बुद्धिजीवी, समाजसेवा र राजनीति

प्रा. विश्वराज अधिकारी
कार्तिक २०, २०७७

मानव सभ्यतामा समाज र राष्ट्रको विकास क्रम सँगै अत्यन्त मुखरित भएका शब्दहरू हुन्, बुद्धिजीवी, समाज सेवा र राजनीति । यी शब्दहरू सयौँ वर्ष पहिला जसरी प्रयोग हुन्थे आजभोलि यिनीहरूको प्रयोग परिभाषा, विम्ब र सिद्धान्तमा पनि व्यापक परिवर्तन भएकोे पाइन्छ । मूलतः यी शब्दहरूको व्यापकता र आयतन ज्यादै फराकिलो बन्दै गएको परिवेशमा शब्द, अनुरूपको भाव र मर्म निःष्प्राण भएकोे सहजै अनुमान लगाउन सकिन्छ । अर्काे तर्फ यी शब्दहरूको अन्तरसम्बन्ध पनि गहिरो छ र कहिले काहीँ एउटाले अर्काे माथि अतिक्रमण समेत गरेको पाइन्छ । जसले गर्दा कुनै पनि व्यक्ति आफ्नो सिमालाई उल्लङ्घन गर्दै एक पछि अर्काे नाटकीय मञ्चनमा व्यस्त भएकोे पाइनु सर्वथा अनुचित हो ।

बुद्धिजीवी समाजसेवी बन्नु अनि समाजसेवी राजनीतिज्ञ बन्नु र राजनैतिक व्यक्ति फेरि बुद्धिजीवी बन्नु सामान्य जस्तै भएकोे हाम्रो समाजमा कसलाई के भन्ने पिरलो साधारण ज्ञान भएको मानिसलाई लाग्नु स्वभाविक नै हो । यस आलेखमा यी शब्दहरूलाई परिभाषित गरी एक आपसमा नबाझिने गरी खुट्याउन कोसिस गरिने छ जसले गर्दा शब्दहरूको अर्थपूर्ण चयन र समाज विकासमा यिनीहरूको महत्त्व बुझ्न सहज हुनेछ भन्ने विश्वास गरिएको छ ।

बुद्धिजीवी भन्नाले त्यस्तो व्यक्ति हो जसमा प्रचुर समालोचनात्मक चेत भएकोे अध्ययन र अनुसन्धान गरी समाजको यथार्थलाई बाहिर ल्याउने र आइपर्ने समस्याहरूको पहिचान गरी समाधानको बाटो निकाल्ने विद्वत मानिस ठहर्छ । ऊ समाज निर्माण गर्ने अथवा समाजमा पुलको काम गर्ने, विभिन्न विधागत सांस्कृतिक पुँजीको निर्माण गर्ने तथा कला र साहित्यको निर्माण गर्ने व्यक्ति पनि हो । साधारणतया बुद्धिजीवी, राजनीतिमा सहभागी भएर कुनै वादलाई समर्थन वा आलोचना गरी राजनैतिक संस्कारका प्रचलित मूल्य, मान्यताहरूलाई तर्कपूर्ण बहसले स्पष्ट पार्ने खुबी राख्दछ । बुद्धिजीवीहरू पनि वर्गीय हुन्छन् । त्यसैले कुनै परम्परावादी कुनै निरंकुशवादी, अनि समाजवादी, प्रतिक्रियावादी क्रान्तिकारी, प्रजातन्त्रवादी, बुद्धिजीवीहरू संसारभर क्रियाशील छन् । फ्रान्सका प्रसिद्ध दार्शनिक ज्यापाल सात्रले बुद्धिजीवी भनेका अरु व्यक्तिको काममा दखल दिने मानिस हुन् जसको उनीहरूसँग सम्बन्ध नै हुँदैन । यस्तै विचार अमेरिकी विद्वान् नोम चम्स्कीले पनि अभिव्यक्त गरेको पाइन्छ । उनको विचारमा बुद्धिजीवी भनेका राजनैतिक कमिसार हुन्, अरुलाई तल पार्न माहिर हुन्छन्, विचार धाराका प्रशासक हुन् र त्यसैले सदैव विरोधीका तारा हुन्छन् भनेर परिभाषित गरेका छन् । सात्र र चम्स्कीको बुद्धिजीवी सम्बन्धी केही नकारात्मक धारणा भए पनि अर्का प्रसिद्ध लेखक ईडवार्ड शईदले बुद्धिजीवी भनेको सत्य बोल्न हिम्मत गर्ने, साहसी र रिसाहा व्यक्ति हो जो कुनै पनि शक्ति सामु घुँडा टेक्दैन । बास्तविक बुद्धिजीवी सधैँ बाहिर हुन्छ, प्रवासी हुन्छ र केन्द्र देखि टाढा हुन्छ । उसले समुदायमा समुदायका लागि बोल्ने गर्दछ । समाजमा पछि परेका, नचिनिएका र बिर्सिएका मानिसहरूको पक्षमा उभिन्छ ।

माक्र्सवादी दर्शनमा बुद्धिजीवी भनेका प्रगतिशील विचारका बाहक, समाजलाई परिवर्तन गर्न सक्ने, राजनेतालाई सल्लाह र सुझाव दिन सक्ने, आफ्ना देशका नागरिकलाई राजनैतिक तौर तरिकाको व्याख्या गर्न सक्ने व्यक्ति विशेष भन्ने बुझिन्छ । कार्ल माक्र्सको बुद्धिजीवी सम्बन्धी धारणालाई व्याख्या गर्दै इटालियन दार्शनिक एन्टोनियो ग्राम्स्कीले सबै खाले ज्ञान अस्तित्वमा आधारित छ त्यसैले बुद्धिजीवीले ज्ञानको निर्माण र संरक्षण गर्ने तथा विभिन्न सामाजिक समूहहरूको इच्छा अनुसार विचार सम्प्रेषण गर्ने गर्दछन् । पारम्परिक तथा जैविक बुद्धिजीवीमा वर्गीकरण गर्दै ग्राम्सीले सबै मानिस बुद्धिजीवी हुन् तर सबै मानिसले समाजमा बुद्धिजीवीको काम गर्दैनन् भन्ने मान्यता राख्दछन् । यसरी हेर्दा हाम्रा देशका बुद्धिजीवी अपवाद बाहेक पेशागत संघ सङ्गठनमा आबद्ध न्याय र समानताको पक्षमा वकालत गर्न डराउने, राजनैतिक व्यक्तिका छत्र छायामा हुर्किएका, विचार र प्रवृत्ति ढुलमुल भएको, स्वार्थी, आत्मकेन्द्रीत र अवसरवादी, सधै पद र प्रतिष्ठामा र्‍याल चुहाउने व्यक्ति विशेष बन्न पुगेका तथाकथित स्वनामधारी विद्वान् हुन् भन्न त्यति अप्ठ्यारो मान्नु पर्दैन ।

समाज सेवा एउटा बृहत् सामाजिक कार्यक्रम हो जसले कुनै सङ्गठन, समुदाय वा समाजलाई बलियो बनाउने, समानता र अवसर प्रदान गर्ने कार्य गर्दछ । समाज सेवाका क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, स्वरोजगार, सरसफाई, विकास निर्माण तथा सम्पूर्ण समुदायको व्यवस्थापनका लागि नीति निर्माणमा समेत प्रभाव पार्ने कार्य पर्दछन् । समाज सेवा लोककल्याणकारी व्यवस्था अन्तर्गतको महत्त्वपूर्ण क्षेत्र हो जसमा सामुहिक वा व्यक्तिगत तबरले गरिब, विपन्न, दलित तथा उपेक्षित वर्ग वा समूहहरूको उत्थान र विकासमा टेवा पुर्‍याउने काम गर्दछ । हाम्रो देशमा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी सयौ संघ संस्थाहरू समाज सेवा गर्ने मूलभूत उद्देश्य बोकेर देशैभरी क्रियाशील छन् । कुनै संस्था दैवी विपदमा सक्रिय छन्, कुनै गरिबी निवारणमा छन् भने, चेलीबेटी, महिला, दलित तथा अपाङ्ग सेवामा खटिएका छन् । सामान्य मानिसले त्यस्ता संघ संस्थाहरूमा काम गर्ने व्यक्तिलाई ठूला दाताका रूपमा, प्रोजेक्ट चलाउने तथा सरकारको स्वीकृति लिएर देशका विभिन्न जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्ने समूह भन्ने बुझ्दछन् । त्यस्ता सरकारी तथा गैर सरकारी संस्थाहरूको नेतृत्व मूलतः विद्वान्, बुद्धिजीवी, पढेलेखेका, अनुभवी, सकेसम्म विद्यावारिधि प्राप्त व्यक्तिले गरेका पाइन्छन् । अनि कतिपय राजनैतिक पृष्ठभूमिबाट आएका विभिन्न अन्तर्निहित स्वार्थ बोकेका, विदेशी गैर संस्थाहरूले चयन गर्ने पदाधिकारी समेत पर्दछ ।

यसरी समाज सेवा गर्ने पवित्र उद्देश्यका साथ आफ्नो जीवन अर्पण गर्ने थुप्रै धनराशिका आयोजनाहरू कार्यान्वयन गर्ने तथा आर्थिक रुपले विपन्न, अपाङ्ग, महिला, पिछडा, भोकमरी तथा दैवी प्रकोपमा सेवारत गैरसरकारी समाजसेवीहरू आफ्ना सुविधा, तलब भत्ता, देश विदेश भ्रमण, भन्सार छुटमा महङ्गा गाडी, ठूलो रकम तिरेर अफिस सञ्चालन अनि वर्षको एक दुई पटक पाँच तारे होटलमा सभा सम्मेलन गरेर खर्चको हिसाब किताब आन्तरिक रूपमा मिलाउने कथित समाजसेवी संस्थाहरूका बारेमा प्रश्न चिह्न उठाउनु सान्दर्भिक हुन आउँछ । टुडीखेलमा विहान बेलुका भात बाडेर बेरोजगार बनाउने, गाउँ फर्कन चाहनेलाई २/४ दिन पेटभरि ख्वाएर गल्लीमा लडाउने, विपत्को बेलामा एउटा पाल, एक पाथी चामल, एक किलो दाल र एक लिटर तेल बाडेर समाजसेवी बनी सामाजिक सञ्जालमा भरिभराउ भएकोे देख्दा लाजले आँखा छोप्न मन लाग्दो रहेछ ।

अर्काे उदेक लाग्दो विषय के छ भने नेपालमा समाजसेवाका नाममा समाज कल्याण परिषद्बाट स्वीकृति पाएका अन्तर्राष्ट्रिय संघ संस्थाहरू पनि सेवा भन्दा व्यापारमा जोड बल गरेको देखिन्छ । अति महङ्गा ठाउँमा जग्गा लिने, घर बनाउने र ती घरजग्गा भाडामा लगाएर पैसा कमाउने, स्कुल चलाउने, सामाजिक भवन बनाउने अनि पैसा उठाउने । फेरि कति समाज सेवीहरूको योजना कस्ता छन् भने वस्ती नै नभएका ठाउँमा पनि स्कुल बनाई दिने, पानीको धारा घरघरमा पु¥याउने, बाटो बनाइदिने, चौतारा तथा पार्कहरू निर्माण गरिदिने, खेलकुद मैदान निर्माण गरिदिने आदि । देख्दा र सुन्दा त्यसै उदेक लाग्दो, उराठ लाग्दो । यस्ता धेरै गैरसरकारी संघसंस्थाहरूको पैसा कहाँबाट आउँछ ? के मा खर्च हुन्छ ? कसले कति खान्छ ? साँच्चिकै गरिब र उपेक्षित समूहमा पुग्छ पुग्दैन त्यसको अनुगमन निरीक्षण तथा लेखा परीक्षण थोरै संघ संस्थाको मात्र पाइन्छ ।

अब प्रश्न उठ्ने गर्छ पचासौँ वर्षदेखि नेपालमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले थोरै लक्षित समूहलाई विपन्नबाट सम्पन्न, अशिक्षितबाट शिक्षित, असभ्यबाट सभ्य बनाउन नसक्नुको कारण के के हुन् खोजी गर्न जरुरी छ । स्वदेश तथा विदेशबाट प्राप्त अरबौ रूपैयाँको बजेट खर्च गरी प्रत्यक्ष देखिने र जीवन स्तर परिवर्तन भएको समाचारहरू कता सुन्न र पढ्न पाइएला खोई । तथापि एकाध गैरसरकारी संघ संस्थाहरूको कार्य भने प्रशंसनीय र उदाहरणीय पनि छन् ।

राजनीति शब्दको परिभाषा सामान्य लागे पनि जटिल प्रकृतिको छ । हाम्रा दैनन्दिनिसँग जोडिएर आउने शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसाय, अर्थ, परराष्ट्र, खेलकुद, कृषि, बन आदि सबै राजनीति गर्ने विषयहरू हुन् जसमा पक्ष र प्रतिपक्षका विचार धारणा र आलोचना मुखरित भएका हुन्छन् । अरस्तुले मानिस स्वभावैले राजनैतिक प्राणी हो भनेका छन् । उनले राजनीतिलाई विज्ञानको पनि विज्ञान मानेका छन् । तर पनि राजनीति भनेको सामान्य अर्थमा सामाजिक क्रिया प्रक्रिया नै हो जसको माध्यमबाट समन्वय र सहमति गरेर शक्ति र श्रोत साधनको वितरण गर्नु हो । अझ स्पष्ट पार्नु पर्दा राजनीति भनेको शक्तिको अभ्यास हो, सरकार चलाउने विज्ञान हो, सामुहिक निर्णय गर्ने, योजनाहरूको तर्जुमा र बाँडफाँड गर्ने, समर्थन तथा विरोध गर्ने प्रणाली पनि हो । माक्र्सवादले राजनीतिलाई राज्य सञ्चालन गर्ने एक अवयवको रूपमा लिन्छ । राजनीतिलाई कुनै एक वर्गको संगठित शक्ति मानेर अर्काे वर्गलाई दबाउने माध्यमको रूपमा पनि मानिएको छ । राजनीति मूलतः अर्थव्यवस्था नै हो भनेर माकर्सवादले वर्गलाई राजनीतिको केन्द्र मानेको छ । यसभन्दा अगाडिको लेखमा अर्थ राजनीतिको एउटा पक्षको बारेमा आफ्नो विचार प्रस्तुत गरेको थिए । त्यसैले राजनीति शब्दले व्यापक अर्थ समेट्ने हुँदा यसलाई प्रष्ट्याउन खोज्नु मूर्खता मात्र हो ।

राजनीति समाजको रुपान्तरण गर्ने अचुक अस्त्र हो तापनि राजनीतिलाई जागिर वा धन आर्जन गर्ने व्यवसायको रूपमा मानियो भने समाजको प्रगति र उन्नति अधोगति तर्फ लाग्ने कुरामा शंका हुँदैन । आजभन्दा ३०।४० वर्ष अगाडिबाट राजनीति गर्दै आएका विभिन्न पार्टीका नेता तथा संघ सङ्गठनमा नेतृत्व गर्ने व्यक्तिहरू साँच्चीकै राजनीति गर्थे । उनीहरूमा धन आर्जनको कुनै मोह थिएन । एक जोर कपडाले एक वर्ष पुर्‍याउँथे । जनताका सबै घरहरू उनलाई खुला थियो । आफ्नो जेथा र सम्पत्ति सकेर पनि समाज रुपान्तरणको लागि एक छाक खाएर रातदिन खटिई रहन्थे । पढाइमा पनि उत्कृष्ट थिए । बोली चालि सभ्य र शिष्ठ थियो । कुनै कुराको लोभ र मोह थिएन । साँच्चै आदर्शवादी राजनेता थिए । उनीहरूलाई प्रशिक्षित गर्ने अगुवा नेताहरू प्रेरणा र अनुसरण गर्न योग्य थिए । उनैको विरासतले आजसम्म जेनतेन राजनीति धानिएको छ ।

तर विडम्बना आज गरिने राजनीति सेवा नगरी मेवा, काम नगरी दाम, प्रतिष्ठा र नाम कमाउने सहज बाटो बनाउन चाहने व्यक्ति विशेषको रुचिको केन्द्र बन्न थालेको अनुभव सर्वत्र गरिएको छ । यसले गर्दा हाम्रा युवा विद्यार्थीहरू समेत अध्ययन अनुसन्धान भन्दा राजनीति गर्न रुचि राख्ने, शिक्षक प्राध्यापकहरू संघ सङ्गठनको नेतृत्वमा पुग्ने र पद हत्याउने, कर्मचारीतन्त्रमा उच्च पदमा पुगेपछि स्वैच्छिक अवकाश लिएर स्व्देशी तथा विदेशी उच्च ओहदा हात पार्ने जस्ता प्रत्यक्ष वा अप्रत्यक्ष राजनैतिक फाइदा बेफाइदा हेरेर काम गर्ने परिपाटीको विकास भएकोे आभास पाइएको छ । अझ राज्यको श्रोत र साधन दुरुपयोग गरी नितान्त व्यक्तिगत लाभ लिएर भ्रष्टाचार गरेका व्यक्ति विशेषलाई राजनैतिक छाता ओढाएर सजाय र कारवाहीबाट बचाउनु तथा संरक्षण समेत गरिनु साह्रै अशोभनीय कार्य हो । वास्तवमा अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण तर्फ लाग्न प्रोत्साहित गरियो भने देश मर्ने र जनता टुहुरो हुने दिन आउन सक्ने बारे बेलैमा सचेत हुनु जरुरी छ ।

माथि चर्चा गरिएका शब्दहरू बुद्धिजीवी, समाजसेवा र राजनीति हाम्रो जस्तो विकासोन्मुख देशमा व्यापक प्रयोगमा आउनु स्वभाविक ठहर्छ । परन्तु बुद्धिजीवीले स्वघोषित समाजसेवी र समाजसेवीले म राजनीतिज्ञ हुँ भनेर आफूलाई चिनाउनु त्यति सान्दर्भिक लाग्दैन । बुद्धिजीवी भन्नेहरूले लोभ र स्वार्थले ठीक र बेठीक भन्न नसक्ने, समाजसेवीले देखावटी र प्रचारमुखी मात्र काम गर्ने तथा राजनैतिक व्यक्तित्वले व्यक्तिगत हित र सुख सुविधामा रमाएर जनभावनालाई नकार्ने काम भयो भने समाज लथालिङ्ग हुन्छ, देश भताभुङ्ग हुन्छ । एउटै व्यक्ति बुद्धिजीवी, समाजसेवी तथा राजनेता हुन नसक्ने भन्ने होइन तर ती सबै क्षेत्रमा ऊ इमानदार हुन सक्छ कि सक्दैन भन्ने प्रश्न अहम् हुन आउँछ ।

र अन्त्यमा अहिलेको विषम परिस्थितिमा बुद्धिजीवीहरूले शिक्षा र अर्थ व्यवस्थामा आइपर्ने समस्या र समाधानका विकल्पका योजना तयार गर्नुपर्ने हो । त्यस्तै समाजसेवी भन्ने सबै संगठित समूहहरूले सर्वसाधारण जनतालाई परेका जीवन मरणका समस्यामा एकाकार भएकोे देख्न पाउनु पर्ने हो । अनि राजनीति गर्ने व्यक्तिहरूले आशाको त्यान्द्रो भए पनि चुडिन नदिनु र सरकार आपत् विपत्मा अभिभावक बनेको अनुभूति गर्न पाउनु पर्ने हो । जेहोस् चाहे बुद्धिजीवी हुन्, समाजसेवी वा राजनीतिज्ञ नै किन नहुन् आआफ्नो क्षेत्रबाट इमानदारीपूर्वक देश र जनताको पक्षमा लागि पर्नु आजको अनिवार्य सर्त हो ।

Related News

सम्बन्धित समाचार

hero news full width