ठूलो पानी पर्‍यो कि सम्झिहाल्छु

युवराज खनाल
असार ८, २०७८

पाइला पाइलामा चुनौती व्यहोर्ने मान्छेले नै जीवनको मोड लिन्छ र उ ठक्करै ठक्करले खारिन्छ अनि सफल बन्छ । जीवनमा सिधामात्र होइन, बांगाटिंगा बाटामा पनि हिँड्नुपर्ने हुन्छ । कयौं काँडाहरु पन्छाउँदै त कयौंलाई टेकेर अगाडि बढ्नुपर्ने हुन्छ । मान्छेलाई लक्ष्यमा पुग्न घरको वातावरण, संस्कार, संस्कृति, समाज, साथी र शिक्षाले महत्वपूर्ण भूमिका खेल्छन् । हरेक अभिभावक आफ्ना सन्ततिको भविष्य चम्काउन चाहन्छन् ।

त्यो समय हाम्रो सेराबेंशी गाउँमा विद्यालय खुलिसकेको थिएन । भुला, ज्ञानी, बन्धु लगायत दाइहरु हामीभन्दा पहिले नै एकले खेतको हंसावाहिनी हुँदै कास्कीको ब्रह्मारुपा निमाविमा भर्ना भएर पढ्न थाल्नु भएको थियो । म, खेम, राजमणि एकै दिन भर्ना भइयो । कम्ती रमाइलो थिएन, हाम्रो बालापन भनेजस्तो भएन भने, रोइदियो, भइगयो । पूर्ण स्वतन्त्रता थियो त्यतिबेला ।

सुरूका केही वर्ष धुले कोठामा ‘क ख’ पढियो । हामी बिहानबेलुका वनजंगलमा घाँसदाउरा, भीरमा बाबियो काट्ने खेतमा पानी लगाउने गथ्र्यौं । तिहारका बेला गाउँका टोलटोलमा साँझपख मादलको घिन्ताङघिन्ताङ र भैली गुन्जिन्थ्यो । दसैंमा फूतपातीका दिन पोखरी पाटनमा चौंडाले पिङ तयार हुन्थ्यो । दाइहरुले बाबियो उठाएर लठ्ठो बाट्थे हामीले पनि एक दुई मुठा बाबियो दिन्थ्यौं । दसैंभर राति चौंडाले पिङमा ठिटाठिटीको जमघट हुने र रोधी बस्ने गर्थे । कोजाग्रत पूर्णिमाका दिन बुढापाका केटाहरु मिलेर बालन नाच देखाइन्थ्यो । मालमुल, मालेपाटन, ढोडबेंसी, नयाँगाउँ, तल्लो गगनगौंडा, एक्लेखेत, तार्कुडाँडा, पन्थ थर, उपल्लोथर, कामी थर, दमाइथर र सबै टोलमा ठिटाठिटी बालन नाच हेर्न आउँथे । बालन नाच हेर्न जान दिए पनि अरु मलाई राति पिङ खेल्ने ठाउँमा बाले जान दिनुहँुदैनथ्यो । म भने बा सुतेपछि बिस्तारै बाले सुइँको नपाउने गरी ढोका खोलेर बाका आँखा छलेर गाउँका पिङ खेल्न र रोधी हेर्न जान्थे ।

गाउँमा बिजुली थिएन । हामी टुकी बालेर राति अबेरसम्म गृहकार्य गथ्र्यौं । पढ्थ्यौं । ब्रह्मरुपा विद्यालय र गाउँको दूरी नजिक थिएन । बिहान १ घन्टा जति र विद्यालय छुटेपछि १ घन्टा हिँड्नु दिनचर्या थियो । त्यसमाथि बिहान बेलुका सधैं घाँसपात गर्नुपथ्र्यो । कहिलेकाहीँ आमाले भुटिदिएको मकैको पोका खोलाको तिरमा लुकाएर राख्थ्यौं र विद्यालयबाट फर्कंदा रमाइरमाई खान्थ्यौं । हामी प्राय विद्यालयबाट फर्कंदा भोकभोकै हिँड्थ्यौं ।

बर्खामास विद्यालय जान निकै कठिनाइ थियो । विशेषत त्यति बेल एकुहारको बाटो ( खोलानतरी) जान पाइन्छ भनेर एक्लेखेत पढ्ने केही थिए तर त्यो स्कुल स्याउलाले छाएको अनि ३ कक्षासम्ममात्रै पढाइ हुने हुँदा हामी भने राजाका चौतारा जान्थौं । खोला नतरी स्कुल पुग्न सकिने सम्भावना नै थिएन । नयाँ गाउँतिरका तल्लो कक्षासम्म उतै पढेर कोही थप्रेकतिर लाग्थे त कोही हामी पढेको स्कुलतिर आउँथे । उनीहरुलाई हामी पाखे भयौं। हामी खोलामा पौडन र तर्न सजिलै सक्थौं भने उनीहरु डराउँथे । हिउँदमा गाउलेहरूले फड्के हाल्थे तर बर्खा भने विकराल थियो ।

घरमा कसरी नांगै जानू ? घरमा बा आमाको गाली खाइने होला भन्ने त्रास पनि उत्तिकै थियो

पूर्व फुर्से खोला, पश्चिम गुबे खोला र उत्तरतिर ताखोला खुदी खोलाको बीचमा रहेको छ सेराबेंसी । त्यति बेला बर्से बिदा र हिउँद बिदा हुने चलन थियो । बर्से बिदा सकिएर स्कुल सुरु हुँदाको १/२ दिन स्कुलमा घरकाले नजान भन्थे । पहिलो दास्रो दिन झार उक्काउनु पर्छ भनेर रे ? जब स्कुल जाने दिन सुरु हुन्थे, वर्षाले बढेका खोला सुसाउँदा रातभर निद्रा पर्दैनथ्यो । कोल्टे फेर्दाफेर्दै बिहान हुन्थ्यो । यद्यपि ती दिन रमाइलै थियो । साथीहरू मिलेर दाउरा जम्मा गर्ने, माछा मार्न खोलामा खुवा थाप्ने । बेलुका ५/७ जना सँगै सबैले मट्टितेल समेलेर टुकी बालेर पढ्ने, समसामयिक विषयमा बहस गर्ने र खेल्ने हाम्रो दिनचर्या थियो ।

हामी पढेको विद्यालय कास्की क्षेत्रको शैक्षिक धरहरा बनेको थियो । कति पवित्र नाउँ–ब्रह्मरुपा ! हाम्रो विद्यालयलाई साँच्चिकै नामुद बनाउन अग्रजहरूले धेरै पसिना बगाएका थिए । हामीले पनि खुदीखोलादेखि ढुंगा बोकेर थप सहयोग गरेका थियौं ।

त्यतिबेला विद्यालय समय बिहान १० देखि दिउँसो ४ बजेसम्म थियो । विद्यार्थी अध्ययनमा मन दिन्थे । सिर्जनात्मक काम गर्थे । शिक्षकहरू पनि विद्यार्थी समुदायप्रति प्रतिबद्ध हुन्थे । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि शैक्षिक विकासमा निस्वार्थ रूपमा जुट्थे ।

बर्खामास विद्यालय जान निकै कठिनाइ थियो । विशेषतः हामी सेराबेंसी नयाँगाउँ तल्लोपोखरीतिरबाट जाने विद्यार्थीका लागि अभिभावकहरु खोला तार्न जानुपर्ने हुन्थ्यो । कहिलेकाहीँ मेलापात जानेहरूले हात समातेर तार्दिन्थे भने कहिलेकाहीँ सिनियर दाइहरुले । जोखिमपूर्ण यात्रा हुन्थ्यो तर हामी अभ्यस्त थियौं । बर्खामा खोलाहरु उर्लेर आउँथे । कहिलेकाहीँ दाइहरुलाई डुबाउने गरी पानी आउँथ्यो ।

म कक्षा २ मा पढ्दाको कुरा हो, सायद साउनकै मैना हुँदो हो, त्यस दिन बिहानैदेखि ठूलो पानी परेको थियो । हामी गाउँबाट ओरालो झरेर दुईढुंगे तिरबाट स्कुल जाने भनी निस्कियौं । खोलाहरु असबिसार बढेका थिए । खोला दुई भंगालो बाडिएकाले तर्ने सजह हुन्छ भनी त्यो ठाउँ रोजिएको थियो । हामी जोखिम मोलेरै खोला तरेर स्कुल जाने निधो गरियो । भुलादाइ हामी सबैभन्दा बढी बलियो सिनियर र खोला तर्न पोख्त हुनुहुथ्यो । उहाँले भनेझैं नै हामी ४/५ जना निर्वस्त्र भयौं । ओड्ने प्लास्टिकभित्र सबै किताब र कपडा राखियो । उहाँ दुई भंगलाको बिचमा बसेर हाम्रो निगरानी गरिरहनु भएको थियो । खोला सुसाइरहेको र भेल आइरहेको थियो । म खोलामा दाइने हातमा त्यो प्लास्टिकको पोको हातमाथि ठड्याएर भेलमा पसें । खोलाको बीचमा के पुगेको थिएँ, मलाई खोलाले चुलुम्मै डुबायो । मभन्दा खोला निकै शक्तिशाली थियो । हातको पोको लग्यो खोलाले । जे भए पनि माया लाग्दो रहेछ त्यो पोको समाउन पनि खोलासँगै बगें । त्यो किताब र कपडा पोको त के मलाई पनि ढुंगाले ठेस लागेर बगे । भोला दाइको आँखा ममाथि परेको रहेछ । न्वारानदेखिको बल लागाएर खोला बगेतिर आउनुभयो । दाइ खोलामा फाल हान्नुभयो र मेरो हात समातेर बाहिर उतार्नु भयो । मैले धेरै पानी खाइसकेकाले कठिन महसुस भइरहेको थियो । मलाई घोप्टो पारेर पानी छदाउनु भयो । म उत्रिएको उत्रिएकोभन्दा थोरै तल दुई भंगला मिसिएका थिए । यदि म त्यो त्यो मिसिएको खोलामा मिसिन पुगेको भए सायद बाहिर उत्रन कठिन थियो होला । जब म उठें मलाई त मेरो ज्यानको भन्दा पनि ती किताब कापी र कपडाको लाग्यो । घरमा कसरी नांगै जानू ? घरमा बा आमाको गाली पनि खाइने होला भन्ने त्रास पनि उत्तिकै थियो । खै ठ्याक्कै स्मण त आएन १ जना मैलाले आफूले ओढेको एउटा अर्धनो चरेस पछ्यौरी दिनु भयो । त्यही बेरेर घर फर्कें । अझैसम्म पनि जब बर्खा लाग्छ अनि झमझम झरी परेर खोला सुसाउन थाल्छन्, मलाई त्यही दिनको यादले पीडा दिन्छ ।

हामी कक्षा १ बाट पढ्दै गरेर बिए पाए भएपछि मात्रै त्यो खोलामा झोलुंगे पुल बन्यो । ममात्रै हैन त्यो क्षेत्रका मेरो अग्रज र भाइबहिनीहरुको पनि यस्तै पीडाहरु रहे । कयौंको ज्यान लियो । कयांै वस्तुभाउ बगायो । दुखलाग्दो कुरा अझैसम्म पक्की पुल बन्न सकेको छैन । सुन्दै छु निर्माणधीन अवस्थामा रहेको पुल पनि अलपत्र अवस्थामा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width