने र आफ्नो नीति तथा कार्यक्रममार्फत लोककल्याणकारी कार्य गर्दै जाने हो मसल देखाएर शारीरिक लडभिड गर्ने स्थलजस्तो राजनीतिक संगठन होइन ।

अहिले के सुनिन्छ भने एकै परिवारका ३÷३ जना आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिको दाबी गरेको चर्चा छ । यसले नेपाली कांग्रेस त्यही परिवारको मानौं पैतृक सम्पत्ति हो । तर नेपाली कांग्रेस एउटा विचार हो, सिद्धान्त हो, आन्दोलन हो । जुन विचार, सिद्धान्त र आन्दोलनले समग्र शोषित, पीडित र आवाज नहुने निमुखा नेपालीको गलामा रोकिएको उत्कट चाहनालाई मुखरित गर्ने आम नेपाली जनताको पार्टी हो । जुन पार्टीको इतिहास नै काफी छ । यो यथार्थ नबुझेर हिजो सुख सयल र निजी जीवनमा रमाएर बसेका दुख के हो राजनीतिक संघषमा एक रात क्रूर तानाशाहको कोपभाजन नभोगेकाहरुबाट देश र पार्टी चल्छ भन्ने भ्रममा कोही छन् भने त्यसबाट मुक्त हुनु जरुरी छ । प्रजातन्त्रको पुनस्र्थापना पूर्व प्रतिबन्धित अवस्थामा नेपाल विद्यार्थी संघ र पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संघर्ष र विचारले निखारिएका तमाम नेताहरुको कुनै कमी छैन । बोलेर र जनताको मनको कुरा गर्दैमा नेता हुने भए नेपालमा कम्युनिस्टबाहेकले राजनीति नै नगरे हुन्छ । बोल्दैमा भाषण गर्दै सबथोक हुने हो भने कम्युनिस्टको अगाडि कांग्रेस छेउ पनि लाग्दैन । तर त्यो भ्रममात्रै हो । कांग्रेसले आफ्नो संगठन जरासम्म पुर्‍याएको छ । घर/घरमा कांग्रेस पुगेको छ । त्यही जगमा कांग्रेस अडिएको छ । यहाँ कसैले प्रखर वक्ता हुँ भनी हुंकार नगरे हुन्छ । पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला हेरे त्यसको जवाफ काफी हुन्छ । त्यसैले हिँडेर छिटो र बोलेरमात्रै पनि बाठो भइँदैन भन्ने पुरानो भनाइ पनि स्मरण गर्दै गयांै भने निश्चित रुपमा नेपाली कांग्रेसलाई कुनै शक्तिले हल्लाउन सक्तैन । विचार, सिद्धान्त र आदर्शले सुसंगठित पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशन विचारको उत्तराधिकारीको आधारमा चयन गर्न चुक्नेछैन ।

Related News

सम्बन्धित समाचार

hero news full width