सरकार ! ऐना पुछौं कि अनुहार ?

दुर्गा अधिकारी
असार १२, २०७७

एकदिन एकजना शिक्षकले आफ्ना विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने अभिप्रायले गधाको अगाडि एउटा डेक्चीमा पानी र अर्को डेक्चीमा रक्सी राखेर पिउन दिए । गधाले पानी त पियो तर रक्सी ज्यान गए पिउन मानेन । यो दृश्यपछि शिक्षक विद्यार्थीलाई सोध्छन्– ‘यसबाट तिमीहरुले के शिक्षा पायौ ?’

विद्यार्थीको एकमुष्ट जवाफ आउँछ– ‘जसले रक्सी खाँदैन, त्यो गधा हो ।’

अन्यथा अर्थ नलागेमा नेपालमा जुन राजनीतिज्ञ फन्टुस गफ गर्दैन, त्यो नेता नै हैन । तथ्य, तथ्यांकभन्दा लहडको उत्तेजनामा नेताहरु पुस्तौनी बहकिने गरेका छन् । चीजवस्तुको हुँदै अव विचारको दलाली झन्झन् फस्टाउँदो छ । नेता भोकाउँछ, अनि अपच हुने गरी खान्छ त्यो पनि गरिब जनताको नाममा । ऐस आराम, भोगविलास उसलाई चाहिन्छ, निहुँ बनाउँछ– जनताको । जेलबाट छुट्ने अपराधी करार व्यक्तिका लागि पनि ३ सय किलोको फूलको माला लिएर तैनाथ हुने जमात तयार छ । राजालाई खेद्ने र गद्दीमा बसाउन एउटै पात्र सल्बलाइरहन्छ । राजावादीहरु गणतन्त्रका पहरेदार छन् । विशुद्ध गणतन्त्रवादीहरुका लागि गणतन्त्रको विछ्यौना बिझाउन थालेको छ । राजाको विरोध गर्दागर्दै राजा हुने जोश पलाएकाहरुका लागि गणतन्त्र रातो कार्पेट भएको छ । यही उद्वेग थेग्न नसकेर लुईस सो¥हौंको जस्तै मुखमा माड लगाउन नपाएका जनतालाई नेताहरु भन्न थालेका छन– ‘तिम्रो रोटी खाने सामथ्र्य छैन भने केक काटेर खाऊ ।’
अरु त अरु देशका सम्माननीय कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति नै रिसर्च गर्नेका लागि विषय हुन सक्छन् । उहाँलाई ‘ म नै राज्य हुँ’ भन्ने ठूलो भ्रम छ । रत्नपार्कमा आयुर्वेदिक औषधि बेच्नेको भन्दा हल्का ढंगबाट सम्मानित संसदमा बेसारपानीले कोरोना भगाउने सन्देश प्रवाह गर्दा त्यसमा तगारो लाउने हिम्मत कसैमा छैन । बेसारपानी अचुक औषधि हुने भए आफ्नो मुलुकलाई स्वर्ग बनाएका ती राजनेताहरु डाँको छोड्दै किन रोएर सडकमा निस्कन्थे होलान् ? नर्सरी पढ्ने बच्चाले पनि नपत्याउने भाषण गर्दा टेबल ठोक्ने माननीयहरुलाई बेलुकी घर फर्कंदा उनीहरुकै सन्तानले कति खुच्चिङ गर्दा हुन् ? मानिसले अरुलाई ढाँटेपनि आफूलाई ढाँट्न त अवश्य नसक्ला । अरुलाई चिन्ने त प्रशस्तै भेटिए, आफूले आफैंलाई चिनेका दिन त्यो मानिस महामानवमा परिणत हुन्छ ।

कोरोना त निहुँ हो । यो राज्यप्रणाली पशुपतिनाथको कृपाले कसरी भाग्यभरोशामा चलेको रहेछ भन्ने उदांगिएको छ । प्रधानमन्त्री मोटिभेसनल स्पीकर, विज्ञ अर्थमन्त्रीको हरेक गतिविधि व्यर्थमन्त्रीमा परिणत हुँदैछ । अरु मन्त्रीहरु प्रधानमन्त्रीको छायाँलाई मुक्तिदाता मानेर पुज्दै ठीक्क । मन्त्री र प्रधानमन्त्रीको भेट मन्त्रिपरिषद् बैठक बाहेक अरुबेला दुर्लभ छ । प्रदेश र स्थानीय निकाय जनताले कर तिरेको पैसा कसरी खर्च गर्ने भन्ने ध्याउन्नमा सीमित छन् । रोजगारी, कर तिर्न योग्य जनशक्तिको निर्माण राजनीतिक कोर्सले चिन्दैन ।

एकाध बाहेक स्थानीय सरकारदेखि संघ सरकारसम्म कोही संवेदनशील देखिदैनन् । एक्काइशौं शताब्दीमा पनि नाना, खाना र छानाको लडाइँ आफैंमा विडम्बना हो । सरकारले जिम्मा लिएको क्वारेन्टाइनमा मानिस आत्महत्या गर्न बाध्य छन् । दिनदहाडै महिला बलात्कार हुनु यो भन्दा सुशासनको रमाइलो दृश्य खोज्न अरु कहाँ जानुपर्ला र ?

प्रविधिको विकासले विश्व एउटै घरजस्तो बनेको छ । भान्सामा पाक्ने चीजबस्तु एउटै छन् । मात्र फरक के भने कसैले उसिनेर खालान, कसैले तारेर । यति हुँदाहुँदै पनि दुखकासाथ भन्नुपर्छ, सभ्य मानिस भएर दुनियाँको माझ देखिने दिन ल्याउन कुनै तन्त्रले पनि मार्गनिर्देश गर्न सकेनन् ।

केही दिन देशका मुख्य शहरका सडक तातेका छन् । ‘इनअफ इज इनअफ’ नारासहित निस्किएको हुल कुनै राजनीतिक पार्टीबाट स्वचालित भन्दा पनि स्वतस्फूर्त निस्किएको आक्रोश हो भन्ने प्रष्ट देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतबाट सुरु भएको अभियान सडकमा पुगेको छ । सरकारले महामारीको उचित व्यवस्थापन गर्न नसक्दा युवाहरुले स्वतस्फूर्त रुपमा देशभर प्रर्दशन गरे । युवाहरु यस्तो बेलामा सरकारले गरेका कमीकमजोरी सहन नसकेर बाहिर निस्कनु दुखद कुरा हो ।

शान्तिपूर्ण मौन प्रदर्शन नाम दिइएको उक्त कार्यक्रममा फेसबुकको स्टाटसको भरमा यति धेरै नागरिक सडकमा उत्रनु भनेको सरकारले आफ्नो ऐना आफै हेर्ने बेला आएको भनेर बुझ्नुपर्ने हो । स्वतन्त्र युवाको शान्तिपूर्ण मौन प्रदर्शनलाई कोरोना फैलाउन मलजल गरेको संज्ञा दिने महानुभावहरु फेरि गुमेको जग्गा संसदले नक्सामा ल्याएको खुसीयालीमा सडकमा उत्सव मनाउनुलाई जायज माने । हामी कस्तो परिपाटी संस्कारको विकास गरिरहेका छौ । कागलाई कालो र बकुल्लालाई सेतो भन्न नसक्दाका परिणाम हुन् आज देशको व्यापक अराजकता, भष्टाचार, विकृति, विसंगति, गैह्रजिम्मेवार, लगायतका विषय ।

छिमेकी चीनमा कोरोना फैलिँदा नेपालमा पनि आउँछ भन्ने थाहा थियो । उचित व्यवस्थापन हुन सकेन । लकडाउन मात्रै समस्याको समाधान होइन, कतिपय खान नपाएर मर्नुपर्यो, कति रोगले मरेका छन् । कतिले क्वरेण्टीनमा दुःख पाएका छन् । विदेशमा दुःख पाउनेका दुःखलाई सरकारले देख्दैन । यो देशका प्रधानमन्त्रीलाई पीसीआरमा भन्दा बेसारमा धेरै विश्वास छ । राज्यको नेतृत्व गरेका व्यक्तित्वहरुमा न ज्ञान छ, न इमान ।

नेपालमा वि.सं. २००७ सालमा क्रान्ति भएको थियो । त्यसबेला नेता र नेतृत्वकर्ताको नागरिकसँग निरन्तर सम्पर्क थियो । नेतृत्वकर्तासँग योजना र कर्तव्य पनि थियो । तर अहिले नेतृत्वमा न नयाँ योजना छ , न कर्तव्य । कोही जेल परेको आधारमा, कोही बन्दुक बोकेको आधारमा त कोही आफ्नो पुर्खा नेता भएको आधारमा नेता बनेका छन् । आलुहरु ठालु भएपछि हुने यही हो ।

कोरोना भाइरसबाट बचाउन लकडाउनको अस्त्र प्रयोग गरियो, तर लकडाउनले सिर्जित गरेको भोकमरी र भोकमरीबाट बचाउन कुनै अस्त्र प्रयोग गरिएको देखिएन । अहिले विस्तारै बजार खुल्न थालेको छ । भारतमा एकै दिन २ हजार भन्दा बढीको मृत्यु हुन थालेको छ । नेपालमा दिनदिनै ४ सयको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । विज्ञहरुको प्रक्षेपण छ, यो हजारौं लाखौंमा पुग्ने प्रबल सम्भावना छ । कोरोना मुक्तदेश भनेर घोषणा गरेको न्युजिल्याण्ड र चीनमा फेरि संक्रमण देखिन थालेपछि दोस्रो लहरको सत्रंmमण सुरु भएको आशंका गरिएको छ ।

बाँच्दा मात्र हैन मरेपछि शव व्यवस्थापनमा समस्या देखिएको छ । चाहिने भन्दा बढी देखासिकी गर्दागदै देश भासिएको जानकारी छैन विज्ञहरुलाई । राजनीति जिम्मेवारीको प्रसंग सिक्नु नपर्ने, व्यवस्थित तयारी र कार्यान्वयनको अवस्था सिक्नु नपर्ने, आँखामा पट्टि, कानमा बुजो र हातमा दही जमाएर बसेको सरकारले फेरि शव व्यवस्थापनको कुरा पश्चिमाकै सिक्नुपर्ने । युरोपियन देश लगायत संयुक्त राज्य अमेरिकामा एकैदिन हजारौको संख्यामा मानिसहरु मरे एकातिर भने अर्कोतिर उनीहरुको संस्कार नै त्यही थियो शव गाडे । परापूर्वकालदेखि स्नान गरेर मात्र दिनको सुरुवात गर्ने हामी हिजो आज हात धुन समेत पश्चिमाले सिकाउनुपर्छ । मरेको शबमाथि पनि न्याय गर्न नसकिएका दृश्य साँच्चै कहालीलाग्दो छ । अग्निमा दाह हुने उसको अधिकारको कम्तिमा रक्षा गर्न सके संस्कारको इज्जत रहने थियो । आफन्तको काँध नपाएपछि आखिर उसले पाउने त्यतिनै त हो ।

महामारी नियन्त्रण तथा उपचारका नाममा १० अर्ब लगानी गरिसकेको भन्ने सरकारले जनतालाई त्यसको हिसाव–किताव बुझाउन नसक्नु पनि जनआक्रोसको अर्को कारण हो । यसलाई रोक्न सरकारले जनतालाई चित्तबुझ्दो जवाफ दिनुको विकल्प छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही दिन अगाडि प्रदर्शनलाई ‘कोरोनामाथि सवार राजनीति’ भन्ने अभिव्यक्ति दिए । प्रधानमन्त्रीले संसदमै हावा अभिव्यक्ति दिनुभयो । यसले १० अर्बको हिसाब, पीसीआर विधिबाट कोरोना परीक्षण, व्यवस्थित क्वारेन्टिन र आइसोलेसनको दर बढाउनुपर्ने माग मात्र होइन, यो प्रदर्शन देश र जनताप्रति जवाफदेही सरकार, महामारीमा जनताप्रति सरकारको संवेदनशीलता, सुशासन र पार्दशिताको माग पनि हो ।

सरकारले अहिले कोरोना नियन्त्रण मात्र होइन । सांसद विकास कोषको रकम घटाउन सक्थ्यो तर त्यसमा चुकिसक्यो । प्रशासनिक खर्च घटाउने अझै ठाउँ बाँकी छ, यति मात्र नभएर अव सरकारले देशमा रोजगार सिर्जना गर्ने किसिमका कार्यक्रमहरूको योजना ल्याउन जरुरी छ । उद्यमशीलताको विकास, ऋण उपलब्धता, करमा छुट लगायत सुविधा उपलब्ध गराई नयाँ व्यवसाय खोल्न प्रोत्साहित गर्ने र स्वरोजगार बनाउने दायित्व सरकारकै हो । सरकारी तथा निजी क्षेत्रका उद्योगधन्दामा लगानी वृद्धि गराउँदै, उत्पादन क्षमतामा वृद्धि, थप रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने छ । अव पनि सुतेर बस्यौं यसको ठूलो मूल्य चुकाउनु पर्नेछ ।

जनतालाई सकारात्मक रुपमा अगाडि बढ्न प्रेरित नगरेपछि बहुमतको पनि कुनै अर्थ रैनछ । कमजोर प्रतिपक्ष, आज बहुमतको सरकार जनताका लागि बाँदरको पुच्छर लौरो न हतियार झै भएको छ । राज्य र नेतृत्वप्रति जनताको वितृष्णा जागृत हुनु भनेको सरकार कमजोर हुनु हो । दुई तिहाईको दम्भ छाडेर कार्य शैली परिवर्तन गरौ । जनता बलिया भए भने मात्र सरकार बलियो हुन्छ । कोरोनाले मुक्ति दिए पनि समयले दिँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width