विश्वप्रमाथिनी श्रीकृष्णागण्डकी : तीर्थश्राद्धको निमित्त उत्कृष्ट गन्तव्य

कुलराज चालिसे
भाद्र ३०, २०७९

दशहराको शुभसाइत छोपेर सीतामाताले बनाउनु भएको बालुवाको शिवलिंग स्वयं श्रीरामले स्थापना गर्नुभएको रामेश्वरम् समुन्द्रको किनारमा छ । तर त्यहाँ समुन्द्रको पानीको त कुरै छाडौं वरपर कुनै नलको पानीले पनि जलाभिषेक गरिँदैन । शिवलिंगमा दैनिक जलाभिषेक गर्न केदारनाथको पवित्रजल चाहिन्छ । यही नियम अन्य शिवलिंगमा पनि अपनाइन्छ । केदारनाथको जलको विकल्पमा नरिवलभित्र जम्मा हुने चोखो पानीले जलाभिषेक गरिन्छ । झारखण्डस्थित शिवालयमा भागिरथी गंगाको उत्तरवाहिनी खण्ड सुलतानगञ्जबाट पानी लिएर बाबालाई जलाभिषेक गर्ने चलन छ । किनभने भागीरथीको उद्गम केदारखण्ड हो र उत्तरवाहिनी भागीरथीले हिमालतिर फर्किन खोजेको दुर्लभ संकेत हो । वनारसको विश्वनाथमा पनि त्यही सिद्धान्त लागु हुन्छ । रामेश्वरमा उत्तरवाहिनीको त कुरै छाडौं हिमाल उद्गम भएको गंगा पनि छैन । त्यसैले दक्षिणको रामेश्वरमा उत्तरको केदारखण्डबाट पानी लगेर जलाभिषेक गरिन्छ । ‘तरति पापादिकं यस्मात्’ अर्थात् जसको सेवन गर्दा स्वर्गको मार्ग खुल्छ, त्यसलाई तीर्थ भनिन्छ । त्यस्तो तीर्थको भौम, जंगम र मानस गरेर तीन भेद हुन्छ । मानस तीर्थ नितान्त मनोवैज्ञानिक हुन्छ । त्यस्को साधना गर्न धेरैलामो अभ्यास गर्नुपर्छ । त्यस्को विकल्पमा जंगम तीर्थ हुन्छ, रामेश्वरलाई एक प्रकारले जंगमतीर्थ मान्न सकिन्छ । तर त्यसको अवसर सबैलाई, सधैंलाई प्राप्त हुँदैन । सर्वसाधारणले सहजै सेवन गर्ने भौमतीर्थमा हो । कहिलेकाहीं जंगमतीर्थले इतिहाससहित भौमतीर्थको रूप धारण गर्छ । रामेश्वर त्रेतायुगको जंगमतीर्थ कलियुगमा भौमतीर्थ बनेको छ । कतै भूप्रकृतिको विशिष्ट प्रभावले, कहीं हिमाल उद्गम भएका गंगाको सामीप्यताको कारणले, त्यसमा पनि दुई वा दुईभन्दा बढी हिमनदीको संगम भएको कारणले सर्वस्वीकार्य महामना महात्माहरुले तपस्याको निमित्त चयन गर्दा तीर्थको जन्म हुन्छ । त्यस्तै पवित्र स्थानमा कुनै कालखण्डमा भगवानले लीला प्रदर्शन गर्नुभएको शास्त्रवर्णित् कथाले तीर्थलाई दीर्घजीवन दिएका हुन्छन् । सन्तहरू तीर्थयात्रा गर्दैनन्, तर भगवानले लीला गर्नुभएको त्यस्ता तीर्थ स्वयंलाई पवित्र बनाउन त्यहाँसम्म जान्छन् । रामेश्वर लंका विजयपश्चात् स्थापना भएको विजयस्तम्भ जस्तै हो । सीतामाताले अग्निपरीक्षा दिनुभएको स्थानमा बनाइएको विजयस्तम्भ श्रीराम आफंैले स्थापना गर्नुभएको शिवलिंग भएकोले दुर्लभ तीर्थस्थलमध्येको तीर्थ मानिएको छ ।

भौमतीर्थमा हिमाल उद्गम भएको गंगाले समुन्द्रसम्म मार्गमा बनाएका तीर्थहरू प्रमुखमध्येमा मानिन्छन् । त्यसमध्ये पनि पश्चिम र उत्तरवाहिनी गंगालाई प्रमुख तीर्थ मानिन्छ । त्यसमा पनि वेणी वा त्रिवेणी परेको छ भने अझै महत्वपूर्ण मानिन्छ । त्यस्तानदीको तीर्थ महत्व तल्लो तटीयभन्दा उपल्लो तटीयक्षेत्रमा बढी हुन्छ । हिमाल उद्गम भएका गंगाले जतिधेरै धर्तीमा यात्रा गर्छन्, त्यति नै प्रदूषित हुँदै जान्छन् । त्यसो भन्दैमा हिमालय खण्ड सबैको निमित्त सुगम हुँदैनन् । त्यसको विकल्पमा हिमालबाट बगेको सम्झेर समथर भूभागमा तीर्थस्नान र तर्पण गरिन्छ ।

दुनियाले पखालेको पाप गंगाले सत्सन्तको श्रीचरणमा विसर्जन गरिदिन्छन् । त्यो नै अवतरणको बखत जगदिश्वरले गंगालाई दिनुभएको वरदान हो । त्यसैले तीर्थको स्तर निर्धारण त्यहाँ सम्पन्न हुने देव तथा पितृ यज्ञमा उपस्थित हुने महात्माको आधारमा गरिन्छ । उत्तरभारतस्थित केदारखण्ड त्यस्तै सौभाग्य प्राप्त गरेको तीर्थ हो जहाँको पवित्रजलले दक्षिण भारतस्थित रामेश्वरलगायत तीर्थस्थलमा स्थापित ऐतिहासिक शिवलिंगमा दैनिक जलाभिषेक गरिन्छ ।

काशीराम सुरीको गण्डकी महात्म्यले कृष्णागण्डकीमा गरिने श्राद्धकर्मको करोडौं गुणा बढी फल प्राप्त हुने शास्त्र प्रमाण दिएका छन्

केदारखण्ड उद्गम भएकी भागीरथी गंगालाई कतै विष्णुपदी भनेका छन् भने कतै भगवान्को पाउ पखालेर बगेकी हुनाले विष्णुपुत्रीको रूपमा चित्रण गरेका छन् । गंगाको अस्तित्व गंगा अवतरण प्रकरणभन्दा अघि देखि नै थियो । त्यसैले उनको उत्पत्ति कथा सन्दर्भमा शास्त्रहरू एकमत देखिँदैनन् । तर गंगा अवतरणको कथामा सबै शास्त्रहरू एकमत हुन्छन् । भगीरथ प्रयत्नको नामले चिनिने गंगा अवतरणको कथा केदारखण्ड उद्गम भएकी गंगामा मात्र लागु हुन्छ वा हिमाल उद्गम भएका सम्पूर्ण गंगामा लागु हुन्छ भन्ने विवाद भने भइरहन्छ । गंगा, यमुना, सरयु, गण्डकी, कौशिक भिन्न भिन्न गंगा हुन् वा समग्रमा भागीरथी हुन् भन्ने दुविधाको अन्त कहिल्यै हुँदैन । अहिलेको लोकले चिनेको कैलाश र भागीरथी अलग अलग देखिन्छ । भारतमा बग्ने भागीरथीको हाँगामध्ये सरयुमात्र कैलाशसँग जोडिएको छ । कसैले मानून् कि नमानून् आफ्नो डम्पूm बजाउन छाड्ने कुरा हुँदैन । यो लेखकलाई सरयु नै भागीरथको अथक प्रयासमा स्वर्गबाट अवतरन गरेकी अलकनन्दा हुन् भन्ने लाग्छ । सरयुमा मिल्ने सबै हिमनदी भागीरथीका सप्तस्रोतमध्येका भएकाले उत्तिकै पवित्र मानिन्छन् । त्यसैले कैलाश भन्नाले सम्पूर्ण हिन्दुकुश हिमालय हो भने भागीरथी गंगा भन्नाले अयोध्यालाई पवित्र बनाएर बग्ने हिमनदी हुन् भन्दा शास्त्रको नजिक पुग्न सकिन्छ । यस मानेमा गण्डक र कौशिक पनि भागीरथीको सप्तस्रोत मध्यमा नै पर्छन् । अहिलेसम्म हिमालय उद्गम भएका विष्णुपदी गंगालाई कतै विष्णु भगवान्को पत्नी र कतै छोरीको उपमा दिइएको छ । श्रीकृष्णागण्डकीलाई भने विश्वप्रमाथिनीको अतिरिक्त उपाधि पनि दिइएको छ । अब त्यसबारेमा चर्चा गर्छाै ।

विश्वप्रमाथिनीको शाब्दिक अर्थ विश्वमाता भनेर बुझिन्छ । हाम्रो संस्कृतिले भगवान्लाई विश्व निर्माता भनेर पुज्दछ । शालिग्रामलाई सर्वेश्वर भगवान्को अर्चावतार भनेर पूजा गरिन्छ । त्यस्तो दुर्लभ अर्चावतार शालिग्रामलाई गर्भमा राखेकी गंगा भएकीले श्रीकृष्णागण्डकीलाई विश्वप्रमाथिनीको दर्जा प्राप्त छ । विश्वविख्यात रामायणको प्रथमवक्ता श्रीमहादेव र स्रोता स्वयं पार्वती हुनुहुन्थ्यो । दुनियाले अध्यात्म रामायण भनेर चिनेको उक्त रामायण काकभुशुण्डीले सुनेका थिए । अर्काे कल्पमा काकभुशुण्डीले गरुडलाई कागवेणीमा अध्यात्म रामायण सुनाउनु भयो । त्यो रामायण त्यही सुनाइएको थियो जहाँ श्राद्धको पिण्ड झम्टिने क्रममा कागवेणीको पानीको स्पर्श हुँदा कागको जुनीबाट काकभुशुण्डीको मुक्ति भएको थियो । यो लीलाकथाले श्रीकृष्णागण्डकी श्राद्धको निमित्त उत्कृष्ट तीर्थ गन्तव्य भएको शास्त्र प्रमाण मान्ने आधार दिन्छ । जैनधर्मका प्रथम तीर्थंकर ऋषभदेव र प्रथम चक्रवर्ती राजा भरतले मोक्षको निमित्त यसै तीर्थलाई रोज्नुभएको अर्काे शास्त्र प्रमाण छ । आदीशंकराचार्यले लेख्नुभएको कृष्णागण्डकीको बयानको त जत्ति नै व्याख्या गरे पनि सकिँदैन । हिमवत्खण्ड पुराणमा उल्लेखित कृष्णागण्डकी तथा शालिग्राम महात्म्यको अलावा काशीराम सुरीको गण्डकी महात्म्यले यहाँ गरिने श्राद्धकर्मको करोडौं गुणा बढी फल प्राप्त हुने शास्त्र प्रमाण दिएका छन् । पद्मपुराण, वराहपुराण, स्कन्दपुराणलगायत लगभग सबै पुराणलाई शास्त्रप्रमाण मान्दा श्रीकृष्णागण्डकी नै श्राद्धको उत्कृष्ट भौमतीर्थ प्रमाणित हुन्छ ।

कलियुगको ५ हजार वर्षपछि भारतवर्षका तीर्थनदीहरू सर्वेश्वर विष्णुको धाममा फिर्ता हुन्छन् भनिएको छ । मुक्तिक्षेत्र, वृन्दावन, काशी र जगन्नाथको आयु पनि कलियुगको १० हजार वर्षमात्रै तोकिएको छ । यो तथ्य श्रीमद्देवीभागवत् पुराण र ब्रह्मवैवर्त पुराणमा सिधा अर्थमा लेखिएको छ । उपरोक्त ४ उत्कृष्ट तीर्थमध्ये श्रीमुक्तिक्षेत्र मात्र हिमालयअन्तर्गत पर्छ । घरैमा गर्ने श्राद्धको निमित्त संग्रह गर्नुपर्ने साधनमा शालिग्राम पर्छन् भने श्रीकृष्णागण्डकी त शालिग्राम नै गर्भमा राख्ने तीर्थ भइन् । यस मानेमा सोह्रश्राद्ध गर्ने पवित्र तीर्थमध्ये विश्वप्रमाथिनी श्रीकृष्णागण्डकी नै उत्कृष्ट हुन् । कलियुगले ५ हजार वर्ष पार गरिसकेको छ । अब अन्य तीर्थमा गएर गरेको पिण्ड तर्पण हाम्रा पितृसम्म नपुग्न सक्छ । किनभने तीर्थको साथमा पिण्ड तथा तर्पणलाई पितृलोकमा लैजाने स्वधा श्रीकृष्णागण्डकीमा बसेकी छन् । यहाँको हरेक जलविन्द शालिग्रामका चरणोदक हुन् । यहाँ अन्य गंगाबाट जल ल्याएर मिसाउन पनि पर्दैन । हामी यिनै गण्डकीको प्रस्रवण भित्र भएकोले यिनको सम्मान गर्नै पर्छ । देवताले दिँदा हामीले यो प्रस्रवणमा जन्म लिने मौका पाएका छौं । हाम्रा पितृले पनि कागवेणी तीर्थमा दिइने तर्पण र पिण्डको आशा गरेका होलान् । उनीहरूको आशा पूर्ण भएन भने देवताले दिएको पनि खोसिन सक्छ । गण्डकीवासीले शास्त्रमा उल्लेखित यो वचनको मनन् गर्नै पर्छ । गण्डकी प्रस्रवणमा जन्मेर पनि चिन्न सकेनांै भने पछुताउनुको विकल्प रहँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width