समाजवादी चिन्तनमा लागौं

तिलकप्रसाद आचार्य
मंसिर १०, २०७७

२०५२ साल फाल्गुण १ गते देखि सशस्त्र जनयुद्ध शुरु गरेका माओवादीहरु १७ हजार मानिसको मृत्यु र ५ हजार मानिस बेपत्ता भएपछि २०६३ मंसिर ५ गते शान्ति सम्झौतामा आए । सम्झौतामा हस्ताक्षर गरेपछि सशस्त्र जनयुद्धको अन्त्य र शान्ति स्थापना भएको हो । तत्कालीन माओवादीले संविधान सभाबाट संविधान बनाउने नीति तय गरेको थियो । सो अनुरुप २०७२ साल आश्विन ३ गते संविधान सभाबाट संविधान बनाई जारी गरिएको थियो । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीले संविधान जारी भएको दिनमा दिपावली गर्दै आएको छ । सो संविधानलाई आत्मसात गर्दै ए.मा.ले.संग मिलेर निर्वाचनमा भाग लिएर संसदमा करिव दुईतिहाई बहुमत प्राप्त गरेर के.पी. ओलीको प्रधानमन्त्रीत्वको सरकारमा सम्मिलित भएर महत्वपूर्ण मन्त्रालयको मन्त्री बनेर सरकार संचालन गरी रहेका छन् । देशको समृद्धि र आर्थिक विकासको काममा महत्वपूर्ण योगदान दिइ रहेका छन् । एकीकृत माओवादीको यो रुप संसदीय लोकतान्त्रीक प्रणालीप्रति विश्वस्त भएर पार्टीसिपेसन गरेको देखिन्छ । विगतमा यो रुपले माओवादी सिद्धान्तप्रति कति निष्ठावान छन् कि छैनन् यकीन साथ भन्न सकिँदैन । माओवाद नमान्ने एमाले पार्टीसंग सहकार्यमा पटक–पटक खटपट हुने गरेतापनि यो एकता राम्रै मान्नु पर्दछ । माओवादी सशस्त्र जनयुद्धका संचालक मुख्यतया प्रचण्ड͵ मोहन वैद्य तथा बाबुराम भट्टराई यी तीनजना हाल तीन ठाउँमा छन् । तीन पार्टीमा छन् ।

मोहन वैद्य नेतृत्वको ने.क.पा. माओवादीले यो संविधान सभाको अत्यधिक वहुमतबाट पारित गरेको संविधानलाई संविधान दिवसको अवसरमा च्यात्ने जलाउने कार्य गर्ने गरेका छन् । एकै पार्टीको केन्द्रीय नेतृत्वमा वसेर संविधान सभाबाट संविधान वनाउने भन्ने विषयमा एकमत भएर लागेको वैद्य समूह संविधान तैयार होउन्जेल एकै ठाउँमा नेतृत्व पंतिमा रहेको केही समयपछी मोहन वैद्य समूह संविधानको विरोध गर्नु यी संविधान च्यात्दै हिँड्नु दुखद् कुरा हो । नेपालका कम्युनिष्ट नेता मोहन वैद्य͵ नारायणमान विजुक्छे͵ मोहनविक्रम सिंहरुले संविधानको विरोध गर्नु दुःखद कुरा हो । यिनीहरुको सशस्त्र माओवादी युद्ध संचालन गर्ने आँट थिएन हिम्मत पनि छैन । मोहन विक्रम र नारायणमानले संसदीय निर्वाचनमा भाग लिई रहेका छन् । वैद्य समूहले संविधान विरुद्ध दीर्घकालीन जनयुद्धको कार्यक्रम संचालन गर्ने भनी वक्तव्यवाजी गर्ने गर्दछन् । उनीहरुको सोचाई हावादारी देखिन्छ । अर्को रुप नेत्रविक्रम चन्द विप्लवको छ । यो समूहले माओवादी र तत्कालीन सरकारका वीचमा भएको शान्ति सम्झौताले माओवादी र सरकारका वीचको संवन्ध तोडेकाले र देशमा पूर्ण शान्ति स्थापना नभएकोले माओवादी सशस्त्र जनयुद्ध जारी रहन्छ भनी छिटफुट हत्या हिंसा आतंक जारी राखेको छ । देशमा अशान्ति मच्चाई रहेको छ । जनयुद्धको उद्देश्य अनुसार शान्ति स्थापना भएको छैन । जनयुद्धको उद्देश्य पुरा भएको छैन भनी भूमिगत आन्दोलन संचालन गरी रहेकोछ । वर्तमान सरकारले विप्लवसंग वार्ता गरी शान्ति स्थापना गर्ने प्रयास गरेको भनी वक्तव्यवाजी गरेतापनि शान्ति स्थापना तर्फ ठोस कदम संचालन गरिएको छैन ।

सशस्त्र जनयुद्धका संचालकमध्येका जनमोर्चाका संयोजन बाबुराम भट्टराई शान्ति स्थापनाका प्रमुख वार्ताकार हुन् । शान्तिवार्ता सफल पार्न वर्तमान संविधान निर्माण गर्न बाबुरामको महत्वपूर्ण योगदान छ । माओवादीका व्याख्याता बाबुराम संविधान वनी सकेपछि माक्र्सवाद, लेलिनवाद र माओवादी विचारसमेत परित्याग गरेर जनशक्ति पार्टी गठन गरी कम्युनिष्ट चिन्तनबाट पलायन भएको केही समय जनशक्ति पार्टी चलाई आमनिर्वाचनको समयमा मधेशवादी विखण्डनवादी उपेन्द्र यादवको समाजवादी नामधारी प्रतिकृयावादी पार्टीमा सम्मिलित भएका छन् । आफ्नो बौद्धिक दिवालियापन देखाएका छन् । बाबुराम जस्ता बौद्धिक व्यक्तित्वले माक्र्सवादी लेनिनवादी चिन्तनलाई परित्याग गरेका तराईलाई एउटै प्रदेश बनाउने देशलाई विखण्डन गर्ने पार्टीमा लागेर वौद्धिक दिवालियापन आदर्शविहीनता हो ।

यसरी पुराना माओवादी नेता लोकतान्त्रिक मूल्य मान्यता अनुसार परिचालित एकत्रित प्रचण्ड पक्षनै मुल माओवादी पार्टी मान्नु पर्ने हुन्छ मोहन वैद्य र विप्लव समूह उग्रवादी चिन्तन बोकेर हिँडेका र बाबुराम भट्टराई विखण्डनवादी पार्टीमा सम्मिलित भएर बौद्धिक दरिद्रता देखाएका छन् । मोहन वैद्यको दीर्घकालीन सशस्त्र जनयुद्ध संचालन गर्ने कुरा कोरा कल्पना मात्र हो । कैयन उग्रवादी कदम प्रत्युतपादक हुन्छन् । विप्लवले सशस्त्र संघर्ष परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा लाग्न उचित हुन्छ । क्रान्तिको नाममा कैयौं नेपालीको हत्या भई सकेकोछ । सि.के. राउतले हिंसात्मक बाटो परित्याग गरी वर्तमान विश्वको राम्रो मानिएको संविधानलाई आत्मसात गरी संवैधानिक बाटोमा आउनु राम्रो कुरा हो । माओवादीका अर्का मौखिक क्रान्तिकारी नेता गोपाल राई हुन् । उनले पनि विप्लवले झै सशस्त्र जनयुद्ध गर्ने क्रान्तिकारी कुरा गर्दछन् । गोपाल राईको सोचाइ गलत चिन्तनमा आधारित छ । उनीपनि वर्तमान ने.क.पा. मा सम्मिलित भएर देश विकासमा लाग्नु पर्दछ । गोपाल राई र नेत्र विक्रम चन्दले असफल हुने गलत पार्टी छाडेर शान्तिपूर्ण अभियानमा सम्मिलित भएर देश विकासमा लाग्नु पर्दछ ।

क्रान्तिकारी कुरा गर्ने मध्येका नारायणमान विजुक्छे नेतृत्वमा संचालित किसान मजदुर पार्टीले क्रान्तिकारी कुरा गर्ने गरेका छन् तर संसदीय स्थानीय निकायको निर्वाचनमा भाग लिन्छन् । २०५१ सालको निर्वाचनमा ४ संसदीय सिट जितेको पार्टीले हाल भक्तपुरबाट एक सिट जितेको र भक्तपुर नगरपालीकामा मात्र चुनाव जितेको छ । सो पार्टीको प्रभाव र अस्तित्व देशका अन्य क्षेत्रमा छैन । एमालेले वामपन्थी पार्टीका वीचमा एकता अभियान सम्मिलित गराउने प्रयास गरेतापनि एकता अभियानमा आउन सकेका छैनन् । अर्को मोहन विक्रम सिंहको ने.क.पा. ले पनि सशस्त्र जनयुद्ध र क्रान्तिकारी कुरा गर्दछ । सो पार्टीको अर्का नेता चित्र बहादुर के.सी. संघीय प्रणालीको विरोध गर्दछन् । एकात्मक राज्य व्यवस्था कम्युनिष्ट क्रान्तिको कुरा गर्ने बाग्लुङबाट संसदमा निर्वाचन लड्ने एमालेको सहयोगमा चुनाव लड्ने र जित्ने गर्दथे । गत २०७४ सालमा चुनाव लडेनन् । मोहन विक्रमकी श्रीमती दुर्गा देवीले ने.क.पा. एमालेको बुई चडेर संसद बनेकी छन् । संसद भत्ता खाएर मोहन विक्रमले क्रान्तिकारी कुरा गर्ने गर्दछन् ।

क्रान्तिकारी धार वोक्ने मोहन वैद्य͵ मोहन विक्रम͵ नारायणमानलाई अब वास्ता गर्नु हुँदैन । तर युवा नेताहरु गोपाल राई͵ नेत्रविक्रम चन्द आदि युवानेताहरुले माक्र्सवादी लेनिनवादी चिन्तनलाई आत्मसात गरेर ने.क.पा.मा सम्मिलित भएर समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ देश विकासको महान आदर्श बोकेको अभियानमा सम्मिलित अघि बढ्नु पर्दछ ।

रुस र पूर्वी युरोपियन मुलुकहरु कम्युनिष्ट प्रणाली समाप्त पार्ने कार्य स्तालिनको उग्रवादी चिन्तन व्यवहार हो । चीनमा गरीवि र पछौटेपन माओवादीकालमा सृजित भएको हो । रुसमा खुस्चेभ र भ्लादिमिर पुटीनले आर्थिक विकासको गति अगाडी बढाउने काम गरेका छन् । चीनमा तेगं सियाओपिगं र सि.जिनपिगंले द्रुततर आर्थिक विकास गरी विश्वको पहिलो विकसित राष्ट्रको रुपमा अगाडि वढाएका छन् ।

नेपालको सन्दर्भमा एमाले माओवादी पार्टीहरु मिलेर निर्वाचन लडेर करिव दुई तीहाई पुरयाउनु दुवै पार्टीहरु मिलेर सरकार गठन गर्नु तीन वर्ष सरकार संचालन गर्नु अत्यन्त राम्रो कुरा हो । तर दुवै पक्षका नेताहरुका वीच खटपट गर्नु वैमनस्यातपूर्ण व्यवहार गर्नु राम्रो कुरा हैन । दुवै पार्टीका नेताहरु एकाकार भएर सवै सानासाना वामपन्थी पार्टीहरु मिलाएर एकतावद्ध भएर इमान्दार र कर्तव्यनिष्ठभै अगाडि बढ्नु नेपाललाई स्वर्णिम समाजवादी विकसित राष्ट्रको रुपमा अगाडि बढ्नु आजको आवश्यकता हो । लोकतान्त्रिक पद्धतिलाई आत्मसात गर्ने युग हो । नेपालको सन्दर्भमा बहुदलीय पद्धतिलाई अपनाउनु पर्दछ भन्ने मदन भण्डारी हुन् । एमाले माओवादी एकीकरण भएर अघि बढे पनि माओवादीले बहुदलीय लोकतान्त्रिक पद्धति मानेको छैन । माओवादमै विश्वस्त छ । बहुदलीय जनवादलाई सिद्धान्तत अपनाएको छैन । एक्काइसौ शताव्दी भनेको माओवाद हो शब्द मात्र फरक हो । माओवादीले लोकतन्त्र प्रति आस्थावान नभैकन दिगो र स्थायी एकता सम्भव छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width