दुखीको घरमा मात्र तेरो बास हुने भए

आदर्श समाज सम्वाददाता
माघ २४, २०७७

नेपाली साहित्यको बगैंचामा बेलाबेलामा विभिन्नथरि फूल फुलेका छन् । तिनै फूलमध्येका एक हुन् नाटककार बालकृष्ण सम । उनको जन्म १९५९ साल माघ २४ गतेका दिन काठमाडौंको ज्ञानेश्वरमा भएको हो । उनका पिताको नाम जनरल शमशेर राणा र माताको नाम कीर्तिराज्यलक्ष्मी राणा हो । आइएस्सीसम्मको अध्ययन गरेका उनी बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । पारिवारिक दबाबका कारण सैनिक सेवामा लागेका समले आफ्नै निजी प्रयासमा संस्कृत, हिन्दी र अंग्रेजी साहित्यको अध्ययन गरेका थिए । हुने बिरुवाको चिल्लो पात भनेझैं उनी सानैदेखि ज्यादै प्रतिभाशाली र चलाख थिए । भनिन्छ– उनले धाईआमाले दूध खुवाउँदा आफूलाई दुःखाइएको र आफू रोएको कुरा पनि सम्झिन्थे रे । यिनले नेपाली निबन्ध, कथा, नाटक र कविताका क्षेत्रमा आफ्नो कलम चलाएका छन् । नेपाली साहित्यमा फुटकर कविताको साथै खण्डकाव्य र महाकाव्य लेख्न सफल सम परिष्कारवादी धाराका प्रसिद्ध कवि मानिन्छन् । उनले दश वर्षको उमेरमा ‘इशोर’ शीर्षकको कविता लेखेर ‘शारदा’ पत्रिकामा छापेका थिए । यो नै उनको पहिलो नेपाली भाषामा लेखिएको कविता हो ।

उनका प्रकाशित र अप्रकाशित गरी २६ वटा नाटक र २८ वटा एकांकी छन् । उनलाई आधुनिक मौलिक नेपाली सुखान्त नाटकका प्रवर्तक मानिन्छ । समको नाट्य यात्रालाई अगाडि बढाउन उनकी श्रीमतीको पनि कम योगदान थिएन, दुई सन्तानको वियोगमा परेका सम दम्पत्तिले दुःखान्त नाटक लेखेपछि प्रकाशनका लागि अर्थको अभाव हुँदा उनलाई श्रीमतीले कृति प्रकाशनका लागि हौसला दिएकी थिइन् । भनिन्छ, उनले श्रीमतीलाई माइतीले विवाहका पेवाका रुपमा दिएका दुईमध्ये एक कल्ली बेचेर समलाई कृति छपाउनका लागि सहयोग गरेकी थिइन् । हुन त उनले दुःखान्त नाटक पनि लेखेका छन् । उनका सुखान्त वा संयोगान्तक नाटकहरुमा धु्रव, मुकुन्द इन्दिरा, प्रल्हाद आदि पर्दछन् भने दुःखान्त वा वियोगान्त नाटकहरुमा मुटुको व्यथा, अन्धवेग आदि प्रसिद्ध छन् । विश्वनाट्य साहित्यकार पूर्वका कालिदास र पश्चिमका शेक्सपियरको हाराहारीमा समलाई सम्मानित गरिन्छ भने उनी आधुनिक नेपाली नाट्य साहित्यमा सबैभन्दा प्रभावशाली नाटककार मानिन्छन् । त्यसपछि उनका डेड दर्जन नाट्यकृतिहरु प्रकाशित भएका छन् । ती नाट्यकृतिहरु मध्ये मुटुको व्यथा (१९८६०) मुकुन्द इन्दिरा (१९९४), प्रल्हाद (१९९५), अन्धवेग (१९९६), प्रेमपिण्ड (२००९), अमरसिंह (२०१०) र भीमसेनको अन्त्य (२०२८) आदि ज्यादै लोकप्रिय छन् । त्यसैगरी कविता र काव्यतर्फ आगो र पानी (खण्डकाव्य–२०११), चिसोे चुल्हो (महाकाव्य–२०१५) र बालकृष्ण समका कविता (२०३८), ज्यादै प्रसिद्ध छन् भने उनको नियमित आकस्मिकता (दर्शनग्रन्थ–२००५) चर्चित निबन्ध मानिन्छ ।

समशेर परिवारमा जन्मेर पनि राणा परिवारका निरंकुश प्रवृत्तिबाट असन्तुष्ट भई शेर राणा हटाई सम मात्र लेख्नुले यिनमा समतावादी दृष्टिकोण थियो भन्न सकिन्छ । यद्यपि सम नाटककार हुन् तथापि उनलाई प्रसिद्ध कविका रुपमा पनि लिन सकिन्छ । ‘भावनाको बौद्धिक कोमलता’ नै उनको कविता हो र यो ‘नियमित–आकस्मिकता’ पनि हो ।

दुई सन्तानको वियोगमा परेका सम दम्पत्तिले दुःखान्त नाटक लेखेपछि प्रकाशनका लागि अर्थको अभाव हुँदा उनलाई श्रीमतीले कृति प्रकाशनका लागि हौसला दिएकी थिइन्

उनी सम्पन्न शाली राणा परिवारमा जन्मेका थिए । कलिलै उमेरमा सेनाको कप्तान मेजर पदमा नियुक्ति भएका थिए । आइएस्सी पूरा नगरे तापनि क्षमताले गर्दा त्रिचन्द्र कलेजमा नेपाली विषयको प्राध्यापक बन्न सफल भएका थिए । उनी नेपाली भाषा प्रकाशन समितिका अध्यक्ष पनि बनेका थिए । आफ्नो राणा जनाउने नाममा सम मात्र लेखेनन् प्रजातन्त्रको उदयपछि सबैमा समानता देखाउन आफ्नो दरबारको अग्लो पर्खाल भत्काएर बाहिरबाट देखिने गरी होचो पारेका थिए । साथै आफ्नी पत्नी मन्दाकिनीलाई तपाईं सम्बोधन गर्थे । उनी राजसभा स्थायी समितिका सदस्य पनि बनेका थिए ।

गोरखा दक्षिण–बाहु पदकबाट सम्मानित सम राजकीय प्रजा–प्रतिष्ठानका उपकुलपति, गोरखा–पत्रका प्रधान सम्पादक तथा सेनाका लेप्टेनेण्ट कर्णेल (प्रमुख–सेनानी) सम्म भएका थिए । उनले २०२९ सालमा ‘त्रिभुवन पुरस्कार’ २०३५ सालमा नेपालकै सबभन्दा विशिष्ट ‘पृथ्वी–प्रज्ञा’ पुरस्कार पनि पाएका थिए । समलाई विचारशील, बुद्धिवादी, तार्किक र दार्शनिकका रुपमा पनि लिन सकिन्छ । किनभने केही न केही रुपमा उनका रचनामा यी कुराहरुको छाप परेको पाइन्छ । उनको भाषा परिमार्जित, कलात्मक तथा चमत्कारपूर्ण हुन्छ अनि शैली पनि प्रभावकारी शिष्ट हुन्छ । जुन कुरा तलका यी दुई हरफ कविताबाट पनि प्रष्ट हुन्छ :–
‘दुखीको घरमा मात्र तेरो बास हुने भए,
हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे’

उपयुक्त लेख रचना र कविताको आधारमा समलाई पूर्वीय र पाश्चात्य दर्शनका साथै अरस्तुदेखि शेक्सपियर र भरतमुनिदेखि पहलमानसिंह स्वाँर आदिको नाटकका अध्ययन गर्ने सम नेपाली साहित्यका बौद्धिक तथा दार्शनिक परिष्कारवादी साहित्यकार हुन् भन्न सकिन्छ । सम नाटक मात्र होइन, उनी निर्देशक र अभिनेता पनि थिए । जानकारहरु समका बारेमा यसो लेख्छन्, उनले आफ्नो घरको मुलल ढोकाका छेवैमा काठको पाटीमा पहिले यस्तो कविता लेखेर टाँसेका रहेछन्, जुन कवितांश यस्तो छः

यो मेरो बास हो, नाथ नित्य जीवन मार्गको ।
तिमीतिर हिँड्ने छु स्वप्न पूरा भएपछि
तर, शंकर लामिछानेले एकपटक समलाई उनकै घरमा भेटेर तपाईं ईश्वरवादी आस्तिककि, अनिश्वरवादी नास्तिक भनेर प्रश्न राखेछन् । उनको प्रश्नको उत्तर दिँदै समले म अनिश्वरवादी हुँ भनेछन् । तर लामिछानेले तपाईंले ढोकामा किन त ? नाथ लेख्नु भएको भन्दा समले तुरुन्तै म नाथ शब्द बदल्छु भनेछन् र उक्त कविताअंशलाई बदलेर यस्तो लेखेको पढ्न पाइन्छः

यो कुनै वास हो मेरो, मेरो नित्य जीवन मार्गको ।
कतैतिर हिँड्ने छु, स्वप्न पूरा भएपछि ।।
अङ्ग्रेजी भाषाका ज्ञाता समले आफ्नो नेपाली भाषाको ज्यादै माया गर्थे । उदाहरणार्थ नेपाली भाषा मोहित हुँदै उनले लेखेको एक टुक्रा कवितांश यहाँ प्रस्तुत गरिन्छ ः– ‘भाषा हो सबको साझा, देश–संस्कृति–उन्नति ।’
वास्तवमा उनी नेपाली भाषा लेख्दा कँुद्दैनथे । बरु कुँदेर चिटिक्क पारी लेख्दथे । बरु टेबुलको सफा टेबुलपोसमा झिँगा बस्न सक्छ तर उनका परिस्कृत र परिमार्जित शब्दमा कुनै दोष देखिँदैन । उनका खास काव्यगत विशेषता निम्न छन् :–
(क) दार्शनिक चिन्तन हुनु,
(ख) मानवतावादी भावना प्रकट गर्नु,
(ग) परिष्कारवादी धाराका कविता लेख्नु,
(घ) अन्त्यानुप्रासविहीन अनुष्टुप छन्द प्रयोग गर्नु,
(ङ) स्वतन्त्रता, समानता र भातृत्वको संघोष गर्नु ।

उनी नेपाली कविता साहित्यमा अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दको प्रयोग गर्ने सफल र प्रथम नाटककार हुन् । अङ्ग्रेजी साहित्यकार शेक्सपियरको द्यबिलप खभचकभ शैली अपनाएकाले उनलाई नेपाली नाटकका शेक्सपियर र नाट्य सम्राट मानिन्छ । हुन त प्रसिद्ध समालोचक रामकृष्ण शर्माका अनुसार बालकृष्ण समले शैली मात्र होइन अङ्ग्रेजी पाश्चात्य र बाइबलमा भएका विचारलाई आत्मसात गरेका छन्, जस्तै ‘अन्धवेग पृष्ठ १२४ मा लेखिएको देवता दया गर्छन्, भूल गर्दछ मानिस । पोपको ूत्य भचच ष्क जगmबल, तय ायचनष्खभ मष्खष्लभू कै छायानुवाद देखिन्छ ।

मुटुको व्यथा पृष्ठ १३२ मा ‘छोरी तिम्रो निम्ति म बाँचुला, मक्किएका सबै हाड तिम्रै निम्ति म साँचुला’ अङ्ग्रेजी कवि टेनिसनको ‘स्विट माइ चाइल्ड, आइ लभ फर थ्री’ प्रतिध्वनि अनुभूति हुन्छ । प्रल्हाद पृष्ठ ८५ मा लेखिएको ‘जसको हो उसैलाई योग्य हुन्छ बुझाउनु’ लेखिएको ‘रेन्डर देअरफोर अन्टु सिजर द थिङ्स ह्विच बी गड्स्’ वाक्यकै रुपान्तरमा दिएको मत हो । मुकुन्द इन्दिरा पृष्ठ ३५ मा लेखिएको यो वसुन्धरा तिम्रो सिद्धान्तको लेखा ज्यादै नै स्थुल पो छ त’ शेक्सपियरको ह्यामलेटमा लेखिएको ‘देअर आर मोर थिङ्स इन हेभन एन्ड अर्थ, हेअर टु, देन आर ड्रिम्ट अफ इन योर फिलोसपी’ वाक्यमा भएको भाव प्रस्फुटित भएको पाइन्छ । दन्त्यकथाका भर परी लेखिएको नाटक ‘मुटुको व्यथामा स्वार्थरहित प्रेमको जुन झलक पाइन्छ त्यो डिकेन्सको टेल अफ टु सिटिज मा मा अनि ड्युमाको द मेन इन द आइरन मास्कमा स्पष्ट दर्शन पाइने हुनाले समले त्यो नाटक लेख्दा अंग्रेजी पुस्तकमा भएका र अरु यूरोपीय कथाहरुबाट सामग्री जम्मा गरेनन् भन्न सकिँदैन ।’

उपयुक्त कुरा सही भन्नेमा विश्वास लाग्छ किनभने समको देहान्तपछि उनले पढेका स्वदेशी र विदेशीले लेखेका एक ट्रक किताबहरु राष्ट्रिय पुस्तकालयमा उपहार दिएएको थियो । तथापि चोरी र प्रभाव शब्दले भिन्न अर्थ लाग्ने हुनाले समले कुनै पनि एकदेशी तथा विदेशी लेखकका लेखबाट चोरेका थिएनन् तर प्रभावमा परेर थुप्रै मौलिक कृतिको रचना गरी नेपाली साहित्यमा ठूलो योगदान दिएका छन् ।

कुनै पनि मानिस सर्वगुणले सम्पन्न हुन सक्दैन । समका पनि केही अवगुण र दोष थिए भन्न सकिन्छ । खासगरी उनलाई एउटा लाग्ने गरेको आरोप यस्तो छ । वरिष्ठ समालोचक तारानाथ शर्माका अनुसार १९९७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानका नेता कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका थिए । कवि चक्रपाणि चालिसेका छोरा लक्ष्मीनन्दन चालिसेका छोरा लक्ष्मीनन्दन चालिसे बिए परीक्षा दिँदै रहेछन् । तिनले नेपाली प्रश्नतर्फको उत्तर कापीमा यस्तो लेखेछन्, पृथ्वीनारायण शाहले धैर्य र उत्साहका साथ एकीकरणको अभियानमा विशाल नेपाल बनाएको भए यी नपुंसक राणाहरुको अस्तित्व रहने थिएन । त्यो उत्तर जाँचिन समकहाँ पुगेछ । आफ्नो राणा कुलपतिको त्यस्ता लाञ्छना उनलाई सह्य नभएर शिक्षा डाइरेक्टर मृगेन्द्र समशेरलाई देखाइदिएछन् । श्री ३ सम्म यो कुरा पुगेपछि लक्ष्मी नन्दनलाई छ वर्षको काराबास दिएछन् । जेलमा नै क्षयरोगले ग्रहस्त नभएर ती प्रतिभाशाली युवाको निधन भएछ । छोराको यस्तो दुःखद निधनले चक्रपाणि चालिसे ज्यादै मर्माहत भएछन् । यस घटनाले गर्दा चक्रपाणि चालिसे र समको सम्बन्ध आजीवन बिग्रेरै गएको थियो ।

यसरी समले नेपाली साहित्यको विकासमा लगभग सात दशक सेवा गरेर वि.सं. २०३८ साउन ६ गते ७९ वर्षको उमेरमा यस संसारबाट विदा भए । तैपनि नेपाली साहित्यमा उनले ठूलो गुन लगाएका हुनाले नेपाली साहित्यको इतिहासमा उनको नाउँ सुनौलो अक्षरले लेखिएको छ । त्यो कहिल्यै मेटिने छैन भन्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width