सामाजिक कार्य निषेध गरौं

भवानी अधिकारी
वैशाख ३१, २०७८

अघिल्लो साता वालिङमा भएको चौरासी पूजाका सहभागी गाउँलेमा कोरोना संक्रमण देखियो । पूजापछि गाउँलेमा ज्वरो, खोकी लगायत कोभिडसंग मिल्दाजुल्दा लक्ष्यण देखेपछि गरिएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भयो । अहिले उनीहरु आआफना घरकै आइसोलेसनमा बसेर उपचाररत छन् ।

वालिङ नगरपालिका १ स्थित धरमपानीका २५ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको छ । अहिले नगरपालिकाले गाउँमा अनिश्चितकालीन सिल गरेको छ । गाउँभित्र जान र त्यस गाउँका कुनै पनि व्यक्ति गाउँभन्दा बाहिर निस्कन नपाउने गरिएको छ ।

अस्तिमात्र पुतलीबजार नगरपालिका ६ टक्सारस्थित हलेदे गाउँमा पनि विवाह र पूजा भयो । आज र भोलि जस्तोमा भएका धार्मिक कार्यमा गाउँले सहभागी भए । गाउँ बाहिरका आफन्त पनि बोलाइए । विवाह र पूजा अम्काए । तर, यहाँ पनि कोभिडका लक्ष्यण केही लक्ष्ण देखिएपछि परीक्षण गर्दा गाउँका २७ जनामा संक्रमण देखियो । अहिले हलेदे गाउँ पनि १० दिनका लागि सिल गरिएको छ ।

यसैगरी, आँधीखोला गाउँपालिका ५ स्थित रंगेठाटी बजार क्षेत्र वरपर गरिएको कोभिड परीक्षणमा १३ जनामा संक्रमण देखियो । १६ जना स्वाब परीक्षण गरिएकोमा १३ जनामा संक्रमण देखिएपछि १ साताका लागि रंगेठाटी बजार पनि सिल भएको छ ।

यी त केबल उदाहरणका मात्र हुन् । यस्ता घटना जिल्लाभर धेरै छन् । सामाजिक कार्यमा सहभागी हुँदा धेरै संक्रमण फैलिएका धेरै उदाहरण छन् । जसका कारण पालिकाभित्रका केही गाउँ÷गाउँ सिल गर्नु परेको छ । सामाजिक कार्य भन्दै बढ्दो संक्रमणलाई ध्यान नदिँदा भुसको आगोझैं संक्रमण फैलिएको छ ।

अझै पनि नसोच्ने हो भने अब धेरै गाउँहरु सिल गर्ने अवस्था आउँछ । सिल गरेर मात्र समस्याको समाधान हुने होइन । हामी सबै स्वास्थ्य मापदण्डको अनुशासनमा बसौं । अरुलाई पनि बस्न सिकाऔं । यस्तो परिस्थिति बुझ्दाबुझ्दै पनि हामी भड्किएका छौं । आफूलाई सम्हाल्न सकेका छैंनौं । सामाजिक सञ्जाल र सञ्चार माध्यममा छ्यापछ्याप्ती देखिएका समवेदनाले केही क्षण भावुक बनाए पनि त्यो क्षण कटेपछि फेरि बिर्सेका छौं । अब हामी सबै संयमित बन्न जरुरी छ ।
अब यस्ता कुरालाई बेवास्ता नगरौं । सामाजिक एवं धार्मिक कार्यलाई आजदेखि नै रोकौं । चिकित्सक र राज्यका सकारात्मक सुझाव मानौं । संयमता अपनाऔं । कोरोना संक्रमण हटेपछि विवाह, पूजा, व्रतबन्ध सहित जे जे धार्मिक कार्य हुन् ती सबै गरौंला । त्यतिबेला रमाउँला । नयाँ नयाँ लुगा लगाउला । भोजभतेर गरौंला । आफन्तलाई निम्त्याएर भरपूर मनोरञ्जन गरौला । यतिका वर्ष अविवाहित हुनेले अब एक/दुई महिना बिहे नगरेर केही बिग्रदैन । केही महिनापछि बिहेवारी गर्दा पनि केही फरक पर्देन । पूजाआजा पनि फेरि फेरि गर्दै गरौंला । पहिला ज्यान अनि त्यसपछि ध्यान । ज्यान बचें नाच्दै गरौंला । पहिला ज्यान बचाऔं ।

कोरोना संक्रमण हटेपछि विवाह, पूजा, व्रतबन्धसहित जे जे धार्मिक कार्य हुन् ती सबै गरौंला । त्यतिबेला रमाउँला

हामी सबै जुटौें । कोरोना भाइरस संक्रमणको दुरी घटाऔं । न्यूनीकरणका उपाय अवलम्बन गरौं । स्वास्थ्य सामग्रीको प्रयोग गर्दै अत्यावश्यक वाहेकका काममा बाहिर ननिस्कौं । यति मात्र गर्न सकेपछि पनि सुरक्षित होइन्छ । चिकित्सकका सुझाव अनुरुप खानपान, आराम र मास्क, सेनीटाइजर र साबुन पानीको प्रयोग गरौं । आफू बाचौं र अरुलाई पनि बचाऔं ।

एक जना डा. रविन्द्र पाण्डेका भनाई साभार गर्न मन लाग्यो । उहाँले केहीदिनअघि सामाजिक सञ्जालमा यस्तो लेख्दै आग्रह गर्नुभएकोे थियो ‘आगामी ३ हप्ता नेपालका लागि अत्यन्त कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुख सानो हो । पसल, चोक, खेल्ने ठाउँ, सबैतिर संक्रमित छन भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुन पानी, सेनीटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौं । यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाई गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्प लकडाउनमा बसौं ।’ जुन वाक्यहरु हाम्रा लागि उपयोगी बन्न सक्छन् ।

दोस्रो चरणको कोभिड नयाँ भेरियन्टसहित देखापरेको एक महिनामै मुलुकले ठूलो क्षति ब्यहोरेको छ । तिव्रत्तर रुपमा फैलिएको संक्रमणले नेपालका कुनै पनि जिल्ला अछुतो राखेन । आजसम्म मुलुकका ४ जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लगाएको निषेधाज्ञामा विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम सञ्चालन गर्दा घरमै गर्न र २५ जनाभन्दा बढीको सहभागिता नजनाउन निर्देश गरेको थियो । तर, अहिले प्रशासनले सो संख्या घटाएर दुबै पक्षका गरी १५ जना तोकेको छ । प्रशासनको यो सुधारात्मक पक्ष होला । तर, प्रशासनले अब यस्ता कार्यमा निषेध गर्नुपर्छ ।

के थाहा ? २५ हुन वा १५, अथवा ५ जना नै किन नहुन् । ती ५ मध्ये १ पनि संक्रमित पर्न सक्छन । तिनै बेहुला वा बेहुली मध्ये पनि त संक्रमित हुन सक्छन, नि त । अब कोही कसैका घर जान वा आउने कार्य बन्दै गर्नुपर्दछ । संख्या घटाउने काममा होइन अब राज्य निषेधमै जान जरुरी छ । मृत्यु संस्कार वाहेकका सामाजिक कार्यहरु तत्काल रोकिनु पर्छ ।

Related News

सम्बन्धित समाचार

    • बीसौं शताब्दीका सात्र्र र अस्तित्ववाद

      राजेन्द्र भण्डारी असार १०, २०७८
      बीसौं शताब्दीका महान् फ्रान्सेली दार्शनिक, नाटककार, उपन्यासकार, पटकथा लेखक, राजनीतिक कार्यकर्ता, जीवनी लेखक थिए, सात्र्र । दर्शन र माक्र्सवादका अग्रणी…
    • ब्रह्मरुपामा प्राविधिक शिक्षा र चुनौती

      मधुसुधन सापकोटा असार ९, २०७८
      सूचना प्रविधि र वैज्ञानिक युग, ज्ञान विज्ञानका नित्य नवीन क्षितिज उद्घाटित भइरहने युग हो, विज्ञानका जादूमयी योगदानले विश्वलाई मन्त्र मुग्ध…
    • ठूलो पानी पर्‍यो कि सम्झिहाल्छु

      युवराज खनाल असार ८, २०७८
      पाइला पाइलामा चुनौती व्यहोर्ने मान्छेले नै जीवनको मोड लिन्छ र उ ठक्करै ठक्करले खारिन्छ अनि सफल बन्छ । जीवनमा सिधामात्र…
    • सम्झनामा आत्मीय मित्रहरु

      भूपनिधि पन्त असार ७, २०७८
      सामान्यतः मित्र भन्ने शब्द गोल बोलीमा प्रकट गरिन्छ । तर काल विभाजन अनुसार तुलना गर्दा बाल्यकालका मित्रहरु क्रमशः बिर्सदै गरिन्छ…
    • कोभिड–१९ महामारीविरुद्ध रोटरी अभियान

      रविप्रसाद बराल असार ६, २०७८
      विश्वमा कोभिड–१९ नपुगेको अब कुनै देश रहेन । हाम्रो मुलुक पनि यतिबेला कोभिड–१९ बाट आक्रान्त बनेको छ । नेपालमा कोरोनाको…

    hero news full width