प्रभावशाली खण्डग्रास सूर्यग्रहणः अनिष्ट संकेत

कल्याण पन्त
असार ७, २०७७

एशियाको लगभग पूरै भागबाट देख्न सकिने २०७७ साल असार ७ गतेको खण्डग्रास सूर्य ग्रहणलाई विशेष महत्त्वसाथ हेरिएको छ । खगोलीय पिण्डहरु ब्रह्माण्डमा अनादि कालदेखि नै आआफ्नै तौर तरीकाले सूर्यलाई फन्का मारेर घुमिरहेका छन् । यी खगोलीय पिण्डहरुका शक्ति पनि अपरिमेय छ । ग्रहहरु आआफ्नो मार्गमा निरन्तर घुमिराखे पनि यसको प्रभाव पृथ्वीमा रहेका मानवलगायतका जीवहरुमा परिरहेको हुन्छ ।

यसभन्दा पहिलाका ग्रहण एउटै नक्षत्रमा लागेर समाप्त हुन्थे तर यस पटकको ग्रहण भने मृगशिरा नक्षत्र र आद्रा गरी दुई नक्षत्रमा लागेको हुन्छ । महाभारतकालीन युद्धको समयमा पनि यस्तै ग्रहण लागेको थियो । अझ यस ग्रहणमा ६ वटा ग्रह (शनि, गुरु, शुक्र, बुध, राहु र केतु) हरु बक्री हुने बताइएको छ । केही ज्योतिषशास्त्रीहरुको अनुसार गत वर्ष पुसमा लागेको सूर्यग्रहणले कोरोना जस्ता महामारी ल्याएको दाबी गरेका छन् । हालको सूर्यग्रहणले पनि ६ महिनाभित्र बाढी, पहिरो, तुफान वा कुनै महामारी निम्तिन सक्ने बताएका छन् । अझ यसका अलवा मुलुकहरुका आन्तरिक कलह, अत्याधिक कष्टकारी समय, आर्थिक मन्दिपन, विश्वमा उथलपुथल, भोकमरी आदि जस्ता अनिष्टकारक संकेत हुन सक्ने बताइएको छ । यस ग्रहणको योग चुडमणि योग भनिएको छ ।

हामीले नेपालको आकाश माथि देखेका तारा र ग्रहहरु युरोप वा एशियाकै कुनै पनि मुलुकका आकाशमा नदेखिन सक्छन् । यी धब्बा त्यतिखेर देखिन्छन्, जतिखेर पृथ्वी चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् । चलायमान ग्रहहरु घुम्दै जादाँ संयोगवशः एउटै सरलरेखामा धेरै पटक पर्दछन् । गत वर्ष सूर्यग्रहण पुस १० गते औंसी तिथिमा देखा परेको थियो ।

कुनकुन मुलुकबाट यो खण्डग्रास सूर्यग्रहण देखिन्छन् ?

ग्रहण सबै मुलुकहरुबाट देखिदैंन । पृथ्वीको कुनै भागबाट पुरै ग्रहण लागेको देखिन्छ भने कहीँ आंशिक रुपमा ग्रहण लागेको देखिन्छ । यसको मुख्य कारण पृथ्वी गोलाकार हुनु हो । हामीले नेपालको आकाश माथि देखेका तारा र ग्रहहरु युरोप वा एशियाकै कुनै पनि मुलुकका आकाशमा नदेखिन सक्छन् । यी धब्बा त्यतिखेर देखिन्छन्, जतिखेर पृथ्वी चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दछन् । चलायमान ग्रहहरु घुम्दै जादाँ संयोगवशः एउटै सरलरेखामा धेरै पटक पर्दछन् । गत वर्ष सूर्यग्रहण पुस १० गते औंसी तिथिमा देखा परेको थियो । त्यतिखेर ६ वटा ग्रहहरु एउटै राशिमा परेका थिए । यो ग्रहण नेपाल, भारत, श्रीलंका, लगायत एशियाका धेरै मुलुकहरुबाट देखिएको थियो ।

तर यस पटकको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीनलगायत एसियाका सबै मुलुक, कंगो, इथोपियालगायत अफ्रिकी मुलुक, दक्षिण पूर्वी यूरोप, मध्यपूर्वका देश, इन्डोनेशिया, दक्षिणपूर्वी अमेरिका, अस्टेलिया आदि मुलुकबाट देखिन्छ ।
सूर्य र चन्द्रमा निकै शक्तिशाली आकाशीय दुई ठूला पिण्डहरु हुन् । साँच्चै नै यी ग्रहहरु बिना पृथ्वीका कुनै पनि जीवजीवात्माका अस्तित्व सम्भव छैन । दिनमा उज्यालो छर्ने ग्रह सूर्य हो भने रातमा केही उज्यालो देखाउने ग्रह चन्द्रमा हो । पुस–माघका दिनमा दिनभर घाम नै लागेन भने सूर्यको र अँधेरी रातमा चन्द्रमा देखिएन भने चन्द्रमाको महत्व थाह हुन्छ । मूल कुरा के हो भने कुनै पनि वस्तुको अभावमा महत्व देखिन्छ । ब्रमाण्डमा थुप्रै सूर्य, चन्द्रमाजस्तै सानातिना अन्य खगोलीय पिण्डहरु छन्, यी सबै एकसेएक महत्वका छन् । सूर्यको उज्यालो ताराहरुमा पनि व्याप्त छ । यी ताराहरु यति टाढा छन् कि जहाँ सूर्यको प्रकाश मात्र पुग्न पनि वर्र्षाैं लाग्छ । मानव जीवनका धार्मिक पक्ष पनि चन्द्र ग्रहका आधारमा विभिन्न चाडपर्व मनाइने गरिन्छ । यति मात्र नभई साँस्कृतिक तथा सामाजिक पक्ष पनि ग्रहमै आधारित छन् ।

कति बेला कसरी लाग्दै छ ग्रहण ?

नेपाली पञ्चाङ्ग अनुसार असार ७ गते ( सबैभन्दा लामो दिन) कृष्ण पक्ष औसीका दिन (आइतबार) बिहान १० बजेर ५० मिनेटमा खण्डग्रास सूर्यग्रहण स्पर्श हुँदैछ । सर्व पर्वकाल ३ घण्टा ३३ मिनेट हुने यस ग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा अन्त्य हुन्छ । ग्रहणको मध्य काल १२ बजेर ३८ मिनेट जाँदा हुन्छ । यो ग्रहण पश्चिम, नैेऋत्य कोणबाट सुरु भएर पूर्व, आग्नेय कोणको बीचबाट ग्रहण सकिनेछ । यो ग्रहण वृष, मिथुन, कर्कट, तुला, बृश्चिक, धनु, कुम्भ र मीन बाहेक अन्य राशिवालाले सुरक्षितपूर्वक यन्त्र मार्फत ग्रहण हेर्न सकिने ज्योतिषशास्त्रको फलित खण्डले बताएकोे छ । बाँकी राशिहरुले हेरेमा अशुभ फल प्राप्त हुन्छ, पञ्चाङ्गमा उल्लेख छ ।
ग्रहण अवलोकन गर्दा कुन राशिलाई के कस्तो प्रभाव ?

सूर्यग्रहणमा चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै खाना खानु हुँदैन भनिएको छ । चन्द्रग्रहणमा ९ घण्टा अघिदेखि केही खानु हुन्न ।

सूर्य ग्रहणको प्रभाव सबै राशिलाई समान रुपले पर्दैन । राशि, नक्षत्र अनुसार यसले प्रभाव पार्ने भएकोले ग्रहण प्रत्यक्ष रुपमा हेरेमा विभिन्न फल दिइएको छ । यस अनुसार मेषलाई श्रीप्राप्ती, वृषलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंहलाई लाभ, कन्यालाई सुख, तुलालाई माननाश, वृश्चिकलाई कष्ट, धनुलाई स्त्रीपीडा, मकरलाई सौख्यम्, कुम्भलाई चिन्ता र मीनलाई व्यथा प्राप्ति हुने ज्योतिषशास्त्रको फलित खण्डले बताएको छ । यो ग्रहणले विशेष गरेर मृगशिरा नक्षत्र भएका व्यक्तिले हेरेमा घातक फल प्राप्त हुन्छ, हिमाल पञ्चाङ्गले उल्लेख गरेको छ ।

सूर्य ग्रहण कसरी लाग्दछ ?

सामान्य बोलचालको भाषामा भन्दा ग्रहण भन्नाले लिनु भन्ने बुझिन्छ । तर यो ब्रमाण्डीय पिण्डको भाषामा भन्दा सूर्य वा चन्द्रमामा पर्ने दाग वा धब्बा भन्ने बुझिन्छ । सूर्यमा कालो धब्बा वा छायाँ पर्नु वा लिनुलाई सूर्यग्रहणको रुपमा बुझिन्छ । ब्रमाण्डका सम्पूर्ण पिण्डहरु चलायमान छन् । सौर्य परिवार (मंगल, बुध, बृहस्पति, शुक्र, शनि आदि) का ग्रहहरुले सूर्यलाई केन्द्रमा पारेर घुम्ने गर्दछन् । ग्रहहरुले सूर्यलाई घुम्ने क्रममा सीधा रेखामा पर्न जादाँ एक ग्रहले अर्काेलाई छेक्ने गर्दछ र सूर्य वा चन्द्रमामा छायाँ पर्दछ । यही छायाँ वा कालो धब्बा वा दाग चन्द्रमामा देखिन्छ भने चन्द्रग्रहण, सूर्यमा देखिन्छ भने सूर्यग्रहण भनिन्छ । कालो धब्वा वा दाग जे भने पनि ती ग्रहहरुमा देखिने छायाँ मात्र हुन् । यो छायाँ फेरि ग्रहहरु चलायमान भएका कारण छायाँ हट्दै जान्छ । सूर्यग्रहण सर्धै औसीको दिनमा मात्र लाग्दछ ।सूर्यलाई पृथ्वीले घुम्ने गर्दछ, पृथ्वीलाई चन्द्रमाले । यसरी घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधा लाइनमा पर्न जान्छ । सूर्यको बीचमा चन्द्रमा पर्न जाँदा चन्द्रमाको छायाँ सूर्यमा देखा पर्दछ । यो नै सूर्यग्रहण हो । सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधारेखामा पर्ने संयोग औंसी तिथिमा मात्र हुन्छ । सूर्यग्रहण हुनको लागि दुई अवस्था हुनुपर्दछः पहिलो, औंसी तिथि हुनुपर्छ । दोस्रो, चन्द्रमाको रेखांश राहु या केतुको नजिकै हुनुपर्दछ । तेस्रो, चन्द्रमाको अक्षांश शून्य नजिक हुनुपर्छ ।

सूर्य ग्रहणमा के गर्न हुन्न ?

ग्रहण लागेको बेलामा सुत्न, दिसापिसाब गर्न, मैथुन गर्न, सिंगारपटार गर्न, भोजन गर्न, काटमार गर्न नहुने धार्मिक मान्यता छ । सुतेको खण्डमा रोग लाग्ने, दिशापिसाब गरे दरिद्र भइने, भोजन गरे अधोगतिमा परिने, सिंगारपटार गरे कुष्ठरोगी भइने, काटमार गरेमा नरकमा बास हुने धर्मग्रन्थमा उल्लेख छ । त्यसरी नै सूर्यग्रहणमा चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै खाना खानु हुँदैन भनिएको छ । चन्द्रग्रहणमा ९ घण्टा अघिदेखि केही खानु हुन्न । सुतक लाग्ने हुनाले खाना बार्नुपर्छ भनिएको हो । ग्रहणमा नुहाउन, दान गर्न, श्राद्ध गर्न, जप, ध्यान, साधना गर्न र दीक्षा मन्त्र लिन राम्रो हुने शास्त्रीय मत छ । त्यसरी नै पानी जमेका स्थल पोखरी, ताल, कुवा आदिमा स्नान गर्दा पुण्य हुने कुरा कालमाधव, निर्णयसिन्धु, हेमाद्रि, वीरमित्रोदय आदि ग्रन्थमा उल्लेख छ ।

सूर्य ग्रहहरु मध्ये एक शक्तिशाली ग्रह हो । यसलाई पिताकारक ग्रहको रुपमा मानिदैं आइएको छ । बाबुसमान ग्रह भएकोले यसको मानमर्यादा राख्नुपर्ने शास्त्रीय विधान छ । ग्रहण लाग्नु भन्दा पहिले स्नान गर्नुपर्ने र पूजा, यज्ञ र जप गर्नुपर्ने बताइएको छ । ग्रहण सिद्धिने वित्तिकै दान गर्नाले सो दान दिएको सार्थकता हुने बताइएको छ । जलमा विशेष प्रभाव पार्ने हुनाले ताजा पानी भरेर पिउनुपर्छ भनिएको छ । वैज्ञानिक दृष्टिले पनि सूर्यग्रहणको बेला विभिन्न हानिकारक विकीरण पृथ्वीमा आउने हुनाले स्वास्थ्यका हिसाबले खान नहुने लगायत अन्य गतिविधि गर्न नहुने ठहर आधुनिक ज्योतिषीहरुले गरेका छन् ।

ग्रहण कालमा के हुन्छ ?

सूर्यग्रहणको समयमा गरिने सम्पूर्ण दानधर्मका पूरापुर फल मिल्दछ भन्ने पुराणमा उल्लेख गरिएको छ ।

ग्रहणकालमा सुतक (घरमा सन्तान जन्मिदा वा मर्दा लाग्ने आशौचजस्तै) लाग्ने भएकोले दूध, दही, घिऊ, भोजन, जल आदिमा कुशका टुक्रा डुबाएर राख्दा ती खानेकुराहरु दूषित हुन पाउँदैन भन्ने भनाइ छ । गंगाजल भने यत्तिकै पनि पवित्र मानिन्छ । कुशको प्रयोग देव पितृकार्यमा हुन्छ । यसमा एक दिव्य विलक्षण अग्नितत्वका साथै विद्युत् शक्तियुक्त हुन्छ । कुशका जलले छर्किएको छिटाबाट भूतप्रेतादिका अदृष्ट बाधा हट्छ भन्ने भनाइ छ । जलमा कुश डुबाउनाले ग्रहण लाग्दा सूक्ष्मजीवाणु उत्पन्न हुने गर्दछ । कुशका टुक्रा डुबाउँदा ती जीवाणु कुशका वरपर हुने हुँदा पछि फाल्न सजिलो हुन्छ । ग्रहण लाग्दा तमोगुण व्याप्त हुने भएकोले खाद्यपदार्थमा यसको मात्रा बढ्न गयो भने यस्तो खानाले बुद्धिमा मलिनता, मस्तिष्कमा निर्वलता र शरीरमा आलस्यता ल्याउँछ । त्यसैले खानेकुरामा कुशका टुक्रा राख्ने प्रचलन छ । यसले तमोगुणी विद्युत कुचालकको काम गर्दछ र खानेकुराहरुलाई प्रदूषित हुनबाट जोगाउँछ । गर्भवती महिलाले ग्रहण हेर्न हुन्न भन्ने मान्यता छ । ग्रहणको दुष्प्रभावले जन्मने बच्चा अपाङ्ग वा अंगहीन बन्न सक्ने प्रबल हुने सम्भावना भएकोले यसो भनिएको हो, साथसाथै गर्भपातको सम्भावना पनि त्यतिकै हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width