आञ्चलिक साहित्यको प्रतिनिधि

लक्ष्मण थापा
माघ ३, २०७७

कथा के हो भनेर थुप्रै विद्वानहरुले अनेक परिभाषा दिएका छन् । मलाई मन पर्ने परिभाषा ‘एक बसाइमा पढेर सकिने आख्यान नै कथा’ हो । हुन त लामा लामा कथाहरु पनि नलेखिएका हैनन् । नेपाली भाषा र विदेशमा पनि लामा लामा कथाहरु पाइन्छन् । तर एक बसाइमा पढेर सकिने कथा नै पाठकको रुचिमा पर्दछन् ।

तीर्थ गुरुङ परिचय दिइरहनुपर्ने साहित्यकार हैनन् । ‘पाठशाला’ उपन्यासले उनलाई साहित्यमा रुचि राख्ने सबै नेपालीलाई चिनाइदिएको छ । उनले आफ्नो दोस्रो कृतिको रुपमा ‘आपा क्हार्प’ कथा संग्रह लिएर आएका छन् । पाठशाला उपन्यास जसरी सलल बगेका फलेका झिनुवाका चामलको भात झैं पाठकलाई स्वाद र सुवास दिन सफल भएको थियो, त्यसरी नै प्रस्तुत कथा संग्रहले पनि पाठकको मनलाई जित्ने कुरामा कुनै शंका छैन । एक से एक सुन्दर कथाहरुले पाठकहरुको मन प्रफुल्लित पार्छन् ।

संग्रहमा प्रस्तुत १५ थान कथाहरुले विविध विषयहरुलाई समेटेका छन् । पहिलो कथा ‘मःमः’ ले बालमनोविज्ञानलाई समेटेको छ । मःमः नेपालीको प्रिय खाजा हो र पहिलो कथाको नामै मःमः जुरेको छ । आमाबाबुको काखभन्दा पर हजुरबा, हजुरआमासँग बस्ने बालकका मनमा खेल्ने भावहरु कुशलतापूर्वक उतार्न सफल भएका छन् । अहिलेको समसामयिक कहर कोरोनाका बाछिटा त के भनौं, वर्षा र बाढीले नै कथालाई भिजाएको छ । ‘विकास’ कथाले सिक्लेस(जो कथाकारको गाउँ पनि हो) र सिक्लेसजस्ता अर्गानिक गाउँहरुलाई कसरी दुषित पारिरहेछ र बहुराष्ट्रिय कम्पनीहरुले कसरी विकासको नाममा सहरबाट टाढा गाउँमा बस्ने जनतालाई समेत कसरी दोहन गरेका छन् भन्ने झलक देखाएको छ ।
‘मेलो पलिवार’ एउटा बालिकाको सम्बोधन हो । परिवारका इच्छा, आकाँक्षा र केटाकेटीहरुका रहरलाई मुढमतिको बाबुले कसरी कुल्चन्छ र रुखो व्यवहार गर्दछ । लैंगिक विभेदका कारणले कसरी प्रतिभाको कलिलो बिरुवा निमोठिन्छ ! भन्ने देखाएको पाइन्छ । ‘दुर्गन्ध’ कथामा पात्रले आफ्नो आत्माको दुर्गन्ध थाहा पाउँदैन र बाहिर बाहिर खोजेर हटाउन खोज्छ । यो आम मानिसको चारित्रिक ह्रासको कथा हो, तर मुढमतिका कारणले आँफैले थाहा पाउँदैनन् । ‘बाजे जमदार’ कथा एउटा एकल भूतपूर्व सैनिकको कथा हो । जवानीमा जर्मनसँग लडेको गौरवपूर्ण इतिहास छ । तर उमेरसँगै एक्लो, कमजोर र लाचार हुन्छ । समाजसेवी लाहुरेले समाजका लागि निर्माण गरेका चौतारा, स्कुलजस्ता धरोहर विकासले नामेट गरिदिने दुखद् दृष्यहरु छन् । यो मानवीय मूल्य ह्रासको पनि कथा हो ।

‘कृत्रिम कविता’ मानिस सिर्जित प्रविधिसँग मानिस कसरी हार्दै गरहेको छ भन्ने एकातिर देखाउन खोजिएको छ भने अर्कोतिर कसरी प्रतिभाहीन मानिसहरुले वास्तविक स्रष्ठाहरुलाई निरुत्साहित गरिरहेका छन् भन्ने झलक पाइन्छ ।’ फ्ल्याट नोज बेबिज फिनोमेना’ कथा नाकसँग सम्बन्धित छ । ऐले कोरोनाको कारणले मान्छेले नाकमुख छोपेर हिँड्न परिरहेछ । यसरी छोप्दै जाँदा नाकमा कस्तो असर पर्ने हो कुन्नि ? नाकलाई इज्जतको कुरा पनि मानिन्छ । तर बच्चाहरु बिना नाकका जन्मन थालेपछि मानिसमा के कस्ता प्रतिक्रिया आउँछन् ? देखाउन खोजिएको छ र यो विम्बात्मक कथाले राष्ट्रिय पृष्ठभूमि समेटेको छ । जे कुराको लागि पनि विदेशीको अगाडि हात थाप्नेको के नाक रहन्छ र ? वास्तवमा यो कथाले यही सन्देश दिएको मेरो ठहर छ ।

कथा संग्रहमा प्रयुक्त विषय र भाषा गण्डकी क्षेत्र, पोखरा र वरिपरिको परिवेश तथा गुरुङ समुदायसँग गहिरो सम्बन्ध देखिन्छ

‘विसं २०९५’ विज्ञान कथा हो । श्रष्टाले २०९५ सालसम्म देश विशेषगरी पोखराको परिवेश यस्तो हुनेछ भनेर परिकल्पना गरेका छन् । जहाँ विज्ञान फिल्महरुका जस्ता दृष्यावलीहरु देखिनुका साथै पर्यावरण र मानवीय जीवनमा आउँने समस्याहरुतिर पनि संकेत गरेका छन् । ‘टाइगर’ जंगी खालको भोटे कुकुर हो । टाइगरसँगै अरु मानवपात्रहरु पनि छन् र यो असफल प्रेमको कथा पनि हो, तर एकोहोरो प्रेम..।

‘आपा क्हार्प’ महत्वपूर्ण कथा हो । यो लोककथाको पृष्ठभूमिमा लेखिएको छ । गुरुङ समाजमा प्रचलित कथा हो र यसले हामीलाई विल्कुलै अर्गानिक स्वादसँग परिचित गराउँछ । टाइगरजस्तै ‘मोटु’ पनि कुकुरको कथा हो । जसलाई फालिएको मोबाइल खोज्ने क्रममा एउटा परिवारले पाउँछन् र घरमा लगेर पाल्छन् । त्यसपछि स्वभाविक रुपमा कुकुर र मानवबीचको सुमधुर सम्बन्ध रहन्छ भने परिवारका सदस्यहरुकाबीचमा सम्वन्ध विघटित अवस्थामा पुग्छ । तर त्यसको कारण भने कुकुर होइन । तर त्यो विघटनले कुकुरलाई असीम दुखी र पीडित बनाउँछ ।

तीर्थको किशोर मनोविज्ञानमा आधारित उपन्यास ‘पाठशाला’ को सिजोफ्रेनिक भन्ने मानसिक रोगले पीडित नायक वा प्रमुख पात्र गगन ‘लेक, लोलिता र लाइफ बोट’ भन्ने कथामा उदाउँछ । बसमा लेकसाइडसम्मको यात्रा गर्छ र त्यसक्रममा उसका अनौठा परिकल्पनाहरु, साथीहरुसँग डुँगा खेल्छ, पानीमा डुब्छ तर मर्न पाउँदैन, बुकसपमा लोलितसँग भेट गर्छ र कथाको अन्त्यमा फेरि अस्पतालमै पुग्छ । यो कथाले पाठकलाई फेरि ‘पाठशाला’मा पु¥याइदिन्छ । ‘टीकाराम’ कथाको पात्र टीकाराम दलित भएकै कारणले क्षमता हुँदाहुँदै पनि असफल जीवन भोग्न अभिसप्त छ र उस्को दुखान्त हुन्छ । यो हाम्रै वरिपरिको कथा हो झैं लाग्छ । ‘उज्यालो र न्यानो’ देशको राजनीतिक परिदृष्यलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ । एकातिर परम्परागत निरंकुश राजतन्त्रको अन्तिम शासकले लादेको निरंकुशताको बिम्ब छ भने अर्कोतिर उज्यालो र न्यानो बिम्ब छन् । देश कसरी अगाडि गइरहेको छ पाठकलाई थाहै छ । त्यसैले कथाको अन्त्य कसरी गर्ने भन्ने जिम्मा पाठकलाई नै सुम्पिएका छन् ।

‘सर्पहरुसितको सुताइ’ संग्रहको अन्तिम कथा हो र लामो पनि । यो कथाको लागि मात्रै ६४ पृष्ठ खर्च गरिएको छ । राज्यद्वारा रहस्यमय तरिकाले बिरानो टापुमा पु¥याइएका १४ जना ख्यातिप्राप्त साहित्यकार, पत्रकार, कलाकार आदिलाई १/१ गरी गरी दुर्दान्त हत्या गरिन्छ । को बाँच्छ, किन र कसको ग्रान्ड डिजाइनमा त्यसो गरिएको थियो बुझ्नको लागि पुस्तक नै पढ्नुपर्छ ।

यो कथा संग्रहले आञ्चालिकताको प्रतिनिधित्व गर्दछ । विशेषगरी गण्डकी क्षेत्र, पोखरा र वरिपरिको परिवेश तथा गुरुङ समुदायसँग गहिरो सम्बन्ध देखिन्छ । यसै क्षेत्रमा बोलिने बोलीलाई टपक्कै टिपेर पात्रका मुखबाट बोलाउन कथाकार निपूर्ण देखिन्छन् ।

कथा संग्रहको एउटा सुन्दर पक्ष पशु र मानवबीचको भावनात्मक सम्बन्ध पनि हो । मानिस र कुकुरबीचको मैत्रीपूर्ण सम्बन्ध युगौंदेखिको हो । मानिसको दुखसुखमा कुकुरहरुले साथ दिँदै आएका सहस्र दृष्टान्तहरु पाइन्छन् । यहाँ पनि विशेषगरी कुकुरपात्रहरुलाई मानवपात्र जत्तिकै सम्वेदनशील देखाइएको छ । मानवपात्रको खुसी र सुखमा कुकुरहरु पनि सुखी र खुसी देखिन्छन् । दुख र पीडामा कुकुरहरु पनि उत्तिकै पीडावोध गर्ने देखिन्छन् ।

बालबालिकाहरुका भावनाको प्रतिनिधित्व गर्ने कथाहरु पनि समावेश गरिएको छ । लैंगिक विभेद पनि छ । पर्यावरणीय चिन्ता र चासो पनि देखाइएको छ । दुख, आर्थिक समस्या, पारिवारिक विघटन, सामाजिक मूल्यह्रास, राजनीतिक विकृति र विसंगति, विकासँगै आउँने विकृति, सांस्कृतिक विचलनका कुराहरु कथाहरुमा समेटिन सकेका छन् । संग्रहको सुन्दर पक्षमध्ये विज्ञान कथा पनि एक हो । पाठकले विज्ञान कथाको रसस्वादन गर्न पनि पाउँछन् भने रहस्य रोमाञ्चक कथाको मज्जा पनि लुट्न पाउँछन् ।

सरल र सरस भाषाशैली सलल बगेको छ । कथाहरु पढ्न थालेपछि नसिध्याइ छाड्न गाह्रै पर्ला । नेपाली भाषा संगसंगै गुरुँग भाषाकाशब्दहरु पनि छन् । तैपनि ती शब्दका अर्थ दिइएका हुनाले बुझ्न खासै समस्या पर्दैन ।

तीर्थ गुरुङको दोस्रो कृतिका रुपमा बजारमा आएको यो कथा संग्रहले ‘पाठशाला’ कै जति चर्चा पाउने कुरामा म ढुक्क छु श्रष्टालाई शुभकामना पनि दिन चाहन्छु ।

Related News

सम्बन्धित समाचार

hero news full width