वैरागी वन कसरी बन्यो शान्ति वन वाटिका ?

शिवप्रसाद गौतम
माघ २२, २०७९

पोखरा १० रामघाटस्थित वैरागी वन शिव मन्दिरको गुठी जग्गा हो भनी यो लेखकका हजुरबा बाबुहरूले भन्नु हुन्थ्यो । शिवरात्रिमामा यहाँको सुकेका दाउरा प्रयोग गरेर धुनी लगाइन्थ्यो । रामघाटको शिव मन्दिर १८१६ सालमा काठमाडौंबाट बलभद्र कुँवरका सन्तान आएर शिव मन्दिर स्थापना गरेर वैरागी वनलाई शिव गुठी कायम गरेको हो भन्ने मेरा पिता चक्रपाणि गौतमले भन्नुहुन्थ्यो । पछि शिव मन्दिरका गुठियार कुँवर परिवारले त्यो बेलाका चर्चित मुखिया मोहनध्वज कार्की (द्वारे) लाई जिम्मा लगाएको भनाइ पनि छ) मोहनध्वज कार्कीका सन्तानले शिव मन्दिरमा पूजाआजा गर्न दाहाल परिवार स्व. तेजप्रसाद दाहालका पितालाई पूजारी बनाइ पूजा हुँदै आएको थियो । वैरागी वन पनि द्वारे परिवारले भोग चलन गर्दै आएका थिए । मोहनध्वज कार्की (द्वारे) की श्रीमती द्वारेको शेषपछि चर्चित हुँदै आएकी थिइन् । उनका छोरा अम्बरबहादुर कार्की थिए । उनी १७ वर्षसम्म कास्की जिल्ला पञ्चायतको सभापति भए । उनको राजनीति सफल हुनमा उनकै आमाको अहम् भूमिका रह्यो । शिव मन्दिरमा दैनिक पूजा गर्ने र वैरागी वन संरक्षण यो परिवारबाट भएको थियो । द्वारे आमाको स्वर्गारोहण पछि केही समय वैरागी वन स्व. क्षेत्रबहादुर कार्कीले हालिमुहाली गरेका थिए । स्मरण रहोस् द्वारे भन्नाले गाउँको मुखिया सरहको टाठो व्यक्ति, ढोकाको रक्षा खातिर राखिएको व्यक्ति द्वारपाल मानिन्थ्यो । अहिले यो पद लोप भयो । यसरी शिव मन्दिर र वैरागी वनको अभिन्न धार्मिक आध्यात्मिक सम्बन्ध गाँसिएको थियो । यो वनमा धेरै प्रकारका फलफूल र विभिन्न जातको रुख बिरुवाहरु थिए । शिव मन्दिर अहिले पनि पोखरा–१० मा रहेको छ । कुँडहर फाँटमा शिव गुठी पनि थियो । भगवान् शिवको मूर्ति स्थापना भएको शिव मन्दिरमा शिवरात्रि र अन्य धार्मिक पर्वहरूमा लाग्ने खर्चको व्यवस्थापन गर्न कुँडहर फाँटमा ६० मुरी अर्थात् १५ रोपनी खेत, पूजारीले दैनिक पूजा गरेबापत् खानाका लागि २० मुरी अर्थात् ५ रोपनी र साँझ बिहान नगरा लगाउने नगर्चीलाई १० मुरी अर्थात् साढे २ रोपनी खेत गुठी थियो । अहिले यी गुठी जग्गा द्वारे परिवारले जग्गा नापीका बखत आफ्नो नाममा दर्ता गरी भोग चलन गरेको अवस्था छ । पूजारी गुठी भने दाहाल परिवारले साँझ बिहान पूजा नगरे तापनि भोग चलन गरिरहेका छन् । हाल शिव मन्दिरमा रामबहादुर केसीको अध्यक्षतामा शिव मन्दिर व्यवस्थापन समितिले पूजारीको व्यवस्था गरी नित्य पूजा गर्दै आएको छ । यो पौराणिक पुरातात्त्विक शिव मन्दिरले चर्चेको जग्गा १ रोपनी जति छ । यो जग्गामा पछि स्थापित सिद्धाश्रम शक्ति केन्द्रको कार्यालय भवन छ । यसका अतिरिक्त शिव मन्दिर हाताभित्र गणेश र राम मन्दिर रहेका छन् । स्थानीय युवकहरुको क्लब मिर्मिरे युवा क्लबको भवन पनि छ । यो भवन शिव मन्दिर व्यवस्थापन समितिको जिम्मामा आएपछि कार्यालयको रूपमा प्रयोग भएको छ । व्यवस्थापन समितिको सक्रियतामा स्थानीय समाजसेवी धार्मिक व्यक्तित्वको आर्थिक सहयोगमा १०८ शिवलिंग पनि स्थापना गरी नित्य पूजा हुँदै आएको छ । श्रावण महिनाका प्रत्येक सोमबार भक्तहरुको धार्मिक मेला लाग्छ । शिवरात्रिमा वैरागी वनबाट सुकेका दाउरा ल्याएर शिव धुनी लगाइन्छ । उखु पड्काएर रमाइलो गरिन्छ । भजन कीर्तन गरेर शिवरात्रि पर्व भव्य रूपमा मनाइन्छ ।

२०२४÷२५ सालतिर ‘वैरागी वन’ एक किसिमले छाडा नै हुन गयो । त्यो समयमा स्थानीय समाजसेवी म लेखक लगायत व्यक्तिबाट वृक्षरोपण गर्ने कार्यक्रम तय भयो । त्यो बेला स्थानीय व्यक्ति, रेडक्रस, स्काउट संस्थाबाट विभिन्न जातका बिरुवा यो वनमा वृक्षरोपण गर्ने कार्य सम्पन्न गरियो । स्थानीय समाजसेवीबाट बिरुवाको सरक्षण गर्ने क्रममा तारबार र रेखदेख गर्ने कार्य हुँदै आयो ।

२०३१÷२०३२ मा सरकारबाट आधुनिक प्रणालीअनुसार जग्गा नाप्ने काम भयो । तत्कालीन सर्भे सिट नं. ०९३–०९६०–०५ कि.नं. २२०७ क्षेत्रफल ५३–०–०–३ दाम कायम भएको थियो । यसको ३० वर्षपछि पोखरा नगर पालिकामा २०६०÷०६१ तिर आधुनिक जग्गा नाप जाँच प्रणालीअनुसार पोखरा नगरपालिकाको खर्चमा नगरपालिकाले वडाहरुमा नापी सुरु गर्‍यो । यो नापीले वैरागी वनलाई सिट नम्बर ०९३–०९६०–०४ को नक्सा सिटमा कि.नं. १ क्षेत्रफल ५४–२–२० कायम गरेको अवस्था हो । स्वर्गवासी राजा वीरेन्द्रको २०३१ साल फागुन १२ गते राज्याभिषेक भएको समारोहमा उपस्थिति पाहुनालाई १३ गते भोज दिने सन्दर्भमा उपस्थित मित्र राष्ट्रहरूका पाहुनाहरुको बीचमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भनेर राखिएको प्रस्तावलाई विश्वका ११७ राष्ट्रले यो प्रस्तावलाई समर्थन गरेका थिए । सरकारको यो सदीक्षालाई अझ मूर्त रूप दिन त्रिभुवन विश्वविद्यालयले पोखरामा एउटा शान्तिवन वाटिका स्थापना गर्ने निर्णय ग¥यो । यसलाई पूर्ण गर्न पोखराको त्रिविअन्तर्गतको पृथ्वीनारायण कलेज हाल पृथ्वी नारायण क्याम्पसलाई यो कामको जिम्मा आयो । त्यो बेला पृथ्वीनारायण क्याम्पसमा गणेश गुरुङ (स्वर्गीय) क्याम्पस चिफ हुनुहुन्थ्यो । उहाँकै सक्रियतामा पोखराको ९ नम्बर वडा र १० नम्बर वडामा एक नामले रहेका बीचबाट गहिरो गल्छी बनाएर बगेको सेती गण्डकी वारिपारिका वैरागी वन दुवैलाई शान्ति वनवाटिका नामकरण गरियो । अहिले ९ नम्बर वडाको शान्ति वन वाटिका वन क्याम्पस पोखराको संरक्षणमा छ । यो क्याम्पसले यी दुवै क्षेत्रका वनलाई आफ्नो प्राक्टिकल थलोको रूपमा मानेको थियो । तर पछि यो कार्य ९ नम्बरमा मात्र सीमित गरेको छ, १० नम्बरतर्फको वनमा संस्थाले ध्यान दिएन ।

सोही जग्गामा पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले चिडियाखाना, बोटानिकल गार्डेन बनाउने अवधारणा पनि राखे तर कार्यान्वयनमा चासोखाँचो राखेनन् । ९ नम्बर वडाको शान्ति वन वाटिकामा स्वर्गवासी राजा वीरेन्द्रको ५ लाख खर्च गरेर सालिक राखियो भने नेपाललाई शान्ति क्षेत्र घोषित गर्ने ११७ राष्ट्रको नामांकित बोर्डहरू पनि राख्ने काम भएको थियो । जनआन्दोलनको क्रममा राष्ट्रको सुमधुर पहिचान दिने यी संरचना ध्वस्त पारिए । अहिले यसलाई वनभोज गर्ने थलो बनाएको छ ।

जनआन्दोलनको क्रममा राष्ट्रको सुमधुर पहिचान दिने यी संरचना ध्वस्त पारिए । अहिले यसलाई वनभोज गर्ने थलो बनाएको छ

२०४६ सालको जनआन्दोलनपछि नेपालमा शासन प्रणालीमा परिवर्तन आयो । मुलुकमा निर्दलीय व्यवस्थाको अन्त्य भई संसदीय प्रजातन्त्र बहुदलीय शासन प्रणाली प्रारम्भ भयो । त्यसपछि विभिन्न किसिमका संघ संस्था खोल्ने पाउने व्यवस्था आयो । सोही समयमा रामघाट क्षेत्रमा रहेका समाजसेवीबाट हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र यसका आसपासका क्षेत्रबाट मृत्युवरण गरेका शवहरु जलाउने कार्यको अस्तव्यस्तताको अन्त्य गरी रामघाटमा व्यवविस्थत लास जलाउने घाट निर्माण गर्ने विषयलाई हृदयङ्गम गरी भेला भयो । भेलाले रामघाट दाह संस्कार परोकार समिति नामको संस्था स्थापना गरी व्यवस्थित गर्ने निर्णय गरेपश्चात् यसको विधान तयार गरी स्थानीय प्रशासनमा दर्ता गर्ने निर्णय गरेको र यसको जिम्मा यो पंक्तिकार लेखकलाई आएको र विधान तयार गरी जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता पनि गरिएको थियो । संस्था दर्ता भएपछि संस्थाको कार्यालय राख्न जग्गा खोजी गर्दा १० नम्बर वडाको वैरागी वन सार्वजनिक देखिएकोले यो जग्गा नगरपालिकामा माग गर्दा नगरपालिकाले यो संस्थालाई जग्गा उपलब्ध गराएको निर्णय यस प्रकार रहेको छ ।

निर्णय नं. ३७ मिति २०५६÷०३÷६
निर्णयसम्बन्धी उतार दफा ३– जग्गा उपलब्ध गराउने

पोखरा उपमहानगरपालिका वडा नं. १० स्थित हालको कि.नं. २२०७ क्षेत्रफल ५३–०–०–३ जग्गामध्ये बौद्ध अर्घाै सदनलाई हाल सदनले चर्चिरहेको जग्गाको साँध मिल्ने गरी थप १० रोपनी जग्गा शव दाह व्यवस्थापनको लागि उपलब्ध गराउने । त्यसैगरी बौद्ध अर्घाै सदनको दक्षिणतर्फ २० फिट बाटो छोडी उक्त कि.नं. क्षेत्रफलको दक्षिणतर्फको २५ रोपनी जग्गा रामघाट दाह संस्कार परोपकार समितिले पेस गरेको गुरु योजनाअनुसार व्यवस्थापन गर्ने गरी शवदाहको लागि उपलब्ध गराउने र उक्त दुवै क्षेत्रको उपलब्ध गराइएको जग्गाको स्वामित्व पोखरा उपमहानगरपालिकामा रहने र उक्त निर्णय कार्यान्वयन गर्ने क्रममा न.पा. बाट प्राविधिक पठाइ कार्यान्वयन गर्ने ।

वैरागी वनलाई शान्ति वन वाटिका नामकरण भएको उक्त जग्गालाई नयाँ नापीले कि.नं. १ क्षेत्रफल ५४–२–२–० कायम गरेको सर्वविदितै छ । रामघाट दाहसंस्कार परोपकार समितिले नाममा परिवर्तन गरी रामघाट धार्मिक क्षेत्र विकास समिति नाम राखी प्रशासनबाट समेत विधान संशोधन गरी कार्यान्वयनमा आएको अवस्था छ । यो संस्थाले दुई पटक महायज्ञ गराई रामघाटमा श्रद्धाञ्जली सभा गर्ने, लास जलाउने दाउरा बिक्री डिपो र लास जलाउन एउटा सामान्य ट्रस्ट राखेर दुइटा चिता बनाएको छ भने शान्ति वन वाटिकामा कार्यालय भवन निर्माण गरेको छ । महायज्ञमा श्रद्धालु भक्तजनबाट दान गरेको रकमबाट यी कार्य भएर पनि रकम बाँकी रहेको र ग्याबिन जाली सापटी गएको संस्थाको लेखापरीक्षण प्रतिवेदनमा आदर्श समाज र समाधान दैनिक पत्रिकामा प्रकाशन भएअनुसारको मौज्दात रकम हालसम्म के कसो भएको छ संस्थाले पारदर्शिता नगरेको अवस्था छ ।

जग्गाको हकमा ५४–२–२–० मध्ये बौद्ध अर्घाै सदनले २९–२–२–० एकलौटी प्रयोग गरेको तथ्यांकले देखाउँछ भने रामघाट धार्मिक क्षेत्रको लागि भनिएको २५ रोपनी जग्गामध्ये टाँसी गुम्बाले ३ रोपनी ११ आना अनधिकृत रूपमा कम्पाउन्ड लगाएर चर्चको छ । त्यस्तै भुरुंदी समाजले पनि नरनारायण बाबा सेवा आश्रमले संरक्षण गरेको जमिन अनधिकृत प्रयोग गरेको छ । बाँकी जग्गामा क्षेत्री समाज नेपालले पनि अनधिकृत रूपमा बहुद्देश्यीय भवन निर्माण गर्ने थालेर असफल भएको अवस्था छ । रामघाट धार्मिक क्षेत्र विकास समितिले निर्माण गरेको कार्यालयमा साइबाबा संस्था र विश्व हिन्दु महासंघ कास्कीको कार्यालय र लक्ष्मी नारायण मन्दिरको पूजारीको आश्रम छ भने भवनको माथि मुक्तिनाथ सन्त सेवा आश्रम रहेको छ । उत्तरतर्फको जग्गामा लक्ष्मी नारायण मन्दिर नरनारायणबाबा आश्रम, सभा सम्मेलन गर्ने हल, ट्रस्ट यज्ञ मण्डप दुई रहेका छन् । बाबा आश्रममा पूजारी र चौकीदार पारिश्रमिक पाउने गरी कार्यरत छन् । यो पच्चिस रोपनी जग्गामा धेरै संघ संस्थाले दाबी गरेर जग्गा छुट्याउने क्रममा गरेका ब्लकका संरचना अझ छन् ।

यो जग्गाको अतिक्रमण रोक्न रामघाट धार्मिक क्षेत्रले हरिबहादुर कार्कीको अनुदानमा बनाएको गेटमा नगरपालिका, नगरविकास समिति र जिल्ला प्रशासनले लगाएका ३ संस्थाका अनुमति बिना कसरी तोडेर गेट खुला राखियो र धार्मिकस्थल छाडा बनाइयो । यसको छानबिन सम्बन्धित संस्थाले पनि नगरेको अवस्था छ । यो क्षेत्रमा अधिकार सबैले खोज्छन्, समस्या परेको बेला कुनै व्यक्ति संस्थाले पनि एकछिन चुड्की मार्छन्, त्यसपछि वास्ता गर्दैनन् । यो ठाउँका स्थानीय समाजसेवीले गरेको योगदानको कुनै मूल्यांकन नगरी आफू खुसी मनपरी गर्ने थलो बनाइएको छ । स्थानीय, प्रदेश र संघीय सरकारका तीनै अंगहरुले यो स्थानलाई हालसम्म संरक्षण गर्दै आएका वृक्षरोपण गरी हराभरा बनाएका जनतालाई उपेक्षा गरेर विभिन्न धार्मिक संस्था, जातिगत संस्थाले अतिक्रमण गरेको अवस्था छ । अहिलेसम्म यो शान्ति वन वाटिकालाई स्थानीय समाजसेवीले संरक्षण गर्न पहल गरेर यसलाई तीन तहका सरकारले उपेक्षा गरेर स्थानीय समाजसेवीको हृदय छियाछिया पारेको अवस्था छ ।

यो शान्ति वनवाटिका हालसम्म कि.नं. १ क्षेत्रफल ५४–२–२–० को जग्गामा २९ रोपनी बौद्ध अर्घौ सदनले चर्चेकोमा २० फिट बाटो भनिएको जग्गा पनि यो संस्थाले उचित व्यवस्थापन नगरी शवदाहस्थल १५ करोडको संघीय सरकारको बजेटमा निर्माण गर्दै छ । बाटोको नामनिसाना छैन । बाटो भनिएको जग्गालाई फोहोर फाल्ने स्थानमा यो संस्थाले प्रयोग गरेको छ । एकातर्फ यस्तो छ भने अर्कोतर्फ हाल आएर सरकारका तीन तहबाट स्थानीय समाजसेवीले अहिलेसम्म वृक्षरोपण गरेर हरियाली बढाएर संरक्षण गर्दै आएको यो जग्गा वडा प्रहरी कार्यालय–१५ को कार्यालय भवन बनाउन भनी कि.नं. १ फोड गरी कि.नं. ४४ क्षेत्रफल १० रोपनीको जग्गा केन्द्रीय सरकारको अनुमतिमा जिल्ला प्रशासन, जिल्ला नापी, जिल्ला मालपोत, महानगर, वडा कार्यालयसमेत मिलेर सबै प्रक्रिया पूरा गरी वडा कार्यालय–१५ मा रहेको कार्यालयलाई भवन बनाउन भनेर १० रोपनी जग्गाको लालपुर्जा दिएको अवस्था छ । सो कार्यालयले सिमेन्टको पोल गाडेर तारबार लगाउँदा थाहा भयो र सम्बन्धित कार्यालयमा गई यो के भएको हो भनी नापीबाट नक्सासमेत लिई हेर्दा कित्ताकाट गरी लालपुर्जासमेत लिएको अवस्था देखियो । यो कार्यले वडा कार्यालय १० ले १२ लाख खर्च गरेर बनाएको बाल उद्यान पनि आफ्नो हाताभित्र पारेर बाल उद्यान नष्ट गरिएको छ । खेल्न आउने बालक दुखित हुन्न् । वडा प्रहरी कार्यालयले जनताका शान्ति सुरक्षा गर्ने हो । सरकारी जमिन हो, सरकारले उपलब्ध गरायो । सरकारी कार्यालय सबै भाडामा बस्नुभन्दा आफ्नो भवन बनाएर बस्नु राम्रो हो ।

स्थानीय बासिन्दा जसले जग्गा र वनको संरक्षण गरे उनैलाई वास्ता नगर्नु नाजुक र धर्म विरोधी कार्य हो । यहाँ धार्मिक संस्थाहरुको धेरै लगानी छ । प्रहरीको यो कार्यले वैरागीवनलाई छाडा बनाइएको मात्र होइन धार्मिक आश्रम मन्दिर आउने जाने श्रद्धालु भक्तजनलाई अत्यन्त असुविधा सिर्जना गरिएको छ । मुक्तिनाथ सन्त सेवा आश्रम लक्ष्मीनारायण मन्दिर र नरनारायणबाट सेवा आश्रमको बीचबाट तारबार लगाउनाले भक्तहरुलाई मन्दिरमा जान आउन अत्यन्त असुविधा भएको छ । यो समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय कास्की, महानगरपालिका कार्यालय, वडा कार्यालय–१० र वडा प्रहरी कार्यालय–१५ मा समस्या समाधानार्थ निवेदन गर्दा पनि कार्यान्वयन भएको छैन । कार्यान्वयन हुन्छ भन्ने अझै पनि स्थानीय समाजसेवी आशावादी छन् । यसै बीचमा वडा प्रहरी कार्यालयबाट माथि उल्लेख भएअनुसारका व्यक्ति र संस्थाले रोपेर संरक्षण गरेको ५५ वटा ५५ वर्षका रुख वडा कार्यालयको अनुरोधमा जिल्ला वन कार्यालयले टाँचा लगाई रुखहरु काट्ने ठेकेदारको बन्दोबस्त गरी रुख काट्न सुरु गरेको दुखद् अवस्था छ ।

सुख–दुःख, हर्ष, विस्मात, रिस–द्वेष आदि मनोभावनाले नबिथोलिएका मानसिक स्थिति शान्त वा स्थिर अवस्था, विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था, भोक–तिर्खा, श्रम–लाभ, घाम–पानी आदिको शमन, ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति गर्ने कुनै मांगलिक कार्य, मनमा कुनै दुख–पीर आदि बाधारहित अवस्था, आराम, चैन, सांसारिक विषय भोगप्रतिको विकृति वा उदासीनता, सहने काम, धैर्य, सान्त्वना आदि इत्यादि मनोभाव शान्ति हो ।

Related News

सम्बन्धित समाचार

hero news full width