प्रकृति विरुद्धका मानवीय गतिविधि र भाइरस धम्की : सिक्नु पर्ने पाठ

प्रा.डा. कृष्ण के.सी.
कार्तिक ५, २०७७

पृथ्वी ब्रह्माण्डको एक अत्यन्त सानो अंश हो । यसले ब्रह्माण्डको कति हिस्सा ओगट्दछ ? गणितलाई चुनौतीको विषय हो । ब्रह्माण्डको उमेर चौध अरब पचास करोड वर्ष मानिन्छ । जेहोस्, ब्रह्माण्ड लाखौँ लाख आकाश गंगाहरु मिलेर बनेको छ । एउटै आकाश गंगा भित्र लाखौँ लाख ताराहरु रहेका छन् । तिनै लाखौँ लाख आकाश गंगाहरु मध्ये मिल्कि वे आकाश गंगा सौर जगतको गृह आकाश गंगा हो । सौर जगतको यही गृह आकाश गंगा भित्र रहेका लाखौँ लाख ताराहरु मध्ये पृथ्वी सम्बद्ध सूर्ये एउटा मझौला आकारको तारा हो । सोही तारा नै यस सौर जगत्को सूर्ये हो । अन्य ताराहरु अनन्त आकाशमा टाढा भएका कारण रातमा मात्र चम्केको देखिन्छ ।तर यो तारा अथवा सूर्य पृथ्वीबाट नजिक भएका कारण बढी प्रकाश वा तेजोमय देखिन्छ । सोही तारा अथवा सूर्यको नजिक भएर अहिले भन्दा चार अरब साठी करोड वर्ष पहिला ‘नेबुला’ नामको उल्का पिण्ड गुज्रदा यस सूर्यको केही भाग गुरुत्वाकर्षण शक्तिद्वारा आकर्षित भई चोइटियो तर चोइटिएको सो सूर्यको भाग आकर्षित गर्ने ‘नेबुला’ नामक शक्तिशाली उल्का पिण्डसँग गएर मिसिन पनि सकेन किनकि ऊ धेरै पर गइसकेको थियो । पुनः फर्केर सूर्यको चोइटिएकै आफ्नो साबिक ठाउँमा गई मिल्न पनि सकेन । फलतः सूर्यकै गुरुत्वाकर्षणको कक्षमा घुम्दै रह्यो तर चोइटिएको सो पिण्ड अत्यन्त तातो भएका कारण पुनः विस्फोट हुँदा मूलतः नौ टुक्रामा विभाजित भयो । ससाना अन्य पिण्डहरु पनि रहे जस्को आआफ्नै अस्तित्व छ र खोजकै विषय रहेको छ । तिनै टुक्राहरु नै नौ ग्रह हुन् जसलाई सौरजगतमा सौर मण्डल भनिन्छ । ती सबै ग्रहहरुले आआफ्नो गतिमा आफ्नै मातृ सूर्यको परिक्रमा गर्दछन् ।

सौर जगत्मा सूर्यको सबैभन्दा नजिकको ग्रह बुध हो भने तेस्रो नजिकको ग्रह पृथ्वी हो । नवौँ ग्रह प्लुटो हो र सबै ग्रहभन्दा सानो छ । नौ ग्रहहरुको बीचमा आकारका आधारमा पृथ्वी पाँचौँ ग्रह हो, यसको डायमिटर १३ हजार कि.मी. छ । पृथ्वीको सरदर सतहको तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएकोछ । पृथ्वीबाट सूर्यको दुरी १५० मिलियन कि.मी. छ । यसरी सौर्य जगत्मा सूर्य मियोको रूपमा छ भने नौ ग्रहहरु हारका गोरुहरुको रूपमा रहेको छन् भन्न सकिन्छ । यिनै ग्रहहरुबाट पनि पुनः विस्फोटद्वारा पुनः उछिट्टिएर गएका पिण्डहरुले सम्बन्धित ग्रहहरुको उपग्रह चन्द्रमा बनि अस्तित्वमा रहेका छन् जुन उपग्रहहरुले तिनै सम्बन्धित ग्रहहरुको परिक्रमा गर्दछन् । पृथ्वीको चन्द्रमा एउटै छ तर अन्य ग्रहहरुका एक भन्दा बढी चन्द्रमा पनि छन् । कुनै ग्रहको चन्द्रमा नभएको अवस्था पनि छ । जेहोस्, ब्रह्माण्डको विशाल स्वरूप भित्र माथि उल्लिखित असंख्य सङ्ख्यामा आकाश गंगा, तारा, ग्रह, उपग्रह र उल्का पिण्डहरु अस्तित्वमा रहेका छन् । ति सबै गुरुत्वाकर्षणकै शक्तिद्वारा सन्तुलन कायम गर्दै चलायमान छन् । त्यसैले ब्रह्माण्डको अध्ययन अनुसन्धान आफैमा अनन्त छ । साँचो कुरा के हो भने ब्रह्माण्डमा रहेको कुनै पनि अणु, परमाणु ब्रह्माण्डकै अंश हो र ती प्रत्येक अणु परमाणुले रूप बदले पनि आखिरी सोही अंशमा मिल्दछन् अथवा तिनीहरुको अस्तित्व कुनै न कुनै रूपमा त्यहीँ नै कायम रहेको हुन्छ । त्यसर्थ, हाम्रो साझा धर्ती पृथ्वी पनि सोही ब्रह्माण्डकै एक सानो अंश हो र यसमा रहेका सबै अणु, परमाणु त्यसैका हिस्सा हुन् । त्यसर्थ, यस पृथ्वीमा रहेका समस्त निर्जीव वा सजिव तत्त्वहरुमा ब्रह्माण्डीय शक्ति मौजुद छ । यी एक अर्कामा अन्तक्रिर्यात्मक रूपमा सम्बन्धित र प्रभावित हुने गर्दछन् ।

माथि उल्लिखित अत्यन्त सङ्क्षिप्त तथ्यका आधारमा अहिलेभन्दा चार अरब साठी करोड वर्ष पहिला अस्तित्वमा आएको पृथ्वीको उत्पत्तिकालको मौजुदा तापक्रम परिवर्तन हुँदै जाँदा पृथ्वीले प्रशस्त भौतिक तथा रसायनिक परिवर्तन व्यहोर्दै अघि बढेको तथ्य सत्य हो । फलतः पृथ्वीमा यसको स्थलमण्डल , वायुमण्डल , जलमण्डल ९ज्थमचयकउजभचभ० र जीवमण्डल ९द्यष्यकउजभचभ० अन्तरक्रियात्मक प्रक्रियाद्वारा निर्माण भयो र अत्यन्त सन्तुलित रूपमा बेजोड अस्तित्वमा रहेको छ । तिनै चारै मण्डलहरुको अन्तरक्र्रियात्मक गतिविधिले नै पृथ्वीको पर्यायवरण मण्डल बनेको छ । त्यसैले पर्यावरणमण्डलमा हुने परिवर्तन तिनै चार मण्डलहरुमा उत्पन्न परिवर्तनमा भर पर्दछ । यी सबै प्राकृतिक प्रक्रियाहरु अत्यन्त सन्तुलित छन् र बेजोड सन्तुलनले नै यिनीहरुको अस्तित्व सुरक्षित र सुनिश्चित गरेको छ । ब्रह्माण्डीय समस्त सन्तुलित प्राकृतिक प्रक्रिया समेतको ब्रह्माण्डलाई नै प्रकृति भनिन्छ । यही प्रकृति नै स्वचालित र सन्तुलित रूपमा चलायमान छ वा गतिशील छ । त्यसर्थ, पृथ्वीलाई पनि हामी गतिशील र चलायमान भएकै कारण जीवित पृथ्वी भन्दछौ । यो प्रकृतिसँग आबद्ध गतिशीलता र चलायमानता स्वयं प्रकृतिको नै शक्ति हो वा यसलाई चलाउने शक्तिशाली कुनै अर्काे सर्वशक्तिमान अदृश्य शक्ति छ भन्ने विषयले नै आस्तिक र नास्तिकको अवधारणा अथवा आध्यात्मवाद र भौतिकवादको अवधारणा जन्माएको छ । सोही अनुसार मत विभाजन पनि छ । जसो भए पनि प्रकृतिको नियम  अकाट्य छ । प्रकृतिका तिनै नियमहरुले ती प्राकृतिक स्वरूपमा स्वभाविक परिवर्तनहरु आआफ्नै प्रक्रिया अनुसार ल्याई रहन्छन् र परिवर्तनहरु सन्तुलित पनि छन् । तर प्रकृतिमा प्राकृतिक रूपमा हुने ती परिवर्तनहरुमा मानिसहरूको कुनै नियन्त्रण सम्भव छैन । पृथ्वीले अफ्नो चार अरब साठी करोड वर्ष पुरानो उत्पत्ति काल देखि हालसम्म तिनै प्राकृतिक नियमहरुको आधारमा गतिशील हुँदै आइरहेको छ । यो नियम पालना भित्र उसले ब्रह्माण्डका आफ्ना अनगिन्ती वंशहरु सँगको वंशानुगत सम्बन्धको पनि उत्तिकै पालना गरिरहेको छ । अन्यथा कर्कलाको पानी सरह रहेको यो विशिष्ट सन्तुलन एक निमेषमा गुम्न सक्दछ । प्रकृतिको यो विशिष्ट सन्तुलनको निरन्तरता उसकै नियन्त्रणमा सदा अकाट्य छ ।

ब्रह्माण्डमा यस प्रकारको सिलसिलेवार प्राकृतिक पृष्ठभूमि बोकेको पृथ्वी मात्र जीवमण्डल समेतको अस्तित्वमा रहेको ग्रह हो । अन्यत्र जीवन छ, छैन खोजीको विषय हो । पृथ्वीमा जीवहरुको अस्तित्व र जीवमण्डलको इतिहास निरन्तर अध्ययन अनुसन्धानको विषय हो । तर पृथ्वीको जीव मण्डल मित्र रहेको लाखौँ लाख वानस्पतिक र प्राणी जगत्का प्रजातिहरुमध्ये होमोसेपियन्स एकातर्फ प्राणी प्रजातिहरुको पनि पछिल्लो प्रजाति पङ्क्तिको हो भने अर्काे तर्फ यसले मानवको स्वरूप प्राप्त गरेको खासै लामो समय भएको छैन । चार खुट्टाबाट दुई खुटा चलाएर हिँड्ने अभ्यासको इतिहास नै मात्र पछिल्लो दस लाख वर्ष यताको हो जसमा पछिल्लो अवधि अझ महत्त्वपूर्ण रहेको छ । भौगर्भिक इतिहासको तुलनामा यो अवधि नगण्य हुन सक्दछ तर मानव इतिहासको कालक्रममा भने यो लगभग सिङ्गो अवधि मान्न सकिन्छ ।मानिसले बुद्धि चलाएर गतिविधि गर्न थालेको इतिहास मात्र सत्तरी हजार वर्ष पुरानो हो । यही सत्तरी हजार वर्ष भित्र पनि साठी हजार वर्ष सम्म त प्रागऐतिहासिक मानवको रूपमा गुफाभित्र बस्दै पुरानो ढुङ्गे युग व्यहोर्दै बितायो । यो अवधिको मानवलाई प्यालियोलिथिक मानव ९एबभियष्तिजष्अ  भनियो । यो अवधि प्राचीन मानवदेखि पछिल्लो दश हजार वर्ष अघिसम्मको अवधिलाई लिइन्छ । यो अवधिमा मानव मूलतः आदिम सङ्कलक  र आदिम शिकारीको अवस्थामा रह्यो । त्यसबेला मानिस घुमन्ते, फिरन्ते रह्यो । पछिल्लो दस हजार वर्ष यता जब उसले जङ्गली विरुवा र जनावरलाई घरेलु गराउँदै स्वयं निर्मित बसोबास, आदिम खेतीको प्रारम्भ गर्‍यो तब सो मानवलाई नियोलिथिक मानव  भनियो ।

यसरी अघिल्लो अवधिको आदिम सङ्कलक, आदिम शिकारी, आदिम खेती हुँदै निर्वाह खेती , व्यापारिक खेती गर्दै आधुनिकीकरणको नाममा औद्योगीकरण, व्यापारीकरणद्वारा व्यापक शहरीकरण गर्दासम्म नियोलिथिक मानवको पछिल्लो दस हजार वर्ष बितेको छ । यस बिचमा सनातन लगायत थुप्रै धर्म संस्कृति पृथ्वीमा मौलाएको छ । सनातन धर्मलगायत थुप्रै धार्मिक आस्थामा आधारित धर्महरू व्यवहारमा उत्रेका छन् । सनातन धर्मको सुरुवात सँगै संसारकै सबैभन्दा पुरानो धर्म ग्रन्थ वेद र वैदिक युगको सुरुवात तथा वैदिक ऋचाहरुद्वारा निर्देशित प्रकृति पूजा लगायत वैदिक जीवन शैली हुँदै विकसित हुँदै गएका अन्य धर्म संस्कृति अन्तर्गत त्रिपिटक, बाइबल कोरान आदिको प्रभाव पृथ्वीको प्रकृतिमा देखिँदै गएको छ । यसरी अनुकुलित र अवसरको खोजी गर्दै पृथ्वीको जम्बो द्विप–एसिया लगायत सबै महाद्विपहरुमा मानिसले आवाद गरेको छ । प्रागऐतिहासिक, ऐतिहासिक लामो काल खण्डसम्म घुमन्ते तथा प्रारम्भिक बसाइ सराइ कर्ता प्राचीन मानिसहरू प्रकृतिसँग सन्तुलित व्यवहार गर्दै थिए । मानव तत्कालिन समुदायहरु बिच विद्यमान अन्जान र अज्ञानताका कारण भएका भूलहरु बाहेक नियतबश ठुला भूलहरु भएका थिएनन् । ती भूलहरुको प्रभाव पनि सामान्य र नगण्य थियो । त्यस्तै भूलहरुका बिच उत्पन्न महामारी प्लेग आदिबाट अर्थशास्त्री एदम स्मीथले भनेझै प्राकृतिक रूपमा जनसङ्ख्या नियन्त्रण हुने गरेको थियो । एवम्रितले लामो प्रागऐतिहासिक, ऐतिहासिक कालक्रम बितेको थियो । समग्रमा समस्त जीवहरुको साझा वासस्थान पृथ्वीमा सचेत मानिएको मानिसको पनि प्रकृतिसँग मैत्रीपूर्ण व्यवहार थियो । फलतः प्रकृतिमा वातवारणीय सन्तुलन असन्तुलित हुन पाएको थिएन । तर पछिल्लो तिन सय वर्ष त्यसमा पनि पछिल्लो शताब्दी यता भएको बढ्दो उपभोक्तावादी चलन समेत नाफामूलक मानवीय गतिविधि र त्यसबाट निर्देशित औद्योगीकरण, व्यापरीकरण, शहरीकरण र समग्रमा आधुनिकीकरणको निहुँमा अस्वस्थ प्रतिस्पर्धाले पृथ्वीका प्राकृतिक स्रोतहरुको जथाभावी र अति दोहन गर्दा पृथ्वीको प्रकृति अत्यन्त आक्रान्त, अत्यन्त दबाबयुक्त भएको र रहेको छ । जीवनदायनी मूल पन्चतत्त्वहरुनै बढ्दो रूपमा प्रदूषित हुँदै गएको छ । ती जीवनदायनी पन्चतत्त्वहरुको हुर्मत काड्ने काम आधुनिक दुनियाँको सचेत भनिने मानिसले मात्र गरेको छ । मानिस बाहेक अन्य प्राणीहरु सबै प्रकृतिको नियमलाई मूल मन्त्र मानेर जीवनलाई निरन्तरता दिइरहेकै छन् । त्यति मात्र होइन प्राकृतिक त्यसमा पनि मूल्यवान स्रोतहरु कब्जा गर्ने प्रतिस्पर्धाले ठूला ठुला झडपहरु, द्वन्द्वहरु र युद्धहरु भए । फलतः पृथ्वीमा मानिसहरूले पटक पटक मानवता गुमाएर ठूला ठूला नोक्सानहरु बेहोरेको इतिहास छ ।

यस अवधि मध्ये पनि पछिल्लो सात÷आठ दशकको अवधि अथवा दोस्रो युद्ध पश्चात्को अवधि अत्यन्त निर्मम रहेको देखिन्छ । हुनत यो अवधि विश्व मानव समाजमा अध्ययन र अनुसन्धानको क्षेत्रमा सर्वाधिक शिक्षण संस्थाहरु (विद्यालय, महाविद्यालय, विश्वविद्यलाय लगायत अनगिन्ती तालिम केन्द्रहरू समेत) स्थापना भएको र व्यापक रूपमा शिक्षण, प्रशिक्षण समेतद्वारा अत्यधिक शैक्षिक प्रमाणपत्रहरु वितरण वा उपलब्ध गरिएको अवधि हो । तथापि विगतको तुलनामा सर्वाधिक शैक्षिक गतिविधिद्वारा ज्ञान र सिप सम्प्रेषण गरिएको भए तापनि विगतको दाँजोमा वर्तमान मानिसहरू बीच इमान, नैतिक धरातल, स्वावलम्बन, स्वाभिमानको अवस्था स्थापित हुनुको सट्टा विस्थापित नतिजा प्राप्त भएको महसुस आम पृथ्वीवासीहरु बिच एकातर्फ टड्कारो रूपमा खड्कदै गएको छ भने अर्काेतर्फ शासक र तिनका आसेपासे तथा समाजका तथाकथित अगुवाहरु बिच लोभ लालचद्वारा निर्देशित शक्ति र सम्पत्ति हत्याउने होडबाजीका कारण असैह्य अन्याय, अत्याचार, भ्रष्टाचार, छलछाम र दमन मानव समाज बिच व्याप्त रहेको छ । सुशासनको बढ्दो खडेरीद देखिन्छ । शक्ति र सम्पत्ति हत्याउनका निम्ति स्रोत हत्याउने होडबाजीमा जीवहरुको साझा बासस्थान पृथवीका स्रोतहरुको अत्यधिक दोहन हुँदै आएको छ । फलतः वातवारणमा एकातर्फ असन्तुलित अवस्था देखा पर्दै गएको छ भने अर्काेतर्फ प्रकृतिमाथि अति दोहन र अप्राकृतिक गतिविधि गर्ने प्रतिस्पर्धाका कारण अनेक समस्याहरु उत्पन्न भएका छन् जसमा रोग व्याधि पनि एक हो । यसमा इशापूर्व ३००० वर्षका प्रागऐतिहासिक महामारीदेखि एथेन्सको प्लेग ४३० इशापूर्व, एन्ट्रोनान प्लेग सन् १६५–१८० बिच, साइप्रियन प्लेग सन् २५०–२७१ बिच, जन्टिनियन प्लेग सन् ५४१ देखि ५४२ सम्म, कालो मृत्यु सन् १३४६–१३५३ सम्म, अमेरिकन प्लेग सन् १५११ देखि १५३२ सम्म, कोको लिङ्टली महामारी सन् १५४५–१५४८ बिच, लन्डनको ग्रेट प्लेग सन् १६६५ देखि १६६६ सम्म, मार्सिलको ग्रेट प्लेग सन् १७२९ देखि १७३२ सम्म, रसियन प्लेग सन् १७७० देखि १७७२ सम्म आदि उल्लेखनीय रहेको पाइन्छ । तर त्यति बेलाको विश्व मानव बसोबास एक अर्कामा आजको तुलनामा अत्यन्त कम जोडिएको थियो । अथवा अलग थियो ।

वर्तमानको विश्व यातायात तथा सञ्चारले कुनै पनि घटनालाई तुरुन्त विश्वव्यापी बनाइ दिने परिपाटी कति सन्दर्भमा अत्यन्त चुनौतीपूर्ण बनाएको स्थिति छ । त्यसरी उत्पन्न रोग व्याधिहरुमा कालाज्वर, विफर, दादुरा, हैजा, औलो, स्पेनीस फ्लु आदि जस्ता थुप्रै संक्रमित रोगहरु विगतका शताब्दीहरुमा तत्कालीन मानव समाजले सामना गर्न बाध्य भएको थियो । हालैका दशकहरूमा एसियन फ्लु, हङ्गकङ्ग फ्लु, एच.आइ.भी. एड्स, सार्स, मार्स, स्वाइन फ्लु, जापानीज इन्सीफ्लाइटिस, अफ्रिकन इबोला, जिका भाइरस आदि जस्ता संक्रमित भाइरस उत्पन्न रोगहरु व्यहोर्न विभिन्न मानव समुदाय बाध्य भए । अन्ततः यस वर्ष कोरोना भाइरसको कारण विश्वमानव समुदाय आक्रान्त र त्रसित छ । चिनको बुहान शहरलाई केन्द्रबिन्दु बनाएर पृथ्वीमा प्रवेश गरेको कोरोना भाइरसले विश्वव्यापी रूपमा आक्रमण गरेको छ । उत्पत्ति सम्बन्धमा शङ्कास्पद विवाद बोकेर फैलिएको कोरोना भाइरस आज विश्वका सबै महादेशका प्रायः सबै देशहरुलाई गाँजेर प्राणघातक रूपमा अघि बढिरहेको अवस्था छ । सन् २०१९ को डिसेम्बरबाट सन् २०२० को मध्ये अक्टोबर १८ तारिख सम्म आउँदा विश्वमा झण्डै चार करोड मानिस संक्रमित, एघार लाख चौधहजार सात सयको मृत्यु र झण्डै तिन करोडलाई निको भएको अवस्था छ । विश्वव्यापी रूपमा थुप्रै मानवीय नोक्सानी भइसकेको छ । नियन्त्रणको प्रयासमा विश्वशक्तिले लक डाउन लगायतका थुप्रै उपायहरु गरेर लाग्दा पनि नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । कोरोना संक्रमणकै कारण समस्त आर्थिक क्रियाकलापहरु व्यापक रूपमा अवरुद्ध हुँदा व्यापक बेरोजगारी सिर्जनाका साथै विश्व उत्पादन प्राणली नै विथोलिएको छ । एक प्रकारले विश्व व्यवस्थालाई नै ठप्प पारेको छ । फलतः सेवामूलक गतिविधिहरु पनि नराम्रोसँग प्रभावित हुँदा दुनियाँको आगामी मार्गचित्र ९च्यबम  कस्तो बन्ने बनाउने भन्ने गम्भीर अन्यौल सिर्जना गरेको छ । महामारी निम्त्याउने यी जीवाणु, विषाणुहरू त हालसम्म भत्कौरोको रूपमा आएका छन् ।

मानिस प्रकृतिमैत्री व्यवहार गर्नमा यसरी नै चुक्दै जाने हो भने जीवाणु, विषाणुको धम्की भत्कौरोको रूपमा मात्र सीमित नरहेर बाजा गाजासहित बढाइ गर्दै जन्ती लिएर आउन सक्छ । बढ्दो घमण्ड र लोभलालचाका साथ होस गुमाउँदै गरेको मानिसलाई पनि यी जीवाणु विषाणुहरूले पृथ्वीबाट जुरासिक युगका डायनासरको विनास भएझै विनास सक्दछन् । त्यसैले त विगवाङ्ग सिद्धान्तका अनुसन्धान कर्ता विकलाङ्ग वैज्ञानिक स्टेफन हकिन्सले आफ्नो अन्तिम समयमा मानिसलाई सय वर्ष भित्रै बसाइ सर्ने पृथ्वीबाहेकको अर्काे सुरक्षित र अनुकूल ग्रहको खोजी गर्न सुझाएको सल्लाह साँचो साबित हुनेछ । त्यसबेला जीवाणु, विषाणुको धम्की धम्कीमा मात्र सीमित रहने छैन । मानिस र मानव सभ्यतालाई पृथ्वीबाट समाप्त गर्ने लडाइँतर्फ खरो रूपमा उन्मुख हुनेछ । त्यसकारण विश्व समाज र विश्व नेतृत्व पङ्क्तिले नै समाधानका निमित्त गम्भीर रूपमा सोचेर सशक्त उपाय अवलम्बन गर्नुको विकल्प देखिँदैन । ती वैकल्पिक उपायहरुको खोजी गर्दा पृथ्वीमा मानव समुदायले आवाद गर्दाका प्रारम्भिक दिनहरुदेखि लामो कालक्रमसम्म के कस्तो व्यवहार गर्दै आयो ? प्रकृति सँगको मैत्रीपूर्ण व्यवहारको उपज कस्तो रह्यो ? सो व्यवहार प्रतिकूल बन्दै जाँदा के कस्ता विपदहरु व्यहोर्न बाध्य भइयो ? सबैको उचित लेखाजोखा गरेर निचोड निकाली सो अनुसार पाठ सिकेर प्रकृतिसँगको व्यवहारमा यथेष्ट सकारात्मक सुधार ल्याउनुको विकल्प देखिँदैन । त्यसर्थ, प्रकृतिको पुस्तकको विस्तृत अध्ययन गरेर प्रकृतिसँग अत्यन्त मैत्रीपूर्ण व्यवहार गर्ने नितान्त अनुशासित, सरल र स्वावलम्बी जीवनशैली अविलम्ब अपनाउनुको विकल्प देखिँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width