प्रविधि व्यवस्थापन र हाम्रा चुनौती

डा. चैतन्य अधिकारी डा. चैतन्य अधिकारी
भाद्र ११, २०७७

गौरवमय इतिहास

प्रविधिका हिसाबले परापूर्वकालदेखि नेपाल खाल्डो तुलनात्मक रुपमा निकै उन्नत मानिन्थ्यो । काठमाण्डौ उपत्यकाको खानेपानी प्रणाली, तालतलैया, मठ मन्दिरहरुको निर्माणशैली, धातु र भाँडाकुँडाहरुको निर्माण शैली आदि तत्कालीन समयकै उत्कृष्ट शैली मानिन्थे । त्यसप्रति विशेष गरी चिनियाँ र तिब्बती राजाहरु निकै आकर्षित थिए, जसको फलस्वरूप अरनिकोलाई चीनको शहर बसाउन र मठ मन्दिर बनाउन निम्तासमेत गरिन्थ्यो  । तत्कालीन समयमा सुन, चाँदी, तामा, फलाम आदि धातुहरुको प्रशस्तै प्रयोग भएको पाइएको हुनाले खानीहरुको पनि उत्खनन् र उपयोग भएको प्रमाण भेटिन्छन् । काठमाण्डौमा मात्र नभएर देशैभरि फलामखानी, तामाखानी आदि नाम भएका ठाउँहरु छन् जहाँ पक्कै पनि खानीको कार्य भएको हुनुपर्छ।

रुमलिएको आधुनिककाल

नेपाल राष्ट्रको प्रादुर्भाव भएपछि राज्यको ध्यान प्रायः राजनीतिक भागदौडमै खिचियो । तैपनि धरहरा, सुन्धारा आदिको निर्माण भीमसेन थापाले गराए भने राणा कालमा उनीहरुले आफ्नै लागि भए पनि ठुल्ठूला दरबारहरुको निर्माण गरे । राणाकालीन समयमा शासकहरुले १६ जना युवाहरुको एक टोलीलाई प्रविधि सिकेर आउनका लागि जापान पठाएको कुरा समेत हामीले पढेका छौं । जुद्ध मैच फ्याक्ट्री, वीर अस्पताल, फर्पिंग जलविधुत, गोरखापत्र प्रकाशन आदि तत्कालीन राणा समयका उल्लेखनीय प्रगतिहरु हुन्  ।

२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि पनि हाम्रो ध्यान प्रविधितर्फ एकत्रित हुन सकेन । देशमा पहिलोपल्ट रेडियो प्रशारण भने सुरु भयो । २०१७ सालमा पञ्चायतकाल शुरु भएपछि विदेशीहरुको सहयोगमा राजमार्गहरुको निर्माण र उद्योग धन्दाहरुको स्थापना हुने क्रम शुरु भयो । विज्ञान प्रविधिको क्षेत्रमा पठनपाठन पनि शुरु भयो । देशमै कागज, जुत्ता, धागो, लत्ताकपडा, सिमेन्ट, चुरोट, चिनी, जुटका सामान आदि उत्पादन हुनथाले । तर सरकारी ब्यबस्थापनको असक्षमता नै तिनको अवसानको कारण बने।

जनस्तरमा पनि प्रविधिको ज्ञान र प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको हो । हिमालदेखि तराईसम्म आ–आफ्ना ठाउँका आवश्यकता अनुसारका घर निर्माण गर्ने तथा रंगाउने शैलीदेखि लिएर पानी पानीघट्ट, ढिकी–जाँतो, हलो कोदालो र खुर्पा हँसियाको निर्माण स्थानीय तहमै हुने गरेको हो । तोरी पेल्ने, उखु पेल्ने, निबुवाबाट चुक बनाउने, चिज छूर्पी बनाउने, दही मथेर घ्यू निकाल्ने आदि मौलिक प्रविधि ग्रामिण भेकमा प्रचलनमा छंदैछन् । धेरै हदसम्म कूटानी पिसानीका आधुनिक मेशिनहरुले यस्ता प्रविधिलाई विस्थापित पनि गर्दैछन्।

अन्यौलपूर्ण वर्तमान

पञ्चायतको उत्तरार्ध र बहुदलीय शासनको पूर्वार्धतिर निजी क्षेत्रले आफ्नो व्यवसाय बिस्तार तथा प्रवर्धनका लागि विदेशी प्रविधिलाई देश भित्र्यायो । टेलिभिजन, एफ.एम, मोबाइल आदि क्षेत्रमा त्यतिबेलादेखि अहिलेसम्ममा देशले ठूलै फड्को मारेको मान्नुपर्छ । जलविद्युतको क्षेत्रमा पनि साना जलविद्युत आयोजनाहरुको निर्माण तीब्र गतिमा बढेको देखिन्छ । पहिलेभन्दा सुविधाजनक यातायातको बिस्तार भएको छ भने कृषिमा पनि व्यावसायिकता र आधुनिक प्रविधिले बिस्तारै ठाउँ लिंदैछ । स्वास्थ्य क्षेत्रमा पनि निजी अस्पतालहरु, पोलिक्लिनिक र डायगोनोस्टिक केन्द्रहरु खुलेर सेवा बिस्तार भैरहेको छ।

तैपनि समग्र रुपले हेर्दा नेपालमा विज्ञान तथा प्रविधिको विकास सन्तोषजनक ढंगले अघि बढ्न सकेको देखिन्न । इन्फर्मेसन टेक्नोलोजीको क्षेत्रमा हेर्ने हो भने नेपालमा राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना भएको वि.सं. २०४० तिर नै हो, तर पनि त्यसको प्रभाव तीब्र रुपमा बिस्तार हुन र अरु उल्लेख्य प्रगति हुन सकेन । सीमावर्ती देश चीन र भारतले पनि प्राविधिक कारणले हाँसिल गरेका आर्थिक उपलब्धिहरु हेर्दा मात्रै पनि हामी निक्कै पछि परेको भान हुन्छ । हामीलाई यस्तो महसुस हुनुमा निम्न कारणहरु देखिन्छन्ः

  • देशमा भएका श्रोत साधनहरुको समुचित प्रयोग नहुनु
  • प्रविधिलगायत सबै क्षेत्रमा परनिर्भरता बढ्नु
  • निर्यात अवस्था कमजोर हुनु
  • प्रविधिको व्यवस्थापन राम्ररी हुननसक्नु
  • बेरोजगारी र गरीबीको समस्यालाई प्रविधिसँग जोड्न नसक्नु

प्रविधिको उपयोग मात्र नभएर व्यवस्थापन पनि त्यत्तिकै महत्वपूर्ण पक्ष हो । अलि बढी गम्भीरतापूर्वक हेर्ने हो भने देशमा चलेका कतिपय ठूला र राष्ट्रिय महत्वका आयोजनाहरु प्राविधिक रुपमा अति फितला तथा अन्धाधुन्ध चलेका पनि भेटिएका छन् । योजना र कार्वान्वयन मात्र नभएर त्यसको मेन्टीनेन्समा पनि थुप्रै समस्याहरु देखिएका छन् । हाम्रा कतिपय उद्योगधन्दा, एअरलायन्स र साना जलविद्युतहरु धरासायी हुनुमा भ्रष्टाचारका साथसाथै प्राविधिक पक्षको लापरवाही पनि कारक हो भन्नुमा फरक नपर्ला।

राजनीतिक अस्थिरतासँग प्रत्यक्ष रुपले सम्बन्धित नदेखिए तापनि देश घरि–घरि उर्जा संकटमा फँसेको र उद्योगधन्दाहरु पूर्ण रुपमा चल्न नसकेको तीतो अनुभव हामीसँग छ । अन्य रोजगारीका अवसरहरु पनि निर्माण हुन नसकेको अवस्था छ । गाउँ शहरका अधिकांश युवाहरु विदेश पलायन भैरहेका र हुन आतुर देखिन्छन् । यसले गर्दा राष्ट्रको कृषि उत्पादन पनि कम हुँदै गएको छ र परनिर्भरता ह्वात्तै बढेको छ । यस्तो अवस्थामा देशमा भएका श्रोत साधनहरु उपयोगविहीन भएर रहनु सामान्य कुरा जस्तै लाग्न सक्छ । तर यो अत्यन्तै दुखद र असामान्य अवस्था हो।

एकातिर यार्सागुम्बा, पांचऔंले र नीरमसी जस्ता हाम्रा जडिबुटीहरु अप्रशोधित रुपमै विदेश निर्यात हुन्छन् भने अदुवा, अलैंची, कफी, चियापत्ती आदि हाम्रा कृषि उत्पादनहरु राम्रो प्याकेजिंग र प्रशोधनबिनै अन्तर्राष्ट्रिय बजारमा सस्तोमा बेच्न हामी बाध्य छौं । घरेलु तानबाट बुनेका ढाका, गलैंचा र पछ्यौरीहरु पनि राम्ररी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन हामीलाई उति सहज जस्तो लाग्दैन । हाम्रा पर्यटकीय गन्तव्यहरुको त समुचित व्यवस्थापन र प्रवर्धन भएकै छैन जसले गर्दा हामी पलपल करोडौंको अवसर मूल्य (opportunity cost) गुमाइरहेका छौं । जलवायु, वनस्पति, संस्कृति आदि यति धेरै विविधता र प्राकृतिक सम्पदाहरुले भरिएको राष्ट्र आफ्ना नागरिकलाई रोजगारी दिन असमर्थ हुनुमा त्यसको प्राविधिक पक्ष पनि जिम्मेवार छ।

प्रविधि चिन्तन

व्यक्तिगत रुपमा हामी बिहान उठेदेखि साँझसम्म अनेकौं प्रविधिको प्रयोग गर्छौं । तर हामीले प्रयोग गर्ने प्रविधिका बारेमा हामी चिन्तन गर्दैनौं । यो प्रविधि प्रयोगमा आउनुको कारण, यसका फाइदा, यसका वैकल्पिक उपाय, यसबारेमा हाम्रो परम्परागत धारणा र अन्तर्राष्ट्रिय रुपमा यसका उपयोगहरु आदिका बारेमा हामी कमै मात्र चिन्तन गछौं । हामी सुविधाजनक सोचाइ (comfortable thinking) मा अभ्यस्त छौं । हामी सजिलो कुरामा मात्रै ध्यान दिन्छौं र हामीलाई सबै भन्दा सजिलो कुरा अरुको देखासिकी हो । हामी त्यही गर्छौं, जो अरुले गरेर राम्रो मानेका छन् । यही कारणले हामीले नयाँ प्रविधि विकास गर्न नसकेका हौँ । पैसा भएपछि प्रविधि केही होइन, त्यो उपलब्ध भैहाल्छ भन्ने हाम्रो सोचाइ छ । उदाहरणका लागि हामी आफ्नै घरमा अधिक भन्दा अधिक खुला ताजा हावा कसरी प्रवाह गर्न सकिन्छ भन्ने सोचाइ राख्नुभन्दा पैसा भए एअर कन्डिसन राख्न हुन्थ्यो भन्ने सजिलो उपायतर्फ हाम्रो ध्यान बढी हुन्छ।

उर्जाको क्षेत्रमा हेर्ने हो भने हामीले सौर्य उर्जा र बायो ग्यास उपयोगको क्षेत्रमा उहिल्यै ठूलो फड्को मारिसक्नु पर्ने थियो । खालि ८३००० मेगावाट जलविद्युतको सपनामा रम्दा रमाउँदा हामी अत्यन्तै उदेकलाग्दो अवस्थामा पुगेका हौँ । सरकारले अनुदान दिएर मात्रै वैकल्पिक उर्जामा जाने हाम्रो सोचाइ अत्यन्तै परजीवि प्रवृत्तिको छ र यसले गर्दा यी उर्जाप्रतिको हाम्रो सम्वेदनशीलता या तिनको मर्मत सम्भार गर्ने तदारुकता पनि साह्रै कम हुने निश्चित छ । हाम्रा अथाह बायोश्रोत र पहारिलो भेक पाखाहरुमा निरन्तर प्रवाह भैरहेको सौर्यशक्तिलाई हामीले राम्ररी चिन्न सकेमा पनि हाम्रा जीविका र रोजगारीका कतिपय समस्याहरु हटेर जान्छन् ।

निश्चय पनि हाम्रा कृषि र अन्य उत्पादनहरुलाई बजारको अभाव छ । तर सूचना प्रविधिको अधिकतम उपयोग गर्न सकियो भने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बजार भेट्न गाह्रो हुने देखिंदैन । नेपालमै बसेर संचालन भएका अन्तर्राष्ट्रिय प्रिन्टिंग हाउस, डेरिभेटीभ मार्केट म्यानेजमेन्ट यस्ता उदाहरण हुन्। सामान परिवहनको व्यवस्था मात्रै चुस्त रुपमा सञ्चालन गर्न सकियो भने पैसा र सूचना प्रवाह्को समस्या उस्तो झेल्न पर्दैन्र तैपनि व्यवसाय विशेषका सफ्टवेयर निर्माण गर्ने कम्पनीहरुको ठूलो भूमिका हुने प्रष्टै देखिन्छ । कोभिड–१९ र पोस्ट–कोभिड–१९ को परिस्थितिमा हाम्रा सूचना प्राविधिकहरुको भूमिका अत्यन्तै फराकिलो र महत्वपूर्ण हुन जाने कुरामा दुइमत हुनै सक्तैन।

घुम्दै फिर्दै फेरि कृषि क्षेत्रको कुरामा आउँ, खेति गर्ने कृषकका छोराछोरीहरु रोजगारीको निम्ति किन विदेश पलायन भए त्यसको जड पत्ता लगाउन त्यति गाह्रो छैन । मरुभूमिको देशमा पुगेर कठिन परिश्रम गरेर मासिक २५ हजारदेखि ४० हजार या ६० हजार तलब पाउनु उस्तो धेरै पनि होइन । त्यसरी विदेशिनुको मूल कारण खेतीले चिताए जस्तो उत्पादन र रोजगारी दिन नसक्नु हो । खेतीपाती सजिलो काम पक्कै छैन र त्यसका जोखिमहरु पनि छन् । सिंचाई गर्ने पानीको अभाव, आकाशे पानीको भर, मल र बिउको अभाव एवम् असिना, रोग, कीरा, बाँदर आदिको कारणले नहुने बिनास आदिले कृषिप्रति वितृष्णा बढेको हो भन्न कुनै धक मान्नु पर्दैन । तर विदेश पलायनको त्यसभन्दा पनि ठूलो कारण खेतीमा उन्नत प्रविधिको प्रयोग नहुनु हो । माटोको प्रकार, त्यहाँ गर्न सकिने खेती, खेती गर्ने उपयुक्त समय, मल र औषधिको उपयुक्त छनौट, पानीको व्यवस्था, बाली भित्र्याउनु अघि र पछिका कृषिकर्म आदिमा खाध्यबालीको उत्पादकत्व निर्भर रहन्छ तर त्यस किसिमको अनुसन्धान या त नभएको होला, या त त्यसको निष्कर्षमा कृषकहरु आश्वस्त छैनन्।

पहाडमा होस् या तराइमा, कृषि सहकारी जस्ता संस्थाहरु खोलेर वैज्ञानिक प्रविधि अनुसार एकल वा सामुहिक खेती गर्न लगाएर उच्च उत्पादकत्व र बजार व्यवस्थापन गर्न सके प्रशस्त रोजगारीका अवसरहरु सिर्जना हुनसक्छन् । यस्ता सामुदायिक संस्थाहरुले जोखिम न्यूनीकरण, श्रोत व्यवस्थापन र नयाँ प्रविधि अपनाउन आवश्यक भरोसा (आत्मविश्वास) पैदा गर्न सक्तछन् । कृषिमा आधुनिक प्रविधिको प्रयोग हुनासाथ कृषकहरुको सुविधा मात्र होइन, सम्मान पनि ह्वात्तै बढेर जानेछ  । सरकारले पछिल्लो समय कृषि अनुदानको सुविधा प्रदान गरे तापनि त्यसको पहुँच वास्तविक कृषक कहाँ नपुगी राजनीतिक नेता र कार्यकर्ताहरुलाई भरणपोषण गर्ने कार्यक्रमको रुपमा परिणत भएको प्रष्टै देखिन्छ, जुन अत्यन्त दुखद छ । खेतीपातीमा रुचि नभएर छिटो पैसा कमाउने उद्देश्यले राजनीतिमा लागेका त्यस्ता सुकिला–मुकिला व्यक्तिहरुले कृषि या पशुपालनको मर्म नै नबुझी योजना बनाएको र अनुदान प्राप्त गरेको हुनाले परिणाम यस्तो भएकोमा कुनै आश्चर्य मान्नुपर्ने भएन।

प्रविधिको प्रयोग वातावरणसँग पनि जोडिएको छ । हामीले कस्तो प्रविधि अपनाउंछौं, त्यसले वातावरणलाई कम या बढी असर गर्छ । उदाहरणका लागि सोलार सेल र मर्करी ल्याम्पहरुलाई लिन सकिन्छ । हाल देशमा देखापरेको अत्यधिक पहिरोको  समस्या अनुपयुक्त बाटो निर्माण (डोजरले खन्ने) प्रविधिले गर्दा भएको हो । प्रविधि गलत भयो भने वातावरणमा ह्रास आउँछ र मानिसको स्वास्थ्य र सुरक्षामा अनेक समस्याहरु देखा पर्न थाल्दछन् । अर्कोतर्फ, उपयुक्त प्रविधिको प्रयोगबाटै पनि वातावरणलाई सुरक्षित र संरक्षित राख्न सकिन्छ । यतिखेर चिन्ताजनक अवस्थामा रहेको पोखराको फेवाताललाई जोगाउन पनि प्राकृतिक रुपले उपयुक्त प्रविधि अपनाउन जरुरी छ । यसको वरपरबाट भएका प्रदुषण, पहिरो या बाढीका कारणले पुरिने क्रम आदिको विस्तृत अध्ययन र समाधान प्रविधिले नै दिनसक्छ ।

प्रविधि व्यवस्थापनको उपाय

तसर्थ, समष्टिमा नेपालको बिकासका लागि उपयुक्त प्रविधिको उपयोगमा ध्यान दिनैपर्छ । उच्च तहका नीति निर्माणदेखि स्थानीय स्तरका बिकास कार्यक्रमहरुमा जिम्मेवार प्राविधिकहरुको परामर्श अत्यन्तै जरूरी छ । प्रविधिको प्रयोग मात्रले समस्या समाधान हुने होइन, त्यसको समुचित ब्यबस्थापन पनि जरूरी छ । प्रविधि लागू भएको ठाउँमा त्यसबाट अपेक्षित परिणाम निस्कने प्रत्याभूति भएन भने प्रविधिको अर्थ हुँदैन । तसर्थ कुनै पनि प्राविधिक आयोजनाको पोष्ट अपरेसन मेंटिनेंस अनुगमन र मूल्याङ्कन भैरहेको हुनुपर्छ । हाम्रा कृषिका, विकासका, बेरोजगारीका र वातावरणका सबै आयाममा प्रविधिको महत्वपूर्ण भूमिका रहेको हुनाले सरकार मात्र होइन, व्यक्ति र समाजले पनि प्रविधिको बारेमा जानकार हुनु र चिन्तन गर्नु अत्यावश्यक छ ।

संसारलाई देखाउन सक्ने केही मौलिक प्रविधिहरुको संरक्षण गर्नु, प्रवर्धन गर्नु र तिनलाई युग सुहाउँदो परिमार्जन गर्नु पनि हाम्रा लागि चुनौतीपूर्ण कुरा हो।
प्रविधि र परिवर्तन

समय अत्यन्तै परिवर्तनशील छ र भोलि के हुन्छ भन्ने आजै भन्न सकिन्न । केही महिना अघि मैले यो लेख सुरु गर्दा कोभिड–१९ को गुन्जायश त के, नाम पनि सुनिएको थिएन । २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, बारा जिल्लामा आएको आंधीबेहरी, त्यसपछिको यो कोभिड–१९ को विश्वव्यापी आतंक र हालका बाढीपहिरो आदिले नेपाल एकपछि अर्को प्रकोपले आक्रान्त छ । यी समस्याका समाधानमा हरेकपल्ट प्रविधि र प्राविधिकहरुको रोल महत्वपूर्ण रहेको छ । यसले के बुझाउँछ भने राष्ट्रको संकटको घडीमा प्राविधिकहरुको भूमिका अपरिहार्य छ। जोखिम न्यूनीकरण र विपत व्यवस्थापनको सबलीकरण जस्ता विषयमा पनि प्राविधिकहरुको तथ्यांकपरक र वैज्ञानिक सुझाव लिनसके राष्ट्रलाई फाइदा नै हन्छ । तर हाम्रो सत्ता संस्कार प्रविधिलाई महत्व दिने खालको छैन । प्राविधिकलाई अघि सारेर नेतृत्व दिन नेता र कर्मचारीहरु चाहँदैनन् र कतै कुनै समितिमा राख्नै परे पनि प्राविधिकभन्दा बढ्ता राजनीतिक चरित्र बोकेको मानिस त्यहाँ पर्छ । सबैभन्दा हेपिएको मन्त्रालय विज्ञान प्रविधि मन्त्रालय छ र वैज्ञानिक अनुसन्धानमा कसैको रुची छैन । विदेशबाट उच्च शिक्षा पढेर आएका अनुसन्धाता, वैज्ञानिकहरुलाई काम गर्ने कुनै ठाउँ पनि छैन, काम गर्न दिने वातावरण पनि छैन । त्यसका बाबजुद पनि अगाध देशप्रेमका कारणले असाध्यै संघर्ष गरेर प्रविधिमार्फत् सन्दुक रूइतले समाज कसरी बदले र महावीर पुनले कसरी बदल्न चाहन्छन्, त्यो स्वीकार र आत्मसात गर्नसक्ने खालको समझ कुर्चिवालाहरुमा भैदिएमा देश बेग्लै हुने थियो।

तसर्थ, आजैदेखि एक आमनागरिक लगायत मन्त्री, प्रधानमन्त्रीसम्मले यो महसुस गरौँ कि प्रविधिको इमान्दारीपूर्वक विकास, प्रवर्धन र ब्यवस्थापन विना मुलुकको विकास सम्भव छैन।

हाम्रो सुझाव