गुमनाम सुवर्ण शमशेर

जगत नेपाल
माघ २२, २०७७

तीन महिनाअघिको कुरा हो । पूर्वराज्यमन्त्री उदयशमशेर राणाले फोनमा भने – जगत जी कोभिडको उपयोग गरेर तपाईंको पुस्तक ‘पहिलो संसद् बिपी महेन्द्र टकराव’ पढ्ने मौका पाएँ । अंग्रेजी पढ्न सहज लाग्छ । नेपालीमा भएकाले तपाईंको किताब पल्टाएको थिइन । अहिले पढेँ । रोचक लाग्यो । पहिलो संसद्मा विपक्षी दलको नेता रहनुभएका मेरा ठूलो बुवा भरतसमशेरका धेरै सूचना तपाईंले पाउनु भएन छ । त्यति बेलाको राजनीतिका जानकार अर्का ठूला बा जगदीश शमशेर जीवित रहनु भएन । हाम्रो परिवारका त्यो पुस्तामा मेरो बुवा सागर शमशेरमात्र बाँकी हुनुहुन्छ, उहाँको अन्तर्वार्ता गर्नुस् ।

उदय जीसँगको यही संवाद पछि सानेपास्थित राणा निवास गएर सागर शमशेरसँग लामो अन्तर्वार्ता लिएँ । राणाले रोचक ढंगले सुनाए – हामी बबर महलमा बस्थ्यौं । मेरो हजुरबुवा बबरसमशेर २००७ ताका प्रधानमन्त्रीको रोलक्रममा हुनुहुन्थ्यो । त्यही बेला नेपाली कांग्रेसको नेतृत्वमा राणा विरोधी आन्दोलन सुरु भयो । हामी बबर महलमा थियौं । केटाकेटी भएकाले सिंहदरबार जानु पर्दैनथ्यो ।

राणा परिवारका केटाकेटीले १६ वर्ष पुगेपछि मात्र पाउमा दाम राखेर सिंहदरबारभित्र श्री ३ को दर्शन पाउँथे । घरमा बाजे र बुवाहरुबीच खासखुस कुरा हुन्थ्यो । कांग्रेसको शक्ति कति छ भन्ने विषयमा चर्चा चल्थ्यो । हामी केटाकेटी भएकाले हजुरबा र बाहरु कांग्रेस र उसको आन्दोलन बारे हाम्राअघि खुलेर कुरा गर्दैनथे । तिनताका राणा परिवारमा कांग्रेसीलाई दानव भनेर चिनिन्थ्यो ।

यो त्यही समयको कुरा हो जति बेला कांग्रेसको मुक्ति सेनाले वीरगन्ज, विराटनगरलगायत देशका प्रमुख भागमा सशस्त्र आक्रमण गरेपछि सागरले हेर्दाहेर्दै राणा वंशको जहानियाँ शासन सत्ता गयो । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको अध्यक्षतामा कांग्रेससहितको संयुक्त सरकार बन्यो । सागरका हजुरबा बबर शमशेर रक्षामन्त्री भए । संयुक्त सरकार भएकाले राणाबाट प्रधानमन्त्री भएपछि कांग्रेसका नेता गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला स्वाभाविकरुपमा दोस्रो वरीयताको मन्त्रीका दाबेदार थिए । तर प्रधानमन्त्रीको रोलक्रममा रहेका बबरशमशेरलाई विपीपछिको मर्यादाक्रममा बस्न सकस भयो ।

अनि मन्त्रिपरिषद्को एउटा बैठकमा भाग लिएर राजीनामा दिने सर्तमा उनी दोस्रो वरियताको मन्त्री बने । एउटा चार्टर विमानमा सामान र परिवारका सबै सदस्यलाई राखेर बबर शमशेरले देश छोडिदिए ।

दिनभरको प्रयासमा सुवर्ण समशेरको वैयक्तिक विवरण र केही तस्बिरबाहेक सूचना पाउन सकिनँ

सागरले सुनाए – मलाई अझै याद छ हामी जहाजको भुइँमा बसेर उडेका थियौँ । अनि भारतमै बस्न थाल्यौं ।

त्यसको केही समयपछि गृहमन्त्री बिपी बम्बै आए सागरका हजुरबा बबर शमशेरलाई भेट्न । विपीलाई आक्रमण (खुकुरी दल काण्ड) गरेको आरोपमा सागरका दाजु भरतशमशेर जेलमा थिए । त्यति बेलासम्म विपी मानिस हैन राक्षस हो भन्ने परेको थियो सागरसहित राणा परिवारका केटाकेटीलाई । सागरले लेखकलाई सुनाए – नेपाली कांग्रेस र त्यसका नेता कोइराला भनेपछि त हामी उनी कुनै राक्षसको रुप हो कि हाउ गुजी हो भन्ने सोच्थ्यौं । उनलाई सशरीर त कहिल्यै देखेको पनि होइन ।

सागरले भने – मलाई त्यो दिन अझै याद छ विपी टकटक हिडेरै हाम्रो घरको ठूलो हलमा छिर्नुभयो । बाजे माथि हुनुहुन्थ्यो । भित्र पस्दा उहाँको हसिलो अनुहार अझै सम्झन्छु । आमा हामी थियौं । एकातिर पुरुष, अर्कोतिर महिला । बिपी भित्र पस्नुभयो । पातलो अग्लो, कस्तो आकर्षक व्यक्तित्व विपीको । म त अचम्मै भए । त्यस्तो राम्रो गोरो । हिसी भएको । यता हेरेर हाँस्ने । उता हेरेर हाँस्ने । राक्षस भनेको मान्छे त ? विपीले मेरो आमालाई भन्नुभयो – रानी साहेब नमस्ते, अहिले तपाईंको छोरा जेलमा हुनुहुन्छ । राजनीतिमा यस्तो हुँदो रहेछ । तर, हजुरले चिन्ता गर्नु पर्दैन । म हुँदासम्म तपाईंका छोरालाई राम्रोसँग राख्छु । त्यसपछि बाजेलाई भेट्नुभयो । त्यसै दिनदेखि विपीसँग म प्रभावित भएँ । पछि कांग्रेसमा लागेपछि मेरो आदर्श उहाँ नै हो ।

यसरी भारत गएका बबर समशेर त्यसपछि यतै बस्ने गरी नेपाल फर्किएनन् ।
सागर समशेरसँगको लामो अन्तर्वार्ता सकिएपछि उदयले भने – जगत जी तपाईंको किताबमा २०१५ सालको चुनाव गराउने प्रमुख निर्वाचन आयुक्त सुवर्ण शमशेरका बारेमा पनि अलिकति कम सूचना भएजस्तो लाग्यो । उहाँकी छोरी ज्योत्सना राणा थापा हुनुहुन्छ, भेट्नुस् केही नयाँ कुरा थाहा पाउनु हुन्छ कि ?

हाम्रो टोली थापाको महाराजगन्ज बाँसबारीस्थित घरमा पुग्यो । तर, उनलाई पनि आफ्ना पिता बारेमा खासै जानकारी रहेनछ । थापाले भनिन् – म सानै थिएँ । त्यस बेलाका घटना खासै थाहा छैन । मेरा दाइलाई थाहा छ कि बोलाउँछु ।

एक घन्टा जति कुरेपछि उनका दाइ आइपुगे । धेरैजसो भारतमै बस्ने उनी भर्खरै काठमाडौं आएका रहेछन् । तर, तिनलाई पनि आफ्ना बुबाको बारेमा देशकै पहिलो संसदीय चुनाव गराउने प्रमुख निर्वाचन आयुक्त भन्नेबाहेक खासै थाहा रहेनछ । धेरैतिर फोन लगाएपछि उनले भने गृष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’ पढ्नुस् बुबाका बारेमा थाहा हुन्छ । मैले भने – त्यसमा भएको देखिबाहेक अरु थप जानकारी पाइएला कि भन्ने अपेक्षा लिएर म यहाँ आएको हुँ ।

दिनभरको प्रयासमा सुवर्ण शमशेरको वैयक्तिक विवरण (बायोडाटा) र केही तस्बिरबाहेक सूचना पाउन सकिनँ । बेलुका घर आएपछि सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गरें । त्यसमा लेखेको थिएँ – यी मान्छे को होलान् ? खोजी गर्दै छु । कृपया यिनका बारेमा जानकारी भए पाऊँ । आभारी हुनेछु ।

साँझ त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका एक प्राध्यापकले सोधे – हैन तपाईंले राखेको तस्बिर कसको हो ? मैले भने – सुवर्णशमशेर राणाको । मैले सोधेँ – चिन्नुहुन्छ ? उनले तत्काल जवाफ दिए – किन नचिन्नु ? मैले पढाइ रहेको छु । सुवर्ण उनै व्यक्ति हुन् जसले २००७ सालको क्रान्तिका लागि आफ्नो धेरै सम्पत्ति खर्चिए । नेपाली कांग्रेसका संस्थापक नेता, उनैको अध्यक्षतामा गठित सरकारले २०१५ सालमा पहिलो संसदीय चुनाव गरायो । दुई तिहाइबढी बहुमत पाएर विपी पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । सुवर्ण आफैँ तीन तीन क्षेत्रमा विजयी भए । सुवर्ण प्रमुख निर्वाचन आयुक्त र त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति समेत थिए ।
ती प्राध्यापकको कुरा सुनेर चकित भएँ । उनी भन्दै थिए – वर्षौंदेखि म सुवर्ण बारे पढाइ रहेको छु । मैले भने – गुरु तपाईंले त गलत पढाइरहनु भएको रहेछ नि । यी दुवै सुवर्ण शमशेर एउटै कालखण्डका ऐतिहासिक जिम्मेवारी वहन गरेका तर अलगअलग व्यक्ति हुन् । एक जना कांग्रेस नेता, चुनाव गराउने सरकारमा प्रमुख, त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति हुन् भने अर्का चाहिँ प्रमुख निर्वाचन आयुक्त । नेपालमा प्रजातन्त्रको जग बलियो बनाउन दुवै सुवर्णको ऐतिहासिक भूमिका छ ।

कांग्रेस नेता सुवर्ण भीम शमशेरका सन्तान हुन् भने प्रथम प्रमुख निर्वाचन आयुक्त सुवर्ण वीरशमशेरका । मैले यति भनेपछि ती प्राध्यापकले भने – लौन गुरु यो कुरा त तपाईंले कहीँ न कहीँ लेखिदिनु प¥यो । अहिले सच्याउन सकिएन भने इतिहास मरेर जानेछ । हामीजस्तो मास्टरले गलत पढाइरहने छौँ ।

भोलिपल्ट एमए प्रथम सेमेस्टरमा पोलिटिकल कम्युनिकेसन पढ्ने विद्यार्थीलाई अनलाइन कक्षामा मैले सोधेँ – तिमीहरुले पढिरहेको त्रिभुवन विश्वविद्यालयका पहिलो उपकुलपति को हुन् भन त । धेरैले थाहा नभएको बताए । केहीले कुनै नाम लिए । अनि मैले भने – ल गुगल गरेर भन । तिनले पत्ता लगाउनै सकेनन् ।

देशकै ठूलो विश्वविद्यालयमा एमए पढ्ने विद्यार्थीले गुगल गर्दासमेत आफ्ना प्रथम उपकुलपति बारे थाहा नपाउनु र त्यही विश्वविद्यालयका प्राध्यापकले समेत अर्का सुवर्ण शमशेर बारे वर्षाैंसम्म गलत पढाइरहनु विडम्बना नै हो ।
यस घटनाले डेढ वर्षअघि क्यालिफोर्निया युनिभर्सिटी बर्कलेका प्राध्यापक अंगना चटर्जीले भनेको कुरा सम्झायो । हामी स्टान्डफर्ड विश्वविद्यालयको डिजिटल लाइब्रेरी (संसारकै ठूलो)मा थियौं । त्यहाँ हामीलाई विश्वको डिजिटल नक्सा देखाइयो । तर, भारत र चीनको सीमामा जति जुम गर्दा पनि नेपाल भने देखिएन । हामीले चकित भएर सोधेका थियौं – खै त हाम्रो देश नेपाल ? सुरुमा त उनीहरु पनि छक्क परे । पछि प्राध्यापक चटर्जीले भनिन् – हेर यो भौगोलिक नक्सा होइन । प्राज्ञिक नक्सा हो । हाम्रो विश्वविद्यालयको जानकारीमा तिम्रो देशले अध्ययन अनुसन्धानको कामलाई प्राथमिकतामा राखेको भन्ने देखिएन । त्यसैले नेपालको नक्सा यसमा नपरेको हो ।

तिमीहरु अनुसन्धान गर्दै जाऊ । हामी नेपालको नक्सा समावेश गर्छौं । सुवर्णको प्रसंगले महसुस गराएको छ – अनुसन्धानका क्षेत्रमा हामी कहाँ रहेछौं ?

Related News

सम्बन्धित समाचार

hero news full width