संक्रमितभन्दा परिवारका सदस्यमा बढी मनोवैज्ञानिक तनाव

सुदीप घिमिरे
जेठ २१, २०७८

पोखराकी ३० वर्षीय रीता (नाम परिर्वतन) कोरोना पोजेटिभ भइन् । उनी गत सातादेखि घरभित्रै एकान्तबासमा छिन् । बारम्बार खोकी लागिरहेको छ । ज्वरो भने छैन । खानामा रुचि घटेको छैन । बेला बेला शरीरमा अक्सिजन कमी भएको महसुस हुन्छ । आफूलाई गाह्रो महसुस हुने बित्तिकै छातीमा सिरानी राखेर सुत्नुहुन्छ । सास फेर्न कठिन भयो, घोप्टो परेर सुत्न डाक्टरले सल्लाह दिनुभएको थियो । त्यसबाहेक नियमित तातो पानी, कागती पानी, हलिक्स, खाना, खाजा मिलाएर सेवन गरिरहेकी छन् । मनोविमर्शकर्ताको निर्देशनमा बिहान आरामदायी अभ्यास गदै कोरोनासँग सकारात्मकरुपले सामना गरिरहेकी छन् । सबको चाँजोपाँजो भने श्रीमानले मिलाएका छन् ।

श्रीमान् र परिवारका अन्य सदस्यलाई कोरोना परीक्षण गरेको छैन । कोरोनाको कुनै लक्षण देखिएको पनि छैन । तर श्रीमान् र परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण हुन्छ कि भन्ने चिन्ता छ । एकाएक रीताका श्रीमान् बिहीबारदेखि एकदमै चिन्तित देखिएका छन् । श्रीमानलाई बिहीबार राति अकस्मात सास फेर्न कठिन भयो । मुटुको धड्कन बढ्यो । मर्छु कि जस्तो लाग्ने भयो । परिवारका सदस्यहरु आत्तिए । रीता पनि आत्तिइन् । श्रीमानलाई घरभित्र पस्न मन नलाग्ने, मन आत्तिने, अक्सिजन नपुगेकोजस्तो महसुस हुन थाल्यो । शरीर काम्ने, शरीर तातेको अनुभव हुनेजस्तो अनुभव गरिरहे । चिनेजानेको डाक्टर आउनु भयो । डाक्टरले अक्सिजन नाप्नुभयो । ठिकै छ, आत्तिनु पर्दैन भन्नुभयो । तर उहाँ आत्तिरहनु भयो । अस्पताल लैजानु भनिरहनु भयो । परिवारका सदस्यहरु पनि आत्तिरहे ।

राति १२ बजे अस्पताल लैजान साथीभाईलाई सम्पर्क गर्दा कोही सम्पर्कमा आएनन् । ट्याक्सी भेटिएन । अस्पताल जान सवारी साधन खोज्दा झण्डै एक घन्टा बित्यो । रीताकी श्रीमानलाई धेरैनै गाह्रो भयो । डाक्टरको सहयोगमा एम्बुलेन्ससँग सम्पर्क भयो । एम्बुलेन्सले पोखराकै एक अस्पतालमा पु¥यायो । इमर्जेसी कक्षमा पुग्यौं । उपचारका लागि ४/५ जना डाक्टर र नर्स आए । श्रीमान्लाई कुर्चीमा राखे । टाढैबाट डाक्टरले समस्याबारे लेखाजोखा गरें । कसैले पनि बिरामीलाई छोएनन् । ‘तपाईंलाई चिन्ता लागेको छ, चिन्ता नलिनू,’ डाक्टरले भने । एउटा उनले औषधी दिए । घरमा पुगेर खान भने । केही हुँदैन, घर फर्किन भनेँ । केही समय अघि आएकै एम्बुलेन्समा हामी फर्कियौं । घर नपुग्दै उनलाई फेरि पहिलेकै जस्तो समस्या भयो । परिवारका सदस्यहरुलाई फेरि चिन्ता भयो । यो पंक्तिकार एक मनोसामाजिक क्षेत्रमा काम गर्ने भएकाले उनलाई गहिरो श्वासप्रश्वास विधि गर्न लगायौं । उनको मन केही हदसम्म शान्त भयो तर उनलाई नियमित सान्त्वना र मनोवैज्ञानिक परामर्शको सहयोगको खाँचो छ । यही क्रम बढ्दै गयो मन, शरीर, व्यवहार र सम्बन्धमा परिर्वतन भयो भने उनलाई थप विशेषज्ञको सहायता चाहिन सक्छ ।

रीता, उनको श्रीमान् र परिवारका सदस्यजस्तै अहिले धेरै नेपाली दाजुभाइहरुमा तनाव थपिएको छ । संक्रमित व्यक्तिहरुमा तनाव हुनु स्वाभाविकै हो तर उनका आफन्त नातेदारमा धेरै नै तनाव देखिन थालेको छ । जसले गर्दा व्यक्तिको भावना, सोचाइमा प्रभाव पार्न थालेको छ । व्यक्तिमा डर, चिन्ता, अत्यधिक तनाव, त्रास उत्पन्न भएका छन् । कसैले एकै खालका व्यवहार बारम्बार गर्नेजस्तो व्यवहार व्यक्तिले देखाउन थालेका छन् । कोही व्यक्तिले भने एक्कासि सास रोकिएजस्तो हुनजस्ता समस्या व्यक्तिहरुले अनुभव गरिरहेका छन् ।

कोरोना महामारी एक विपत्तिजन्य अवस्था हो । यसलाई स्वीकार गर्नु जरुरी छ । शारीरिक सुरक्षामा ध्यान दिनुपर्छ

सामान्यत तनाव भनेको कुनै अप्ठेरो अवस्थामा व्यक्तिको मनमा आउने अस्थिरता र शरीरले देखाउने प्रतिक्रिया हो । कुनै पनि वातावरणमा भएको घटनाप्रतिको प्रतिक्रिया हो जसले व्यक्तिको भावना, सोचाइ, व्यवहार र सम्बन्धमा कठिनाइको सिर्जना गर्छ । जसलाई आघातजन्य अवस्थापछिको तनावपूर्ण अवस्थाका रुपमा लिन सक्छौं । यस्ता तनावहरु सामान्य तनावभन्दा बढी पीडादायी हुन्छन् । जसले गर्दा व्यक्तिमा निराशाको भावना बढाउँछ । यस्तो बेला आफूमा आएका लक्षण पहिचान गर्ने, सामना गर्ने व्यवहार सकारात्मक बनाउने, स्व हेरचाहमा बढीभन्दा बढी ध्यान दिनु जरुरी छ ।

तनावका लक्षणहरु

तनावले व्यक्तिको मन, शरीर र व्यवहारमा विभिन्न प्रभावहरु पर्छ । चिन्ता लाग्ने, चाँडै रिसाउने, मनस्थिति छिटो छिटो परिर्वतन भइरहने, खाना खान मन नलाग्ने, अरुसँग बोल्न मन नलाग्ने, एक्लोपनको महसुस गर्नेजस्ता लक्षणहरु मनमा देखिन सक्छ । त्यसैगरी चाँडै थकाइ लाग्ने, शरीर कमजोर भएजस्तो महसुस हुने, टाउको दुख्ने, मुटु धड्कन अनियमित हुने, निस्सासिएको जस्तो महसुस हुने, पेट पोल्ने, हात खुट्टा अनौठो प्रकारले दुख्ने जस्ता असरहरु शरीरमा देखिन्छन् । त्यसगरी व्यवहारमा थकित देखिने । छटपटाइरहने, तनाव कम गर्ने नकारात्मक सामना गर्ने व्यवहारहरु प्रयोग गर्नेजस्ता लक्षणहरु व्यवहारमा देखिन्छन् । निन्द्रामा पनि गडबढी हुनसक्छ । यस्ता लक्षणहरु देखिएमा सकारात्मक सामना गर्ने व्यवहारको विकास गर्नुपर्छ ।

सामना गर्ने व्यवहार

समस्यासँग जुध्नका लागि व्यक्तिले प्रयोग गर्ने शैली, व्यवहार वा बानीलाई सामना गर्ने व्यवहार भनिन्छ । सामान्यत सामना गर्ने व्यवहार दुई प्रकारका हुन्छन् । पहिलो सकारात्मक । दोश्रो विध्वंसात्मक । मनका कुराहरु मन मिल्ने साथीसँग सुनाउने, समस्यामा केन्द्रित छलफल गर्ने, आस्था अनुसार पूजा गर्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्ने, खेतबारीमा काम गर्ने, किताब पढ्ने आदि व्यवहारहरु सकारात्मक सामना गर्ने व्यवहार हुन् । जसले गर्दा व्यक्ति आफैंलाई फाइदा पुग्छ भने अरु व्यक्तिहरुलाई पनि असर गर्दैन । त्यसैगरी कोही व्यक्तिहरुले तनाव भएको बेला नकारात्मक सामना गर्ने व्यवहार गर्दछन्, जसले व्यक्ति आफैंलाई र अरुलाई पनि फाइदा गर्दैन । विध्वंसात्मक व्यवहारभित्र रिसाउने, झगडा गर्ने, लागु पदार्थ सेवन गर्ने आदि व्यवहारहरु पर्दछन् । सामान्य अवस्थाभन्दा विपत्तिका बेला व्यक्ति सोचाइ र भावनालाई छिटो प्रभाव पार्छ । त्यसैले परिस्थितिलाई परिवर्तन गर्न सकिँदैन । मनस्थितिलाई सकारात्मक रुपमा सामना गरी मनस्थिति राम्रो बनाउन प्रयास गर्नुपर्छ । तनावका लक्षणहरु पहिचान गर्ने बित्तिकै सकारात्मक सामना गर्ने व्यवहारमा ध्यान दिन सकजस्तो सुकै परिस्थिति भए पनि व्यक्तिको मनलाई कम प्रभाव पार्न सक्छ । साथै स्व हेरचाह गर्नुपर्छ ।

स्व हेरचाह : आफूले आफैंलाई माया गर्नुलाई स्व हेरचाह भनिन्छ । स्व हेरचाहभित्र शारीरिक हेरचाहमात्र नभई मनावैज्ञानिक हेरचाहलाई पनि उत्तिकै चासो र ध्यान दिन जरुरी छ । मनावैज्ञानिक हेरचाहभित्र आफूलाई आराम गर्ने, सुत्ने कुरामा ध्यान दिनुपर्छ । एक पौढ व्यक्तिका लागि ६÷७ घन्टा प्रभावकारी निन्द्रा हुनपर्छ । बालबालिकाहरुलाई हरेक दिन ९÷१० घन्टा निदाउन पर्छ । वृद्धवृद्धालाई ४÷५ वा ६ घन्टा निदाए पुग्छ । निन्द्रा लागेन भने पनि हाम्रो शरीर र मनोवैज्ञानिक असर गर्छ । त्यसैगरी हरेक दिन बिहान कम्तीमा २०÷३० मिनेट शारीरिक अभ्यासहरु गर्दा मन र शरीर स्वस्थ रहन्छ । कोराना भाइरसका कारण प्राय सबैजना घरमै छौं । यस्तो बेला मनमा बोर लाग्ने, तनाव भएजस्तो हुने, छटपटी हुने, दिमाग भारी हुने जस्ता कठिनाइको महसुस हुन्छ । दिमागलाई स्वस्थ बनाउन शारीरिक अभ्यासका साथै आफूलाई व्यस्त गराउने कामहरु गर्न जरुरी छ । दैनिक कार्यतालिका बनाई लागु गर्नुपर्छ । खाली दिमाग शैतानको घर भनझैं केही काम नपाएका बेला मनमा नकारात्मक सोचहरुको विकास हुन्छ । त्यसैले आफूलाई व्यस्त बनाउने उपायहरु खोज्न जरुरी छ । उदाहरणका लागि परिवारका सदस्यबीच कुराकानी गर्ने, पत्रिका पढ्ने, घरभित्र खेल्न सकिने खेलहरु खेल्नुपर्छ । लेखहरु लेख्ने, फिल्महरु हेर्ने गर्दा मनमा नकारात्मक सोचको विकास हँुदैन । साथै खाना, पानी, निन्द्रा, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

विपत्तिजन्य अवस्था हाम्रो नियन्त्रणमा छैन तर त्यसले मनमा, सोचाइ र व्यवहारमा पारेको प्रभावलाई कम गर्न सकिन्छ । कोरोना भाइरस एक विपत्तिजन्य अवस्था हो । यो महामारीको अवस्थालाई स्वीकार गर्नु जरुरी छ । शारीरिक सुरक्षामा ध्यान दिनुपर्छ । साथै मनोवैज्ञानिक पक्षलाई ख्याल नगरे व्यक्ति मानसिक समस्यामा जान सक्छ । त्यसैले मनलाई स्वस्थ्य राख्न आफूमा आएका फरकपन वा लक्षणहरुमा ध्यान दिनुपर्छ । त्यसैगरी नकारात्मक प्रभावलाई व्यवस्थापन गर्न सामना गर्ने व्यवहार सकारात्मक हुनुपर्छ । स्व हेरचाह ध्यान दिनुपर्छ । मनका कुराहरु मन मिल्ने साथीलाई ध्यान दिनुपर्छ । यदि गर्दागर्दै समस्या व्यवस्थापन भएन भने तुरुन्तै मनोविमर्शकर्ता, स्वास्थ्यकर्मी, मनोविद् एवं मानसिक चिकित्सकको सल्लाह लिनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width