Worldlink ads

बाढी पहिरोको क्षति बढ्दो, पूर्व तयारी कम

दुर्गा अधिकारी
भाद्र २६, २०७८

नेपालमा हरेक वर्ष मनसुनको समयमा सयौंको संख्यामा पहाडी भूभागमा पहिरो र तराई क्षेत्रमा बाढीले कैयौंको मृत्यु तथा करोडौं धनको क्षति हुँदै आएको छ । यो वर्ष पनि बाढी र पहिरोको क्षति व्यहोर्न बाध्य भयौं । यसले कति पुस्ता सम्म निरन्तरता पाउँछ, आँकलन गर्न सक्ने अवस्था छैन । असार १ देखि भदौ ३० सम्मलाई मनसुन मानिन्छ । यो समयमा बाढी, पहिरो र चट्याङका कारण व्यापक जनधन क्षति हुने गरेको छ । तर यो वर्ष देशमा अनुमान गरिएभन्दा र हुँदै गरेकोभन्दा बढी नै विनाश गर्‍यो । भनिंदै आएको मौसम परिवर्तनको रौद्र रुप यो वर्ष लाखौं नेपालीले भोगे ।

यो वर्ष मेलम्ची नदीमा आएको बाढीले खेत डुबाउने मात्र होइन थुप्रैको घरसमेत डुबायो, छोपि दियो, पर्लक्कै पल्टायो । दुई तलेसम्मको घरलाई पनि लेदो पानी, गेग्रान र ढुंगाले यसरी छोपिदियो मानौं त्यहाँमुनि घरको अस्तित्व नै छैन । घरलाई बाढीले १८० डिग्रीमैं पल्टाउनु भनेको चानचुने कुरा होइन । स्थानीयहरूले पनि कहिल्यै नदेखेको बाढीको रुप यो वर्ष देखे, भोगे । आफूले सम्हालेर राखेको सामग्री नभेट्टाउदा भनिने गरिएको ‘आकासले निल्यो या जमिनले खायो’ भन्ने उखान यो पटक वास्तविक सावित भएको छ ।

आफ्नै एउटा घर बनाउने र बस्ने सपनाका लागि वर्षौ विदेशमा पसिना बगाएर कमाएको मिहेनत पनि त्यही बाढीले घर छोपिंदा बाढी पीडितहरू वास्तविक सुकुम्बासी भएका छन् । करोडौं खर्च गरेर होटल व्यवसाय गर्न भरखर बनाई भ्याएका घरहरू खण्डहर बनेका छन् । करोडौं खर्च गरेर विदेशको कमाईलाई देशमैं केही गर्ने सोचसहित कृषि कर्ममा गरिएको लगानी पनि बगरमा परिणत भएको छ । खाई नखाई गरी कमाएको पैसाले आफ्नै गाउँ ठाउँमा केही गर्ने स्थानीयको सपना भत्किएको छ, लड्खडाएको छ । यो भत्किएको, लड्खडाएको सपनालाई सरकारले दरिलो आड दिनुपर्छ । अचम्मै खालको बाढीको वितण्डा मेलम्ची र हेलम्बुको मात्र होइन । मनसु्नको नगन्य प्रभाव मात्रै पर्ने तथा पानी नपर्ने जिल्लाका रुपमा लिइएका हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा पनि मनसुनको शुरुमैं पानी पर्यो ।

जलवायु तथा मौसम विज्ञहरूका अनुसार मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा धेरै पानी परेको यो नेपालका लागि सम्भवतः पहिलो घटना हो । यहाँ पानी नै नपर्ने कारणले नै यहाँका संस्कृति, संरचना निर्माण सोही अनुसारको हुने गर्दछ । स्थानिय प्राकृतिक संरचनालाई नै खल्बल्याएको यो वर्षको बाढी र मनसुनले हिमाली जिल्लामा क्षतिको जोखिम बढाएको छ । मौसमविद डा. ङमिन्द्र दाहालका अनुसार ‘यो वर्ष नेपालमा मनसुन सिधै हिमालतिर उक्लियो, यो अस्वभाविक हो । नेपालको मध्य पहाड, चुरे तथा तराई क्षेत्रमा केन्द्रित हुने मनसुन यस वर्ष सिधै माथितिर जाँदा हामीलाई पनि अनौठो लागेको छ ।’

सामान्यतया मनसुन हिमाल पारी जाँदैन । मनाङ, मुस्ताङ सामान्यतया पानी पर्ने नभइ हिउँ पर्ने क्षेत्र हुन् । ती ठाउँमा कहिलेकाहीँ मनसुनको वर्षा भएपनि त्यो निकै कम हुन्थ्यो । पानी नपर्ने भएपछि त्यहाँका घर, बाटोघाटो, पुलहरू पनि त्यही किसिमका बनाइएका हुन्छन् । स्थानीय परम्परागत घर तथा पर्खाल नै माटोको हुने गरेबाट यो वर्ष आएको मनसुनले त्यहाँ वितण्डा मच्चाउन ठूलो मलजत गर्यो, अझै गर्नेछ । यस वर्ष त्यहाँ देखिएको विपद् पूर्वानुमान् गरिएभन्दा बढी हो । हिमालतिर मनसुन पुग्छ भन्ने संकेत देखिएको भएपनि अहिले नै यस्तो वर्षाको कल्पना गरिएको थिएन ।

हिमालपारी मनसुन पुग्नुलाई धेरैले जलवायु परिवर्तनको विषयसँग पनि जोडेका छन्, त्यसैको असरका रुपमा लिएका छन् । अध्ययनअनुसार मनसुनमा पहिलोको भन्दा पानी बढिरहेको छ । मौसमविद डा. ङमिन्द्र दाहालका अनुसार अहिले तापक्रम बढेकाले मनसुनको बादलले पहिलेको भन्दा बढी उचाई लियो । तलको बादल माथिको उचाईमा पुगेकैले हिमालपारी पुगेको हो । यो अबको मनसुन हिमालतिर जान्छ भन्ने संकेत हो । यसअघि अनुमान थियो अहिले व्यवहारिक पुष्टि हो ।

मनाङमा आएको रफ्तारको बाढीले बगाएको पुल, भत्किएका घरले स्वभाविक रुपमा हिमाली क्षेत्र अब जोखिममा परेको छ भन्ने कुरा प्रष्ट्यायो । त्यहाँको भूगोल पनि बढी पानी तथा भेल थेग्न सक्ने खालको छैन । माटोका थुप्रोहरू तथा रुखविरुवा विनाका कमलो पहाडहरू धेरै छन् । पानी बढी भएपछि ती क्षेत्र बग्न थाल्छन् तथा त्यहाँ पहिरो जान्छ । यस्तै हिमतालहरू फुट्ने जोखिम, हिमनदीको आकार बृद्धि वा हिमालमा हिउँ धेरै पग्लिनेजस्ता समस्या पनि आउन सक्छन् ।

यी माथिको हिमताल फुट्ने अनुमानलाई हालै इसिमोडले मेलम्चीको बाढीलाई लिएर गरेको अध्ययन ‘‘द मेलम्ची फ्लड डिजास्टरः क्सास्केडिङ हजार्ड एण्ड निड फर मल्टिहजार्ड रिस्क म्यानेजमेन्ट’’ले पुष्टि गरेको छ । अर्थात्, इसिमोडले अध्ययनमा गरेको थुप्रै अनुमान मध्ये सन् २००० नोभेम्बर १मा भूउपग्रहबाट लिइएको तस्बीरमा पेमदाङ खोलाको उपल्लो भागमा दुई हजार ७६१ वर्गमीटरको हिमताल थियो भने मेलम्ची घटनापश्चात जुन २३मा लिएको तस्बीरमा ताल नदेखिएबाट ताल विस्फोट भएको प्रमाणित हुने उल्लेख छ ।  अर्थात्, त्यहाँ भएको ताल पग्लिएर एक्कासी बाढी आएको, २०७२ सालमा गएको भूकम्प तथा त्यसको पराकम्पनका कारण गएको पहिरोले गर्दा बढी लेदोसहितको बाढी आएको हो ।

हिमाली भेगको बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा पनि व्यापक रुपमा पर्छ भन्ने कुराको प्रमाण सिन्धुपाल्चोकमा देखिएको छ । मेलम्चीमा बाढी आउनुको कारण पहिरो रहेको र त्यो पहिरो हिमाली क्षेत्रमा गएको प्रारम्भिक विवरण आएका थियो । मानवबस्ती नभएको ठाउँमा गएको पहिरोले प्रकृतिमा क्षति पुर्‍यायो भने तल्लो क्षेत्रमा आंकलन नै गर्न नसक्ने गरी जनधनको क्षति गरेको छ । माथि जहाँ पहिरो गयो त्योभन्दा बढी हेलम्बु, मेलम्ची लगायतका ठाउँमा देखिएको क्षतिलाई हेरेर पनि हामी हिमाली क्षेत्रमा संकट आउनु भनेको पहाड तथा तराइमा समस्या आउनु हो भनेर बुझ्न सक्छौं । हुनत मौसमविदहरूले अनुमान मात्रै गर्दै आएको कुरा यसपालि मनाङ, मुस्ताङ लगायतका ठाउँमा देखिएको छ ।

बाढीले गरेको विनाश

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विना अध्ययन/अनुसन्धान जतापायो उतै ग्रामीण सडक सञ्जाल निमाणर् गर्ने तर्फको मोहले यस्ता पहिरोका घटनाबाट जनधनको क्षति वर्षैपिच्छे बढ्दो छ । कतिपय स्थानमा पछिल्ला दिनमा पुराना संरचना पुरेर नयाँ बनाउन खोज्दा समस्या आएको छ, भासिएको छ । धेरै पानी परेपछि कमजोर भागमा पहिरो जाने गर्छ । गत जेठ २४ र असार १ मा परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा मनाङ सदरमुकाम चामे, तालगाउँ, धारापानी, दानाक्यु, ओडार, थोंचे लगायतका दर्जनौं घर बाढीले बगायो । मानवीय क्षति टरे पनि कैंयौँ घर डुबान परे । अझै पनि सदरमुकाम चामे जोड्ने सडकखण्ड क्षतिवक्षत अवस्थामै छ ।

असार पहिलो साताको पहिलो दिन नै हेलम्बु मेलम्चीबासीका लागि कालो रात सावित भयो । मंगलवार रातीको त्यो भीषण बर्षाले हेर्दाहेर्दै हेलम्बु र मेलम्ची बजारको बस्तीलाई बगरमा परिणत गर्‍यो । स्थानीय निरीह जस्तै बने । १ गतेको साँझ ५ बजेपछि नै स्थानीयले जोखिमको आँकलन गर्दै थिए किनभने अविरल बर्षासंगै खतराको संकेत सहितका सुचना माथिल्लो निकायले दिन थालेको थियो । पानीको बहाव बढेसंगै स्थानीयमा त्रास बढेको थियो । ह्याल्मो बसपार्कमा पानीको सतह ह्वात्तै बढेपछि सुरक्षित स्थान खोज्दै स्थानीयले रातीको ११ बजे घर छाडे । सुरक्षित स्थानमा पुग्नै नपाई दर्जनौं बेपत्ता भए । बाढीले बस्ती, अन्नबालीमा मात्रै क्षति पुगेन, मानवीय क्षति समेत भयो । लाखौं करोडौं ऋण लिएर बनाएका संरचना आँखै अघि बिलाए, पल्टायो । ५ जनाले बाढीमा परि ज्यान गुमाए भने केहि बेपत्ता भए । बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका १ सय ५० भन्दा बढी घर डुवानमा परे भने दर्जनौं घर बाढीले बगायो ।

पोखराको फेवाताल जोगाउन निर्मित सिल्टेसन ड्याम गत असार २३ को मध्यरातको बाढीले भत्कायो । कमसल र गुणस्तरहीन सामान प्रयोग गरी ड्याम बनाइएको आलोचना भइरहँदा अविरल वर्षापछि हर्पन खोलामा आएको बाढीले करोडौं लागतको पूर्वाधार क्षणभरमै नामेट पार्‍यो । बाढीले पोखरी भत्काएर बस्तीतिर सोझिँदा ६ घर जोखिममा परेका छन् भने २ सय रोपनी धानखेतमा बाढी पसेको छ ।

२०७८ सालको नयाँ वर्ष सुरुआतसँगै साढे ३ महिनाको अवधिमा देशभर विपद्का घटनाबाट १ सय ५० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको साउन १४ सम्मको संकलित तथ्यांक अनुसार बाढीपहिरो, अविरल वर्षा, चट्याङ, सर्पदंश, आगलागी, डढेलो, हावाहुरी र जनावर आक्रमण जस्ता विपद्का १ हजार २ सय ९४ घटनामा १ सय ५० जनाको ज्यान गएको हो । यस्तै ती घटनामा ३७ जना बेपत्ता हुँदा ३ सय २९ जना घाइते छन् । १ हजार ६ सय ५७ प्रभावित परिवार छन् भने कुल ६० करोड ६५ लाख बराबर रुपैयाँ क्षति भएको छ ।  पहिरोबाट ३३ जना, बाढीबाट २६, अविरल वर्षाबाट ८, चट्याङबाट ३८, सर्पदंशबाट ११, आगलागीबाट १२, डढेलोबाट ३, हावाहुरीबाट १ र जनावर आक्रमणबाट १६ जनाको अकालमा ज्यान गएको हो । बेपत्तामा सबैभन्दा बढी बाढीबाट २९ र घाइते हुनेमा चट्याङबाट सबैभन्दा बढी १ सय १५ घाइते छन् ।

यसपालिको मनसुनयता भने हालसम्म ६६ जनाले ज्यान गुमाएका छन् । अन्य ३७ बेपत्ता र ६८ जना घाइते भएका छन् । कुल ५ सय ७६ घर पूणर् र १ सय ५५ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ३७ सरकारी कार्यालय, १३ स्कुल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणको भनाई छ ।

प्राधिकरण प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार मनसुन भित्रिएपछिको अवधिमा सरकारले हेलिकप्टरबाट २ सय ७८ र स्थलमार्गबाट ४ सय ३२ गरी ७ सय १० जनाको उद्धार गरिएको छ । जोखिम क्षेत्रका ४ हजार ६ सय ६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

संकटग्रस्त घोषित दुई जिल्लाका क्षतिः मनाङको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनले गण्डकी प्रदेशको मनाङसहित सिन्धुपाल्चोक जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । देशभरका ४८ मध्ये यी दुई जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी सरकारले आवश्यक राहत, पुनःनिर्माण तथा पुनःस्र्थापना कार्य अघि बढाएको छ । मनाङमा ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । ५९ घर पूणर् रुपमा क्षति भए । झण्डै ५५ किमी सडक बाढी पहिरोले भत्काएका छन् । जसका कारण सदरमुकाम चामेसँग सडक सञ्जाल बिच्छेद छ । ७ वटासम्म गाडी गुड्न मिल्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुल समेत क्षति हुन पुगे । मनाङका विभिन्न ४ जलविद्युत आयोजनामध्ये २ मा पूणर् र २ मा आंशिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

लमजुङ हुँदै चामे पुग्न आधा दर्जनभन्दा बढी पक्की तथा काठे पुल तर्नुपर्छ । तर असार १ को बाढीले साना ठूला ती पुल बगाएको छ । ठूलाठूला पहाड छेडेर निर्मित सडक छियाछिया बनेका छन् । आवतजावत ठप्प छ । त्यहाँको सिमलताल, खोत्रोपाखा, निगालघारी, धारापानी, दानाक्यु, थान्चोक लगायत सयौं ठाउँमा सडक भत्किएको छ ।

तल्लो धारापानी, दानाक्यु क्षेत्रमा सडक रिरुट गर्नुपर्ने अवस्था छ । भ्राताङको ३० मिटर सडक ब्लाष्ट गरे पछि मात्रै खुल्न सक्ने खानेपानी, जलस्रोत तथा सिचाइँ विकास कार्यालयका प्रमुख ढाकाराम आचार्य बताउँछन् । उनका अनुसार जिल्लास्थित सरकारी निकायले अनुगमन गरेर क्षतिको प्रतिवेदन तयार पारेको छ । मनसुन नहटिसकेको र बाढीपहिरो अझै नरोकिएकोले क्षति अझै हुन सक्ने आंकलन छ । मनाङमा जेठ २४ र असार १ को बाढीले बढी क्षति पुर्‍याएको हो । त्यसैले मनाङलाई असोज मसान्तसम्म विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा यति धेरै असर परेको पहिलो घटना हो, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने । उनका अनुसार क्षतिको पहिचान र पुनःस्र्थापनाको लागि अल्पकालीन एवं दीर्घकालीन उपाय सहितको प्रतिवेदन सरकारलाई बुझाइएको छ । प्रतिवेदनअनुसार ताल र सिरानताल गाउँमा ७० प्रतिशत घरमा बाढी पसेको उल्लेख छ । जिल्लाका अरु बस्ती उच्च जोखिममा छन् ।

डोनाखोला, स्याल्कु खोला लगायत लघुहाइड्रो पूणर् क्षति भए । यसले धारापानी, दानाक्यु, तिमाङ, थान्चोक, कोतो, चामे बजारमा विद्युत् अबरुद्ध भएको छ । जिल्लाका १६ झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । प्रतिवेदनले ताल र सिरानतालका सबै घरहरू स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ । गाउँमा एक महिनासम्म फर्किने अवस्था नरहेको गाउँपालिका अध्यक्ष चन्द्र घले बताउँछन् । बिजुली, खानेपानी, सडक लगायत सञ्जाल टुट्दा पहिलेकै अवस्थामा फर्किन एक वर्षसम्म लाग्ने विज्ञहरू बताउँछन् ।

संकटग्रस्त घोषित दुई जिल्लाका क्षतिः सिन्धुपाल्चोकको क्षति

मेलम्चीको बाढीले त्यसक्षेत्रका शैक्षिक संस्था, स्वास्थ्यचौकी, बैंक, गाउँपालिका कार्यालय, जलविद्युत आयोजना, प्रहरी चौकी लगायतका संरचनामा पनि बाढीबाट कल्पनै नगरेको क्षति पुगेको छ । एक सयबढी परिवार बिस्थापित भएको प्रशासनको भनाई छ । मेलम्चीका गणेश दुलालले हेर्दाहेर्दै आफ्नो घर गुमाए । एकबर्ष हुँदै थियो उनको घरले पूणर्ता पाएको । एक करोड बढी खर्च गरेर बनाएको ३ तल्लाको घर भेलमा खसेपछि १२ जनाको दुलाल परिवार सडक नजिकको घरमा भाडामा बस्दै आइरहेका छन् । दुलाल मात्र होइन त्यस क्षेत्रका दर्जनौ स्थानीयले यस्तै पीडा खेपेका छन् । भौतिक क्षतिको कुनै हिसाव किताव छैन । भुईंचालोबाट नराम्रोसंग थलिएको यो क्षेत्र बिस्तारै सामान्य बन्दै थियो, बाढीले गर्दा फेरि उही पीडाको पहाडमा छन् स्थानीय । भर्खरै उद्यम सुरु गरेका युवा उद्यमीहरूले करोडौं क्षति बेहोरे । दर्जनौ कुखुरा फार्म, माछा पालन बाढीले बगायो । फेरी पहिलेकै अवस्थामा फर्कन कति समय लाग्ला स्थानीय अन्यौलमा छन् ।

क्षतिको पूर्व अनुमानबारे सुचना पाएका स्थानीयले अति आवश्यक सामान घरबाट निकाल्न भ्याए भने कतिले अति आवश्यक सामान पनि निकाल्न पाएनन् । मेलम्ची बजार बसपार्क क्षेत्र खण्डहरमा परिणत भएको छ । दर्जनौं सवारी साधन समेत बाढीले बगायो भने केही सवारी साधनलाई भेलसंगै बगाएका ढुँगा माटोले पुरेको देख्दादेख्दै पनि कसैले केही गर्न सकेनन् । बस्ने बासस्थान मात्र होइन वर्षदिन खान लगाएको सयौं बिघा जमिन आफ्नै आँखाअघि बगरमा परिणत भएको त्यो दृश्य अझै पनि ताजै छ ।  मेलम्ची बसपार्क छेउमा भेटिएका सन्तोष लामा पेशाले सवारी चालक हुन उनले कहालीलाग्दो त्यो रातको कथा सुनाए । साँझ गाडि पार्कमा छोडेर माथी उक्लेका उनले हेर्दाहेदैं भेलले सवारी साधनमा क्षति पुगेको देखे तर केहि गर्न सकेनन् ।केहि संख्यामा एक्स्क्याभेटर, मालबहाक ट्रकहरू र पार्किङमा राखिएका एकदर्जन बढी सवारीसाधन बाढीले बगाएको स्थानीय कुमार दुलालको भनाई छ ।

इन्द्रावती मेलम्ची जोड्ने मोटरेवल पुल बाढीले बगायो । सयौं बिघा धानबाली अहिले बगरमा परिणत भएको छ । नदिले कटान अझै रोकेको छैन । अहिले पनि धान खेत कटान गरिरहेको देखिन्छ । जोखिम अझै पनि टरेको छैन । मूल सडकहरूमा साना ठूलो पहिरो खस्ने क्रम अहिले पनि यथावत छ । एकातर्फ पहाड अर्कोतर्फ मेलम्ची नदीको त्रासका बिचमा छन स्थानीय । मेलम्ची-भोताङ र मेलम्ची र हेलम्बु जोड्ने सडक संजाल पनि टुटेको छ । बाढीले मेलम्चीका वडा नम्बर ६, १० र ११ मा बढी क्षति पुगेको छ । हेलम्बु गाउँपालिकाको तिम्बु बजार, ग्याल्थुम, चालिसे, चनौटे र तालामाराङका घरहरूमा बढी क्षति पुगेको छ । अहिलेको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिले मेलम्ची प्रभावित क्षेत्रमा आवश्यक काम त गरेको छ तर त्यो पर्याप्त नभएको स्थानीयको गुनासो छ ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने र विपद् व्यबस्थापन विज्ञ, प्राविधिकहरूलाई परिचालन गरेर भए पनि जनधनको क्षति कमगर्न लाग्नुपर्ने विज्ञले  राज्यलाई सुझाव दिएका छन् । बिपद्को कारण र असर पहिचान नै अहिलेको आवश्यकता हो । खहरे खोलाहरूले धेरै कटान गर्ने हुँदा ती जोखिमका सम्भावित क्षेत्रमा कटान रोक्ने उपाए खोजिनुपर्छ ।

१२ वटा साना ठूला पुलहरू बाढीले बगाइसकेको छ भने बाँकी पुलहरू पनि सुरक्षित छैनन । नेपाली सेना लयायत सुरक्षाकर्मीहरूले कटान रोक्नका लागि काम गरेको भए पनि कटान अझै रोकिन सकेको छैन । पानीको बहाब बढी भएकाले ग्याविन तथा तटबन्धहरू बाढीले बगाउने क्रम अहिलेसम्म पनि रोकिएको छैन । हालसम्म एक सयबढी ग्याबिन तथा तटबन्ध बाढीले बगाइसकेको छ । अन्य सुरक्षाका उपायहरू अपनाउँदै जोखिम कम गर्ने काम भइरहेको नगरपालिकाको भनाई छ ।

घटना धेरै, मृत्यु कम

गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४ सय मानिसको मृत्यु भएको थियो । सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष १ हजार १ सय बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालिको मनसुन कायमै रहेकोले सम्भावित अन्य घटनासहितको पूणर् विवरण आउन बाँकी छ ।

नेपालमा यस वर्ष मनसुनजन्य घटना (बाढी, पहिरो र अविरल वर्षा) का कारण हालसम्म ४७ जिल्ला प्रभावित भएका छन् । जसमा गत वर्षको तुलनामा यसवर्ष मृत्यु हुनेको संख्या कम भए पनि घटनाको संख्या भने बढेको छ । अघिल्लो वर्ष जेठ ३० देखि असार ३० सम्म मनसुनजन्य ३ सय ५ घटनामा १ सय ६ जनाको मृत्यु, ४६ बेपत्ता र ९५ जना घाइते भएका थिए । यस्तै, यस वर्ष जेठ २८ देखि असार ३१ सम्मको करिब १ महिना अवधिमा ३ सय ३७ घटनामा ६१ मृत्यु, ३५ बेपत्ता र ६२ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

तराईमा डुवानको त्रास

नेपालको पहाडमा पहिरो र तराईमा बाढी पछिल्ला केही वर्षयता हरेक वर्ष आउने नियमित प्राकृतिकप्रकोप बनिसकेको छ । सप्तकोशीबाट प्रभावितको समस्या पनि जस्ताको तस्तै छ । दशकौं अघिदेखि नै पटकपटक बाँध फुट्ने क्रम रोकिएको छैन । ठेकेदारको मिलेमतोमा तटबन्धको संरचना नै कमजोर बनाइने गरेको स्थानीय बताउँछन् । हनुमाननगर तर्फका बासिन्दा उच्च जोखिममा छन् । दुई सय बढी परिवार गाउँ नै छाडेर अन्यत्र सरेका छन् । भारतले आफ्नो स्वार्थ अनुकुलका उच्च बाँध बनाउँदा नेपालतर्फ डुवानको जोखिम हिजो पनि थियो र आजपनि जस्ताको तस्तै छ । स्थानीयले नेपाल सरकारले नै भारत सरकारसंग बार्ता गरेर यो समस्या सधैंका लागि समाधान गर्नेुपर्ने बताउँदै आएका छन् । तराईमा आउने बाढी विगतको तुलनामा अझ भयावह बन्दै गएको छ । तर यस वर्ष तराईमा डुबानमा परेर जनको क्षति नभए पनि मनसुनको समय बाँकी नै छ त्यसले ढुक्क भई हाल्ने अवस्था छैन । बर्सेनी बढ्दै गइरहेको वातावरणीय तापक्रमले अतिवृष्टि र अनावृष्टि जस्ता अप्राकृतिक घटनाक्रमलाई सहयोग पुर्याउने गरेको छ । यसैको फलस्वरूप नेपालमा पनि कहिले लामो समय पानी नपर्ने र कहिले छोटो समयमै ठूलो पानी पर्ने घटनामा वृद्धि हुँदै गइराखेको छ । बादल फाट्ने अत्यधिक न्यूनचाप आदि जस्ता घटनाले छोटो समयमा नै ठूलो बर्षा गराएर बाढीपहिरो अनि डुवानको सम्भावनालाई विस्तार गर्दै लगिरहेको छ ।

मेलम्ची आयोजना तहसनहस

मेलम्ची हेलम्वुमा आएको बाढी समेतको लेदोले मेलम्ची खानेपानी आयोजनालाई पनि तहसनहस पारेको छ । लेदो सहितको बाढीले दुई दशक देखिको मेहनतलाई क्षतिबिक्षत बनाएको छ । बाढीले परियोजनाका उपकरण टनेल फिल्टर सामाग्री, निर्माण उपकरणहरू र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बाढीले बगाएको छ भने अधिकांश संरचना पानीले डुबेका छन् । ३५ अर्व लगानीको परियोजना अहिले अस्तव्यस्त छ । मेलम्ची आयोजनाले काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी पुर्याउने लक्ष्य लिएको थियो । लार्के, याङरी खोलाको पानी पनि मेलम्चीमा झारेर ५१ करोड लिटर पानी काठमाडौंलाई दिने तयारी हुँदै थियो । अहिले बाढीले यो परियोजनालाई अन्यौलता तर्फ धकेलेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको संरचनामा क्षति पुगेको जानकारीदिए । खानेपानी आयोजनामा करिब दुई अर्ब बराबरको क्षतिभएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले पहिरोका कारण मेलम्चीमा एक अर्ब ८८ करोड बराबरको क्षति भएको जानकारी दिएका छन् । उनकाअनुसार कतिपय उपकरणको अबस्था के कस्तो अबस्थामा छन् पुनः प्रयोग गर्न सकिने नसकिने समेत यकिन हुन सकेको छैन ।

पूर्वसूचना दिने उपकरणमा क्षति

बर्खा सुरु भएसंगै जल तथा मौसम विज्ञान विभागको सकृयता पनि बढ्छ । नदीमा आउन सक्ने बाढीको पूर्वसूचनाका लागि स्वचालित प्रणाली जडान गरिएका हुन्छन् तर बाढी आएसँगै ती उपकरणमा क्षति पुग्छ र बिग्रन्छन् । विभागका अनुसार, देशभरका १ सय बढी स्वचालित पूर्वसूचना प्रणाली रहेकोमा एकदर्जन बढीमा क्षति पुगेको छ भने जम्मा ९० वटा मात्र सञ्चालनमा रहेका छन् । क्षति पुगेका पूर्वसूचना प्रणालीमा बिभागले मर्मत गरेर संचालनमा ल्याउने तयारी गरेको छ ।

पानीको सतह, बाढीसम्बन्धी पूर्वसूचना प्रणालीले काम गर्न नसक्दा जनधनको क्षति हुने गरेको छ । अत्यधिक बर्षा पछि आएको बाढीका कारण ४ वटा पूर्वसूचना प्रणाली बगाएको र बाँकी बिग्रिएकाले मर्मतको काम भइरहेको बिभागको भनाई छ । विपत व्यवस्थापनविद् डा. सुबोध ढकालका अनुसार बाढी पहिरोजस्ता मनसनुजन्य घटनाबाट हुने धनजनको क्षति कम गर्न पूर्व तयारी र पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्नेछ ।

सुरक्षित कसरी हुने ?

विपद्बारे पूर्वअनुमान गरी सावधानी अपनाउन सके क्षति घटाउन सकिन्छ । यसअघि अनुमानै नगरेका ठाउँमा गएको पहिरोबारे सरकारले अध्ययन थालेको छ । अरू ठाउँमा सुरक्षित रहन पूर्वसूचनासहित तीनै तहको सरकारको समन्वयमा आवश्यक बन्दोबस्त मिलाउन जरुरी छ । जोखिमको पहिचान र अनुमान गर्न स्थानीय आफैंले सक्ने भएकाले त्यस्ता ठाउँमा सकेसम्म नबस्न आफैंले निणर्य लिन सक्नुपर्छ । त्यसका लागि व्यक्ति, परिवार र समुदायले विभिन्न उपाय अपनाउन जरुरी छ । घर बनाउने नाममा सानो टुक्रा जग्गा, खोलाछेउ, बाटो साँघुर्‍याएर व्यक्तिका जग्गा बढाउनुभन्दा कस्तो ठाउँमा बसेका छौं भनेर पहिचान गर्नु जरुरी छ ।

सरकारले हरेक वर्ष हुने बाढी, पहिरो र डुबानबाट हुने समस्या न्यूनीकरणका लागि पूर्वतयारी गर्ने योजना ल्याउन नसक्दा व्यापक क्षति हुँदै आएको स्पष्ट देखिन्छ ।

सरकारको तयारी

विपद् व्यवस्थापनका लागि छुट्ट्याइएको बजेट सिरानी हालेर बस्ने हो भने सरकारको असफलता पक्कै हुन्छ । कानून बनेको वर्षौंपछि करिब डेढ वर्ष भयो विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण बनेको छ । विपद् पूर्वतयारी, पुनर्वास तथा पुनर्निर्माणका सबै कार्य एउटै छातामुनि अर्थात् ‘विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन राष्ट्रिय प्राधिकरण’ बाटै गर्ने गरी ऐन/नियममा भएको व्यवस्था गरिएको छ । कुरा जति गरे पनि मनसुनपूर्व विपद् तयारी राम्रो भइराखेको छैन । पूर्वतयारी राम्रो र उत्कृष्ट नभएपछि विपद्को समयको प्रतिकार्य, खोज, उद्धार र राहत प्रभावकारी हुँदैन ।

विपद्पछि मृत्यु भएकाको शव गन्ने, बाढी तथा पहिरो गएको स्थानको अवलोकन गर्र्ने विषय पूर्वतयारीभित्र पर्दैन । विपद्मा परेर परिवार गुमाएका र वर्षौंदेखिको पुर्खौली थलो छाडेर अन्यत्र सर्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । देशभर विपद् समयमा तीन तहको सरकारबीच प्रभावकारी समन्वय नभएको देखियो ।

गृह मन्त्रालयले सन् २०१८ देखि २०३० सम्मका लागि ‘राष्ट्रिय रणनीतिक कार्ययोजना’ तयार पारेको छ । उक्त रणनीतिक कार्ययोजनामा हाल वार्षिक नौ सयजना विपद्बाट हुने मृत्युको संख्या घटाएर सन् २०३० सम्ममा २ सय २५ जनामा झार्ने र हाल कूल ग्राहस्थ उत्पादनमा विपद्को कारणले हुने दुई प्रतिशत क्षतिलाई सन् २०३० सम्ममा ०.१ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । गृह मन्त्रालयले सबै सरोकारवालासँग छलफल गरी तयार गरिएको सन् २०१८ देखि सन् २०३० सम्मको कार्ययोजनामा उल्लिखित लक्ष्य हासिल गर्न पनि विपद् जाखिम न्यूनीकरण र पूर्वतयारीमा जोड दिन आवश्यक छ । यसका लागि विपद् जोखिम न्यूनीकरणलाई विकासका हरेक पक्षसँग मूल प्रवाहीकरण गर्ने, योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनको चरणसम्ममा विशेष प्राथमिकतामा राखी प्रतिबद्धता, इमानदारी र जवाफदेहिताका साथ सञ्चारमाध्यमबाट आम नागरिक समक्ष विपद्सम्बन्धी जनचेतना फैलाउन जरुरी छ ।

सरकार र सम्बन्धित निकायले पूर्वतयारीअन्तर्गत बैठक र योजना बनाएर मात्र हँुदैन, जोखिमयुक्त बस्तीमा स्थानीय सरकारले नागरिकलाई पूर्वसचेत बनाउनुपर्छ । त्यसो भयो भने क्षति घटाउन सकिन्छ । विपद्को स्थितिमा वा त्यसपछि लगत्तै आपत्कालीन सेवा र सहयोगका कामलाई पनि प्रभावकारी बनाउनुपर्छ । संविधानले जल उत्पन्न प्रकोप नियन्त्रण गर्ने तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्वसूचना, तयारी, उद्धार, राहत, विपद् व्यवस्थापन एवं पुनस्र्थापना गर्ने कार्यलाई केन्द्रीय सरकार, प्रदेश सरकारको साझा अधिकारको सूचीमा राखेको छ ।

सञ्चारको भूमिका

हरेक विपद्मा सञ्चारमाध्यमको भूमिका महत्वपूणर् हुन्छ । पूर्वतयारीदेखि स्थानीय रेडियो प्रयोग गरेर मनसुन सुरु हुनु पहिल्यै जनचेतनामूलक सामग्री रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन तथा प्रसारण गर्न सकिन्छ । हुनत अधिकांश संचारमाध्यमहरूबाट विपद्सम्बन्धी कुनै न कुनै कार्यक्रम तथा सामग्री उत्पादन र प्रसारण, प्रकाशन भइरहेका हुन्छन् । त्यसलाई थप प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले सहकार्य गर्न आवश्यक छ ।

विपद्मा औषधिभन्दा महत्वपूणर् हुन्छ सूचना, तर त्यसतर्फ सरकारको ध्यान गएको देखिँदैन । कस्तो स्थानमा घर बनाउने ? पुरुवा ठाउँ हो कि ? जमिनको बनावट कस्तो छ ? आदि विषयमा जानकारी लिन र दिन सकिन्छ । विपद्मा आफन्त गुमाएकालाई राहतको कुनै अर्थ हुँदैन । बरु यस्ता करोडौं रुपैयाँको लगानी जनचेतनामूलक रूपमा पूर्वतयारीमा गर्नुपर्ने देखिन्छ ।

सरकारको चासो

कोरोना महामारीले आक्रान्त परेको बेला तिनै तहको सरकार मनसुनजन्य विपत्तिको सामना पनि गरिरहेको छ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यसम्पादनलाई तीब्रता दिँदै यसबारे प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षसँग छलफल गरिसकेका छन् । कोरोनाविरुद्धको लडाइँ र विपद् सामना गर्न ३ तहका सरकारबीच समन्वय जरुरी रहेको छ । प्रदेशको भिन्न भौगोलिक संरचना र वर्षाद्को समयमा विपद् जुनसुकै बेलामा आउन सक्ने भएकाले त्यसै अनुसारको तयारी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह र अन्य सबै सरोकारवालाहरू लाग्न जरुरी छ ।

यस्तै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले आवश्यक भौतिक संरचना तथा तटबन्धको काम द्रुतगतिमाअगाडि बढाउने बताए । एउटा, दुईटा तटबन्ध निर्माण गरेर हुँदैन दीर्घकालीन समस्या समाधानका लागि काम गर्दैछौ ंयहाँको अधिकांश बस्तीहरू खोलाका नजिक छन् अर्यालको भनाई हो यो । त्यसैले तटबन्धलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ भन्ने स्थानीयको जोड छ । सरकारले पुर्नस्र्थापनासंगै पुनर्निमाणका कामलाई तीब्र बनाउने आश्वासन स्थानीयलाई दिएको छ । सरकारले पूणर् विस्थापित पीडितलाई अस्थायी आवासका लागि ५० हजार र स्थायी आवास निर्माणका लागि ५ लाख रुपैंयाँ उपलब्ध गराउने जनाएको छ ।

१० वर्षे महाअभियान

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७८ कार्यान्वयनमा ल्याएको छ । साथै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रूत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ । सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यसाथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट सुरु गरेको जनाएको छ ।

शियाली विपद् पूर्वतयारी केन्द्रको सहयोगमा सञ्चालित एशियाली पूर्वतयारी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रले पनि विश्वका विभिन्न देशको अनुभवका आधारमा तयार पारेको आधारभूत मानवीय मापदण्डमा विपद् मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिहरूले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिताको सुधारका लागि विभिन्न ९ वटा प्रतिबद्धतामा जोड दिएको छ । विपद्को समयमा पीडितको मानवअधिकार र मानवीय मूल्यलाई ख्याल गरी यस मापदण्डअनुसार सहायतालाई अझ प्रभावकारी र व्यवस्थित गर्न सकेमा तीनै तहका सरकार, गैरसरकारी संघसंस्था र अन्य सरोकारवाला निकाय जिम्मेवार र उत्तरदायी रहेको पुष्टि हुनेछ ।  -विपद पत्रकरिता सञ्जाल, डिजेएन

Related News

सम्बन्धित समाचार

    • पर्यटनको उच्च सम्भावना बोकेको झुपाङकोट

      वासुदेव तिमिल्सिना असाेज ११, २०७८
      विश्वका अग्ला १० हिमाल मध्ये ८ वटा हिमाल सर्वाेच्च शिखर सगरमाथादेखि विश्वको गहिरो खोंच रहेको देश नेपाल, विश्व पर्यटन जगतमा…
    • गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको मार्गचित्र

      ऋषिराम पाण्डे असाेज ६, २०७८
      १. पृष्ठभूमि देश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कार्यरत कर्मचारीको क्षमता विकास, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा…
    • संस्कार नै खराब भएपछि राजनीतिमा वृद्ध आऊन् कि युवा ?

      दीपेन्द्रकुमार बिसी ‘दिपु’ भाद्र २७, २०७८
      नेपालको राजनीतिमा युवाको नेतृत्व र हस्तक्षेपको सवाल आज भर्खरको आलोकाँचो सवाल होइन । यो त केही वर्ष अगाडिदेखि उठदै आएको…
    • भर्जिन कर्णाली

      के.वी. मसाल भाद्र २६, २०७८
      मौसम परिवर्तन भएको छ । नेपालीहरुले घुमफिर गर्न रुचाउने मुख्य समय असोजबाट सुरु हुन्छ किनकि यो बेला मौसम पनि अनुकूल…
    • खस साम्राज्यको इतिहासः सूक्ष्म सिंहावलोकन

      भीमलाल लामिछाने भाद्र २१, २०७८
      प्रा.डा. सूर्यमणि अधिकारीद्वारा आफ्नो विद्यावारिधि शोध कार्यको लागि लेखिएको भुँडीपुराण प्रकाशनद्वारा २०६१ सालमा प्रकाशित २४४ पृष्ठको ‘खस साम्राज्यको इतिहास’ नामक…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads