रविन्द्रको विरासतमा विद्याका चुनौतीहरु

उपप्रा. रामप्रसाद सुवेदी
असार ३०, २०७७

’छोटो कद उच्च व्यक्तित्व’ यो भनाइ अक्सर नेपोलियन वोनापार्टको पर्यायवाची शब्दका रुपमा प्रयोग गरिन्थ्यो । नेपोलियन शारीरिक रुपमा केही होचा थिए तर उनले आफूलाई उच्च व्यक्तित्वको नेतामा उभ्याउन सफल भएका थिए र अहिले पनि विश्वव्यापी रुपमा उनको चर्चा गरिन्छ । सानादेखि ठूलासम्म सबैले उनलाई चिन्दछन् । उचाइका दृष्टिले महात्मा गान्धी पनि होचै थिए तर उनको व्यक्तित्वको बारेमा जति चर्चा गरेपनि थोरै हुन्छ । राष्ट्रियका लागि गरेको त्याग र वलिदानले उनको व्यक्तित्वको चर्चा सधैं हुन्छ ।

उनको निर्वाचन क्षेत्रको विरासत अहिले बिद्या भट्टराईलाई आएको छ । दक्षिण एसियामा विरासतको राजनीति अक्सर परिवारमा नै बिसाउने प्रचलन रहेको छ । विरासतलाई थाम्न सक्ने योग्यता र हैसियत भएर नै होला । वंगालादेशमा वेगम खालिदा जिया र सेख हसिना वाजेद, भारतमा इन्दिरा गान्धी, पाकिस्तानमा वेनजिर भुट्टो, श्रीलंकामा श्रीमाओ बन्दरानाइके,र चन्द्रिका कुमारातुङ्गा, त्यस्तै गरी नेपालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि पारिवारिक राजनैतिक विरासत नै थिए ।

रविन्द्र अधिकारीलाई नेपोलियन र गान्धीसँग तुुलना गर्नु त त्यति सान्दर्भिक नहोला तर उनी पनि शारीरिक रुपमा होचा थिए तर व्यक्तित्व भने उच्च बनाउन सफल भएका थिए । कास्कीको निर्वाचन क्षेत्र नम्बर तीन र पछि परिवर्तन दुईबाट लगातार तीन पटक प्रतिनिधि सभामा चुनाव जितेर सांसद बन्नु उनको व्यक्तित्वकै कारण थियो । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा साम, दाम, दण्डद्धारा माओवादीले एउटा तरङ्ग सिर्जना गरेर ठूला ठूला महारथीहरु पराजित भएको अवस्थामा उनले सहजरुपमा चुनाव जिते यो उनको व्यक्तित्वकै कारण थियो । वि.स.२०२६ सालमा जन्मिएका रविन्द्र सानै उमेरमा उदाएर कास्की जिल्लाको विद्यार्थी नेताको पर्यायवाचीको रुपमा स्थापित भए । यो स्तम्भकार २०४५ सालमा स्नातक तहको छात्रवृत्तिको अन्तरवार्तामा उपस्थित हुँदा स्ववियू को प्रतिनिधिको रुपमा १९ वर्षको ठिटाले प्राध्यापकहरुसँग बसेर आफूभन्दा सिनियरको अन्तरवार्ता लिनु उनले आर्जन गरेको व्यक्तित्वको कारण थियो ।

रविन्द्र अन्तरमुखी स्वभावका थिए । जे कामका लागि अनुरोध गर्दापनि धेरै नबोल्ने तर काम हुने नहुने जे भएपनि हुन्न नभन्ने यो उनको स्वभाव थियो । कास्की जिल्लाबाट ने.क.पा.को केन्द्रीय स्तरको नेतृत्वमा पहुँच पुर्‍याई नीति निर्माणको तहमा पुग्न सक्ने हैसियत उनमा थियो । वि.सं. २०५३ सालको कीर्तिपुरको स्ववियूको चुनावमा प्रायः ने.वि.सं. ले जितेको ठाउँमा चुनाव जित्नु पनि उनको व्यक्तित्वको कारण नै थियो भन्न सकिन्छ । हुनत राजनीतिमा हिँड्ने बाटो सधैं सिधा त हुँदैन, रविन्द्र २०५४ सालमा ए.मा.ले. विभाजन हुँदा मालेतिर लागेर पृथ्वीनारायण क्याम्पसको स्ववियूको चुनावमा बबन्डर मच्चाउन सहयोग गर्नु, २०५६ सालमा भएको प्रतिनिधि सभाको चुनावमा ए.मा.ले. उम्मेदवारलाई हराउने अभियानमा लाग्नु र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा परिचालन गर्नका लागि कास्कीका नामुद अपराधीमा गनिएर जेल परेकालाई छुटाएर परिचालन गर्नु उनले अपनाएको राजनीतिको बाङ्गो बाटो थियो । द्वन्द्वकालमा पनि माओवादी विद्रोहीसँग आवश्यकताभन्दा बढी हिमचिम बढाएको उनलाई आरोप लागेको थियो । वाइडबडी, पोखरा अन्तरराष्ट्रिय बिमानस्थल निर्माण र विकास समितिको सभापति हुँदा आर्थिक चलखेलका आरोप उनीमाथि प्रशस्त लागेका थिए तर ती केही असत्य देखिए भने केही प्रमाणित हुन बाँकी छन् ।

सन्दर्भः रविन्द्रको ५१औ जन्मदिन् ।

कास्की क्षेत्र नं.२ बाट चुनाव जितेर पर्यटनमन्त्री भएका रविन्द्रको २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा दुखद निधन भएपछि उनको निर्वाचन क्षेत्रको विरासत अहिले बिद्या भट्टराईलाई आएको छ । दक्षिण एसियामा विरासतको राजनीति अक्सर परिवारमा नै बिसाउने प्रचलन रहेको छ । विरासतलाई थाम्न सक्ने योग्यता र हैसियत भएर नै होला । वंगालादेशमा वेगम खालिदा जिया र सेख हसिना वाजेद, भारतमा इन्दिरा गान्धी, पाकिस्तानमा वेनजिर भुट्टो, श्रीलंकामा श्रीमाओ बन्दरानाइके,र चन्द्रिका कुमारातुङ्गा, त्यस्तै गरी नेपालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि पारिवारिक राजनैतिक विरासत नै थिए । विद्या भट्टराई पछिल्लो समयमा राजनैतिक पर्दाको पछाडि रहेर प्राध्यापन पेशामा लागेको भएपनि राजनैतिक पृष्ठभूमिको परिवारबाट आएको र अनेरास्ववियूको केन्द्रिय स्तरको महिला विभागको प्रमुख भएर काम गरिसकेकाले राजनैतिक क्षमतामा प्रश्न चिन्ह लगाउन मिल्दैन । उनको वाक् क्षमता राम्रो र लामो समयसम्म प्राध्यापन क्षेत्रमा लागेकाले नेतृत्व गर्नसक्ने हैसियत रहेको मान्न सकिन्छ । तरपनि पुरुषवादी सोच रहेको हाम्रो पूर्वीय दर्शनमा महिलाको राजनैतिकभन्दा पारिवारिक दायित्व बढी रहेको हुन्छ र स्वयं महिलाले नै महिलाका लागि सामाजिक र राजनैतिक उत्थानमा खुट्टा तान्ने काम गरेका हुन्छन् । समान प्रतिस्पर्धामा जहिलेपनि महिलाहरु पुरुषभन्दा पछि नै पर्दछन् । जे.अदाम्स (सन्१९६३)को न्यायिक सिद्दान्त यसैको परिणाम थियो । कास्की क्षेत्र नं. २ जुन रविन्द्रको विरासत उनलाई रहेको छ यो साबिक क्षेत्र नं. ३ मा वडा नं ११,१६ र २० नयाँ थपिएका हुन् । वामपन्थी राजनीतिमा ४,९, र ११ उनका क्षेत्रहरुमा कमजोर आधार भएका वडाहरु हुन् । त्यसमध्ये पनि वडा नं ११ विगत ४८ साल पछाडि भएका हरेक चुनावमा तत्कालिन एमाले भारी मतले पछाडि पर्ने ठाउँ हो । यहाँ प्रजातन्त्रपछिका कुनैपनि चुनावमा कम्युनिष्ट पार्टीले दरो उपस्थिति गर्न सकेको छैन । अक्सर यहाँका समुदायहरुमा परम्परावादी सोच रहेको पाइन्छ । साविक पोखरा उपमहानगर पालिकाका १८ वडाहरुमध्ये भौतिक पूर्वाधार र विकासमा अत्यन्तै पछि परेको छ यो ११ वडा । यो कुरा विगतमा नेतृत्व गर्ने स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुले पनि समीक्षा गर्नु पर्दछ । यहाँका स्थानीयहरु पछि आएर बसोबास गर्नेहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गर्दछन् । उनीहरुको त्यो पुरानो सोचले यहाँको बाटो र अन्य भौतिक निर्माणमा जहिले पनि अबरोध रहेको हुन्छ । यहा पुरानो डेढ हातका पर्खालहरु रहेका छन्, नयाँ नक्साअनुसार बाटो चक्ल्याउनका लागि सार्नु परेको खण्डमा यहाँका रैथानेहरु बाटामा आएर लम्पसार पर्दछन् । नयाँ नाप र नक्सामा उनीहरुले आफूले ओगटेका जग्गाहरुमा विश्वास गर्र्दैनन् । हिन्दीमा एउटा उखान छ ’हमसे हैे जमाना, जमाना से हम नही’ भने जस्तो रैथाने सोच उनीहरुमा रहेको छ । क्षेत्र नं. २ का केही वडाहरु पार्टीका नेताहरुको हेराइमा पनि पछि परेका छन्, ती मध्ये वडा ११ एउटा हो । विगतका चुनावहरुमा यो वडामा धेरै मतले एमाले पछि पर्ने भएकाले नेताहरु ऋृण बोकाउने वडाको रुपमा यसलाई हेर्दथे । उनीहरुले यसो गर्नाको कारण यहाँका कार्यकर्ताहरुको उपयोग केवल चुनावका लागि मात्र हो । चुनाव जितेर गएपछि नेताहरु यहाँका नागरिकसँग अर्को चुनाव नआउन्जलेसम्म सौहार्द सम्बन्ध राख्दैनन्, यो एउटा चुनौती रहेको छ । फेरि कम्युनिष्ट नेताहरुमा कार्यकर्ताहरुलाई रैतीका रुपमा हेर्ने रैथाने सोचाइ पनि रहेको पाइन्छ । जहिले पनि उनीहरु कार्यकर्ताहरुबाट आदर र सम्मानको अपेक्षा गरेका हुन्छन् । अहिलेको २१ औं शताब्दीको उत्तरआधुनिक युगमा नेताले कार्यकर्ता र उसका शुभचिन्तकलाई ठूलो ठान्नु पर्दछ र राजनीतिलाई एउटा लाभको पेशाभन्दा सेवाको पेशाको रुपमा लिनुपर्दछ यो अर्को महत्वपूर्ण चुनौती देखिएको छ ।

नेताले गर्ने नेतृत्व परिस्थितिजन्य हुन्छ । एउटा परिस्थितिमा सफल भएको नेता अर्काे परिस्थितिमा असफल हुन सक्दछ । हरेक परिस्थितिलाई आँकलन गरेर त्यसलाई अनुकूल बनाउनु नेताको गुण र कर्तव्य हो । कास्कीको क्षेत्र नं.२ मा रहेका ११,१६ र २० तीनवटा वडाहरु पछि थपिएका हुन् र यी वडाहरु रविन्द्रका लागि पनि नयाँ थिए । राष्ट्रियरुपमा चिनिएका र उनको व्यक्तित्वका कारणले उनलाई गएको चुनावमा केही सहज भएको थियो । उनले यी वडाहरुमा कुनै त्यस्तो उल्लेख्य काम भने गरेका थिएनन् र उनी पनि यी वडाहरुमा नयाँ थिए । राष्ट्रिय व्यक्तित्वको विरासत भएकाले विद्यालाई सहानुभूतिले चुनाव जित्न केही सहज भएको थियो । अब आउने परिस्थितिलाई अनुकूल बनाउनका लागि विद्याले निरन्तर यहाँका जनसमुदायसँंग सौहार्द सम्बन्ध राख्नुपर्दछ र यहाँका आवश्यकतालाई पहिचान गरेर विचौलीयाबाट काम गराउनुभन्दा योजना छनौट र प्राथमिकिकरणमा आँफै प्रत्यक्ष संलग्न रहने र सङ्गठनात्मक रुपमा कमजोर धरातल भएका वडाहरु ४, र ११ मा निरन्तर जनसम्पर्क गरी आवश्यकता पहिचान गरेर जनसरोकारका विषयमा लगानी बढाउने जस्ता कार्यमा लाग्नु पर्ने देखिन्छ ।

अब आउने परिस्थितिलाई अनुकूल बनाउनका लागि विद्याले निरन्तर यहाँका जनसमुदायसँंग सौहार्द सम्बन्ध राख्नुपर्दछ र यहाँका आवश्यकतालाई पहिचान गरेर विचौलीयाबाट काम गराउनुभन्दा योजना छनौट र प्राथमिकिकरणमा आँफै प्रत्यक्ष संलग्न रहने र सङ्गठनात्मक रुपमा कमजोर धरातल भएका वडाहरु ४, र ११ मा निरन्तर जनसम्पर्क गरी आवश्यकता पहिचान गरेर जनसरोकारका विषयमा लगानी बढाउने जस्ता कार्यमा लाग्नु पर्ने देखिन्छ ।

विरासत भनेको केही समयका लागि बिसाउने चौतारी हो । यो चौतारीमा सधैं आरामले बिसाउन पाइँदैन र सधै रविन्द्रको नाम बेचेर सहज पनि हुँदैन । अब आफ्नो भूमिका आफैँ खाज्नतिर लाग्नु पर्दछ । यो महिलाका लागि स्वाभिमानको संघर्ष पनि हो । विद्या एउटा बौद्धिक र उच्च व्यक्तित्व भएकी महिला भएकाले यो क्षेत्रमा उनले आउने परिस्थितिका लागि आफैँ आधार खडा गर्नु पर्दछ । गएको चुनावमा ने.क.पा.मा एक किसिमको चुनावी लहर नै आएको थियो र चुनाव जित्न सहज भएको थियो फेरि पनि त्यस्तै हुन्छ भनेर सोच्नु गलत हुनेछ । विद्याका लागि काङ्ग्रेसले तुलनात्मक रुपमा कमजोर उम्मेदवार खडा गरेको भएर चुनाव जित्न सहज भएको थियो भने अब त्यस्तो आँकलन गर्दा गाह्रो हुनसक्छ ।

अहिले देश एकातिर कोरोनाको कहरमा आक्रान्त भइरहेको छ तर अर्कातिर ने.क.पा.मा गुट र कुर्र्चीको लडाइले राजनीति चरम विन्दुमा पुगेको छ । हुनत यो हिजो भूमिगत कालमा पनि नभएको हैन,तर यसरी सतहमा आएर छताछुल्ल भएको थिएन । पार्टीमा भएको गुट्ले गर्दा चुनाव जितेर जो सरकारमा गएपनि सरकारमा त्यसको प्रतिविम्व देखिन्छ । वि.सं. २०५१ सालमा निश्कलङ्क कम्युनिष्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला सी.पी. मैनालीले गुटको नेतृत्व गरे र उनको पछि वामदेव गौतम गुटका नेता भएर पार्टी फुटाले । एमालेको एकीकरणपछि उनले आफ्ना कार्यकर्तालाई माओवादीमा पठाएर टाउकामात्र लिएर एमालेमा फर्किए । फेरि माधव नेपाल सत्तामा जाँदा ओलिगुट र ओली सत्तामा जाँदा नेपालगुट देखापर्न थाल्यो । झलनाथ खनाल वीचमा बसेर यता तरल्र्याङ् उता तुल्र्लुङ भएर पेन्डुलम झैं गर्न थाले । अहिले सर्वसत्तावादी र आजीवन पार्टी अध्यक्षका दावेदार प्रचण्डले गुट्को नेतृत्व गरिरहेका छन् । उनलाई देश र जनताको चिन्ता भन्दापनि आफू कसरी सुरक्षित रहने भन्ने मात्र चिन्ता हो । उनी राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा घेरावन्दीमा रहेका छन् । १७००० होनाहार नेपालीको लासमाथि टेकेर शान्ति सम्झौतामा आउनु उनले देश र जनताका लागि भन्दापनि आफ्ना लागि सेफलेन्डिङ् थियो । हरेक दिनजसो यमराज उनको ढोकामा गएर ढक्ढक्याई रहेको अवस्थामा उनले आफूले शक्ति प्राप्त गरेर सुरक्षित रहन जे पनि गर्न पछाडि पर्दैनन् यो कुरा ने.क.पा का नेता र कार्यकर्ताले बुझ्नु पर्दछ । निर्माण भएको एउटा आधारलाई भत्कन नदिने गरी युवापिँढीमा सत्ता हस्तान्तरणमा सहजिकरण गर्नु पर्दछ र अहिलेको राजनैतिक भद्रगोलबाट सहमतिमा आएर देशको प्राथमिकता के हो त्यो पहिचान गर्नतिर ध्यान दिनु पर्दछ ।
नेपालमा अर्कातिर के देखियो भने वि.सं. २०१५,२०४८,२०५६ सालमा बनेका बहुमतका सरकारहरु आफ्नै पार्टीभित्रका गुटका कारणले पूरा समय टिकेनन् । एउटा गुट सरकारमा जान्छ त्यसपछि भोलिपल्टैबाट अर्काले गिराउनका लागि अनेक तिक्डम गरेको हुन्छ । अहिले पनि लगभग त्यस्तै देखिएको छ । राजनीति भनेकै मन्त्री, प्रधानमन्त्री भएर शक्तिप्राप्त गर्ने र प्रशस्त धनआर्जन् गरी मोजमस्ती गर्ने जस्तो देखिएको अवस्थामा भोलिका लागि दरो आधार निर्माण गरी आर्थिक चलखेल र गुट र फुटमा नलागी आफ्नो क्षेत्रमा समर्पित भएर माथि उल्लेखित चुनौतीको सामना गर्नु पर्ने विद्याको दायित्वमा पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width