कोरोनाको दोस्रो लहरले नेपालजस्तो थोरै जनसंख्या भएको देशमा यो अवस्था सिर्जना हुनुलाई सामान्य रूपमा लिइनु हुन्न । अझै पनि यो प्रतिकूलता र भयबाट जोगिनका लागि स्व–सचेतनालाई पहिलो औषधीका रूपमा प्रयोग गर्नु जरूरी छ ।
सचेत व्यक्ति परिस्थितिलाई दोष दिँदैन र अरूबाट अपेक्षा पनि गर्दैन । तर, ऊ हरेक परिस्थितिमा सचेत भने रहन्छ । जस्तोसुकै परिस्थितिमा पनि जीवनशैली व्यवस्थापनको कला जान्नु सचेत र विवेकशील व्यक्तिको गुण हो ।
डर र त्रासले समस्या समाधान हुने होइन । आफ्नो स्वास्थ्य, वरपरको वातावरण आदि कुरालाई ख्याल गर्दै संयमित र संवेदनशील बन्नु आफैंमा एउटा अनुशासन पनि हो । महामारीको अवस्था भयानक भएर निषेधाज्ञा जारी भएपछि मात्र होइन, आफ्नो स्वास्थ्य अवस्था र जीवनशैलीबारेमा सदैव सचेत रहनु जरूरी छ । घर बाहिर हिँडडुल गर्नमा रोक लागेको भए पनि घरभित्र बसेर आफूलाई मानसिक रूपमा शान्त र स्वस्थ अनि शारीरिक रूपमा पनि स्वस्थ र तन्दुरुस्त राख्नमा स्वयं जागरुक हुनुको विकल्प छैन । अस्पतालमा कोरोनाको बिरामीले ठाउँ नपाउने अवस्थाको चिन्तामात्र होइन, यो समयमा अरू अस्वस्थताले हामी अस्पताल जाने स्थिति नआओस् यसमा सचेत हुनु जरूरी छ ।
हाम्रो खानपान, सोचाइ र जीवनशैलीले हाम्रो स्वास्थ्यलाई निर्धारण गर्दछ । बाहिर निस्कने बानी भएकाहरुमध्ये धेरैजसोको बानी घरमा बस्दा शारीरिक अभ्यास नगर्ने, योग, ध्यान नगर्ने, यसो बारी बगैंचामा काम पनि नगर्ने केवल खाने र टिभी हेरेर बस्ने गरेको पाइन्छ । यसो हुँदा आलस्य बढ्ने, शरीरमा मोटोपना बढ्नेमात्र नभई उच्च रक्तचाप, चिनी रोग बढ्ने मौका पनि यही हुन सक्छ ।
खानाको असन्तुलन र मांसाहारयुक्त खाना बढी भयो भने पेटको गडबडी तथा अन्य रोगले नसताउला भन्न सकिन्नँ । त्यसैले संक्रमणबाट बच्नु त छँदै छ आफ्नै दैनिकी र जीवनशैली पनि संयम, धैर्यतापूर्ण र विवेकपूर्ण हुनु जरूरी छ ।
जसलाई कोरोनाको असर परिसकेको छ, उसले चिकित्सकीय सल्लाहअनुसार संयमित हुनु जरूरी छ नै, जसलाई अझै कोरोना असरले छोएको छैन, उसले केही संयमता र विवेकको प्रयोग गर्ने हो भने महामारीको समयमा मात्र होइन अरु समयमा पनि आत्तिनुपर्ने अवस्था आउँदैन । संयमताका केही सूत्रहरू जानिराखौं र व्यावहारिक प्रयोग गरौं –
नियमित शारीरिक अभ्यास
आजकल धेरैले योग अभ्यासहरू सिकेर नियमित योग, आसन, प्राणायाम र ध्यान गर्ने गरेको पाइन्छ । ट्रेड मिलको प्रयोग सबैको पहुँचमा छैन । तैपनि सहर बजारमा धेरैको घरमा यो उपलब्ध छ । आफूसँग जे उपलब्ध छ, त्यसलाई प्रयोगमा ल्याउनु बुद्धिमानी हो ।
योग नै नसिकेकाले के गर्ने त ? चिन्ता गर्नुपर्दैन । टिभीमा, मोबाइलमा, रेडियोमा गीत त प्रायको बजेको हुन्छ र बजाउन सकिन्छ । संगीतको लयमा शरीरलाई हल्काफुल्का पार्दै करिब २०–३० मिनेट नृत्य गर्नु आफैंमा सशक्त शारीरिक अभ्यास हुन सक्छ ।
घरको आँगनमा, घर वरिपरि, कौसीमा बिस्तारै हिँड्ने अर्काे उपाय हो । बारी, बगैँचामा काम गर्ने, झारपात उखेल्ने, बिरुवामा पानी दिने यस्तै अनेक सानातिना कामले पनि शरीरलाई व्यायाम मिल्छ । शरीर स्फूर्त हुन्छ । शरीरमा स्वासको लयबद्धता मिल्छ र अक्सिजनको मात्रा पनि पर्याप्त मिल्छ ।
म निश्चिन्त खुसी र निर्भय प्राणी हुँ, नराम्रो हुँदैन, रोगले छुँदैन, भन्ने भावना जागृत गर्नसके समस्याले चिन्तामा लैजाँदैन
जब श्वास–प्रश्वास सहज हुन्छ, तब मन पनि स्थिर, शान्त र खुसी हुन्छ । यो महामारीको समयमा सबैभन्दा पहिले आत्तिने भनेकै मन हो । मन आत्तिनासाथ स्वस्थ व्यक्तिलाई पनि असहजता भएको, शरीरमा अक्सिजन कम भएजस्तो, रोगका सबै लक्षण आफैंलाई देखिएजस्तो महसुस हुन्छ । त्यसैले शारीरिक व्यायाम मनलाई स्थिर राख्ने, रक्तसञ्चार सुचारू राख्ने र स्वास–प्रस्वासलाई सहज राख्ने माध्यम हो ।
सन्तुलित भोजन
शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुने भोजन नै सन्तुलित र पूर्ण भोजन हो । हामी खाना खान्छौं तर त्यसमा स्वादमात्र हेर्छाै या पौष्टिकता पनि त्यो महत्वपूर्ण छ । घर बसेको समयमा र काम नभएको समयमा पटक–पटक खाइरहने हो ? कति खाने, कसरी खाने र खाएको खाना पाच्य हुन कति समय लाग्छ आदि कला पनि सँगै जान्नुपर्ने हुन्छ ।
मिठो लागेको जति खाने, मन लागेको समयमा खाइदिने, समयको अन्तराल ख्याल नगरी खाइदिने आदि बानीले गर्दा हाम्रो शरीरले सन्तुलित भोजन नपाइरहेको हुन्छ र त्यो नै हाम्रो शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, मानसिक स्थिरता र खुसीलाई बाधक बन्न सक्छ ।
भिटामिन, प्रोटिन, कार्बाेहाइड्रेड, क्याल्सियम जस्ता आवश्यक तत्व प्राप्त हुने गरी फलफूल, सागसब्जी, अन्न र मासु एवं दुग्ध पदार्थको पनि सन्तुलन मिल्नुपर्ने हुन्छ । उमेर अनुसार पनि हाम्रो भोजनको मात्रा निर्धारित हुने भएकाले त्यसमा ध्यान दिनुपर्छ । हामी सोचौं, हाम्रो उमेर बढ्दै जाँदा हाम्रो शारीरिक अभ्यास कम हुँदै जाँदा पनि हामी त्यति नै मात्रामा भोजन ग्रहण गर्छाैै या परिवर्तन भएको छ ?
सन्तुलित आहार त्यो हो, जसले हाम्रो शरीरको वजनलाई सन्तुलनमा राख्न सकोस् । शरीरमा सकारात्मक ऊर्जा प्रदान गरोस् । राम्रो निद्रा परोस् । स्मरण शक्तिमा वृद्धि होस् । रोग प्रतिरोधात्मक क्षमता बढाओस् । अनि, सकारात्मक सोच कायम राखोस् ।
सिर्जनात्मकता
कुनै पनि नवीन विचार र सोचलाई व्यवस्थापन गर्नु सिर्जनात्मक र रचनात्मक हुनु हो । सिर्जना मानसिक क्षमता र कौशलताको परिचायक पनि हो ।
कुनै पनि घटना या परिस्थितिले हाम्रो विचारमा उथलपुथल ल्याउँछ र त्यसले कुनै सिर्जनाको प्रादुर्भाव गर्दछ । सकारात्मक घटना छ भने सकारात्मक कार्यको थालनी हुन्छ । नकारात्मक घटनाले असर गरेको छ भने व्यक्तिमा हानिकारक अभ्यासको आदत पनि बस्न सक्छ ।
महामारी, बन्दाबन्दीमा घरभित्रै बस्नुपर्ने अवस्था आउँदा घरभित्रै बसेर गर्न सकिने सिर्जनात्मक र रचनात्मक कार्यमा मन लगाउनाले मन चारतिर भाग्न पाउँदैन । चित्रकला, गायन, संगीतका कुनै पनि आयाम, बाँसुरी बजाउने, गितार बजाउने, तबलाको अभ्यास, कविता लेखन, किताब लेखन जुनसुकै विधामा आफूलाई समाहित गर्नाले सिर्जना त बढ्छ नै, मन रचनात्मकतामै व्यस्त हुन्छ । चिन्ता, भय र त्रास र बेचैनीबाट मुक्ति पाइन्छ ।
हाम्रो सिर्जना र रचनासँग भाव जोडिएको हुन्छ, जसले मानसिक स्थिरता, आन्तरिक खुसी अनि सन्तोष प्राप्त हुन्छ । कसैको बगैँचामा काम गर्ने सोख हुन सक्छ । कसैलाई गमला सजाउने त कसैलाई कोठाभित्रको सजावटमा रमाइलो लाग्न सक्छ । आफूलाई मन लागेको काममा समय बिताउनु आफैंलाई स्वस्थ राख्ने उपाय हुन् ।
आत्म मनोबलको विकास
भित्रबाट सिर्जित हुने भयलाई भित्रैबाट आत्मबल अर्थात् मनोबलद्वारा निर्मूल पार्नुपर्छ । यो कठिन पटक्कै छैन । तर, यसको अभ्यास जरूरी छ । मनोबल जागृत गर्नलाई सकारात्मकता, संयमता, धैर्यता र अनुशासन भने आवश्यक पर्दछ । भित्रैबाट प्रत्येक व्यक्तिले मलाई केही नराम्रो हुँदैन, कुनै रोगले छुँदैन, म निश्चिन्त खुसी र निर्भय प्राणी हुँ भन्ने भावना जागृत गर्न सक्यो भने कुनै पनि समस्याले चिन्तामा लैजाँदैन ।
आत्मबलजत्तिको आन्तरिक ऊजा अरु केही हुँदै हुँदैन । आन्तरिक ऊर्जाशक्तिले आफूलाई भयमुक्त, सफल र आनन्दित छु भनेर सोच्ने बानी बसाल्नुपर्छ । आफ्नो डाक्टर आफैं, आफ्नो प्रेरणाको स्रोत आफैं, आफ्नो भरोसा आफैं बन्नुपर्ने यो अवस्थामा आत्मबल कमजोर हुन दिनुहुन्न । आत्मबलले विचार सकारात्मक बनाउँछ ।
भावबाट नै सबै समस्या समाधान हुन्छन् भनेर खप्तड बाबाले आफ्नो विचार विज्ञानमा उल्लेख गर्नुहुन्छ, पूर्ण विश्वास र नियमपूर्वक यसको अभ्यासलाई जारी राख्नेले आफूमात्र होइन, अरूलाई समेत चिन्तारहित बनाउन सक्छ ।
रातोपाटीबाट
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१