काङ्ग्रेसका सात खराबी

युवराज खनाल युवराज खनाल
भाद्र २८, २०७७

प्रिय साथी,

तपाईँ साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ । आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रँदै छ । यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ । तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ । पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन् । हाम्रो पार्टी पनि त्यस्तै नै हो । नेपाली काङ्ग्रेस नेपाली जनताको वास्तबिक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधि आफैँ क्रमशः हट्दै जानेछन् र, यो देश कालान्तरमा विश्वका अरू देश सरह व्यवस्थित र उन्नतशील भएर जानेछ ।

तपाईँ साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ । मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु । तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईँ साथीहरूको कामबाट नै सन्तोष छ । यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यक नै पर्ने थिएन । त्यस हुनाले तपाईँहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु । र, मलाई आशा छ, यसमाथि तपाईँहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नु हुनेछ ।

नेपाली काङ्ग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु । यो ऐतिहासिक उत्तरदायित्व के हो ? हामीले के गर्नुछ ? हामी सबैलाई यसको स्पष्ट वोध नभए जस्तो छ । यसबारे मैले केही विचार गरेँ । मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली काङ्ग्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन् । अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन् गएका त्यस व्यक्ति वा संस्थाको के कुरा । तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो । साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्सियौ र अझै त्यही गल्ती गर्दैछौँ । यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन । वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए । यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो । यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ ।

समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन् । तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईँहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु:

१) सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्यो । अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन । तर अनेक कारणले त्यसो हुन सकेन । फलस्वरुप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ । यसलाई हामीले हटाउनु परेको छ ।

२) हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौँ । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौँ । तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रूचि वा अरूचिका छायाँ मात्र हुन जान्छन् । यसलाई हामीले हटाउनु परेको छ ।

३) हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध कम छ । यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन ।

४) यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौँ र, जनता र हाम्राबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो ।

५) हाम्रा साथीहरूको पाँचौँ खराबी के छ भने हामी आफुलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौँ । जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ ।
६) हाम्रो छैठौँ खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ । हामी त्यसो गर्दैनौँ । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनु परेको छ ।

७) अब म तपाईँहरूलाई मैले देखेको पार्टीको सातौँ र अन्तिम खराबी लेख्छु । साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको राह्स निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईँहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ । एउटा अर्काे थरिको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पूँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ ।

राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो । मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताबिनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्यौ , गैर–इमान्दार भएर काम गयौँ र आपसमा अविश्वास गयौँ भने हामी राजनीतिक कार्यकर्ताहरूको सङ्घर्षमय शुष्क जीवनको संवल नै के रहन्छ र ? नैतिकताकाारे ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफै एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो । तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौँ भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ ।

माथि नै मैले तपाईँहरूलाई भनेको छु, ममाथिको तपाईँको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईँहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हूँ । यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईँहरू नै हुनुहुन्छ भन्ने होइन । साँच्चै भनौँ भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ । हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ । कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन । यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ । यसलाई हामी सबै मिलेर हटाउनु छ । स्थिति अझै नसुध्र्रिने लायक भएको छैन । हामीहरूले अनेक पटक जीवन मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन मरणको युद्ध गयौँ । भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तब्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुनगएको छ । यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ । त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ । अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ । अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ ।

बीपीको यो पत्र अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ । अहिलेको नेपाली काङ्ग्रेस दिशा बिहिन जस्तो देखा परेको छ । विधि बिधानलाई सभापतिले मुठ्ठीमा लिएर यत्रो इतिहास बोकेको काङ्ग्रेसलाई एकलौटी रुपमा तानाशाह प्रवृत्तिले अगाडि बढाईरहनु भएको छ । इमानदार र बफादार कार्यकर्ताको अपमानगर्दै काङ्ग्रेसलाई नै प्रदुशित पार्टी बनाउन लागिएको छ । हालैको नेतृत्वले नै पुन १४औ महाधिवेशनमा पुन दोहो¥याएमा नेपाली काङ्ग्रेसको स्थिति कहाँ र कुन अबस्थामा पुग्ने हो आकलन गर्न पनि सकिदैन ।

नेपाली काङ्ग्रेस अहिले क्रीयाशिल सदस्यको नवीकरण र नयाँ सदस्य बितरणको दौरानमा छ , यसमा पनि आफू बिजय प्राप्त गर्न बर्तमान नेतृत्वले गरेका कामहरु अत्यन्तै नियम बिधान र विधि बिपरित भएकोले ईमानदार र समर्पितकायर्कताहरु आफ्नो ठाउँबाट खबरदारी नगर्ने हो भने अबको ५र१० बर्ष पछि काङ्ग्रेस एउटा इतिहासको पानामा मात्रै सिमित नहोला भन्न सकिदैन ।
जय नेपाल

हाम्रो सुझाव