समाचार खोज्दै गाउँतिर

कृष्णअन्जान ज्ञवाली
असाेज २७, २०७७

फेरि हिउँद लागेको छ, पोहोर यही हिउँदमा पोखराको पत्रकरिताबाट बिदा भएर गाउँ फर्केको थिएँ । यो एक वर्ष मेरा लागि चुनौतीपूर्ण थियो ।करिब पच्चिस वर्षको शहरिया पत्रकारिताले मलाइ कतै गाउँमा बसेर पत्रकारिता गर्ने वातावरण नबनाउने त होइन ? गाउँमा टिक्न सक्छु कि सक्दिन ? मेरो मनमा यी भावनाहरु राम्रैसँग खेलेका थिए ।

गाउँ फर्कंदा गाउँ शून्य थियो । कताकति घरमा बुढा बा आमाले घर कुर्दै थिए । आँखाभरि आँसु लिएर छोराछोरी विदेशीएका कथा गाउँ फर्किने बित्तिकै मैले धेरै बुढा बाआमाबाट सुनें । म आफ्नै घर पुग्दा पनि पच्चिस वर्ष एक्लै बसेकी आमाले छोरो आउने बाटो कुरेको आमाका आँखामा प्रष्ट देखिन्थ्यो ।

हो मलाइ थाहा थियो, मेरी आमाले यी पच्चिस वर्ष धेरै अँसु पिएर बिताउनु भएको थियो । एक्लै बस्दा आमाको मन बिस्तारै यस्तै रैछ भनेर करिब ढुंगो भएको थियो, मैले यो प्रष्ट अनुभव गर्न सक्थे आमाका आँखामा । यही अवधिमा कमरेडहरुको उन्मादले मेरी आमाको सिन्दुर खोसेको थियो । सपना त आमाले पनि देख्नु भएको थियो होला तर मेरी आमाको सपना मेरो बाबाको जघन्य हत्याले चटक्क चुँडिएको थियो ।

एकातिर सिन्दुर खोसिएको विभत्स घाउ र अर्कोतिर छोरो गाउँ नफर्कंदा संसारमा आफ्नो भन्ने कोही रैनछ भन्ने पीडामा मेरी आमा भित्र रोएर बाहिर हाँसेको मैले गाउँ फर्केपछि अनुभूति गरें ।

मेरी आमा मात्र होइन गाउँमा धेरै आमा हरुका आफ्नै पीडाका कथा थिए । छोराछोरीले अवसरको खोजीमा भन्दै गाउँ छाडेपछि घरमा लत्रेरै भएपनि छाक टार्न अँगेनो बाल्ने आमाहरु, खलाँती झैं सास फेर्दै एकछाकको जोहो गर्ने बाहरुका धेरै व्यथाहरु मैले गाउँमा महसुस गरें ।

मैले शहरमा पत्रकारिता गर्दा पनि समुदायको आवाजलाई सञ्चार माध्यमसम्म पुर्याउने अभ्यास गरेको मात्र थिइन मेरो पत्रकारिता जनकेन्द्रित बनाउने प्रयास गरे । तर शहर र गाउँको पत्रकारिता फरक थियो । म जुन भूगोलमा फर्केको थिएँ त्यहाँ समाचारका धेरै पोकाहरु थिए । मैले ती पोकालाई फुकाउनु थियो । शहरमा जस्तो हरेक दिन गाउँमा न पत्रकार सम्मेलन हुन्थे न कुनै होटल र रेष्टुरेन्टहरुमा समाचार भेटिन्थे । ग्रामीण क्षेत्रमा मैले गर्ने पत्रकारिता औपचारिक हुने कुरै भएन, न म सुकिलो भएर समाचार खोज्न जानुपर्ने भयो । टालेको जाँगे र थोत्रै सर्ट भिरेर पनि मैले गाउँमा समुदायका समाचार संकलन गर्न सक्ने भएँ । न कुनै सवारी साधन चाहिने भुटेका मकै टोक्दै गाउँतिर समाचार संकलनमा अभ्यस्त भैसकेको छु ।

हुन त मैले छापा, रेडियो, टेलीभिजन, अनलाइन सबै क्षेत्रको अनुभव संगालेको छु । सबै क्षेत्रमा सम्पादक, कार्यकारी सम्पादक, संवाददाता क्यामेरा पर्सनसमेत भएर काम गरेको अनुभव छ । तर यतिवेला अलिबढी रेडियोमा समाचार पठाउन व्यस्त छु किनकि समुदायले धेरै रेडियोको समाचार सुन्छ ।

हिउँदको शुरुवात बारीमा कोदालो बोकेर तरकारी लगाउने तयारी गर्दै थिए रिडी बजारबाट पत्रकार भाइ चिरञ्जीवीको फोन आउँछ । दाइ रिडी रुद्रवेणी सडक अवरुद्ध भयो कति दिन खुल्दैन थाहा छैन । हामी युवाहरुले नयाट्रयाकबाट वाइपास बनाउँदै छौं हजुरले लेखेको समाचारले प्रभाव पार्छ दाइ समाचार लेख्नु पर्यो आग्रह गर्छन् । हत्तपत्त बारीबाट धुस्रैमुस्रै घरमा आउँछु ल्यापटपमा समाचार लेख्छु घरदेखि अलिपर भाइ घनश्याम ज्ञवालीको घरमा पुगेर नेटबाट समाचार स्थानीय एफएममा पठाउँछु । मलाइ थाहा छ केहीबेरमा स्थानीय एफएमबाट त्यो समाचार बज्नेछ ।

समाचार पठाएर आउँदा आमाले एकघान मकै र पिपलमुनी कान्छो बुवाकोमा पारेको मागेको एक गिलास मोही खाजा दिनुहुन्छ । एकपटक आमालाई हेर्छु सत्तरी वर्षकी आमा छोरो गाउँ फर्केपछि अलि खुसी हुनुहुन्छ । आमाले दिएको मकै र मोही शहर बस्दा पत्रकार सम्मेलनहरुका खाजा भन्दा सय गुणा स्वादिष्ठ छ ।

गाउँको पत्रकारितामा हरेक पटक लेखिएका समाचारमा अपनत्व भल्किन्छ । समाचार लेखेपछि तीनदेखि चारपटक समाचार दोहोर्याउँछु मैले लेखेको समाचारले आम जनसमुदायको मन नदुखोस् मेरो चहना हुन्छ । मेरो समाचार आजभोलि कुनै नेता र मन्त्रीका अघिपछि लाग्दैन नत मलाई प्रमुख अतिथि के बोल्छ भनेर दिनभर कुर्नु पर्छ । मेरो समाचारमा त आजभोलि उन्मादी बन्दुकले मारिएका भोजराज ज्ञवालीका परिवारको व्यथा बोल्छ, सामाजिक सुरक्षा भत्ताबाट पालिने बाआमाका कथा बोल्छ, छोराछोरी विदेशीएपछि गाउँ कुरेका बुढा बा आमाका दुखेसा मेरा समाचारका विषयवस्तु बन्छन् । गाउँघरमा किसानहरुले मल बीउसँगै उत्पादन गरेर पनि मूल्य नपाएका विवशता मेरो समाचार बन्छन् । बाटाले भत्काएका बस्तीहरु, घरहरुसंगै बाटो खन्दा खेत पुरिएका दृष्टीविहीन मुमेश्वर र भीमप्रसाद ज्ञवालीका पीडासँगै राज्यसँगको आक्रोश मेरा समाचार बन्छन् । वैदेशीक रोजगारीबाट फर्केर गाउँमा बेरोजगार बनेका सन्तोष विकहरुका कहानी समाचारका शीर्षक बन्छन् । रित्ता गाउँहरु र रित्ता घर, बाँझिएका बारीहरु मेरा समाचार हुन् । अधिकार खोसिएका र आवाजविहीनहरुका आवाज मेरो पत्रकारिताको अभिष्ट हो ।

मैले भोका मान्छेहरुलाइ पेटभरि खुवाएर मात्र भोको रहनुको कारणको समाचार लेख्ने गर्छु । मलाइ सस्तो लोकप्रियताका लागि तथानाम समाचार लेख्नु पनि छैन ।

हो मेरा धेरै समकक्षीहरु ठूलै सन्चार उधमी बनेका छन् । आफ्नै सञ्चार माध्यम पत्रपत्रिका, टेलिभिजन, अनलाइन, युट्युव च्यानलहरु छन् । पत्रकार सम्मेलनमा आउँदा पनि कार चढेर आउने रवाफिला गफ गर्ने साथीहरु पनि धेरै भेटेको छु । केही ठूला मिडियाहरुमा क्यामेरा बोकेर धेरै रात भोकै समाचार लेखेर रात बिताएका दृष्टान्तहरु धेरै छन् र तिनै सञ्चार माध्यमका ठूलावडाहरु श्रमजिवी पत्रकार ऐनका गफ हांकेर भोको पेटका पत्रकारहरुको धज्जी उडाउनेको फेहरिस्त पनि समयमा प्रस्तुत गर्ने छु ।

यतिबेला मेरो पत्रकारिता गाउँ केन्द्रित छ । गज्जवको कुरा त मोवाइल बिग्रेपछि किन्न पनि सकेको छैन । आमाको पुरानो मोवाइलले काम चलाएकाले फेसबुक र मेसेन्जरका धेरै साथीहरुसँग सम्पर्क छैन । क्यामेरा त परको कुरा, एउटा थोत्रो ल्यापटप छ । साथीहरुले एन्टिभाइरस हालिदिनु भएकाले राम्रै चलेको छ, यही ल्यापटपको भर छ । घरबाट अलि पर एकजना भाइले नेट चलाउँछन त्यहीबाट समाचार पठाउँछु तापनि मलाई निकै आनन्दको अनुभूति भइरहेको छ ।

गाउँबाट समाचार लेख्ने भएर होला पत्रकारका संघसस्थाको नजरमा म पर्दिन । न कसैले सोधखोज गर्छ । हुनत म नेपाल पत्रकार महासंघको सदस्य हुं तर कहिल्यै पत्रकारले पाउने सुविधा प्रोत्साहन पुरस्कार भित्र म पर्दिन । आज म नितान्त गाउँले पत्रकारितामा एकोहारो भै सकेको छु । स्थानीय एफएम स्टेशनहरुमा दिनदिनै मेरा समाचार बज्छन् । रेडियोका पत्रकार भाइहरुले एकदिन समाचार नपठाए दाइ समाचार आएन भनेर सम्झाउनु हुन्छ । गाउँका बुढा बाआमा, दाजुभाइ, दिदीबहिनी सबै समुदायले आजभोलि मेरा समाचार खोज्छन् । यो मात्र होइन आज मेरी स७० वर्षे आमालाई छोराको नाम रेडियोमा आउने भएपछि समाचार सुन्ने बानी परेको छ । गाउँमा आजभोलि सबैका घरमा रेडिया झुण्डिएका छन् । मैले पठाएका समाचार नामसहित बजेन भने बाबु आज समाचार आएननि भनेर घरमै आएर सोध्छन् गाउँलेहरु । त्यही वाक्य सुनेपछि मलाई आनन्द लाग्छ । गाउँमा बसेर आटो, रोटो र मकैका ठेला टोक्दै गाउँले पत्रकारितामा रमाउन थालेको छु । यसैले म अहिले समाचार खोज्दै गाउँतिर रमाइरहेको छु ।

(कृष्ण अन्जान ज्ञवाली गुल्मी ग्रामीण क्षेत्र कार्यरत पत्रकार हुन् ।)

Related News

सम्बन्धित समाचार

hero news full width