शक्ति संघर्षको चेपुवामा विधि

प्रा. विश्वराज अधिकारी
पौष ९, २०७७

वर्तमान समयका सचेत नागरिकहरुका विचार अस्वाभाविक किसिमले राजनीतिक शक्ति संघर्षको बारेमा अनेकन बहसहरू सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मुखरित भएका छन् । बुझेर वा नबुझेर विधि, पद्धति र नियमका आआफ्नै परिभाषा र अर्थ लगाई स्वार्थवश एकोहोरो रटान दिने काम जारी छ । सबैभन्दा मुख्य कुरा जब जब केही समस्या आइ पर्छन् कुनै पनि व्यक्तिलाई विधि र पद्धति अनि नियम र सहमतिको आवश्यकता पर्दछ । नियम र कानुनलाई हातमा लिएर बलपूर्वक आm्नो स्वार्थ पुरा गर्न लालयित मानिसलाई अनेकन सिंग र जुराहरू निकालेर ठिक र बेठिक भन्ने मान्यता राख्नु कुनै पनि सभ्य समाजमा लायक ठहरिँदैन ।

प्राचीन धर्मशास्त्रहरूमा काल्पनिक र यथार्थका बीचमा विधि र पद्धतिको अति सुष्म प्रयोग भएको पाइन्छ । हिन्दु धर्ममा यज्ञ विधि, पूजा विधि, श्राद्ध विधि गोदान पद्धति आदि विभिन्न मानिसका संस्कारगत धर्म कर्म अन्धविश्वास, सन्तुष्टि र चित्त शान्तिका रुपमा कायम छन् । आजभोलिका अधिकांश व्राह्मणहरू विधि पद्धति र नियमले, जप, तप र ध्यानले व्राह्मण बनेका होइनन् । त्यसरी नै विशुद्ध राजनीतिक निष्ठा र विधि विधानले राजनीतिक व्यक्ति बनेका आदर्श राजनेता पाउनु ज्यादै दुर्लभ कुरा हो । यस लेखमा शक्तिलाई परिभाषित गर्दै कसरी विधि विधान र पद्धतिलाई बारम्बार जपेर निहित स्वार्थ पूर्तिका लागि शक्तिको दुरुयोग गरी राज्य शक्ति हत्याउन लालायित भएका सन्दर्भलाई प्रष्ट्याउन खोजिएको छ ।

आजभोलि विधि र पद्धति कर्मकाण्डीय शब्द विशेषको जालोमा यो वा तयो कोणबाट व्याख्या गरिएको देखिन्छ । त्यसै गरी नियम अनुशासन कायम गर्ने विषयबाट वञ्चित भएको छ भने शक्ति संघर्षले न्यूनतम धरातल र राजनीतिक सहिष्णुताको सिमा पार गरिसकेको महसुस भएको छ । सामान्यतया विधि भनेको कुनै काम पूर्ण गर्न अपनाइने तौर तरिका हो । खास गरी विधि वा पद्धतिले कुनै प्रक्रिया, प्रणाली वा व्यवस्था, अनुकूलता, आचार तथा व्यवहारलाई अगाडि बढाउने परिपाटी र निर्विकल्प बाटो भन्ने अर्थ समेत राख्दछ । अर्काे तर्फ नियम भनेको कुनै समाज वा राज्यमा लागु गरिएका निश्चित उद्देश्य प्राप्तिका लागि समाज र देशलाई विधि सम्मत अगाडि बढाउन, गर्न हुने र नहुने, दण्ड र सजायको भागिदार हुने लिखित अर्थ राख्ने अथवा अनेकन व्याख्या र प्रयोगका कारण घुमिल प्रायः पनि हुन सक्दछन् । अध्ययन अनुसन्धान र खोजी कार्यमा विधि र पद्धति ज्यादै महत्त्वपूर्ण हुन्छ भने शक्तिको चेपुवामा नियम कानुन, विधि र पद्धति गौण बन्न पुग्दछन् । वैज्ञानिक खोजी कार्यका प्रत्येक चरणहरूमा विधि र पद्धति अति मूल्यवान् हुन्छन् किनभने यसले अन्त्यमा महत्त्वपूर्ण निष्कर्ष दिने गर्दछ ।

साँचो अर्थमा विधि विधान र नियम कानुन सधैं शक्तिवान्हरूको हातमा हुने गर्दछ । यो निर्वलहरूका लागि देखाउने दाँत मात्र हो भने बलशालीहरूको अरु माथि नियन्त्रण गर्ने अचुक अस्त्र । समाज तथा राजनीति विज्ञानमा शक्ति भनेको व्यक्ति संस्था वा राज्यले आफ्ना काम, विचार र व्यवहारको प्रयोग गरी अरु कुनै व्यक्ति, संस्था वा राज्यलाई निरन्तर दबाब दिने अनि प्रभावमा पारी तद्अनुकूल आफ्नो पक्षमा संलग्न गराउनु हो । शक्तिको प्रयोग सर्वथा अनुचित हुने विषय पनि होइन जुन हामीले ठानेका छौ । शक्तिको प्रयोगले समाज चलायमान बनाउँदछ । कुनै उद्देश्य पूरा गर्न सहयोग गर्दछ तथा परिवर्तन र मानवताका पक्षमा उद्देलित गराउँदछ । तर शक्तिको प्रयोग कसले र कसरी गर्दछ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । लडाइ, झगडा तथा युद्धमा सेना प्रहरी र मानिसहरूलाई प्रयोग गरी ल्याउन खोजिने परिवर्तन शक्तिको निर्मम प्रयोग हो भने नियम विधि कानुन बनाएर कुनै योजनाबद्ध परिवर्तन ल्याउन शक्तिको नरम प्रयोग मानिन्छ ।

शक्तिको स्रोत र व्याख्या सम्बन्धमा अमेरिकी सामाजिक मनोविज्ञहरू जोन फ्रेन्च र बेट्रयाम रेबनले बिसौं शताब्दीको मध्यतिर गरेका थिए भने त्यसैबेला फ्रान्सका दार्शनिक मिचेल फूको पनि शक्तिको नयाँ अवधारणाले प्रसिद्धि पाएका छन् । फ्रेन्च र रेवानका अनुसार शक्ति भनेको कुनै एक पक्षले दोस्रो पक्षलाई आफ्नो इच्छा अनुरूप प्रयोग गर्ने वा प्रभावमा पार्ने काम हो । यो सापेक्ष हुने गर्दछ र आपसी समझदारीमा अस्तित्व प्राप्त गर्दछ । तर त्यस्तो शक्ति सम्बन्ध कुनै खराब स्वार्थले प्रेरित भएमा अनपेक्षित र प्रतिकूल परिणाम निस्कन सक्दछ । फ्रेन्च र रेवनका अनुसार यस्तो शक्ति ५ किसिमको हुन्छन् ।

क्षणिक स्वार्थ र कुण्ठालाई विधि, पद्धति र सिद्धान्तको जलप दिएर विवेक शून्य निश्कर्षमा पुग्नु देश, जनता र स्वयं राजनेताहरूलाई समेत अनिश्चित भविष्यको खाडलमा धकेल्नु हो

पहिलो वैधानिक शक्ति हो । कुनै पनि राज्य, संस्था वा संगठन वैधानिक बनिसकेपछि प्राप्त गर्ने शक्ति वैधानिक शक्ति हो । स्थापित मान्यता र प्रचलनका आधारमा चल्ने राज्य, संघ, संस्था तथा संगठनमा रहेका प्रमुखहरू त्यस्ता शक्तिका स्रोतहरू हुन् । राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, प्रधानन्यायाधीश देखि कार्यालय प्रमुखहरूसम्म यस अन्तर्गत पर्दछन् । विधि, पद्धति तथा नियमहरूको पालना गर्नुपर्ने मुख्य दायित्व यिनीहरूकै हुने गर्दछ । दोस्रो व्यक्तिगत क्षमताले प्राप्त शक्ति हो । कुनै व्यक्ति विशेषको योग्यता, क्षमता, दक्षता, गुण, व्यक्तित्व तथा परिचयले आर्जित शक्ति यस अन्तर्गत पर्दछ । विश्वका महान् नेता दार्शनिक, समाजसेवी राजनीतिज्ञ आदिले प्राप्त गर्ने शक्ति क्षमताले युक्त शक्ति हो ।

तेस्रो शक्ति अन्तर्गत ज्ञान र सिपले आर्जित शक्ति हो । कुनै व्यक्ति विशेषले आफ्नो ज्ञान, सिप तथा कर्मले आर्जन गरेको, ठोस निर्णय, समस्या समाधान अथवा कुशलता प्राप्त गरेर अरुको विश्वास प्राप्त आर्जित शक्ति यस अन्तर्गत पर्छ । संसारका धनी व्यक्ति ठूला व्यापारी वैज्ञानिक, आविष्कारकहरू यस्तो वर्गमा पर्दछन् ।

शक्तिको चौथो रूपमा पुरस्कृत शक्ति पर्दछ । कुनै व्यक्ति विशेषले प्राप्त गरेको प्रमाण पत्र, नियुक्ति, पद, बढुवा आदिबाट प्राप्त हुने शक्ति पुरस्कृत शक्ति हो । विश्वविद्यलायका पदाधिकारी, संवैधानिक अंगका प्रमुखहरू मनोनयन तथा कोटाबाट प्राप्त पदहरू पुरस्कृत शक्तिका स्रोतहरू हुन् ।

पाँचौं र अन्तिम शक्ति भनेको डर वा त्रासबाट प्राप्त गरिने शक्ति हो । यो क्षणिक तर अत्यन्त कठोर बन्न पुग्छ । सामान्य मानिसलाई डर, त्रास, लोभ तथा मोहमा पारेर कुनै काम गर्न बाध्य पारिनु यस्तो शक्तिको स्रोत हुने गर्दछ । बलात्कार गर्नु, बलत्कारीलाई जोगाउनु, ज्यान मार्ने धम्की दिनु वा ज्यानै लिनु, घुस खानु वा ख्वाएर आफ्नो कार्य सम्पन्न गरिनु यस्तै प्रकारका शक्तिको स्रोत हुन्छ । यिनै सन्दर्भमा माक्र्सवादी इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीले बिसौं शताब्दीको सुरुआतमै शक्तिका बारेमा राजनैतिक विचारहरूसँग सापेक्ष मौलिक विचार प्रकट गरेका छन् । उनका अनुसार शक्ति कुनै पनि विचारको बाहक र सहमतिको रूपमा प्रकट हुन्छ । त्यसैले पुँजीवादी विचार धारका शासकहरूले तल्लो तहका गरिब जनतालाई विभिन्न प्रलोभन देखाएर, उनीहरूको जीवनस्तर माथि उठाउने कार्यमा सहमत जनाउँदै विभिन्न रूपका क्रान्तिलाई निस्तेज पारेर दबाएका हुन्छन् । सारमा उनको प्रभाववादी संस्कृति भन्नाले पुँजीवादीले विचारको माध्यमबाट विभिन्न संस्थालाई प्रयोग गरी काम गरी खाने किसान तथा मजदुरलाई विद्रोह गर्नबाट रोक्ने गर्दछ । जसलाई ऐतिहासिक माक्र्सवाद भन्दा फरक नवमाक्र्सवाद भन्ने गरिन्छ ।

शक्तिको विशेष र व्यापक व्याख्या फ्रेन्च दार्शनिक मिचेल फूकोले गरेका छन् । उनको विचारमा शक्ति सधैं अज्ञानताका बलमा अडिएको हुन्छ । राज्यका सम्पूर्ण अंगहरूले प्रभावकारी रुपले सबै व्यक्तिमाथि शक्तिको निरन्तर प्रायेग गरिरहेका हुन्छन् । उनका अनुसार शक्तिका दुई वटा मुख्य आधारहरू हुन्छन् । पहिलो व्यवहारिक र दोस्रो सैद्धान्तिक । त्यसैगरी शक्तिका तीन वटा केन्द्रहरू मानेका छन् । पहिलो शक्तिको आधार भनेको सार्वभौम शक्ति हो । सार्वभौम शक्ति पिरामिड शैलीको हुन्छ । निरंकुश राजतन्त्र पिरामिड शैलीको शक्ति केन्द्र मानिन्छ भने अहिलेको विश्वमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री यस्तो अधिकार सम्पन्न संस्थाहरू हुन् । दोस्रो शक्तिको आधार भनेको संस्थागत शक्ति हो । यस्तो विषयगत अथवा संस्थागत शक्तिले कुनै पनि मानिसलाई वस्तु, साधन वा अभयवको रूपमा लिने गर्दछ । यहाँ कुनै पनि व्यक्तिलाई नियमले बाधिन्छ, निगरानी गरिन्छ र नियन्त्रणमा राखिन्छ । कारखाना, शिक्षालय, अस्पताल, कारागार आदि यसका उदाहराणहरू हुन् । फूकोका अनुसार तेस्रो शक्ति भनेको जैविक शक्ति हो । मानव जीवनका मूल्य र मान्यतालाई प्रभाव पार्ने शक्ति जैविक शक्ति हो । यसले प्रत्येक मानिसलाई उत्साहित बनाउने, बलियो बनाउने, संगठित गर्ने तथा रेखदेख गर्ने मार्ग प्रशस्त गर्दछ । संस्थागत शक्तिले प्रत्येक मानिसलाई भिन्दाभिन्दै किसिमले नियन्त्रण गर्दछ भने जैविक शक्तिले सम्पूर्ण मानवलाई नै एकै पटक प्रभावमा पार्ने कार्य गर्दछ । यसरी ज्ञान र शक्तिको सम्बन्ध समाज नियन्त्रणमा लागि परेको भए पनि ज्ञानलाई शक्तिले सधैं आफ्नो पकडमा राख्ने परिपाटी प्राचीन समयदेखि चलिआएको पाइन्छ ।

हामीले मान्दै आएका अनेकौं लिखित तथा अलिखित विधि विधान तथा नियमहरू शक्तिशाली व्यक्ति वा संस्थाहरूले आफ्नो स्वार्थ अनुकूल अर्थ लगाउने, प्रयोग गर्ने र त्यसको भरपुर लाभ लिने अजीर्ण रोगले गर्दा सभ्य समाज निरन्तर पतनको बाटो तर्फ लागेको मानिन्छ । परापूर्वकालमा महाभारत वा रामायणमा वर्णित युद्धहरू हुन्, अथवा प्राचीन ग्रिकमा ट्रोय र स्पार्टा राज्यका बीचमा भएका महायुद्ध हुन् शक्ति प्राप्त गर्ने तथा शक्तिको आडमा बलमिचाइँ गरी निम्त्याइएका विकृत रुपहरू नै हुन् । यस्ता युद्धहरू मध्ये प्रथम र दोस्रो विश्वयुद्धहरू पनि विधि, पद्धति र नियमको चिरहरण पछि आएका नरसंहार स्मरणीय छँदै छन् ।

हाम्रो आधुनिक समयमा राज्यलाई सञ्चालन गर्नका लागि बनाइने संविधान, नियम तथा विनियम बलपूर्वक निर्माण गरिने, छलपूर्वक संशोधन हुने तथा शक्तिको प्रयोग गरी खारेज गरिएका धेरै दृष्टान्त इतिहासमा प्रशस्तै पढ्न पाइन्छ । कुनै पनि व्यक्ति वा समूहको निहित स्वार्थ तथा सनकीपन, लोभ, मोह र ईष्र्याले सम्पूर्ण वैधानिक प्रक्रियालाई हातमा लिएर आफ्नो उद्देश्य पूरा गर्न चाहनु अस्थिरता र संकटलाई सरासर निम्त्याउनु हो । शक्ति संघर्ष प्रायः गरी नमिठो प्रतिफलमा परिणत हुने गर्दछ । यदाकदा यस्ता संघर्षले उपयुक्त निकास र बाटाहरू भने अवलम्बन गरेका छन् । उच्च तहका समाजदारीहरू कुनै पनि विधि विधान र पद्धतिभन्दा माथि हुन्छन् । सामान्य घर व्यवहारका हजारौं लेनदेनमा एक पक्षले धर्म छोड्नेवित्तिकै सयौ मुद्दाहरू र सवालहरूको फैसला गर्नु पर्ने हुन्छ । त्यसैले लिखितम मात्र सभ्य समाजको आधार बन्न नसक्ने कुराको ठोकुवा गर्न सकिन्छ ।

उच्च तहका राज्य वा पार्टी, संघ वा संगठनमा नेतृत्व दिने व्यक्तिहरूले तल्लो तहका सर्वसाधारण मानिसहरूको भावना र विचारलाई नजर अन्दाज गर्दा समाज अत्यन्त दुःखद भविष्यको भुमरीमा पर्न सक्ने सम्भावना प्रबल हुन्छ । क्षणिक आवेश र सनकमा गरिने निर्णयले अनिश्चित संकटलाई नियन्त्रण गर्दछ । कुनै पनि समस्याको सही पहिचान गर्न नसक्नु, व्यक्तिगत रिसइवी र कुण्ठा प्रकट गरिनु, बदला र इश्र्याले घनिभूत भएर विधि, पद्धति र नियमको दुहाइ दिएर गरिने कुनै पनि अप्रिय निर्णयहरू व्यक्ति स्वयम् र समाजलाई घातक हुने कुरामा दुईमत छैन । लोकतान्त्रिक राज्य व्यवस्थामा प्रतिस्पर्धा हुनु स्वभाविक हुन्छ । प्रतिस्पर्धाबाट चुनिएका, कार्यशैली र अनुशासनबाट खारिएका न्याय र अन्यायको विवेकपूर्ण विभेद खुट्याउन सक्ने व्यक्ति वा पार्टी शक्तिमा पुग्नु र देश तथा जनताको सुख दुःखमा एकाकार हुनु हामी सबैको हितमा छ । तर क्षणिक स्वार्थ र कुण्ठालाई विधि, पद्धति र सिद्धान्तको जलप दिएर विवेक शून्य निष्कर्षमा पुग्नु देश, जनता र स्वयं राजनेताहरूलाई समेत अनिश्चित भविष्यको खाडलमा धकेल्नु ज्यादै दुखद विषय बन्न सक्छ । अहिले देशको राजनैतिक पार्टीहरूको मूलभूत काम भनेको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाइ समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउनु हो । राज नेताहरूले त्याग गर्नु हो । आपसी वैमनस्यतालाई विर्सदै सकेसम्म दुरी कम गर्नु हो । जनभावनालाई राम्रो सँग बुझ्नु हो । महासंकटलाई कार्यकुशलता पूर्वक पार लगाउनु हो । यसेमा सबैको हित र सुन्दर भविष्यको अनुमान गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width