आमाबासँगका रैथाने ज्ञान

सुरेन्द्र थापामगर
वैशाख २४, २०७८

आमा ! यो शब्द नै काफी छ सम्मानका लागि संसारमा एउटामात्र सत्य यो छ कि मानवमात्रको होइन, सबै जीवजन्तुहरुको सबैभन्दा नजिकको नाता आमा नै हुने गर्छ । सबै जीव, जीवात्माहरुका आमाले सन्तानका लागि गर्ने माया अन्यसँग तुलना गर्न सकिँदैन । त्यसैले आमाले गर्ने माया अतुलनीय छ । हामी सबैको आमा एउटा विश्वविद्यालय हुन् । प्रत्येक मान्छेको पहिलो गुरु आमा नै हुन् । मान्छेको मात्र होइन सबै प्राणीजगत्को पहिलो गुरु आमा नै हुन् । सबै आमाहरुले आफ्ना सन्तानलाई अर्ती उपदेश दिने गर्छन् नै । आमाहरु जति बुझ्नुहुन्छ, त्यति अर्ती उपदेश दिनु हुन्छ । उमेरले मेरो आमा नेपालमा ठूलो भुइँचालो आउँदा ५ वर्षको हुनु हुन्थो रे । आमा २६ वर्षको हुँदा मलाई जन्माउनुभएको रे । यस्तै यस्तै हिसाब हुन्छ आमाहरुको । तपाईं कति वर्ष हुनु भयो भनेर सोध्ने हो भने तँ जन्मदा ठूलो पानी परेको थियो ।

मेलापात वा कतै बाहिरबाट आएपछि आगो वा पानी नछोइकन बच्चाबच्ची छुन हुँदैन भन्ने ज्ञान यति बेला कोरोनाले सम्झाएको छ

छोरी जन्मदा म यति वर्षको थिएँ । गैराबारीको ठूलो चिलाउनेको रुख पैह्रोले लानी साल त जन्मेको भन्नुहुन्छ । आफू जन्मेको साल यकीन छैन आमाहरुलाई तर आफूले बिताएका दिनहरु सबै यकीन छ आमाहरुलाई । आमाहरुलाई पहिलेदेखि औंशी पूर्णिमामा थाहा थियो । घरमा भैंसी ब्याएको कुखुराले कोरलेर यति चल्ला निकालेको बाख्राले यस्तो पाठी पाएको सबै थाहा छ । थाहा नभएको सालमात्र हो । साँच्चै हाम्रा आमाहरु गुगल हुन् । जिउँदो इतिहास बताउने । गाउँबाट सहर पसेपछि आमाहरुलाई सहरका धेरै कुरा जानकारी छ । चिल्लो पिरो धेरै खायो भने ‘ग्याँटिस’ हुन्छ भन्नु हुन्छ मेरो आमा । चिनी धेरै खायो भने ‘सुग्घर’ हुन्छ भन्नुहुन्छ हाम्री आमा । हामी सबै छोराहरुलाई ‘ग्याँटिस’ र ‘सुग्घर’ नहोस् भन्ने उहाँको कामना छ । बेलाबखत खाजा च्याउँच्याउँ नखा भन्नुहुन्छ । पानी बोतलमा किनेर खाँदा आमा दंग पर्नुहुन्थो । पानीको पनि पैसा तिर्नुपर्ने भनेर । ५ बीसको १ किलो चामल पाइँदैन भन्दा आमा आश्चर्य मान्नुहुन्छ । आमाको जमनामा पैसाको गन्ती १ बीस, २ बीसको थियो । यतिबेला १ भन्नाले लाख होइन करोड बुझिन थाल्यो । समयको हिसाब गर्ने तरिका पनि आमाहरुको बेग्लै थियो । एक टगाँलो घाम बाँकी हुँदा घाँस काट्न जाने, एक टँगालो जून बाँकी हुँदा बिहान उठ्ने । समय नाप्ने आफ्नै रैथाने ज्ञान थियो आमाहरु सँग । आकाशको ३ तारा हेरेर आमाहरु सुत्नुहुन्थो अनि भालेको डाँको सुनेर उठ्नुहुन्थो । आजकलजस्तो मोबाइलमा अलार्म लगाउन पर्दैनथ्यो आमाहरुलाई । आफ्नै मनको अलार्म थियो ।
समयको कुरा गर्दा यतिखेर घडीलाई मोबाइलले विस्थापित गरेको छ । मोबाइलले घडीमात्र होइन, रेडियो र क्यामरा पनि विस्थापित गरेको छ । बिस्तारै टिभी पनि विस्तापित गर्दै छ । आमाहरुको जमनामा ढिकी, जाँतो, पँधेराको युग थियो । यतिखेर हाम्रा सन्तानलाई ढिकी, जाँतो, पँधेराजस्ता शब्द चिनाउन ती चित्रहरु देखाउनुपर्छ । समयले हाम्रा आमा बाबाले प्रयोग गर्ने धेरै चिजबिजहरु आजकल म्युजियममा थन्कँदै छन् । दूध दुहुने गौवा, दही जमाउने बाँसको ठेका मही पार्ने दारको ठेकी र मोही पार्ने आमा बा यतिखेर हुनुहुन्न । आधुनिकताले हाम्रा ती स्वास्थ्यवद्र्धक रैथाने सामग्री लोप हुने अवस्थामा छन् । यतिखेर हामी बिमारी हुँदा प्यारालाइसिस हस्पिटलमा तिनै ढिकी जातो मोही पार्नेजस्ता काम गरेर आफ्नो रोग निको पार्ने गरिँदो रहेछ । पुर्खाले सिर्जना गरेका हाम्रा दैनिक जीवन उपयोगी कामधन्दाले हामी आफैंलाई स्वास्थ्य पनि बनाएको रहेछ । हाम्रा आमाहरुलाई धेरै बिमारको दबाइ थाहा छ । कुखत पर्दा के खाने ? ज्वरो आउदा के के खान हुँदैन मुख बार्नुपर्ने सम्पूर्ण ज्ञान छ आमाहरुसँग । घाँटी दुख्दा घोलटाप्रे खाए च्वाट्टै हुन्छ भन्ने ज्ञान छ उहाँहरुसँग । दैयालोको जरा, रानी सिन्का, चुत्रोको जरा, चिप्ले किरा यावत दबाइको नाम थाहा छ आमाहरुलाई । यी रैथाने, अत्यन्त महत्वपूर्ण ज्ञानहरु आमा बासँगै हराउँदै छन हाम्रो समाजमा ।

मेलापात वा कतै बाहिरबाट आएपछि आगो वा पानी नछोइकन बच्चाबच्ची छुन हुँदैन भन्ने ज्ञान यति बेला कोरोनाले सम्झाएको छ । बाहुन क्षेत्री समुदायको घर अगाडि तुलसीको मठ बनाउने हाम्रो संस्कार घरघरमै आइसियु बनाउने वैज्ञानिक पद्धति रहेको बल्ल थाहा भयो । आमाहरुले यो ज्ञान थाहा नपाए पनि सस्कार छोड्नु भएन । आखिर मानव जीवनमा कपाल काट्ने, नयाँ कपडा लाउने दिन हेर्नु पर्छ आमाहरुलाई । औंशी, मसान्ती, एकादशी परेग सबै बार्नु पर्छ आमाहरुलाई । यसको पछाडि वैज्ञानिक कारण छ छैन थाहा छैन आजसम्म मलाई । म सानो छँदा आमा भन्नु हुन्थ्यो, रित्तो गाग्री देखे साइत पर्दैन । बिरालोले बाटो काटे साइत झन् पर्दै पर्दैन । संयोगले धेरै चोटी यस्तो देखेर पहिले बालसुलभ मस्तिकमा साइत खलबलिएको थियो । आजकल विश्वास लाग्दैन रित्तो गाग्री र बिरालोले बाटो काट्दा साइत नपर्ने कुरामा ।

आमाहरुको समयमा आजकोजस्तो मोबाइल अथवा भित्तामा क्यालेन्डर थिएन । दसैंचरा आँगनमा आएपछि दसैं आएछ भन्नुहुन्थो । बिउ कुहियो चराले आमाहरुलाई धान, कोदोको बिउ राख्ने समय सम्झाउथ्यो । यो वर्ष खडेरी हाल्छ यो वर्ष झरी हाल्छ, सबै पूर्वाअनुमान हाम्रा पुर्खासँग थियो । प्रकृति र स्थानीय पशुपंक्षीहरुको अन्तर सम्बन्ध हेरेर भविष्य पढ्ने हाम्रा आमा बाहरुका ज्ञानलाई हामीले हाम्रा रैथाने ज्ञान मान्नु पर्छ । हाम्रा बाबा आमासँग रैथाने ज्ञान धेरै छन् । तिनको जगेर्ना गर्न सके दिगो विकास र पर्यावरणमा हामीले विकासे मोडललाई पछ्याउनु पर्दैन । ‘आगो ताप्नु मुढाको कुरा सुन्नुबुढाको’ त्यसै भनिएको रहेनछ । पुर्खाहरुको सबै अनुभव र ज्ञान रुढीवादी छैनन् तिनीहरुसँग भएको रैथाने ज्ञानमाथि अब बहस हुनु पर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width