बुबाआमा भगवानका स्वरुप

दिनेश बस्नेत
माघ ६, २०७७

मेरा अनन्य मित्र रमेश केसीजी क्यानडामा हुनुहुन्छ । तर यतिबेला उहाँको मनचित्त गाउँघरमा छ । विशेषगरि बुबाको वरिपरि घुमिरहेको छ । जुन मनोविज्ञान सहजै अनुमान गर्न सकिन्छ, जब पछिल्लो पटकको म्यासेन्जरमा भएको कुराकानीमा उहाँले भन्नुभएको थियो, ‘क्यानडाको पिआर मलाई निल्नु न ओकल्नु भएको छ, दिनेशजी ! यहाँँका सबै अवसर र सुख सुविधा चटक्क छाडेर नेपाल जाऊँ कि जस्तो लाग्छ । फेरि छोराछोरीको भविष्य सम्झन्छु । अनि सोच्छु । त्यसपछि मन बदलिन्छ ।’

उहाँको स्वर चिन्ताग्रस्त र तनावग्रस्त लाग्थ्यो । बडो पीडा भरिभराउ कुराकानी भएका थिए । वास्तवमै उहाँका कुराकानीमा बुबाप्रतिको आत्मीय श्रद्धा झल्किथ्यो । जिम्मेवारी र कर्तव्य स–शरीर पूरा गर्न नसक्दा उदासिन हुनुहुन्थ्यो । केही गरेर पनि चाहे जति गर्न असमर्थ र समायानुकुल नहुँदा आफूलाई धिक्कार लागेको कुरामा केन्द्रित हुनुहन्थ्यो ।

बुबा आमाको सेवा एउटा अवसर हो । एउटा संस्कार हो । एउटा कर्तव्य पनि हो

म पनि बुबा लामो समय बिरामी हुँदा सेवाको महत्व बुझेको मान्छे । बुढेसकालमा क्यान्सर रोग जस्तो निष्ठुरी रोग लाग्दा कति असहज, कति पीडादायक अनुभवको सामना गर्नुपर्छ भन्ने एउटा कालखण्ड गुजारेको मान्छे । बुबाको जति सेवा गरे पनि बलवान रोग लागेपछि कसैको हुति–खुबी नचल्ने मान्यतामा थिग्रिएको मान्छे । उहाँको त्यस्ता आत्मपरक कुराकानी सन्दर्भले जीवनको अर्थ फेरि झकझकियो । पीडाका ती दिनहरु फेरि ब्यँुतियो । मनभरि अमिलोपन छताछुल्ल भयो ।

यद्यपि रमेशजीको बुबा–मोहनजंग खत्री मेरो बुबाको दामली हुनुहुन्छ । बुढेसकाल नै एक प्रकारको पाकेको फल जस्तो, एक प्रकारको अशस्त र आलस्य समयमा गुर्जर्दै हुनुहुन्छ । नाताले मेरो मामा पर्नुहुन्छ । असाध्यै हंसमुख, असाध्यै आत्मीय, असाध्यै आफ्नोपनमा विश्वास गर्ने लोभलाग्दो आचरण विशेषता भएको व्यक्तित्व हुनुहुन्छ । पछिल्लो समय केआई सिङ पुल नजिकको रेस्टुरेन्ट अगाडि अक्सर भेटिने उहाँ मलाई देख्ने बित्तिकै बडो हर्षित मुद्रामा बोल्नुहुन्थ्यो, ‘के छ देवु भान्जा ?’

मेरो नाम दिनेश भए पनि, आफ्ना छिमल दामलका मित्र र विशेष सन्दर्भले सम्बन्ध स्थापित भएका व्यक्तिहरु बाहेक ‘दिनेश’ नाम कसैको मुखबाट निस्कँदैन । अझ गाउँघरमा त देवबहादुर र देवे भन्ने बढी भेटिन्छन् । ती सबै उपनामझंै लागे पनि ‘देवु’ भनेर सम्बोधन गर्ने आफ्नै मान्छे जस्तो लाग्थ्यो । उहाँले मसँग गर्ने आपसी कुराकानीमा न्यानोभाव पाउँदथे । र उहाँसँग बोल्न रुचाउँथे । बुढापाकाहरुसँग पाइने अनुभवले पनि मलाई उहाँसँग गफिन थप हौसाउँथ्यो ।

तर धेरै दिन भएको थियो – उहाँलाई नभेटेको, उहाँसित नखुलेको, नबोलेको । रमेशजीले त्यसदिन ति कुरा भनेपछि, बिरामी बुबाको बारेमा बोलेपछि थाहा भयो । उहाँको बिरामी खबरले एक लर्काे चिसो मनमा पस्यो र जथाभावि मलाई विचलित बनायो ।

उहाँसँग सम्पर्क विच्छेद भएपछि मैले रमेशजी कै ठूलो बुबाका छोरा दाजु नारायणजंग खत्रीसँग सम्पर्क गरें । ताकि त्यो खबर मलाई चानचुने लागेको थिएन ।

नारायणजंग खत्री दाजुले पनि माहिला बुबा बिरामी पर्नु भएको कुरा स्वीकार्नु भयो । निकै गह्रौं स्वरमा केही व्यहोरा बताउनुभयो । तब मलाई उहाँसित भेट्ने इच्छा तीब्र हुँदै गयो । तर आचरण अनरुप बाटो हिड्दा पस्न बिर्सेछु । बिहीबार त सम्झिएर पसें । धन्य मेरो स्मरणशक्ति । गेट खोलेर माथिल्लो फ्लोरमा गए । रमेशजी की फुपु पनि हुनु हुँदोरहेछ । ‘आउनोस्, आउनोस्, बाबु’ भनेर ढोका खोल्नु भयो । म भित्र पसेँ । प्रथम दृष्टि नै मोहनजंग ‘मामा’ माथि परे । छेउमा बस्नुभएकी फुलबारे माइजु क्षण पश्चात् मात्र देखिनु भयो ।

‘नमस्कार मामा ।’ मैले स–सम्मान हात उठाएर भनें ।
‘नमस्कार ।’ उहाँ शुष्क स्वरमा बोल्नुभयो ।
‘मामा बिरामी हुनुहुँदो रहेछ । मलाई त थाहै नै अस्ति रमेशजीले भन्नु भएपछि पो थाह पाए ।’ मैले सायद औपचारिकता निर्वाह गर्ने ध्येयले भने ।
‘त्यस्तै हो बाबु ! आज आउनु भयो खुसी लाग्यो ।’ माइजुले सहृदयताका साथ भन्नुभयो । ‘कस्तो छ, मामालाई ? खाना कत्तिको रुच्छ ? निन्द्रा पर्छ कि पर्दैन ।’ मैले आत्मिय हिसावले अलि अघि सरेर भने ।

मामाले केही नखाने, नरुच्ने गरेको माइजुले बताउनुभयो । अनि म अलमलिए, के बोल्ने ? जति रेडिमेड वाक्य थिए ती बोलेर सकेको थिएँ । कस्सो फूलबारे माइजुले मलाई उछारबाटो दिनुभयो, मामाको बारेमा एकमेसो बोलिरहनु भयो । भन्दै जानुभयो, ‘ठूलो छोरो थियो अघिसम्म । अहिले गयो । ट्वाइलेट जान साह्रै समस्या पर्ने । जीउमा तरान छैन । कति भयो नखाएको । ठूलो दारका ज्यान भएको मानिस बिरामी भए पछि ट्वाइलेट लानै गाह्रो । हात खुट्टा सद्धे हुनेलाई त कुन गोता पर्छ । उहाँ त झन यस्तो मान्छे । हुन त कति हो कति दिन भयो, नखाएको पनि । ट्वाइलेट कति नै जानु हुन्छ र ! ट्वाइलेट जाँदा दुःख भयो भन्ने कुरा गर्ने हो । ……… बोल्दा बोल्दै फूलबारे माइजु रुन थाल्नु भयो । वातावरण निकै विरक्त र विषाक्त बन्यो ।

म समेत स्तब्ध भएँ ।
त्यही स्तब्धता र शून्यता चिरेर मामाले भन्नु भयो, ‘किन रुन्छेस् । सबैको हालत यस्तै हो । बुढो पनि भइयो । जाने बेला पनि भयो । उही बेला खुट्टा काटिदा खेरी नै मर्न पर्ने मान्छे हुम । छोराहरुले बचाए । को सधैं बाचिरहन्छ र ?’
उहाँका मार्मिक र मर्मस्पर्शी कुराले हामी मौन भयौं ।

‘उहाँ बाबु को हुनु हुन्छ ?’ फेरि मामाले सोध्नुभयो । उहाँको त्यसप्रकारको प्रश्नले म दङचित भएँ । म भित्र आएको पनि ५÷१० मिनेट भइसकेको थियो । त्यतिका कुराकानी पनि भइसकेको थियो । तर उहाँले मलाई ठम्याउन सक्नु भएको रहेनछ । त्यो भन्दा बिरामीपनको कमजोरी अरु के हुन सक्छ ?

म अलिकता अलमलमा परेको थिएँ, फुपुले भन्नु भयो, ‘आँखाले ठ्म्याउन्नु हुन्न…….. उहाँ नेत्र बहादुर ज्वाइँको छोरा के त नि । यतिन्जेल बोल्दा पनि निध्याउनु भएन ।’
‘हो त नि बोलि सुन्दा त त्यस्तै लागेको थियो । आँखा पटक्क देख्दिन । बुबा पनि अलि अघि यही बाटो ठ्याम ठ्याम हिँडेर बजार जानु हुन्थ्यो । के गर्ने यस्तै हो भगवानको लिला । हाम्राकी कुरै नबुझेर पीर मानरे र रुन्छे ।’
त्यति भनेर उहाँले सिरक माथि तान्नुभयो । मैले उहाँ दुईटा काटिएका खुट्टा पहिलो चोटि देखे । सधैं उहाँ कुतिम खुट्टा लाएर हिँड्नु हुन्थ्यो । एक पटक भन्नु भएको थियो, ‘छोरी खेलाएर बसेको थिएँ, कता कताबाट सर्पले आएर टोक्यो । २÷३ दिन पछि भिम हस्पिटलमा जाँदा विष शरीरभरि पैmलि सकेको थियो । पछि आर्मी हस्पिटलमा एउटा खुट्टा काटियो । केही समयपछि अर्काे खुट्टा पनि काट्यो । त्यति बेलै डाक्टरले आश मारेका थिए । सानो छोरा रमेश सानै थियो ठूलो छोरो आर्मीमा हुनाले ठूलो सेवा र उपचार पाए । र आजसम्म बचेको छु ।’

मैले यता उता आँखा डुलाउँदा कोठा बिरामी स्याहार्नु परे जस्तो कोठा छैन । एकदम सफाचट छ । विस्तारादेखि भुइँ भित्तो चारैतिर सुकिलो देखिन्छ । आडमा फलपुूल र थर्मस छ । टेबलको तल गिलास र बोड्को छ । कति बिरामी भेट्न गएँ । त्यो भन्दा पृथक पाएँ । आफ्नो रोगको कारण उहाँले भोग्नु परेको पीडा बाहेक नत्र उहाँले कुनै दुख, कुनै पीडा, कुनै अभाव भोग्नु परेको छैन । कुनै हेला र अर्घेलो भाव साध्नु परेको छैन ।
एउटा क्यान्सर रोगी, त्यसमाथि दुबै खुट्टाको अपांग अझसम्म उहाँको सेवामा कुनै कन्जुस्याई छोराहरुबाट भएको मैले देखिन । कति छोराछोरी छन् मानविय संवेदनाको समेत वेवास्ता गर्ने । आफ्ना आमाबुबालाई घाँडो सम्झने । उपचार र सेवामा विवेक विचार नपुर्‍याउने, लोकलाजलाई समेत बेवास्ता गरी कृतघ्न बन्ने । तर उहाँका छोराहरु– अर्जुन खत्री र रमेश खत्रीजीले आफ्ना बुबालाई गरेको सेवा आजको समाजलाई शिक्षामुलक र प्रेरणादायी बन्दछ । मैले अन्तरआत्माबाटै उहाँहरुको पं्रशसा गरे ।

वास्तवमै उहाँहरुको परिवार प्रंशसालायक परिवार हो । उहाँको परिवार गाउँ समाजमा एउटा खानदान स्थापित गरेको मात्र नभई समाजसेवालाई प्राथमिकतामा राख्ने धार्मिक प्रकृतिको परिवार हो । लप्टन टेक बहादुर खत्रीले हरिहर सन्यास आश्रमसम्म बनाएको सिँढीबाटो आजपर्यन्त महत्वपूर्ण मानिन्छ । जुन सामाजिक सेवामा उहाँहरुको परिवारको सदभाव छ, पछिल्लो समयमा रमेश खत्रीजीले बिँडो थाम्नुभएको छ । बाबु बाजेको धमर्, संस्कार र संस्कृति अनुरुप चल्ने उहाँको अनुकरणिय आदत रहेको छ । क्यानडामा बस्दा पनि उहाँले कुराकानीमा पटकपटक भन्ने गर्नुहुन्थ्यो, ‘मैले गाउँघरतिर पैसा पठाई दिएर केही सेवा र सहयोग गर्ने ठाउँ छन् भने भन्नोस् है ।’ बोल्ने मात्र होइन व्यावहारिक रुपमा सहयोग गरेका थुप्रै उदाहरण छन् । मृगौला पीडितलाई आर्थिक सहयोग जुटाउने देखि हरिहर मन्दिरमा बसाहा स्थापना, भूकम्प पीडितलाई टिनका पाता र बाँके बर्दिया बाढी पीडितलाई आर्थिक सहयोग जस्ता बिभिन्न मानविय र सामाजिक सेवामा उहाँको उल्लेखित योगदान छ ।

तर अचम्मलाग्दो कुरा, धार्मिक प्रवृत्तिका मान्छेलाई नै, सेवा र पुण्यमा अहोरात्र खटिनेहरुलाई नै किन संकट र समस्या पर्छ ? तिनीहरुको परिवारमा नै किन ठुला विपत र रोगब्याधी आइलाग्छन् ? भगवानको यो लिला बुझ्न नसकिने लाग्छ ।
जे होस् बाबुआमा भगवानका स्वरुप हुनुहुन्छ । उहाँहरुको सेवा गर्न पाउँदा गर्वको अनुभूति गर्नु पर्छ । रमेशजीको परिवारले पनि जीवनको अर्थ बुझेर बुबाको सेवा जुन प्रकारले गर्नु भएको छ, अहिलेको मानविय संवेदना ह्रास हुँदै गएको मेसिनरी समाजले सिको गर्नु जरुरी छ । आखिरमा जन्मपछि मृत्यु निश्चित छ । रोग लागेपछि जीवन सिएर चलाउने या टालटुल गरेर तङग्रीन खोज्नु जस्तै हो । झन ठूलो रोगले त आफू मान्छेभन्दा बलियो भएको प्रमाणित गरेरै छोड्छ । तर पनि मलाई लाग्छ, बुबा आमाको सेवा एउटा अवसर हो । एउटा संस्कार हो । एउटा कर्तव्य पनि हो । जुन अवसर, संस्कार र कर्तव्यबाट उहाँहरुको परिवारका सदस्य रत्तिभर तलमाथि हुन हुन्न त्यसको लागि उहााँहरु प्रति मेरो अन्तरहृदयदेखि नमन छ ।

Related News

सम्बन्धित समाचार

hero news full width