Worldlink ads

विदेशमुखी वर्तमान र नेपालको दुर्दशा

जीवन बराल सङ्घर्ष
मंसिर १३, २०७८

झण्डै २५० वर्षको विरासत रहेको राजपरिवार । जुन समय पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका थिए । जुन समय बाइसे, चौबिसे राज्य डाँडाकाँडाजस्तै थिए । त्यी राज्यमा कतै खस जातिले शासन गरेका थिए । कतै पाण्डे, खड्का क्षत्री त कतै शेर्पा, गुरुङ, घले, मगर, नेवार, मल्ल, राइ, लिम्बुले । ती राज्यका आ-आफ्नै धर्म, संस्कार, संस्कृति र पहिचान थिए । शाहले भूगोल एकीकरण गरे पनि राज्यको पहिचान मेटाएका थिएनन् किनकि पहिचान रहेन भने राष्ट्र कमजोर हुन्छ । जनता कमजोर हुन्छन् भन्ने उनले रामरी बुझेका थिए ।
इतिहास पढ्न पाइन्छ, पृथ्वीनारायण शाहले प्रजालाई सबैले आफ्नो कुल धर्म नछोड्नु भनेकाले सोहीअनुरुप उनको त्यो भनाइ सबैले शिरोपर गरेको पाइन्छ । त्यही समयमा पश्चिमा साम्राज्यवादी र बिस्तारवादीहरू कमजोर अवस्थाका स्वतन्त्र राष्ट्रलाई आफ्नो राज्यमा बिलय गराउँदै अघि बढ्दै थिए । जसका लागि उनीहरुले दुई नीति लिन्थे । जसमा पहिलो युद्धबाट पराजित गर्नु, दोस्रो नियोजित व्यापारिक प्रयोजन । त्यसैका माध्यमबाट देशलाई सिध्याउने । सोही दोस्रो नीतिअनुसार भारत विदेशीको कब्जामा थियो । समयको कालक्रममा अशोक सम्राटको सहयोगमा चाणक्यले सिकन्दरसहित सम्पूर्ण दलबललाई भारतबाट एकपटक लखेटे । विडम्बना व्यापारिक कुटनीतिका माध्यमबाट पुनः भारतले पुरानै नियति भोग्न परेको पृथ्वीनारायण शाहले बुझेका थिए । त्यसैले गोर्खा राज्यको अस्तित्व बचाउन एकीकरण अनिवार्य ठाने । उनले भोलिको पुस्ताले नेपाल एकीकरण गर्ने छ भनेको भए आज नेपाल, नेपाल भएर नरहने र हामी नेपाली भएर जन्मन नपाउने पक्का रहेछ भन्ने कुरा आजका राजनेता भनिएकाहरुको व्यवहारबाट प्रष्ट भएको छ ।
आजका राजनेताले यो बुझ्न आवश्यक छ, पृथ्वीनारायण शाह कहिल्यै राजा भएर आनन्दले राजगद्दीमा बसेनन् । उनी त छिन्नभिन्न राज्यका जनतालाई एक बनाई शक्तिशाली र आधुनिक हतियारधारी दुश्मनसँग गुलेली, मट्याङ्ग्रा, घुयँत्रो, भाला र खुकुरीको भरमा लडेर विजय हासिल गरेका थिए । जुन चानेचुने कुरा थिएन । त्यसमा पनि सबै धर्म मान्ने सबै जातजाति, लिंग र वर्गबाट युद्धमा साथ पाउनु एकादेशको कथा थिएन । उनको दूरदर्शीताकै उपज विदेशीको कुटनीतिलाई असफल पारेका थिए । यसैले उनका दिव्य उपदेश हाम्रा कानमा गुञ्जिइरहेका छन् ।
पश्चिमाहरुले नेपाल र नेपालीको पहिचान सनातन धर्म र नेपालीको एकता नभत्काउँदासम्म सफलता हात लाग्दैन भन्ने लागेर उनीहरु सियो बनेर नेपाल छिरेका थिए । जसलाई राजसंस्थाले मुसल बन्न दिएन । त्यसैले ती दुश्मनले सदा नेपाल र नेपालीलाई घोचिरहे, शान्तसँग बाँच्न दिएनन् । विदेशीले चाहेजस्तो राइँदाइँ गर्न राजसंस्था अवरोध बनेर भुटानीकरण र सिक्किमीकरण हुनबाट रोकेपछि राजसंस्था माथि प्रहार हुन पुग्यो । अन्ततः राजपरिवारको वंशनाश भयो ।

विदेशीको योजनामा नेपालमा राजसंस्था घाँडो सम्झन पुगेका बेइमानीले त्यो हत्या भाइ ज्ञानेन्द्रको परिवारलाई थुपार्न पुगे । जसको उद्देश्य जनतालाई राजा र राजसंस्थाप्रति वितृष्णा जगाउनु थियो । सोहीअनुरुप राजसंस्थाको विरोधमा स्वर चर्को बनाउन लगाउनु, जनयुद्धका नाममा केही वर्ष वर्गीय युद्ध भने पनि त्यो युद्ध जाति र धर्मसँग सम्बन्धित रहे । विदेशीकै इच्छाशक्ति अनुरुप मन्दिर भत्काउने, जनै काट्ने, सँगै पढेका सहपाठी वाचनशिरोमणि नारायण पोखरेलको हत्या, १२ बुँदे सम्झौता यी सबै विदेशीका स्वार्थमा भएका काम मान्न सकिन्छ । नेपालमा जति आन्दोलन र घटना परिघटना भए ती सबैमा अमेरिकी तथा भारतीय रअका संयुक्त मिसन रहेको बुझ्न सकिन्छ । जसको परिणाम १२ बुँदेको मर्म विपरीत राजा ज्ञानेन्द्रको बहिर्गमन, धर्म निरपेक्षता रहे । त्यसको पुष्टि भारतीय विदेशमन्त्री करणसिंहको पटक–पटकको राजा र प्रधानसेनापतिलाई दबाब दिनु रहेका थिए । समयको कालक्रममा आज देशमा संघीयता र गणतन्त्र गनाइरहेको छ । जसमा युरोपियन युनियनको अरबौं लगानी प्रष्ट छ । किनकि, विश्वका कैंयौं मुलुक २७-२८ प्रतिशत इसाई धर्म मान्नेहरुको देश इसाई राष्ट्र बनेका छन्, नेपालमा झण्डै ९० प्रतिशत सनातन ओमकार परिवार रहेर पनि धर्म निरपेक्ष राष्ट्र बनेको छ । यस्ता धेरै सन्दर्भ छन् । जसका कारण राष्ट्रियता नै धरापमा परिरहेको छ । जसलाई निम्न उपशीर्षकमा चर्चा गर्न सकिन्छ :

विदेशमुखी गणतन्त्र र संविधान

२०६२/६३ को जनआन्दोलन र १२ बुँदे दिल्ली सम्झौताको बलमा स्थापना भएको गणतन्त्र भनियो । संविधान बन्यो तर सत्य त्यो न भएको प्रष्ट हुन्छ । किनकि, जनताको अभिमत लिन गाउँ गाउँ पुगेका सभासद्ले संकलन गरेका सुझाव नै हराएका थिए । त्यसरी हराउनुमा नेपालका माउ पार्टी भन्नेहरु नै विदेशीको हालीमुहालीमा रमाइरहेका थिए । अन्यथा जनताले हिन्दु राष्ट्र हटाउने र राजसंस्था फाल्ने राय बहुमतले दिएकै थिएनन् । ६०१ को बलमा जनताको मतको अवमूल्यन गरियो । संविधान नै संघीयता धर्मनिरपेक्ष र गणतन्त्रात्मक व्यवस्थालाई कमजोर बनाउन आयातित थियो । सोही अनुरुप देशमा राम रमिता चलिरहेको छ । नेपाली दिदीबहिनी र बालबालिकाको अस्मिता जोगाउन सकिएको छैन । नेपाली विदेश गएर दास बन्नु पर्नेमा कमी आएन, जनताको दैनिकी, आयस्रोत, व्यापार व्यवसाय फस्टाउन सकेन । बरु भयो त के प्रगति भने, जनता असुरक्षित्, बलात्कारको घटना वृद्धि, नेताहरु नै तस्कर, लुट, भ्रस्टाचार, हत्या हिंसामा लाग्न थाले । नेता, पार्टी, सरकार र सत्तामा माफियाको जालो मौलायो । नेताहरु कुकुर बिरालोको झगडामा हराउन थाले । सिंहदरबार गाउँ–गाउँ पुगे पनि नेपालीको एकता र नेपाली मन भाँडियो । निर्मला हत्याकाण्ड, ३३ किलो सुन बेपत्ता, रातो चन्दन, लाउडा, वाइडबढी, ओम्नी, यति होल्डिंग, बालुवाटार जग्गा काण्ड जस्ता अनगिन्ती उपहार जनताले पाएँ । त्यसैले यो विदेशी गणतन्त्र र संविधानले देश र जनतालाई के दियो नेपाली जनताले खोज्नुपर्ने भएको छ ?

विदेशमुखी नेपाली राजनीति र नेता

यतिबेला नेपालको राजनीति गलत बाटोबाट अगाडि बढिरहेको छ । यसको मुख्य कारण पार्टीभित्र विदेशी बिचौलियाको राज रहनु हो विदेशी प्रभुहरूले पटकपटक पार्टी बनाऊ, पार्टी फुटाऊ, नेता बनाऊ, मन्त्री बनाऊ, हटाऊ रिमोर्ट चलाइरहेका छन् । यसैले नेपालको राजनीति विदेशी नेता र माफियाको साम, दाम, दण्ड, भेदको जालोमा घुमिरहेको छ । परमादेशबाट प्रधानमन्त्री बन्नु, दुई–दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्री बन्नु, हारेका नेता चोर बाटोबाट संसद छिर्नु र मन्त्री पद पाउनु, टोले गुण्डालाई पार्टीका कार्यकर्ता, नेता र मन्त्री बनाइनु यसका ज्वलन्त उदाहरण हुन् । कार्यकारी प्रधानमन्त्री, मन्त्री र शीर्ष नेता भन्नेहरुका ओछ्यानसम्म विदेशी गुप्तचर विभाग प्रमुख पुग्नु र देशका कार्यपालिका व्यवस्थापिका न्यायपालिका ध्वस्तु हुनुले त्यही जनाउँछ । अब बाँकी रहेका नेपाली सेनालाई ध्वस्त बनाउन साँठगाँठ गरिरहेको देखिन्छ ।
जनतालाई हिजोसम्म न्यायपालिकाप्रति विश्वास थियो । नागरिकता, चुरे दोहन, बहुराष्ट्रिय कम्पनीका खेलाडीलाई सत्ताच्युतका केही फैसला देश र जनताका पक्षमा थिए । अब चोलेन्द्र शम्शेर जबराले राजीनामा दिए, नदिए पनि कुनै फरक छैन किनकि विदेशी डिजाइनमा न्यायालयमाथि प्रहार भइरहेको छ । अब आउने प्रधानन्यायाधीश चोलेन्द्रभन्दा खराब, पार्टीको झोले र विदेशीको गुलामी आउने पक्का छ । उनीहरुकै डिजाइनमा सबै सरकारी निकाय काम गर्न नसक्ने बनाएर विघटनतिर लैजाने देखिन्छ । अबको प्रहार केही मात्रामा बचेको नेपाली सेनामाथि हुने निश्चित छ । नेपाली सेनाभित्र विदेशी गुप्तचर घुसिसकेका छन् । जसले सेनालाई देश र जनताबाट कटाउने कोसिस गरिरहेका छन् । अब नेपाली सेनाले यो बुझ्न आवश्यक छ, सेनाको संगठनले देशलाई बचाओस् । राज्यका सबै निकायलाई विघटनतिर लाने, देशलाई असफल राष्ट्र घोषणा गर्ने, युएन सेना भिœयाउने योजना रहेको बुझ्न सकिन्छ । एमसिसी पास गरे पनि फिर्ता गरे पनि विदेशी योजना नेपाल बिसर्जनतिर लाने, देशभित्र युद्द गराउने नै रहेको छ ।

विदेशीले चाहेजस्तो राइँदाइँ गर्न राजसंस्था अवरोध बनेर भुटानीकरण र सिक्किमीकरण हुनबाट रोकेपछि राजसंस्थामाथि प्रहार हुन पुग्यो

जनतालाई सेवा सुविधा दिने निकायमा पार्टीका झोले कार्यकर्ता बस्दा जनताले निष्पक्षताको आशा गर्नु मुर्खताबाहेक केही हुन सकेको छैन । देशको अर्थतन्त्र असफलताको बाटोमा छ । अमेरिकी राजदूतलगायत एमसीसी उपाध्यक्ष नेताका कोठाकोठामा पुग्नुमा नेताको लम्पसारवाद प्रष्ट हुन्छ । नेपाली नेतामा लेन्डुप दोर्जे प्रविधिको विकास हुनु नेपाल सिध्याउने बाटो हो । अहिले भारत, अमेरिका र युरोपियन युनियन नेपाललाई सिध्याउने मिसनमा एक छन् । इन्दिरा गान्धीले सिक्किम निले जस्तै निल्ने भारतको योजना पूरा हुन नसकेपछि करोडौं भारतीयलाई नागरिकता दिलाएर नेपाली बनाउनमा तल्लीन छ । युरोपियनहरु देशको धर्म, संस्कृति सिध्याउने, अमेरिकालाई नेपाल छिराएर चीनलाई काउन्टर दिने, नेपालका बहुमूल्य खनिज पदार्थमा एकाधिकार जमाउने ध्यानमा छन् । त्यसैले प्रत्येक सचेत नेपालीले देशका बारेमा चिन्ता गर्नु आजको आवश्यकता हो ।
संसदबाट एमसिसी पास गराउन रोइलो गर्ने, देशभित्रको खरबौं रुपैयाँको भ्रष्टाचार रकम नदेख्नुका पछाडि सबै विदेशीको चलखेल रहेको प्रष्ट हुन्छ । सीमित भूगोल र जनसंख्या भएको हाम्रो जस्तो देशमा संघीयताले देश झन् खोक्रो भइरहेको छ । हजारौ संसद मन्त्री र तिनका आसेपासेलाई पाल्नु, पहिलो बैठकमै सांसद मन्त्रीका सेवासुविधामा बजेट विनियोजन गर्नु, पार्टीका भर्ती केन्द्र खोल्नु देशको ८० प्रतिशत बजेट सांसद, कर्मचारी पाल्दैमा सक्ने अनि समृद्धिको नारा लगाउनु जस्तो पाखण्ड अरु केही हुँदैन ।

नेपालमा पार्टी राजनीति चलाउन विदेशमा पार्टी जन्मेर नेपालमा दर्ता हुन्छन् । त्यसका पछाडि ती सबै तिनैको लगानी र इसारामा विदेशी मिसेनरी परिपाटीमा अगाडि बढ्दै जान्छन् । सडक दुर्घटना हुँदा राष्ट्रघात देख्छन् । एमसिसीमा राष्ट्रवाद देख्छन् । अफगानिस्थानबाट २० वर्षपछि अमेरिका फर्केको बिर्सन्छन् । राष्ट्रको ढुकुटीमा मनपरी गर्छन्, विदेशीको अनुदानमा ¥याल काढ्छन् । सांसद, मन्त्री हुँदा चार–पाँच वटासम्म गाडी सुविधा लिन्छन् । आसेपासेलाई भर्ती गर्दछन् । पार्टीलाई एनजिओ, आइएनजीको सरह उनैले चलाएकाले आज नेपालका राजनीतिक पार्टी नेपाली पार्टीजस्ता भएका छैनन् । नेपाली जनतालाई भुलभुलैयामा पारेर राष्ट्रियताको कुरा गर्न लगाउँछन् । देशको सीमा मिचिएको निष्कर्ष निकाल्छन् । नक्सा बनाउँछन् पाठ्यक्रममा राख्न सक्दैनन् । छिमेकी राष्ट्रले मिचेको हजारौं वर्ग किलोमिटर नेपाली भूभागका बारेमा बोल्न सक्दैनन् । विभिन्न बहाना बनाएर जनता अल्मल्याउँदै पश्चिमाको रजगजमा रमाउन खोजिरहेका छन् ।
संघीयतामा बनेका विभिन्न सरकारमा अहिले रामरमिता छ । दुई तीन महिनामा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, राजदूत फेरिइरहेका छन् । पालोपालो उनीहरुले आफ्नो सात पुस्ता सपारिरहेका छन् । नेपाल र नेपालीको भाग्यका कालो धब्बा लगाइरहेका छन् । नेपालका राष्ट्रवादी नेपालीले चिन्दैनन् विदेशीले पत्ता लगाउँछन् र ती स्वाभिमानी नेपालीलाई कि मारेका छन्, कि मर्न बाध्य पारेका छन् । न्यायालयमा हस्तक्षेप गरेर सर्वोच्चमा लडाइ गराएर आफ्नालाई चोख्याउन खोजिरहेका छन् ।

विदेशमुखी स्वस्थ्यसेवा

जनता सिटामोल नपाएर छटपटीमा छन् । नेताहरु तिनै जनताको रगत पसिनाबाट सिञ्चित करमा राइँदाइँ गर्दै विदेश धाएका छन्, उपचारका नाममा अरबौं सकेको छन् । जनतालाई राहतका नाममा अगाडि सारेको स्वास्थ्य बिमाबाट बिमाको कागज पाउँछन्, अनलाइनमा सेवा र सुविधाको लामो लिष्ट भेटाउँछन् । बल्लबल्ल अस्पतालमा उपचार पाए औषधी पाउँदैनन् । सिंहदरबारमा रहेको एकमात्र सरकारी वैद्यखाना अन्तिम संघर्षमा बाँचेको छ । त्यसको संरक्षणमा ध्यान छैन, विदेशी औषधी निर्यातलाई सहजीकरण गरिरहेका छन् । जनतालाई निशुल्क स्वास्थ्य सेवा दिनुपर्ने राज्यको कर्तव्यमा नेताको विवेक पुगेको छैन ।

विदेशमुखी शिक्षा

नेपाली माटो सुहाउँदो नेपालीपन, नेपाली मन र नेपाली संस्कारसहितको वैज्ञानिक शिक्षा प्रणाली विस्थापित भइसकेको अवस्था छ । ऋषिमुनिले प्रतिपादन गरेका वेद पुराण जो विज्ञान सम्बद्ध, समाज र समाजवादसँग जोडिएका सन्दर्भको सम्मान छैन । नेपालको समाजवाद छोडेर हामी विदेशीको साम्राज्यवादतर्फ आकर्षित छौं । संस्कृत र नैतिक शिक्षालाई विस्तापित गरेर नैतिक हरामहरु जन्माइरहेका छौं । संस्कार मासिरहेका छौं । विदेशी शिक्षालाई मूल बनाएर गर्व गरिरहेका छौं ।
निःशुल्क शिक्षा दिनु राज्यको दायित्व हो तर सरकारी विद्यालय पार्टीका कार्यालय जस्ता बनाएर दिनप्रतिदिन निजी क्षेत्रका विद्यालयको संख्या बढाइएको छ । किताबको भारीले किचिएर छोराछोरीले नेपाली संस्कार सिक्न पाएका छैनन् । नैतिकताको गन्ध सुँघ्न पाएका छैनन् । नेताको छोराछोरीले पढ्न लायक विद्यालय यहाँ नभएर होला उनीहरु विदेश जान्छन् । जुन शिक्षाले न उनीहरुले नेपाल र नेपालको भूगोल चिन्छन्, न नेपालको माटो, माटोमा फल्ने–फुल्ने अन्न र फलफूल नै चिन्छन् । यहाँका नदीनाला, झरना, खोला, जडीबुटी, हिमाल, पहाड, तराई, चिनाउँदैनन् र हाम्रा पुर्खाको गौरवलाई सम्मान दिन सिकाउँदैन । योमात्र कहाँ न नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह, न द्रव्य शाह नरभूपाल शाह, राम शाह न भक्ति थापा, अमरसिंह, भानुभक्त, जनक, जानकी, सीता, मानदेव, लक्ष्मीप्रसाद देवकोटा चिनाउँछन् तापनि उनीहरु नेपालमा जन्मेर नेपाल चिन्न चाहन्नन् । विदेशीको गुलामी बन्न रुचाउँछन्, घरको चौतारीको रुख काटेर क्रिसमस ट्री मा रमाउन चाहन्छन् ।

विदेशमुखी संस्कार, संस्कृति

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सबैलाई आफ्ना कुल धर्ममा रहन भनेका थिए । जसलाई देशको गहना सम्झेर रक्षा गरेका थिए । आज सनातन संस्कारमा देश चलाउन नसक्नुका पछाडि विदेशमुखी धर्म, संस्कार र संस्कृतिको प्रभाव देखिन्छ । सनातन संस्कारसँग राष्ट्र र राष्ट्रियता जोडिएको हुन्छ । जब राज्यले त्यसको संरक्षण गर्दैन तब उसमा नैतिकता हुँदैन, जब नैतिकता हराउँछ तब ऊ कुकर्मका पछि लाग्छ । अहिले नेपालमा त्यही भइरहेको छ ।
नेपालको धर्म, संस्कार र संस्कृति नेपालको माटो सुहाउँदो भएकाले हाम्रो एकतालाई बाँधेर राखेको थियो । त्यसैले आजसम्म देश सग्लो नेपाल थियो । तर आज देश सिध्याउने योजनाधारीले सनातन धर्ममाथि प्रहार गर्दै नेपाली एकतालाई खलबल पु¥याइरहेका छन् । कहिले गाईको पिसाब मुखमा, दूध नदीमा, मन्दिरमा भनेर खिल्ली उडाइरहेका छन् । स्वस्थानीका पाना च्यात्नुपर्छ भनिरहेका छन्, टपरे बाहुनका जनै काट्नु पर्छ भरिहेका छन् । जसको तात्पर्य जनतालाई कसरी विभाजित गर्न सकिन्छ भन्ने चलखेल नै हो । सोही कारण कहिले धर्मको नाममा, कहिले जात, भाषा, भूगोल, वर्णविन्यास, एम्बोस्ड नम्बरका नाममा चलखेल गरिरहेका छन् । त्यसैको परिणाम ९० प्रतिशत सनातन धर्म संस्कार संस्कृति अपनाउने नेपालीका माझमा ७ हजार हाराहारीमा मठ, मन्दिर र १४ हजार हाराहारीमा चर्च निर्माण भइसकेका छन् । झोलामा बाइबल र बोलीमा देशभक्तिको गाथा गाइरहेका छन् । यसैले विदेशीको इसारामा संस्कृत बढाउने शिक्षक, पण्डित मार्ने, विद्यालय फोर्ने, बन्द गराउने, मन्दिर भत्काउने, गुठीको विरोध, मौलिक पर्वका बिदा कटौटी गर्ने, राजाहरुका सालिक फोर्ने÷फुटाल्ने जस्ता कर्म मौलाइरहेका छन् ।

निचोड

विदेशीको भलाइ र नेपालीलाई तहसनहस बनाउने योजनालाई सहयोग पु¥याउन पालिएका र बाँचेका वर्तमानका नेताबाट नेपालको राष्ट्रियता जोगिन । यी सबै विदेशीका दास बनेका छन् । जब देश नजोगिने ठाउँमा आइपुगेको छ भने नेपाली जनता सुरक्षित हुँदैनन् । दिन प्रतिदिन भारतीय सीमामा नेपाली जनताले विभिन्न दुख झेल्नुपर्ने, ठगिनु पर्ने, तुइन काटिएर मर्नुपर्ने, लगाएको अन्नबाली लुटाउनु पर्ने, गोलीको सिकार बन्नुपर्ने नेपालीको नियती बनेको छ । यसको विरोधमा प्रतिवाद गर्नुपर्ने नेता र सरकारले आफ्नो भूमिमा जनगणना गर्नसमेत अर्को देशलाई सोध्नुपर्ने बताउँछ । यो सब विदेशी प्रभुको मानसिकताको पाखण्डपन हो । हामी तिनै विदेशीको योजनामा घुमेका छौं । यति हुँदा पनि यिनको नियत बुझ्न नसकेको बहाना गरिन्छ भने राष्ट्र र राष्ट्रियता रहन्न । अब हामीले गल्ती दोहोर्‍याउने काम गर्नु हुँदैन । विदेशीका योजनामा वर्षौको प्रयासबाट नेपालमा रहेको बलियो शक्ति राजसंस्था ढालियो तर ज्ञानेन्द्र राजगद्दीविहीन भए पनि राजसंस्था मरेको छैन । अब विदेशीको योजनालाई काउन्टर दिने शक्ति भनेकै राजसंस्था देखिएको छ । यसैले राष्ट्रियताका मुद्दामा तत्काल सच्चा रास्ट्रवादी पार्टी, सामाजिक अभियन्ता र सम्पूर्ण जनता एक भएर उभिन आवश्यक छ ।
विदेशीको छत्रछायाबाट केही भए पनि आजसम्म स्वतन्त्र रहेको नेपाली सेनाले राष्ट्रवादी मोर्चालाई साथ र समर्थन दिएर देश बचाउने अन्तिम घडी आएको छ । यो बेला हामी जाति–जातिका नाममा विषवमन गर्ने, धर्मको नाममा घृणा फैलाउने होइन । आज देश नै इतिहासकै कठिन मोडमा उभिएको अवस्थामा नेपालीको पहिचानसहित नेपाल बचाउने जिम्मा राष्ट्रभक्त नेपालीको काधमा आएको छ । यसैले नेपाल आमाको आँसु पुछ्न हामी अगाडि बढ्नै पर्छ । जय मातृभूमि !

Related News

सम्बन्धित समाचार

    • खोप अभियान तीव्र पार

      आदर्श समाज सम्वाददाता पौष २२, २०७८
      स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा खोपको अभियान स्थगित गरेकोमा मानिसहरु आश्चर्य चकित भएका छन् । सरकारले…
    • बधाई र शुभकामना ! लिङ्देनजी

      दिनेश बस्नेत पौष ११, २०७८
      राजेन्द्र लिङ्देनको जीतले युवाहरुमा केही आशा र सम्भावनाको छनक छाएको छ । नेपाली जनमानसमा वितृष्णामुखी बन्दै गएको राजनीति, खोके बूढाहरुले…
    • चापाकोटका घुम्नैपर्ने केही पर्यटकीय स्थलहरु

      आदर्श समाज सम्वाददाता पौष ६, २०७८
      बढ्दो सहरीकरण, आधुनिकता, सूचना प्रविधिमा पहुँच तथा आर्थिक क्षमतामा भएको विकासलगायत कारणले केही वर्ष यता नेपालीहरुमामा पनि घुम्न जाने संस्कृति…
    • निजी स्वास्थ्य संस्थामा काम नगर्ने डाक्टर गौचन

      सुनील सापकोटा मंसिर २१, २०७८
      ‘प्राइभेट क्लिनिकबाट एप्रोच भइरहेको छ, ‘प्राइभेट प्राक्टिस’ नगर्ने डाक्टर हुँ भनेर गर्वका साथ भन्छु, अछाममा रहँदा पनि बयलपाटा अस्पतालमै २४…
    • खोट नियतमा छ, नियतिलाई दोष !

       नगेन्द्रराज पौडेल मंसिर १२, २०७८
      व्यवस्था भन्नु निर्जीव चिज हो, मानव अस्थिपञ्जरजस्तै । अस्थिपञ्जरमा हाड, छाला, रगत, मासुमात्र होइन, प्राण भरेपछि मात्र चलायमान हुन्छ ।…

    hero news full width