कोभिड–१९ महामारीविरुद्ध रोटरी अभियान

रविप्रसाद बराल
असार ६, २०७८

विश्वमा कोभिड–१९ नपुगेको अब कुनै देश रहेन । हाम्रो मुलुक पनि यतिबेला कोभिड–१९ बाट आक्रान्त बनेको छ । नेपालमा कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपश्चात् कोभिडबाट प्रभावित हुने नागरिकको संख्या ह्वात्तै बढेको छ । आजसम्मको विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा कोभिडका कारण विश्वभरमा १७ करोड ७० लाखभन्दा बढी मानिसहरु संक्रमित हुन पुगेका छन् । झण्डै ३८ लाख ६६ हजार मानिसको ज्यान गयो ।

नेपालको हकमा संक्रमितको संख्या ६ लाख १७ हजारभन्दा बढी छ भने ज्यान गुमाउनेहरुको संख्या ८ हजार ६ सय ४१ पुगिसकेको छ । यतिबेला विश्व एउटा भाइरसको त्रासदीले मानवलाई दिएको पीडा र यसबाट सिर्जित आर्थिक सामाजिक असरबाट मुक्ति पाउने अवसरको खोजीमा छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले गत वर्ष नेपालमा कोभिडविरुद्धको अभियानमा खेलेको भूमिका प्रसंशनीय रह्यो । कोभिड–१९ को दोस्रो भेरियन्ट सुरु भएयता रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका १४५ रोटरी क्लबका झण्डै ६ हजार रोटरियनहरु यसविरुद्ध जनचेतना जगाउने, स्वास्थ्य सामग्री वितरण गर्ने एवं अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता आधारभूत सेवा व्यवस्थापनमा जुटिरहेका छन् ।

‘स्वार्थभन्दा सेवा माथि’ को मुल मर्मलाई आत्मसात् गरी यो वर्ष रोटरीले नेपालमा कोभिड–१९ र समुदायको समग्र स्वास्थ्यसँग सम्बन्धित साना तथा ठूला परियोजना सञ्चालन गरी यसको जोखिम र त्रासदी कम गर्न प्रयत्नशील छ ।

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रोटरी क्लब अफ काकरभित्ताको सक्रियतामा झापाका ८ ओटै क्लबहरुले मेचीनगरसहितको सहयोगमा मेचीनगरअन्तर्गत आम्दा अस्पताल धुलाबारीमा १ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । प्रतिघन्टा ४० सिलिन्डर अक्सिजन भर्ने क्षमताको उक्त प्लान्टको स्थापना द्रुत गतिमा भइरहेको क्लबले जनाएको छ । रोटरी क्लब अफ सुरुंगााले आफ्नो समन्वयमा झापा जिल्लामा सञ्चालित ‘एकका लागि एक अभियान’ अन्तर्गत उक्त अक्सिजन बैंक स्थापनार्थ ३ लाख २० हजार सहयोग सम्बन्धित अस्पताललाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार सहयोग गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थपना गर्न अभियानले सुरु गरेको ‘१ व्यक्ति १ सिलिन्डर’ अभियानअन्तर्गत क्लबले सो रकम प्रदान गरेको हो । चीनबाट ५ सय थान अक्सिजन सिलिन्डर ल्याउने योजनाबमोजिम पहिलो चरणमा १ सय २० थान सिलिन्डर आएको र स्थानीय अस्पताललाई वितरण गरिसकेको क्लबले जनाएको छ ।

कोभिड टेलिमेडिसिन तथा हेल्थ डेस्क

रोटरी क्लब अफ धरान घोपाले कोभिड संक्रमित बिरामीहरुका लागि स्वास्थ्यकर्मीको सहयोगमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । करिब २ लाख रुपयाँको उक्त सेवा कार्यक्रममार्फत संक्रमणको लक्षण देखिएका दुर्गम भेगका बिरामीलाई समेत लाभ पुगेको क्लबले जनाएको छ ।

रोटरी क्लब अफ रत्ननगरले स्थानीय संघ संस्था सँग सहकार्य गर्दै चितवनको खैरहनीमा कोभिड प्रभावित नागरिकहरुको सहयोगार्थ ‘खैरहनी हेल्थ डेस्क’ सञ्चालन गरेको छ । कोरोनाको लक्षण देखिएका मानिसले उक्त डेस्कबाट दैनिक सेवा प्राप्त गरिरहेको जानकारी क्लबबाट प्राप्त भएको छ ।

संक्रमितको घरमै स्वास्थ्य सामग्री

रोटरी क्लब अफ दाङले घोराही उपमहानगरपालिकासँग सहकार्य गरी कोरोना संक्रमितको घरैमा पुगी स्वास्थ्य सामग्री वितरण गरेको छ । वडाका जनप्रतिनिधि, सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसहित रोटरी क्लबका पदाधिकारीहरुको सहभागितामा लक्षणसहितका संक्रमितको घरमा औषधी तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संक्रमितलाई अस्पतालसम्म जान सहजताका लागि अटो एम्बुलेन्स सञ्चालन र होम आइसोलेसनमा बसेका बिरामीहरुलाई अक्सिजन आपूर्ति गर्दै आएको क्लबले जनाएको छ ।

स्वाब कलेक्सन सेवा सञ्चालन

रोटरी क्लब अफ विराटनगरले विराटनगर नगरपालिका र हुलास मोटर्ससँगको सहकार्यमा वृद्ववृद्वा, शारीरिक अपांगता र अशक्तहरुका लागि घरघरमा गएर स्वाब कलेक्सन गर्न विराटनगरमा इलेक्ट्रिक भ्यान सञ्चालन गरेको छ । २ लाख रुपैयाँको यो परियोजनाबाट हालसम्म २ हजारभन्दा बढी मानिस लाभान्वित भइसकेका छन् ।

अस्पताललाई अक्सिजन सिलिन्डर, कन्सन्टे्टर तथा स्वास्थ्य सामग्री

रोटरी क्लब अफ नारायणगढले चितवन माडीस्थित बघोडा अस्पताललाई ५ लाख २५ हजार बराबरको ठूलो क्षमता भएको ५ वोटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ । रोटरी क्लब अफ सैनामैनाले सैनामैना नगरपालिकामा सञ्चालित सैनामैना कोभिड हस्पिटलका लागि ५ थान अक्सिजन सिलिन्डर तथा २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले रंगेली अस्पताललाई ७ लाख रुपयाँ बराबरको ३१ थान ग्यास सिलिन्डर हस्तान्तरण गरेको छ । निकट भविष्यमा १ लाख बराबरको एन्टिजेन्ट किट्स प्रदान गर्ने योजना रहेको क्लबका प्रेसिडेन्टबाट जानकारी प्राप्त भएको छ ।

रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ६ अन्तर्गतका रोटरी क्लबहरु क्रमशः रोटरी क्लब अफ वागमती काठमान्डु, कान्तिपुर काठमान्डु, काठमान्डु डाउन टाउन, काठमान्डु मेट्रो र त्रिपुरेश्वरले अग्रपंििक्तमा काम गर्ने स्वास्थ्यकर्मीका लागि कोभिड–१९ को जोखिमबाट जोगाउन संयुक्तरुपमा ललितपुरस्थित पाटन हस्पिटललाई ८५ हजारको फेससिल्ड, मास्क र ग्लोभ्ससहितको स्वास्थ्य किट्स हस्तान्तरण गरे ।

रोटरी क्लब अफ दाङले १५ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर, पिपिइ सेट, पल्स अक्सिमिटरलगायतको सामग्रीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, बेलझुण्डी कोरोना अस्पताल तथा शान्तिनगर गाउँपालिकालाई वितरण गरेको छ ।

रोटरीले क्याथल्याब स्थापना, अक्सिजन प्लान्ट स्थापना, कोभिड टेलिमेडिसिन सेवा, भेन्टिलेटर, सिटीस्क्यान मेसिनका साथै स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ

रोटरी क्लब अफ वानेश्वरले शारदा मावि तिलगंगामा रहेको कोभिड–१९ आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

रोटरी क्कब अफ चितवनले भक्तपुर अस्पताललाई १ लाख ७४ हजार २ सय बराबरको पिपिइ, सर्जिकल मास्क, एन ५ मास्क तथा रत्ननगर टाँडीलाई ५५ हजारको स्वास्थ्य किट्स हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ पाटनले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँग सहकार्य गरी कोरोना महामारीविरुद्ध खटिएका ‘फ्रन्टलाइनर’ लाई स्वास्थ्य सामग्री वितरण गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल मुटु विभाग, सिभिल अस्पताल, ख्वपा अस्पताल, ललितपुर हार्ट क्लिनिकलगायत अन्य ८ ओटा स्वास्थ्य संस्थालाई २० लाख बराबरको पिपिइ, मास्कलगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

क्लबले ४ सय स्वास्थ्यकर्मीलाई ड्राइफुड प्याकेट र सिभिल अस्पतालमा कार्यरत कोभिड १९ बिरामीलाई ४५ दिन सम्म निशुल्क खानाको व्यवस्था पनि गरेको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरलाई झापा र मोरङका १० वटा रोटरी क्लबले संयुक्तरुपमा पिसिआर परीक्षणका लागि आवश्यक पर्ने किट अस्पताल सञ्चालक समितिका अध्यक्ष सोमनाथ पार्तेललाइ प्रदान गरे । उक्त अवसरमा ५ लाख बराबरको ५ सय थान किट पनि अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लब अफ सैनामैनाले सैनामैना नगरपालिकाका सबै विद्यालयलाई ४ लाख १२ हजार बराबरको औषधीसहितको ‘फस्ट एड वक्स’ प्रदान गरेको छ ।

रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुको कोभिडविरुद्ध जोखिम कम गर्न १५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

रोटरी क्लब अफ पोखरा फिस्टेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा तथा संक्रमित रोग रोकथाम अस्पताल लेखनाथलाई १२ लाख बराबरको सामग्री प्रदान गरेको छ ।

रोटरी क्लब अफ पोखराले आफ्नो क्लब स्थापनाको अवसरमा ३ करोड ८७ लाख रुपैयाँ बराबरका अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटर, थर्मोगन, माक्स, सेनिटाइजर, पिपिइ सेटलगायत वितरण गरेको क्लबले जनाएको छ ।

रोटरी क्लब अफ धनगढीले १ करोड १० लाखको लागतमा बाँके बर्दियालगायत सुदुर पश्चिमका सबै अस्पतालमा १०लिटर क्षमताका १ सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ ।

हाइजेनिक किड्स तथ डस्टबिन वितरण

रोटरी क्लब अफ गोरखाले गोरखा जिल्लाका ५ वटा विद्यालयमा कोभिडको जोखिमबाट शिक्षक विद्यार्थीलाई सुरक्षित राख्न साढे २ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

रोटरी मनिपाल कोभिड–१९ सेन्टर तथा अक्सिजन बैक स्थापना

पोखरास्थित ७ वटा रोटरी क्लबहरुले र जोन ४ अन्तर्गतका सबै रोट्रर्याक्ट क्लबद्वारा मनिपाल टिचिङ हस्पिटलमा १ सय ४० बेड क्षमताको रोटरी मनिपाल कोभिड सेन्टर तथा अक्सिजन बैंक स्थापना गरेका छन् । उक्त समग्र प्रोजेक्टका लागि करिब ५० लाख खर्च हुने संयोजक मीनु श्रेष्ठ कुँवरले बताइन् ।

आइसोलेसन केन्द्र तथा आइसियु सेवा

रोटरी क्लब अफ पश्चिम नवलपरासीले पृथ्वीचन्द्र अस्पताल परासीमा क्लबका सदस्यहरुको व्यक्तिगत खर्चमा ४ बेडको आइसियु सेवा सञ्चालन गरेको छ ।

रोटरी क्लब अफ चितवनले सामुदायिक हस्पिटलको रुपमा सञ्चालित मुग्लिङ हाइवे हस्पिटललाई १० थान बेड, ४० थान एन्टिजन किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ चितवनका अध्यक्ष रोसन पियाले करिब २ लाख ५१ हजार ५ सय बराबरको स्वास्थ्य सामग्री इच्छाकामना गाउँपालिका ५ का अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लब अफ भादगाउँले नुवाकोटको लिखु गाउँपालिका ६ छहरेका सामुदायिक अस्पताललाई ९ लाखको रुपैयाँको लागतमा १० बेडको अक्सिजन कन्टेनरसहितको आइसोलेसन वार्ड स्थापना गरेको अस्पतालले जनाएको छ ।
ललितपुरस्थित रोटरी क्लबको सञ्जाल नेटवर्क अफ रोटरी क्लबस् अफ ललितपुर (एनआरसिएल) ललितपुरको बागडोलमा पूर्ण सुविधाको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । केन्द्रका लागि मासिक ३० लाखभन्दा बढी खर्च लाग्ने गरेको छ ।

सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री

रोटरी क्लब अफ विराटनगरले फ्रन्टलाइनमा खट्नुपर्ने विराटनगर प्रहरी फोर्सलाई कोभिड–१९ को जोखिमबाट सुरक्षित राख्नका लागि ३० हजार वरावरको ३०० फेस शिल्ड सहित एन–९५ मास्क वितरण गरेको छ । प्रहरीले महामारिको समयमा भएको यो सहयोगको प्रसंशा गरेको छ । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले विराटनगर प्रहरीलाई कोभिड १९ को जोखिमबाट सुरक्षित हुनका लागि इलेक्ट्रोनिक केटल, फेस सिल्ड, मास्क, सेनिटिइजर, पन्जा आदि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट हस्तान्तरण गरेको छ ।

खाद्यान्न बैंक तथा खाना वितरण

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले फुड बैंक स्थापना गरी दैनिक ज्यालादारी, विपन्न परिवार तथा असहाय नागरिकका लागि खाद्यान्न तथा मास्क वितरण गरेको छ । २०७८ १६ जेठसम्ममा ५ लाख १२ हजार बराबरका खाद्य सामग्री ३ सय २ घरका १ हजार ९ सय ५३ नागारिकलाई वितरण गरेको कुरा क्लबका प्रेसिडेन्टले जानकारी दिए । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलले मुसहर बस्तीमा ६० हजार बराबरको खाद्यान्न वितरण गरेको छ ।

रोटरी क्लब अफ विराटनगरले ज्यालादारी मजदुर र मानव सेवा आश्रम एवं विराटेश्वर वृद्वाश्रमका वृद्ववृद्वाका लागि १ लाख ५ हजार बराबरको ३ हजार ७ सय ५० केजी चामल र अन्य खाद्यवस्तु वितरण गरेको छ ।

रोटरी इक्लबले हिटेरी फाउन्डेसनसँग सहकार्य गर्दै कोभिड १९ को दोस्रो भेरियन्ट सुरु भएयता लगनखेल ललितपुरमा संकटमा परेका करिब १ सय जनालाई दैनिक खाना उपलब्ध गराउँदै आएको छ । हालसम्म करिब ६ लाख रुपयाँ खर्च भएको क्लबले जनाएको छ ।

रोटरी क्लब अफ दाङले दैनिकी सञ्चालनमा आवश्यक पर्ने १ लाख ३५ हजार बराबरको खाद्य सामग्री दाङस्थित मानव कल्याण सेवा केन्द्रलाई प्रदान गरेको छ ।

रोटरी ग्लोबल ग्रान्ट स्वास्थ्य परियोजना

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरुले रोटरीको ७ कार्यक्षेत्रको परिधी भित्र रहि समुदायलाई सेवा प्रदान गरिरहेका छन ।

कोभिड–१९ भेन्टिलेटर जडान परियोजना

रोटरी क्लब अफ चितवनले कोभिड–१९ विरुद्धको अभियानअन्तर्गत चितवन मेडिकल कलेजलाई ५ लाख ९७ हजार युएस डलर बराबरको भेन्टिलेटर प्रदान गरेको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनीले २ लाख २० हजार ३ सय ३० युएस डलरको ग्लोबल ग्रान्ट परियोजनाअन्तर्गत लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल तानसेनलाई स्वास्थ्य किट्ससहित ११ वटा भेन्टिलेटर प्रदान गरेको छ । निकट भविष्यमा हेमोडायलोसिस मेसिन प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ ।

कोभिड–१९ स्वास्थ्य सामग्री प्रदान

समुदायलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्नका लागि रोटरी क्लब अफ विराटनगरको अग्रसरता रोटरी क्लब अफ विराटनगर र रोटरी क्कब अफ विराटनागर फ्यूजनको सहभागितामा अमेरिकी डलर ८८ हजार लागतमा ग्लोबल ग्रान्ट प्रोजेक्ट सञ्चालन भएको छ । उक्त योजनाअन्तर्गत विराटनगर नगरपालिकामार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोभिड–१९ हस्पिटल विराटनगरलाई पिसिआर मेसिन, आरएनए एक्स्ट्रयाक्टर मेसिन, भेन्टिलेटर, दराजसहितको कम्प्लिट हस्पिटल बेड, इन्सिनेरेटर, स्वास्थ्य किट्स प्रदान गरिएको थियो ।

कोभिड–१९ पिसिआर किट्स वितरण

रोटरी क्लब अफ कान्तिपुर काठमान्डुले ८३ हजार ८९ युएस डलर लागतको ग्लोबल ग्रान्ट परियोजनामार्फत टिचिङ हस्पिटल महाराजगंजमा ४ हजार ८० थान र पाटन हस्पिटलमा २ हजार ७ सय ८३ थान गरी जम्मा ६ हजार ८ सय ६३ थान आरटी पिसिआर एवं एक्सट्रयाक्सन किट्स वितरण गरेको छ ।

सिटीस्क्यान मेसिन जडान

रोटरी क्लब अफ सेन्ट्रल बुटवलले गौतम बुध्द सामुदायिक हार्ट हस्पिटलमा बुटवलमा ६ लाख ५ हजारको लागतमा सिटीस्क्यान मेसिन जडान गरेको छ । रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमान्डु मिडटाउनले ३ लाख ४५ हजार लागतमा मनिहर्ष डायग्नोस्टिक सेन्टरमा सिटिस्क्यान मेसिन जडान गरेको छ ।

अक्सिजन बैंक स्थापना

एनआरसियल जीवनको आसा मिसनअन्तर्गत रोटरी कलब अफ यालाले १ करोडको ग्लोबल ग्रान्ट सञ्चालन गरी हाल बागडोलस्थित आइसोलेसन केन्द्र स्थापना भएको वृद्वाश्रमको घरमा प्रतिदिन ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन बैंक सञ्चालन गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाएको क्लबले जनाएको छ ।

डायलोसिस मेसिन जडान

रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ वालिङले वालिङ स्वास्थ्य केन्द्रमा ४ लाख ६० हजारको लागतमा डायलनेसिस मेसिन जडान गरेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलले पाल्पा डायलोसिस सेन्टर, लमही डायलोसिस सेन्टर र जिबिसी हार्ट हस्पिटल बुटवलमा ५ लाख ६० हजारको ग्लोबल ग्रान्ट परियोजना सञ्चालन गरी डायलोसिस मेसिन जडान गरेको क्लबले जनाएको छ ।

युएसजी तथा इसिजी मेसिन हस्तान्तरण

रोटरी क्लब अफ जावलाखेलले ४५ हजार युएस डलरको ग्लोबल ग्रान्ट परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिकास्थित गोकर्ण प्राथमिक अस्पताललाई अल्ट्रासाउन्ड एवं इसिजी मेसिन हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोकको बलेफी, पर्वतको पैयुँ, धादिङको बैरेनी र रुपन्देहीको धकधही प्राथमिक अस्पताललाई पनि युएसजी र इसिजी मेसिन प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ ।

क्याथल्याब स्थापना

रोटरी क्लब अफ बुटवल सेन्ट्रल र रोटरी क्लब अफ बुटवलले गौतम बुध्द सामुदायिक हार्ट हस्पिटल बुटवलमा ६ लाख १५ हजार युएस डलरको लागतमा क्याथ ल्याब स्थापना गरेको छ ।

पोखरास्थित सबै रोटरी क्लबसमेत रोटरी क्लब अफ पोखराले गण्डकी हस्पिटल पोखरामा ४ लाख १० हजार युएस डलर लागतमा क्याथल्याब स्थापना गरेको छ ।

उल्लेखित योजनाहरुको विश्लेषण, अध्ययन र हालसम्म विभिन्न स्रोतबाट डिस्ट्रिक्ट अफिसमा प्राप्त हुन आएका जानकारीसमेतको आधारमा यो वर्ष रोटरीले नेपालमा करिब ८५ करोड रुपैयाँभन्दा बढीको साना तथा ठूला परियोजना सञ्चालन गरी समग्र स्वास्थ्य र कोभिड–१९ को जोखिम र त्रासदी कम गर्न प्रयत्नशील रहेको पाइयो ।

डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरु कोभिड–१९ विरुद्धको अभियानलाई तीव्र बनाई समुदायलाई कोरोना जोखिमबाट जोगाउन आवश्यकता अनुसार थप आन्तरिक योजना र ठूला ग्लोबल ग्रान्ट परियोजनासमेत सञ्चालनको तयारीमा छन् ।

(बराल डिस्ट्रिक्ट पब्लिक इमेज कमिटी अध्यक्ष हुन् ।)

Related News

सम्बन्धित समाचार

hero news full width