पिल्सिएको प्रवासी जीवन

युवराज खनाल
असाेज २५, २०७७

विश्वभर आज गैर आवासीय नेपाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक वर्षको असोज २५ गतेका दिन यो दिवस मनाउने गरिन्छ ।

एनआरएन एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरिक अटाउन सक्ने गैर–आवासीय नेपाली हरूको अन्तर्राष्ट्रिय सञ्जाल हो ।

नेपाली पासपोर्ट बोकेर ६ महिना या बढी समयका लागि रोजगारी, बसाइसराइ या शिक्षाका सन्दर्भमा अन्य देशमा बसोबास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ ।

नेपालको मात्र उन्नति नभइ नेपाल बाहिरका नेपालीको पनि प्रशिद्धि बढ्न सक्ने र जन्मभूमिको विकासका लागि सबैले यथासक्य सहयोग गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ स्थापना भएको हो ।

अनेकौ सपना बोकेर प्रदेश गएका नेपालीको किन दुःखकै भूमरीमा अल्झिएको छ प्रदेशी जीवन ! हुन त सबैलाई दुःख मात्र छैन प्रदेशमै सुखी जीवन पनि बिताएका छन् त्यो त भाग्यमै लिएर आउनु पर्ने होला ! आखिर को नै खुशी होला र आफ्नो जन्मभूमि, मातापिता, परिवार छोडेर यो प्रदेशमा ? तर यो प्रदेशमा एक्लै हुँदा पनि खुशीकै अनुभव गर्नुपर्दो रहेछ ।

जब उमेरले १६ वर्ष बनाउँछ धेरै जसो व्यक्तिहरु जिल्ला प्रशासनतिर धाइरहेका देखिन्छन् कसैले सोध्यो भने सबैको उत्तर यही हुन्छ– पासपोर्ट बनाउन जाँदैछु र परदेश जाने विचारमा छु । कोही हेर्दा भर्खर आमाको दूध खान छोडेको त कोही पारिवारिक बन्दले परिपक्व जस्तो पनि देखिन्छ तर के गर्नु ? उसको परिस्थिति उसैलाई थाहा छ । जब पासपोर्ट बनाएर ऊ फर्कन्छ बाटोमा दलालीको लाइन लागेको हुन्छ– कहाँ जाने विचार छ भाइबहिनी दुबई, मलेसिया, कतार त्यो विचराले छिटो जहाँ हुन्छ उतै जान्छु भन्न्छ किनकि उस्को दैनिकी अति नै पीडादायी छ ।

यहाँ कुरा नमिल्ला जस्तो भयो फेरि राजधानी काठमाण्डौ जान्छ । एक मेनपावरमा गएर आफ्नो पासपोर्ट दिन्छ । दिन गन्दा–गन्दा उस्ले ऋण काढेर लिएको पैसाको ब्याजले पनि चिन्तित बनाउँछ, बल्ल–बल्ल भिसा आएछ बाबा, आमा र आफ्नो परिवारसँग धेरै पैसा कमाएर भोलिको दिन सुखमय बनाउने आशा र उमङ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखिको हवाइजहाजमा चढेर आफ्नो साहूको कम्पनीमा पुग्छ । बाख्राको खोरमा जस्तै कोचेर एउटा कोठा दिन्छ भोलिदेखि काम गर्न आउनु भन्ने आदेश पाउँछ त्यो आदेशले ऊ एकदम खुशी हुन्छ किनकि भोलिदेखि त विदेशी पैसा कमाउने भएँ म त, तेही कुरा रातभर खेलिरहन्छ कहाँको निन्द्रा लाग्नु ? बिहान हुन्छ ऊ पनि आफ्नो नोकरीतिर जान्छ उस्लाई काम देखाएछ जसोतसो काम गरेर महिना पूरा हुना साथ तलब पनि पाएछ । अनि सोचेछ अब यो पैसाले मैले खानाको तिरौ कि घरमा पठाउँ ? किनकि उस्लाई धेरै पैसाको लोभ देखाएर त्यो ओभर्सिजले पठाएको थियो तर आफूले भने जतिको लगानी गरेर आए पनि भनेअनुसार तलब पाउन सकेन फेरि एक मनले सोच्दै बचेँको पैसा घरमा पठाउँछ विचरा घरमा त्यो पैसा घर चलाऊने कि साहूको ऋण तिर्ने जस्तो हुन्छ, परदेशीले पनि के नै गर्न सक्छ मन पोल्छ रुन मन लाग्छ, त्यो परदेशमा रोए पनि कराए पनि आफ्नो नोकरी गर्नै पर्छ बिरामी हुँदा पनि सञ्चै छु भनेर घरमा खबर गर्नुपर्छ । घरदेखि काम कस्तो छ बाबु भन्दा पनि मुटुमाथि ढुङ्गा राखेर एकदम सजिलो छ पहिला त अलि दुःख थियो आजकल सजिलो छ पैसा पनि बढाएको छ– कठै ! कसलाई थाहा छ र ? त्यो प्रदेशीले एकछाक खाएर पैसा बचाएको, बिरामी हुँदा रुमालले टाउको बांधेर सञ्चै छु भनेको ! बिहान उठ्यो हात मुख धोयो छिटो–छिटो खाना तयार गर्‍यो अनि पोको पारेरसँगै लाग्यो दिनको १–२ बजे तिर तेही चिसो भएको खानालाई आमाले पस्केर दिँदै गरेको खाना भनी क्वाप कुप खायो फेरि चिसै हातसँग नोकरी गर्‍यो राती आउँदा कोही सुतिसकेका हुन्छ कोही खाना बनाउँदै कोही खाँदै हुन्छन् त्यो देख्दा लाग्छ मलाई पनि तेसैले खान बोलाए हुन्थियो नि, यस्तो थाकेको शरीरले आज त खाना बनाउन नपरे पनि हुने थियो नि, तर सबै आँफै जस्ता कहाँ हुन्छन् र सोध्दा पनि सोध्दैनन् फेरि आफ्नै भाग्यलाई धिक्कार्दै चुलो जलाउनु पर्छ हरे शिव ! मन मनै भन्न मन लाग्छ ।

उता घरमा त्यसमाथि यति महिना भयो यो महिनाको पैसा कता लाग्यो ? उता प्रदेशी सधैं एक्लै बन्छ सबै साथीहरु फेसबुक चलाएर मस्त रमाएका देख्छ उस्को मनमा पनि मैले पनि किन्नु पर्छ, अब त कति मर्नु एक्लै ? जे त पर्ला यो महिनाको तलब आउन साथ किन्छु र किन्छ पनि किन्ने साथ घरदेखि फोन आउँछ— हेल्लो बाबु र छोरी घरमा इमर्जेन्सी छ पैसा पठाऊ है फोन काटिन्छ, प्रदेशीलाई फेरि अर्को टेन्सन — न त त्यो फेसबुक चलाऊने टाउको बिक्छ, न त कसैले पैसा दिन्छ यस्तो सानो तलबवालालाई ? विचरा घरमा पैसा छैन भन्न पनि सक्दैन र छ भन्नु त कसरी ? फोनमा कुरा गर्न पनि सकेन अनि मोबाइलको सहाराबाट एक म्यासेज गर्छ म्यासेज यस्तो थियो— आमा र श्रीमान् मलाई माफ गर्नु होला मैले यसपालि एउटा मोबाइल किन्छु, नेपालबाट ल्याएको मोबाइल पुरानो भयो ! अफ हुने गर्छ, फोनमा कुरा गर्दा धेरै पैसा लाग्ने भएकोले नयाँ फोनमा स्काइप, इमो, भाइब्रर, लाइन अनि इमेल जस्ले मलाई दैनिक जीवनयापनमा सहज हुन्छ ! तेसैले यो पालि पैसा पठाउन सकिन, यो म्यासेज पाउन साथ घरमा पनि झन् टेन्सन हुन्छ त्यो टाउको अर्को महिनामा किनेको भए पनि त हुने थियो नि अब के गर्नु ?

नयाँ मोबाइल किन्ने सपना पनि सपनामा मात्र रह्यो जब संसार भर कोरोनाको माहामारी फैलियो भएको जागिर पनि गयो, आफूसँग भएको पैसा पनि नेपाल पठाइयो, अहिले दिन रात गुजार्न विदेशमा कति गाह्रो होला, साहूको ऋण अनि परिवारको सम्झदा मुटु भतभत पोलेर आउँछ ! आखामा आँसु छ ! परिवारलाई मेरो चिन्ता होइन साहूको पैसाको चिन्ता छ ! कोठाभाडा र बिहान बेलुकीको छाक टार्नसँग पीडा छ ! नेपाल जाउ साहूको रिन जिउका तिउ, परदेशमा बेखर्ची बन्नु परेको छ् !

सबै देशमा ग्रैह आवासीय संस्थाहरु भए पनि तिनीहरु कुनै न कुनै नेपालका राजनीतिक पार्टीको भातृ सस्थाका रुपमा देखिन्छन् । अब उनीहरु राजनीतिक दलदलबाट माथि उठन आवश्यक छ । हुने खाने र चर्को बोल्नेहरुको कुरामात्र सुनिदा सोझा–साझाको वेहाल छ । अहिले त झन् कोरोनोबाट प्रताडित कयौं नेपाली विचल्लीमा छन् । तिनीहरुका समस्यालाई सम्बोधन गर्न सकियो भने मात्र गैर आवासीय दिवस मनाएको सार्थक हुने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width