भुल्दै गएको सहिद दिवस

shiva prasad gautam शिवप्रसाद गौतम
माघ १६, २०७७

मातृभूमि र नेपाली जनतालाई शासकहरुले दमन गरेर जनआकांक्षा विपरीत निरंकुश शासन चलाएपछि त्यसका विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रिए । जनताले शासकविरुद्ध चलाएको जनआन्दोलन, स्वतन्त्रता प्राप्तिका लागि गरिएको जनसंघर्षका क्रममा धेरैले ज्यान नै अर्पण गर्नु परेको छ । निरंकुश शासकहरुले आन्दोलनकारीहरुलाई दबाउने सिलसिलामा आन्दोलनरत नागरिक उपर गोली चलाउँदा साहदत प्राप्त गरेका नेपाल आमाका सपुतहरुका लागि प्रयोग हुने शब्द हो सहिद । आफ्ना देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन् । अहिले आएर राष्ट्रिय राजनीति गर्ने सत्ताशीन शासकहरुले सहिदहरुको अपमान गरेको अनुभूति भइरहेको छ । कस्ता व्यक्तिलाई सहिद मानेर सम्मान गर्ने भन्ने सरकारको खास नीति छैन । दलगत स्वार्थ सिद्धि गर्न भएका आन्दोलनमा वा आफ्ना दलको कार्यकर्ता कुनै भीडभाडमा मारियो भने त्यसलाई पार्टीको तर्फबाट सहिद घोषणा गर्ने परिपाटी बसेको छ । जनताको हितको निम्ति साहदत हुनेहरू सहिद हुन् । प्रजातन्त्र प्राप्तिका लागि आन्दोलनमा होमिएर जीवन वलिदान दिने नेपाल आमाका सपुत सहिद हुन् ।

‘सक्छस् भने छातीमा गोली हान, गंगालाल मर्न डराउने कायर हैन । जल्लाद राणाहरु हामीहरुलाई मार्न सक्दैनौ’ भनेर गंगालाल कुर्लिए । कलिलो उमेरका गंगालालको यो गर्जन थियो । जल्लाद राणाहरु मुर्दावाद भनेर नारा लगाएका थिए । राणाहरुले गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्रीहरुलाई आफ्ना शत्रु ठानेर गोली हानेर हत्या गरे । आज प्रजातन्त्र सेनानीको सम्मान गरिएको छैन । अहिले सहिदहरुको योगदानको अवमूल्यन भएको छ ।

आफूले विशेष मान, ठूलो आदर वा सत्कार प्रतिष्ठा इज्जत जस्तो सम्मान, राष्ट्रको हितका निम्ति गरिने विशिष्ट क्रियाकलापका उद्देश्य भएको राष्ट्रिय भावनालाई कार्य क्षेत्रमा उतार्ने राष्ट्रिय राजनीति गर्छाै भन्ने सबैमा हुनु पर्छ । आफूले जस्तो गलत काम गरे पनि ठीक अरुले असल काम गरे पनि बेठीक जस्ता राष्ट्रद्रोही व्यवहार गर्दा सहिदको अपमान हुन्छ । यस्तो प्रवृत्तिलाई सबै नेताले त्याग्नु पर्छ । आफ्ना अर्थ वा उद्देश्य पूर्तिको निम्ति गरिने काम आफ्ना मतलब, भलाई, लाभ गर्ने प्रवृत्ति स्वार्थ हो । नेताले राजनीतिलाई स्वार्थपूर्तिको होइन सेवा हो भनेर व्यवहार नगर्नाले देशमा अन्याय, अत्याचार, भ्रष्टाचार बढेर राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेताहरुको कारणले देश र जनताको गरिमा गिरेको छ, सहिदहरुको अपमान भएको छ । आफ्ना प्रतिष्ठा र महत्त्व माथिको गरिमा, आत्म गौरव, आफ्ना देश जाति, संस्कृति आदिको सहअभिमान स्वाभिमान हामी आफैले सहिदहरुको सम्मान गर्दै उहाँहरुले देखाएको मार्ग अनुसरण गर्दै जाउँ यसैमा हामी नेपालीको कल्याण छ । अन्यथा हाम्रो अस्तित्व लोप हुन जान्छ ।

जसले सहिदको सम्मान गर्दैन उसले देश र जनताको सेवा गर्न सक्दैन । आफू सफल शासक बन्न सक्दैन ।

विसं १९६३ जेष्ठ २० गते ५ जना युवाहरु टंकप्रसाद आचार्य दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र रामहरि शर्माले प्रजापरिषद् स्थापना गरेर सोही दिन ओमबहालस्थित धर्मभक्त माथेमाको घरमा एकतन्त्रीय राणाशासनलाई समाप्त पारेर प्रजातन्त्रवादी शासन व्यवस्था स्थापना गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल प्रजापरिषद्को रूप रेखा तयार पारी विसं १९९७ भदौ १८ गते कार्यकारीको निर्वाचन पनि गराएका थिए । यसमा टंकप्रसाद आचार्य सभापति, दशरथ चन्द उपसभापति, रामहरि शर्मा मन्त्री र सदस्यहरुमा धर्मभक्त माथेमा, चुडा शर्मा, गोविन्दप्रसाद शर्मा, पुस्करनाथ उप्रेती, मुकुन्दनाथ रिसाल, बलबहादुर पाण्डे, ध्रुवप्रसाद दवाडी, फणिन्द्रराज सत्याल हरिकृण श्रेष्ठ, गंगालाल श्रेष्ठ, चित्रबहादुर खत्री गणेशमान सिंह, केशव खत्री, रामजी क्षेत्री, चन्द्रमान मास्के आदि चुनिएका थिए । व्यायाम शिक्षक धर्मभक्त माथेमामार्फत् राजा त्रिभुवनसँग पनि यो संस्थाको सम्बन्ध थियो । यो परिषद्ले भारतको कलकत्ता र पटनाबाट सामाजिक पत्रिकामार्फत् नेपालमा राणाशासन विरोधी लेखहरुको प्रकाशन र नेपालमा पर्चाबाजी गर्न थालेको थियो । २६ जुन १९४० को गोरखापत्रमा परिषद्का सदस्यहरुलाई गिरफ्तार गराउने व्यक्तिलाई ५ हजार रूपैयाँ इनाम दिने राणा सरकारबाट घोषणा भएपछि देश द्रोही स्वार्थी व्यक्तिको सहयोगमा १९९७ कात्तिक २ गते देखि प्रजापरिषद्का कार्यकर्ता, महावीर स्कूल र नेपाली नागरिक अधिकार समितिका सदस्यहरुका साथै अन्य सुधारवादी व्यक्ति र केही निर्दाेष व्यक्तिसमेत ५ सय व्यक्ति पक्राउ परे । यस विषयमा राजा त्रिभुवनर्लाइ पनि दोषी माने । १९ जनवरी सन् १९४१ (विसं १९९७, ६ माघ) मा विशेष अदालतले राजा त्रिभुवनको उपस्थितिमा देशद्रोह र राजद्रोहको अभियोग लगाई नागरिक अधिकार समितिका संस्थापक शुक्रराज जोशी लगायत प्रजापरिषद्का धर्मभक्त माथेमा, दशरथचन्द र गंगालाल श्रेष्ठलाई अंश सर्वस्वसहित मृत्युदण्डको सजाय सुनायो । जस अन्तरगत शुक्रराज शास्त्रीलाई पचलीमा झुण्ड्याइयो, धर्मभक्तलाई सिफलमा र दशरथचन्द र गंगालाललाई शोभा भगवतीमा अनेक यातना दिएर पछि छातीमा गोली हानी मारियो । टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडाप्रसाद, गणेशमान सिंह, हरिकृष्ण गोविन्दप्रसाद, पुस्कार नाथ र बलबहादुर पाण्डेलाई अंश सर्वस्वसहित जन्मकैदको सजाय गरेका थिए । केहीलाई ६ वर्षदेखि १८ वर्षसम्मको कैदको सजाय सुनाइएको र केही ब्राह्मणहरुलाई मुडेर जातिच्यूत गरे । बत्तीस जना जरिवाना तिरी छुटे भने १८ जनालाई सजाय भएन । २० जुन १९४४ (विसं २००१, ७ साउन ) मा गणेशमान सिंह जेलको पर्खाल नाघेर भाग्न सफल भएका थिए ।

यही प्रजापरिषद वर्तमान नेपाली कांग्रेसको स्वरूप हो । सहिदहरुले राम्रो उद्देश्यका लागि गरिने बलि, बलिदान अर्थात् बलि हुने काम, बलिदान कुर्वानीबाट प्राप्त प्रजातन्त्रमा आजका शासकहरुले सहिदहरुले देखाएको मार्ग अवलम्बन गरेर देश र जनताको हितमा काम गर्ने बेला हो यो । सहिदहरुको सम्मानमा पूर्व सरकारहरूबाट सहिदहरुको अमर सम्झनामा श्रद्धाञ्जली प्रकट गरिने सप्ताहव्यापी कार्यक्रम, नेपालमा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम पनि कटौती हुँदै आए । सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने एक साता र सहिदहरुको सम्झना गर्दै उनीहरूप्रति राष्ट्रिय पर्वको रूपमा सम्मान स्वरूप सम्झना गर्दै श्रद्धाञ्जली प्रकट गरिने विशेष दिन माघ १६ गते सहिद दिवस सार्वजनिक बिदा गरेर मनाउने साविकको परम्परालाई जनताले आन्दोलन गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले मनाउने परम्परालाई तोडेर सहिदहरुको अपमान गरेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालादेखिको वामपन्थी सरकारले यो प्रथाको अन्त्य गरेर सहिदहरूप्रति घोर अपमान गरेको कारणले गर्दा नेताहरुलाई सहिदको श्राप लागेर देश र जनता पनि अन्योलमा परेको अवस्था छ । जसले सहिदको सम्मान गर्दैन उसले देश र जनताको सेवा गर्न सक्दैन । आफू सफल शासक बन्न सक्दैन । इतिहासमा उनीहरु कलंकको रूपमा चिनिन्छन् । स्वार्थको राजनीति सहिदको होइन । निस्वार्थ राजनीति देश र जनताको आवश्यकता हो । राजनीति गर्नेले सहिदको सम्मान गरौं । यसैमा सबैको कल्याण छ ।

Related News

सम्बन्धित समाचार

    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…
    • जनमत, संविधान र संसद विगठन

      gehendramanudas डा. गेहेन्द्रमान उदास “पोखरेली” फागुन ७, २०७७
      राज्यका तत्वहरू– जमीन, जनता, सार्वभौमिकता र सरकार यी चार तत्वहरू मध्य जनता सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व देखिन्छ । किनभने…

    hero news full width