ज्यान बच्यो, विष मुसाले खाए पछि…

सुदीप घिमिरे
श्रावण ३२, २०७८

पोखराकी ४० वर्षीय रीता (नाम परिर्वतन) श्रीमानसँगको सम्बन्ध बिग्रेकोमा निक्कै तनाबमा छिन् । तनाब सामना गर्न एक वर्षदेखि औषधीको सहयोग लिएकी छिन् । एक्लो महसुस हुने, मन आत्तिने, निन्द्रामा गडबढी हुने समस्या, खाना रुचि नहुने, श्वासप्रश्वास बढेको अनुभव हुनेजस्ता समस्याहरुलाई व्यवस्थापन गर्न औषधीले ठूलै भूमिका खेलेको छ । औषधी छुटाउँदा उनलाई समस्याहरु बल्झन्छन् । परिवारले औषधीमा आश्रित भयो भनी विभिन्न उपनामहरु दिने गरेको छन् । जसका कारण रीताले आफ्नो इज्जत प्रतिष्ठामा आँच आएको बताउँछिन् ।
‘तिम्रो मन कमजोर भएर हो, औषधी खानु पर्देन, बिना कारण चिन्ता लिने’ भन्दै श्रीमान र छोराहरुले नराम्रो व्यवहार गर्दे आएको उनको गुनासो थियो । एक वर्षदेखि उनी चिन्ता एवं उदासीनताको व्यवस्थापनका लागि औषधी सेवन गरिरहेकी छिन् । ‘घरमा राम्रो छैन्, माइतमा कोही छैनन्, एक्ली भएकी छु,’ उनले भनिन् । औषधीले मात्र उनलाई बाँच्ने प्रेरणा दिएको छ । श्रीमानको व्यवहारले गर्दा उनलाई बेलाबेला मर्ने सोच आइरहन्छ । मर्नका लागि विगत एक महिनादेखि घरमा विष किनेर राखेकी छिन् । उक्त कुरा परिवारका सदस्यहरुलाई जानकारी छैन । विष उनले पूजा कोठामा लुकाएर राखेकी थिइन् । जब मनका सहनै नसक्ने पीडा हुन्छ तब सेवन गर्ने उनको योजना छ ।
‘जीवनलाई समाप्त गर्न त्यति सजिलो छैन,’ रीताले भनिन् । उनले एक वर्ष पहिले मर्नका लागि प्रयास गरेका थिइन् । छोराले गण्डकी अस्पताल लगेर बँचाए । अस्पतालमा मजस्तो अर्को महिला आत्महत्याको प्रयास गरेर ल्याएको देखेँ । मर्नलाई धेरै गाह्रो हुने रेहछ उनको पीडा देखेर थाह भयो रीताले सुनाइन् । उक्त घटनाले उनलाई बाँच्न प्रेरणा थपेको थियो । तर घर परिवारको व्यवहारले भने बारम्बार एक्लोपनको महसुस गराइन्छ ।
मनमा गाह्रो भयो भने उनले पोखराकै मनोविमर्शकर्ता जमुना शर्मालाई फोन गर्ने गर्छिन् । आफ्नो भावनाहरु सुनाउँछिन् । कोसिस नेपालको टोल फ्रि नम्बर कण्ठै छ । गत साता उनलाई मनमा धेरैनै पीडा भयो । मनोविमर्शका लागि कोसिस नेपाल पुगिन् । मर्नका लागि तयार पारेको कुरा सुनाइन् । मनोविमर्शकर्ताहरु उनको व्यवहार देखेर डराए । बजारबाट उनको घरमा तत्कालै पुग्ने अवस्था थिएन् । मनोविमर्शकर्ताहरुसँग उनले विष हटाउने प्रतिबद्धता गरिन् । कुराकानी पछि घर फर्किइन् ।
भोलिपल्ट यो स्तम्भकारले फोन लगायो । उनले फोन उठाइन् । मैले सोद्धा ‘दिदी के छ खबर, आरामै हुनु हुन्छ ? विष फ्याक्नुभयो ?’ उनले उत्तर दिइन् ‘भाइ त्यो विष त मुसाले पो खाएछ । एउटा मुसो मरेछ ।’ मलाई हाँसो उठ्यो । हाँसो रोक्न सकिनँ । उनी पनि हाँसिन् । उनले भनिन्, ‘कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो ।’ मैलै पनि सहमति जनाएँ । केही गाह्रो भयो भने फोन गर्नु है भन्दै फोन काटेँ ।
अहिलेलाई उनको आत्महत्या गर्ने सम्भावना टरेको छ । तर परिवारको व्यवहार र चिन्ताले सताइरह्यो भने फेरि उक्त व्यवहार दोहोरिएला भन्न सकिन्न । रीताजस्तै अहिले धेरै महिला दिदीबहिनी एवं दाजुभाइहरु आफ्नो समस्यालाई व्यवस्थापन गर्न नसक्दा आत्महत्यालाई विकल्प रोज्न थालेका छन् । के आत्महत्या गरेर समस्याको समाधान होला ?
साथै हाम्रा हरेक गाउँ, सहरका पसलहरुमा मुसा मार्ने विष र अन्य विषादीजन्य पदार्थहरु प्रशस्तै भेटिन्छन् । कम्तीमा व्यपारीहरुले त्यस्ता सामग्रीहरु नचिनेको व्यक्तिलाई नदिने । बढी तनाब, चिन्ता, घरमा खटपट भइरहेको भन्ने जानकारी छ भने विषादी सकिएको छ भन्ने उत्तरहरु दिएर पनि सहयोग गर्नुपर्छ । विरक्त मुडमा एक्लै विषादी लिन दिएको छ त्यस्तो समयमा रोक्नुपर्छ । विश्वासलाग्दो व्यक्तिलाई मात्र विषादीजन्य पदार्थहरु बेचबिखन गर्नु जरुरी छ । जसले केही हदसम्म भए पनि सम्भावित जोखिमबाट बचाउन सहयोग गर्छ ।

विश्वासलाग्दो व्यक्तिलाई मात्र विषादीजन्य पदार्थहरु बेचबिखन गर्नु जरुरी छ । जसले केही हदसम्म सम्भावित जोखिमब कम गर्न सहयोग गर्छ

१५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रुपमा लिइन्छ । यसै उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो कारकतत्व बनेको छ । यही तथ्यांक बढ्दै गयो भने हरेक वर्ष आत्महत्या गरी मर्नेहरुको संख्या १० लाखभन्दा बढी हुनेछ । अनुसन्धानले जनाए अनुसार १ जनाले आत्महत्या गर्दा कम्तीमा १ सय ३५ जना व्यक्तिहरुलाई त्यसको मानसिक र सामाजिक असर गर्छ । विश्वभर हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्ने विश्व स्वास्थ्य संगठनको आँकडा छ । हरेक वर्ष झण्डै ७ लाखभन्दा धेरैले आत्महत्या गर्ने गर्दछन् ।
नेपालमा भने आत्महत्या गर्ने र प्रयास गर्नेहरुको सही तथ्यांक छैन । प्रहरीको तथ्यांकलाई आधार मान्दा आत्महत्या दर बढेको देखिन्छ । दैनिक १६ जना नेपालीले आत्महत्या गर्ने पछिल्लो तथ्यांकले जनाएको छ । केही समय पहिले कास्की जिल्लामा गरिएको एक अध्ययनले १ लाख जनसंख्यामा १२.४ प्रतिशतले आत्महत्या गर्ने जनाएको छ । २ सय ८७ वटा पोस्टमार्टम केसहरुलाई आधारमानी उक्त अध्ययन गरिएको थियो ।
सन् १९९६ देखि २००६ सम्म नेपालमा भएको माओवादी विदोहले व्यक्तिको मनोवैज्ञानिक पक्षका नराम्रोसँग प्रभाव पारेको तथ्यहरुसमेत सार्वजनिक भएका छन् । सरकारी पक्ष र विद्रोही पक्षको यातना, हिंसा, हत्याले धेरै व्यक्तिलाई मानसिक स्वास्थ्यमा नराम्रोसँग प्रभाव पारेको देखिएको छ । त्यसै गरी २०१५ मा आएको विनाशकारी भूकम्पले धेरै व्यक्तिको मनमा उथलपुथल बनाएको थियो । एक गैरसकारी संस्था महुसंस्कृति मनोसामाजिक संस्था नेपालले गोर्खा, सिन्धुपाल्चोक र काठमाडौंमा गरेको अनुसन्धानमा १०.९ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको विचारहरु आएको पाइएको थियो । उक्त अध्ययन ५ सय १३ जना भुकम्प प्रभावित व्यक्तिहरुसँग गरिएको थियो । त्यसै गरी कोरोना भाइरसको पहिलो र दोश्रो लहरमा पनि आत्महत्या गर्ने दर बढेको थियो ।
यस्ता स–साना अनुसन्धानले प्रमाणीत गर्छ, नेपालका हरेक जिल्लाहरुमा आत्महत्या वा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु बढिरहेका छन् । समस्याको व्यवस्थापनका लागि सरकारी भन्द गैरसरकारी संस्थाहरुले धेरै कामहरु गरिरहेका छन् । जसमध्ये आपतकालीन सहयोग प्रमुख हो । संघ संस्थाहरुले टोल फ्रि नम्बरहरु सार्वजनिक गरिरहेका छन् । उक्त सेवा लिनेहरुको संख्या ह्वात्तै बढेको छ ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले त्यस्ता टोल फ्रिबाट मनोसामाजिक र मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने निकायहरुको सेवालाई सहज बनाउन विभिन्न कार्यक्रमको तयारी थालेको छ । फलस्वरुप रीताजस्ता धेरै व्यक्तिलाई बाँच्न र जीवनमा केही गर्न प्रेरणा मिलेको छ । त्यसैले विषादीजन्य औषधीको पहुँचभन्दा टोल फ्रि नम्बरको पहुँच बढाउन सहयोग गर्नु सबै नेपालीको दायित्व हो ।

Related News

सम्बन्धित समाचार

hero news full width