मौलाउँदो धृतराष्ट्र प्रवृत्ति

कृष्ण गोदार
माघ २३, २०७७

हिन्दु धर्मग्रन्थ महाभारत अनुसार प्राचीन हस्तिनापुर राज्यका सम्राट धृतराष्ट्र एक नकारात्मक चरित्रका पात्र हुन् । धृतराष्ट्रको व्यवहार नै महाभारतको भीषण युद्धको प्रमुख कारण रहेको मान्न सकिन्छ । जन्मँदै दृष्टिविहीन धृतराष्ट्र बाहुबलमा निपूर्ण, चतूर रहे पनि पुत्र मोहमा डुबेर राष्ट्रप्रतिको आफ्नो दायित्वबाट सधैं टाढा रहे । आफ्नो छोरालाई राजा बनाउनका लागि धृतराष्ट्रले जुनसुकै मूल्य चुकाउन पनि पछि परेनन् । छोरा दुर्योधनको इच्छा पूरा गर्नकै लागि कहालीलाग्दो युद्ध गराइ आफ्नै परिवारजनको ज्यान जाने वातावरण बनाए । आफ्नो छोराको खुसीका लागि आफ्नै भतिजाहरुलाई मार्ने षडयन्त्र, कपटपूर्ण जुवामा हराई वनवास पठाउने, बुहारीलाई राज्यसभामा नग्न बनाउने जस्ता कुकर्ममा पनि मौन समर्थन गरे । धृतराष्ट्रको एउटै कमजोरी थियो-पुत्र मोह । उनले राज्य र जनतालाई भन्दा पुत्र मोहलाई सधैं उच्च प्राथमिकता दिए ।

वर्तमान नेपालको राजनीतिक परिदृश्यलाई दृष्टिगत गर्दा केही हदसम्म धृतराष्ट्र प्रवृत्तिको पुनरावृत्ति भएको देखिन्छ । पौराणिक कालका धृतराष्ट्र जस्तै आजको दिनमा पनि शासक र सत्ताधारीले आफू र आफ्नाको हितका लागि जस्तोसुकै मूल्य चुकाउन पछि परेका छैनन् । राजनीति निष्ठा र इमान्दारितामा आधारित हुनुपर्नेमा व्यावसायिकताको भावना र खोक्रो आदर्शमा सीमित भएपछि नातावाद, कृपावादले निरन्तर प्रश्रय पाएको छ । आफ्नोभन्दा फरक दृष्टिकोण राख्नेलाई सधैंभरि शत्रुको व्यवहार गरी निषेधको राजनीति गर्ने चिन्तन मै खोट देखिन्छ । सत्ता बाहिर हुँदा जनजनका मन मस्तिष्कका नारा बुलन्द बनाउँदै सत्तामा पुग्ने र आफू सत्तामा पुगेपछि आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख भई आफ्नो र आफ्नाको दुनो सोझाउने प्रवृत्ति नै आजको युगको धृतराष्ट्र प्रवृत्ति हो ।

नेपालमा लामो समयदेखि चलिरहेको राजतन्त्रात्मक शासन व्यवस्था जनमूखी भएन, देशमा पारिवारिक दबदबा बढ्यो, निरंकुशता/स्वेच्छाचारिता बढ्यो, जनता अधिकारबाट विमुख भए भन्दै देशको उन्नतिको वाधक नै राजतन्त्र हो भन्ने अचूक राजनीतिक अस्त्र नेपाली जनजनको मन मस्तिष्कमा राजनीतिकर्मीहरुले पुर्‍याए । राजतन्त्रात्मक शासन व्यवस्थामा देखेका खोट र वितृष्णायुक्त घटनाका कारण विरक्त बनेका नेपाली जनताले राजनीतिक दलहरुको राजतन्त्र फाल्ने अभियानमा आँखा चिम्लेर साथ दिए । फलस्वरुप सबै पक्षको प्रयासमा जनयुद्ध/जनआन्दोलनको आडमा नेपालमा राजतन्त्रको अन्त्य पनि भयो । राजतन्त्रको अन्त्यसँगै देशको शासनसत्ताको बागडोर राजनीतिकर्मीको पोल्टामा आयो । राजतन्त्रको अन्त्य र गणतन्त्रको अभ्युदयलाई देशको सम्वृद्धिको जग हो भनी आम सर्वसाधारणलाई स्पष्ट समेत पारियो । जनमूखी, राष्ट्रलाई समुन्नत बनाउनका लागि अनिवार्य मानिएको गणतन्त्र संस्थागत भइसक्दा पनि प्रवृत्तिमा सुधार भएको सर्वसाधारणका आँखाले देख्न पाएको छैन ।

बाहिर राजनीतिक नेतृत्व विरोधी जतिसुकै कर्णप्रिय बोली बोले पनि शक्तिका अगाडि गरुडको छायाँमा परेको सर्पबाहेक हामी केही रहन सकेनौं

जन उत्तरदायी, जिम्मेवार, राष्ट्र झ, नैतिकवान तथा सक्षम शासक नै देशको हितका लागि आवश्यक हुन्छन् । असल र सक्षम शासक नै देशको उन्नतिका आधार हुन सक्छन् । देशमा दूरदृष्टि सोंच भएका जनचाहनालाई उच्च सम्मान गरी व्यक्तिगत स्वार्थलाई पैतालामा राख्न सक्ने सक्षम राजनीतिक नेतृत्वको सधैं खाँचो हुने गर्दछ । नेपाली जनताले ठूलो वलिदानी गरी ल्याएको लोकतान्त्रिक गणतन्त्र त्यसबेला सफल हुनेछ, जतिबेला राजनीतिकर्मीमा निष्ठा, इमान्दारिता, नैतिकताको उच्च भावना हुन्छ । यदि यसो हुन सकेन भने देशमा भाँडभैलो र लुछाचुँडी बाहेक कहिँकतै उन्नतिको पालुवा देख्न सम्मपनि सकिँदैन ।

देशमा पछिल्लो ७ दशकमा धेरै राजनीतिक उतारचढाव हुँदै राजनीतिक व्यवस्थामा पनि परिवर्तन भयो । देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिताको प्राप्ति भए पनि सर्वसाधारणको जीवनमा देखिने गरी परिवर्तन भएको छैन । जनताको जीवनशैली परिवर्तन नभए पनि राजनीतिकर्मी र तिनका आसेपासेको जीवनमा भने अविश्वसनीयरुपमा परिवर्तन आयो । न जागिर, न व्यवसाय तर सत्ताशीनका आफन्तहरु एकाएक सामान्य जीवनस्तरबाट छलाङ मारेर सम्पन्नशाली जीवनशैलीमा पुग्नु सामान्य कुरा पक्कै हैन ।

के देशको उन्नति भनेको यही हो ? सोझा निर्धा जनताको बुइ चढेर सत्ता हाँसिल गरेपछि तिनै जनतालाई जुकाले जस्तै चुसेर मरणासन्न पार्नमा निपूर्ण कूशल राजनीतिकर्मीहरु नै देशका असल दुश्मन हुन् । राजनीतिकर्मीहरु असल र इमान्दार हुने हो भने कसैले बेइमानी गर्ने आँटसम्म पनि गर्दैन ।

नेपाली जनताले २००७ सालमा राणा शासनको अन्त्य भएपछि धेरै प्रकार र प्रकृतिका शासन व्यवस्थाको अनुभव लिए । राजाको सक्रिय शासन, निर्दलीय पञ्चायती शासन, बहुदलीय व्यवस्था अन्तर्गत बहुमतको सरकार तथा संयुक्त सरकारको स्वाद चाखेका नेपाली जनताले स्मरण गर्न योग्य सरकार नै देखेनन् । लोकतान्त्रिक शक्तिदेखि क्रान्तिकारी शक्तिको शासन शैली बेहोरेका हामी नेपाली जनताले कुनै पनि शक्तिको शासनकालमा देशको राष्ट्रियता उँचो भएको, देशमा सुशासन कायम भएको, देश विधि र पध्दतिले चलेको देख्न सकेनौं । देख्यौं त केबल सत्ताधारीले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको ।

नेपालमा राणाशासनको अन्त्य पछिका ७ दशकमा देशमा विकास नै भएन भन्न मिल्दैन । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत लगायतका पूर्वाधारका साथै सामाजिक सेवा सुविधाहरुमा विस्तार भएको छ । जनतामा राजनीतिक चेतनाको जागरण भएको छ । केही जनताको जीवनशैलीमा पनि निकै परिवर्तन आएको छ । यदि देश चलाउने नेतृत्व असल भएको भएमा यो ७० वर्ष देशको मुहार परिवर्तन गर्नका लागि काफी थियो । तर, यी वर्षहरुमा शासकहरु देशको सम्वृद्धिमा लाग्नुभन्दा व्यक्तिगत हित र पार्टीगत स्वार्थका लागि राजनीतिक खिचातानी मै व्यस्त रहे । एउटा व्यवस्था फाल्यो अर्को ल्यायो-त्यसमा विकृति देखिए अर्को अभ्यास गर्‍यो । यति लामो समय राजनीतिक प्रयोगशाला बनाएको देश कसरी राम्रो हुन सक्थ्यो र ! तैपनि हामी नेपाली जनता केही होला भन्ने आशामा यिनै राजनीतिकर्मीहरुका चिल्ला भाषण सुन्न बाध्य भयौं ।

सात दशकको अवधिमा सातौं संविधानको निर्माण गरेर पनि हामी नेपालीहरुले आफ्नो कर्म फेर्न सकेनौं । जुन राजनैतिक प्रणाली र जुन शक्ति सत्तामा रहे पनि हामी सधैं तिनको गुलामी गरी तिनलाई खुसी पार्न तल्लिन रह्यौं । न हामीले आफ्नो राजनीतिक नेतृत्वलाई खबरदारी गर्न सक्यौं न त तिरस्कार गर्न नै । बाहिर राजनीतिक नेतृत्व विरोधी जतिसुकै कर्णप्रिय बोली बोले पनि शक्तिका अगाडि गरुडको छायाँमा परेको सर्पबाहेक हामी केही रहन सकेनौं । यो प्रवृत्ति हाबी हुनुमा राजनीतिक नेतृत्वभन्दा हामी धेरै दोषी छौं ।

शासक र शक्ति हातमा हुनेहरुले आफूलाई सर्वगुण सम्पन्न, सर्वेसर्वा मान्नु, आफ्नो परिवार, आफन्त, आफ्नो गुणगान गाउने पिछलग्गुहरुलाई बिना सक्षमता र दक्षता पनि उत्कृष्ठ ठान्ने प्रवृत्ति नै देशलाई अधोगतिमा धकेल्ने कारक बन्यो । सधैं राम्राले हैन हाम्राले अवसर पाउने, जति सुकै दक्षता र विज्ञता हासिल गरे पनि शक्तिको रापमा रहेका बुख्याँचाहरुका अगाडि विज्ञता फिका हुने प्रवृत्ति रहँदासम्म खै कसरी देशको उन्नति होला !

देशको राजनीतिले सही दिशा लिँदा देशमा विधिको शासन स्थापित हुन्छ, सुशासनको प्रत्याभूति हुन्छ । नेपालमा रहेको प्रदुषित राजनीतिको दुष्प्रभाव देशका अन्य क्षेत्रहरु पनि प्रत्यक्ष रुपमा परेको छ । नेपालको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, खेलकुद, पर्यटन, कुटनीतिक लगायत हरेक क्षेत्रमा कलुषित राजनीतिको असर देखिन्छ । देशलाई विधि र पद्धतिमा चलाउँदा आफूले मनपरि गर्न नपाउने, आफ्नालाई पोस्न नपाइने भएरै होला– राजनीतिक नेतृत्व यसमा सदासदा विमुख नै भएको पाइएको छ ।

धृतराष्ट्रले भौतिक संसारलाई कहिल्यै देखेनन् तर पनि पुत्रमोहमा चुर्लुम्म डुबेर सदा आफ्नो कर्तव्यबाट विमुख रहे । तर, आजको समयका धृतराष्ट्रहरु आँखाले सबै देखेर, कानले सबै सुनेर पनि नदेखेको नसुनेको स्वाङ गरेका छन् । संघीय सरकारदेखि स्थानीयसम्म, समाजका हरेक क्षेत्रमा रहेको यो धृतराष्ट्र प्रवृत्ति रहँदासम्म देशको विकास र जनताको उन्नति नहुने हुनाले यस्तो प्रवृत्ति अन्त्यका लागि सबै सचेत नागरिकहरु एक ढिक्का हुन जरुरी छ ।

देशमा आम राजीतिकर्मीको यो प्रवृत्ति रहँदै गर्दा केही निष्कलंक राजनीतिकर्मीलाई बिर्सन पनि सकिंदैन । संख्यात्मक रुपमा न्यून रहेका केही यस्ता निष्ठावान राजनीतिकर्मीहरुले परिवर्तनको आशा देखाएका पनि छन् । समग्रमा राजनीतिले सही दिशा लिन नसकेको बेलामा उदाएका यस्ता नेतृत्वले कहिल्यै टाउको उठाउन सकेनन् । समग्रमा नेपालले नेपाली राजनीतिको शुद्धीकरण चाहेको छ/ नेतृत्वको प्रवृत्ति फेरिएको हेर्न चाहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width