ठगीको संस्कार

मुगादेवी सुवेदी
मंसिर ८, २०७८

कुनै पनि कुरामा नियमविनियमदेखि बाहिर रहेर केही बढी प्राप्त गर्ने उद्देश्यले खराब नियतबाट प्रभावित भई काम गर्नु नै ठगी हो । आजभोलि ठगी गर्नु प्रत्येक मानवीय संस्कारगत धर्म बन्दै आएको छ । पृथ्वीमा सर्वश्रेष्ठ प्राणीमध्ये गनिने मानवचोला कहावतनुसार सात जुनी पार गर्दै प्राप्त भएको मानिन्छ । यसरी उच्च कोटीमा पर्न सफल मानवचोलामा स्वार्थ, लोभलालच, लुच्याइँ, फट्याइँ, धुत्र्याइँजस्ता कुभावना पलाउँदै आइरहेका छन् । यसका लागि केही अपवादलाई छाडेर समग्रमा प्रायः यसैअन्तर्गत पर्न आउँछन् । कुनै पनि पदप्रतिष्ठा तथा नाममाम हरेकमा स्वार्थ लुकेको हुन्छ । धर्मका नाममा ठगी, समाजसेवाका नाममा ठगी, पुरस्कार र सम्मानका नाममा ठगी, चिप्लो बोलीमा ठगी अहिलेको विकृतिजन्य अवस्था बन्दै आइरहेको छ ।
वास्तवमा मानव दयामाया र विवेकको खानी हो । ऊ परिस्थितिजन्य हुन्छ । ऊसले आफूलाई कस्तो अवस्थामा कसरी सञ्चालन गर्ने राम्रोसँग बुझेको पनि हुन्छ यति हुँदाहुँदै पनि उसले आफ्नो कर्तव्य बिर्सेको छ, बाटो बिराएको छ । उही मानिसमा राक्षसी प्रवृत्ति हाबी भएको छ । ऊ वर्तमान अवस्थामा जस्तासुकै आपराधिक क्रियाकलाप पनि गर्न पछि परेको छैन । उसले आफ्नो स्वार्थपूर्तिका लागि कुनै पनि कार्यमा नाफानोक्सानको जोडघटाउ गर्दछ । देश चलाउने जिम्मा लिएका ठेकेदारहरूको अवस्था त लाजमर्दो नै छ । राजनीतिका नाममा सर्वसाधारणका आँखामा छारो हाल्ने काम भएको छ । यिनीहरूले त सबैभन्दा बढी देश र जनतालाई ठगेर आफ्ना छोरा, नाति, पनाति, र खनातिसम्म सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने गरेका छन् । आफ्ना आसेपासे र कार्यकर्ताबाहेक जनताको करबाट उठेको पैसाको चरम दुरुपयोग गरेका छन् । अर्कोतर्फ राष्ट्रसेवक कर्मचारीको आचरण उस्तै छ । ऊनीहरूले त आफ्नो मासिक घरखर्च घुसपैठबाटै चलाएका हुन्छन् । कुनै पनि कार्यालयमा गेटपालेदेखि भालेसम्मका ठालूहरूले विभिन्न बहानामा जनतालाई लुटिरहेका हुन्छन् । जनताको सानोभन्दा सानो काममा कमिसनको जाल रचिरहेका हुन्छन् ।
वर्तमान परिप्रेक्ष्यमा मानिसको मानसपटल नै जालझेल र दुर्गन्धले भरिएको छ भन्दा अत्युक्ति नहोला । बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य वस्तुहरूको मूल्य छोइनसक्नु छ । किराना पसलका मूल्य आफूखुसी फरकफरक राखिएका छन् । घरायसी सामानदेखि लत्ताकपडा र कृषिकर्मसम्म सबैमा जथाभावी मूल्य बढाएर जनताको ढाड सेक्ने काम भएको छ । त्यसका लागि नियमनकारी निकायहरू बेकम्मा बनेका छन् । यिनीहरूले केबल सरकारी तलबभत्ता पचाउनबाहेक कुनै उल्लेख्य कार्य गरेको पाइँदैन । नुनदेखि सुनसम्मका पसलेहरूले जनतालाई कुनै न कुनै तबरबाट ठगिरहेका छन् । यसका लागि कुनै रोकतोक र नसिहतको व्यवस्था छैन । जसले जे मन लाग्यो त्यही गरे भएको छ । मानौं गाईजात्रा नै छ । अझै देशका जल्दाबल्दा कार्यालयहरू नेपाल दूरसञ्चार,विद्युुत प्राधिकरण, मालपोत, यातायात व्यवस्था, खानेपानीजस्ता अति आवश्यकीय कार्यस्थलमा कार्यरत कर्मचारीहरूको जनताप्रतिको उदासीनता झन् बढ्दो छ । उनीहरूले जनताको काम भोलिवादको सिद्धान्तमा रहेर गरेका हुन्छन् । तत्कालै काम गर्नुपर्ने भएमा प्रतिशतका आधारमा जनताबाट कमिसन खाइरहेका हुन्छन् । भन्नुको मतलब घुस दिएमा नमिल्ने काम पनि बन्छ, घुस नदिएमा मिल्ने काम पनि बन्दैन । यसरी जनताले सास्ती व्यहोरेका छन् । उदेकलाग्दो कुरा त के छ भने किसानले हाड घोटेर वर्षभरि अन्न, तरकारी, फलफूल उत्पादन गर्छन् । अनि उत्पादित फलको बिचौलियहरूले बार्गेनिङ सुरु गर्दछन् । त्यसको लागत मूल्य पनि किसानले प्राप्त गर्दैनन् । फाइदा जति बिचौलियाहरूले लिन्छन् । अनि कसरी गरिबको जीवनस्तर माथि उठ्न सक्छ ? जनताले जिताएर पठाएका नेताहरू आपसी पदको भागबण्डा र घमण्डको प्रतिस्पर्धा गर्दा ठिकै छ , जनतालाई यो गरिदिन्छौं, त्यो गरिदिन्छौं भनेर आश्वासन बाँडे तर फर्केर जनताको अवस्था बुझ्ने फुर्सद ऊनीहरूलाई भएन ।

भ्रष्ट, तथा विवेकहीन शासकहरूको हातमा देश पर्नु भनेको ‘बाँदरको हातमा नरिवल’ भनेजस्तै भएको छ

पेशसगत ठगी पनि उत्तिकै व्यापक छ । घरनिर्माणदेखि सडकनिर्माणसम्मका काममा इन्जिनियर तथा ठेकेदारहरूको ठग्ने प्रवृत्ति झनै बढ्दो छ । त्यस्ता कार्यहरूमा कमसल निर्माण सामग्री प्रयोग गर्ने अनि अयोग्य कामदारहरूद्वारा काम सम्पन्न गरी बजेटको पैसा गोजीमा हाल्ने अनौठो संस्कारको विकास भइरहेकोे छ । जसको कारण बनाउँदाबनाउँदै सडकहरू भत्किसकेका हुन्छन् । पुलपुलेसाहरूको त्यस्तै दुर्गति छ । डाक्टरबाट बिरामी ठगी , शिक्षक नियुक्तिमा ठगी, काम लगाइदिने भनेर ठगी, वैदेशिक रोजगारीमा पठाउने भनेर करोडौं रुपैयाँ ठगी, मानवसेवा आश्रमका नाममा विदेशिएका नेपालीको रगत र पसिनाबाट आर्जित धन चुसेर ठगी, सडक बालबालिकाहरूको उद्घारका नाममा ठगी जस्ता अनगिन्ती विकृतिहरू समाजमा व्याप्त छन् । यतिमात्रै कहाँ हो र सामाजिक सञ्जालमार्फत कसैलाई काल्पनिक षड्यन्त्र गरी अश्लील फोटाहरू तथा भिडियो बनाएर भाइरल गरिदिने नाममा ठग्ने हर्कतहरू पछिल्लो समयमा बढिरहेका छन् । ठगीको गिरोह यतिसम्म व्यापक छ कि पुलिस प्रशासन पनि निरीह बनेको छ । यसो त पुलिस प्रशासनभित्र पनि चोर पुलिसहरू नभएका होइनन् । कतिपय, सर्वसाधारणहरू पुलिसबाटै ठगिएका छन् । ‘रक्षक नै भक्षक’ भैदिएपछि कसको पो के लाग्छ र ! कतिपय मानिसहरू ठगी गिरोहका दलाल बनेर सहयोगको नाटक रच्दै पैसा खाने अनि पीडितलाई न्याय दिलाई उन्मुक्ति दिनुको सट्टा पीडामाथि पीडा थपिदिएका छन् ।
वर्तमान अवस्थामा सामाजिक तथा पेसागत हकहितकको संरक्षणका लागि भनेर थुप्रै संघ संगठनहरू बनेका छन् । विद्यार्थी युनियन, शिक्षक संघसंगठन, कर्मचारी संघसंगठन, मजदुर संघ, संगठन, वैदेशिक रोजगार संघसंगठनहरु, वर्गीय हित गर्ने नाममा खडा भएका छन् । तर तिनीहरुले केबल आफ्नो पद र प्रतिष्ठा जोगाउने, आफ्नालाई भनसुनका आधारमा जागिर खुवाउन, पराइलाई केही काम गरेबापत पैसा असुलेर अप्रत्यक्ष रूपमा ठगी धन्दा नै गरिरहेका छन् । उदाहरणका लागि केही समयअगाडि एकजना शिक्षिकालाई सरुवा बढुवामा शिक्षक संघका सचिवले अनैतिक क्रियाकलापका लागि दबाब दिएको कुरा समाचारमा आएको थियो । यस्ता हरेक तह र तप्कामा यो संस्कार हाबी भएको छ । देश र समाज अनि सर्वसाधारणको आर्थिक अवस्था उँभो लाग्ने कुनै पनि काम माथि उल्लेख गरिएका पदाधिकारी तथा सामाजिक अभियन्ताबाट हुन सकेको छैन । यस्ताबाट हामीले के अपेक्षा गर्ने ? राष्ट्रले के अपेक्षा गर्ने ? हुँदाहुँदा अब त कसैले मिठो बोली बोल्यो भने पनि प्रशस्त शंका गर्ने ठाउँ रहने भयो । पक्कै पनि यसले कुनै लालच राखेको छ कि भनेर !! बोली बोलीमा ठगी ! विकास निर्माणका काम कारबाहीमा त आधाभन्दा बढी बजेट ठूलाठालुका गोजीमा जान्छ ! के भन्नु लाजै मर्दो छ । कुनै कार्यालयको हाकिमले नयाँ काम गर्न खोज्नु भनेकै आफू खान र मोटाउनका लागि हो हजुर यही बुझे हुन्छ । म ठोकेर भन्छु । कस्तो खालको विकृति हो क्या यो देशमा ! खान र ठग्न पल्केकाहरू ! जन्मदै ४ हातखुट्टा लिएर आएपछि १० नंग्रा खियाएर स्वाभिमानीपूर्वक बाँचे हुन्थ्यो नि किन अरूको लुट्न खोज्नु धिक्कार छ यिनीहरूलाई !
ठगीकै कुरा गर्नुपर्दा पुरुषबाट मात्रै महिला ठगिन्छन् , लुटिन्छन् भनिन्थ्यो तर होइन रहेछ अहिलेको अवस्थामा त्यस्ता कयौं महिलाहरू जोबाट पुरुषहरू ठगिएका छन् । ‘धनको मुख कालो’ त्यसै कहाँ भनिएको हो र ! पैसाकै लागि महिलाहरूले आफ्नो अस्मिता धरापमा पारेर पुरुषसँग बार्गेनिङ गरेका प्रशस्त उदाहरणहरू भेटिएका छन् । यतिसम्म कि आफ्नै नाबालक छोरीलाई हतियार बनाएर बलात्कृत भई भनी अर्को नाबालक कसैको छोरालाई फसाएर पैसाको मोलमोलाइ गरेको भर्खरैमात्र सञ्चारमाध्यममा प्रमाणसहितको भिडियो सार्वजनिक भएको थियोे । यतिमात्रै कहाँ हो र पुरुषसँग प्रेमको नाटक रचेर मोजमस्ती गर्ने अनि आफ्नो स्वार्थ पूरा भएपछि र कुरा नमिलेपछि यसले मलाई बलात्कार ग¥यो भनी कानुन गुहार्ने । यस्ता हर्कत तथा गतिविधि स्वयं महिलाबाट भइरहेका छन् । हुन त म पनि महिला नै हुँ । तर महिला भएर महिलाको विपक्षमा बोल्दा नराम्रो लाग्न सक्छ, भन्न खोजेको कुरा अन्याय कसैबाट पनि हुनुभएन । यसो हुनुमा कानुनले महिलालाई बढी नै अधिकार दिएको त हैन भन्ने पनि लाग्न सक्छ ! पुरुषका सन्दर्भमा त महिलाले जे भने पनि हुने भाको छ ! अहिलेको परिप्रेक्ष्यमा महिलाहरू बढी लहडी हुनुमा कानुनको दुरुपयोग त होइन भन्ने मेरो आशय हो ! कानुनभन्दा माथि कोही पनि छैन । चाहे जोसुकै होस् ।
सामाजिक ठगी र अपराधका कुरा गरिसाध्य छैन । कतिपय ठगहरू नेपालका आफ्ना दाजुभाइ दिदीबहिनीलाई विभिन्न प्रलोभनमा पारेर विदेश लगी अवैध क्रियाकलापमा जबर्जस्ती संलग्न गराइ ‘घरको न घाटको’ तुल्याउने काम गरेका छन् । विदेशबाट उनीहरूको रोदन सुनिसक्नु छैन । उद्घारको याचना गरिरहेका छन् । यस्तो गम्भीर त्रुटि गर्ने अपराधीहरू खुलेआम हिँडिरहेका छन् । सुनतस्करी, लागुपदार्थ तस्करी, हत्याहिंसा जस्ता जघन्य अपराध गरेर मुद्दा खेपेकाहरू विदेशमा लुक्न सफल भएका छन् । तिनीहरु प्रहरीको मोस्ट वान्टेड्भित्र परेका छन् तर उनीहरूलाई सुपुर्दगी हुन सकेको छैन । ठग्ने काइदा पनि कस्ता कस्ता ! यस पंक्तिकारलाई कुनै दिन एउटा फोन आयो, फोन उठाउँदा उताबाट भन्यो, ‘तपाईलाई बधाई छ । मैले किन के को बधाई भनेर आश्चर्य प्रकट गरे ।’ भन्यो ‘तपाईंलाई चिट्ठा प¥यो’ अचम्म मैले आफ्नो जिज्ञासा प्रकट गर्न नपाउँदै, किसिको मत बोल्ना, भन्दै फोन काट्यो । मलाई तत्काल शंका लाग्यो कसैलाई नभन्नु भन्ने कुराले । मैले आफन्तलाई यसबारेमा कुरा गर्दा यो ठग्न हो भन्ने जवाफ पाएँ । यदि यस फोनलाई फलोअप गरेको भए म पनि ठगिने निश्चित थियोे । यसैगरी काठमाडौंकी एकजना महिला करोडौंको ठगीमा परेको भर्खरै समाचारमा आएको थियो ।
देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय, प्रदेश र संघीय सरकार बनेका छन् । सत्ता विकेन्द्रीकरण भएको यस अवस्थामा पनि जनताले आफ्ना काम सहज तरिकाले सम्पन्न गर्न नपाउनुलाई विडम्बना मान्नुपर्छ । जनताको ढाड सेक्ने महँगी, म्याद गुज्रेका खाद्यान्न तथा औषधी, पसलैपिच्छेका फरक फरक भाउ, प्रशासनिक निकायहरूमा ठूला र सानाबीचमा हुने विभेदकारी नीति, सानोतिनो काममा पनि जनतालाई भोलि भनेर टार्ने र पैसाको बार्गेनिङ गरि ठग्ने प्रवृत्ति कहिलेसम्म हो ? खै न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको प्रभावकारी भूमिका ? आखिर जनताले कहिलेसम्म सास्ती व्यहोर्ने ? न्यायका लागि खडा भएको सर्वोच्च अदालतको हालत उस्तै ! कस्तो अदालत हो राजनैतिक अखडा बन्ने । अनि पैसामा बिक्ने ! पैसा भएपछि चोर पनि साधु बन्ने !! यस्तो देशमा हामीले के अपेक्षा गर्ने क्या ! विश्वमा सगरमाथाको देश, शान्तिका दूत गौतमबुद्धको देश, आदर्श नारी सीता र भृकुटीको देश, ऋषिहरूको तपोभूमि, प्रकृतिद्वारा सजिएको पवित्र तथा पूण्यभूमिका नाममा चर्चित छ । तर यहाँका भ्रष्ट, तथा विवेकहीन शासकहरूको हातमा देश पर्नु भनेको ‘बाँदरको हातमा नरिवल’ भनेजस्तै भएको छ ।
अन्तमा अरूलाई लुट्ने, फसाउने, ठग्ने अनि आफू सुखी बन्ने कुसंस्कार त्यागौं । यो पृथ्वी सबैको साझा घर सम्झेर समान अधिकारको उपभोग गर्ने सिकौं । सरकारले घुसखोरी, कालाबजारी, र ठगी धन्दा गर्नेलाई कडाभन्दा कडा सजाय दिओस् । दैनिक उपभोग्य वस्तुको मूल्यमा एकरुपता होस् । म्याद गुज्रेका सामानहरूको बिक्रीमा रोक लगाइयोस् । यसका लागि नियमनकारी निकायहरू प्रभावकारी बनून् । कानुन पैसामा नबिकोस् । राष्ट्र तथा जनताले माथि उल्लेखित विकृति र विसंतिबाट पूर्णतया उन्मुक्ति पाओस् ! यही कामना गरौं । आत्मानुशासान र आत्मसंयमजस्ता आचरणको विकास गरौं ।

Related News

सम्बन्धित समाचार

hero news full width