राष्ट्रियताका लागि सचेतता

दिनेश बस्नेत
माघ १३, २०७७

अहिले नेपाली राजनीतिमा नेकपाको फुट हाँडीगाउँको जात्रा भएको छ । फुटले एक प्रकारको रत्यौली मनाएको छ । बडो शर्मनाक अवस्था छ, ती नेताहरुको । जसले पार्टी गठवन्धन हुँदा र बहुमत ल्याउँदा, ठूला ठूला सपना देखाए । अन्तत आफ्नो औचित्य पुष्टी गरे, आफ्नो औकातमा झरे ।

आजकल खियादार चरित्रका तिर्ने नेता सैद्धान्तिक निष्ठाका कुरा गर्छन् । तिनै टुटे फुटेका सपनाहरुलाई जोडेर जनतालाई आश्वासन बाँड्छन् । तिनै नेता आफ्नो अधुरा स्वार्थसिद्धका लागि दौडधूप गरेका छन् । तर सोझा भन्नु कि भेडा भन्नु हामी नेपाली जनता तिनीहरु कै पछाडि हिँडिरकेका छौ । दौडिरहका छौं । केही झर्छ र खाम्ला भने झैं । हाम्रो लागि राष्ट्र, राष्ट्रियता र गणतन्त्र गौण सन्दर्भ बन्छन् । ‘हाम्रा नेता राम्रा नेताको तथाकथित मान्यतामा हामी नतमष्तक हुन्छौं । तर के हामी स्पष्ट भन्न सक्छौ ती नेता, अझ स्पष्ट भन्दा केपी ओली र प्रचण्ड किन मिले ? र अहिले किन फुटे ? अनि यो देशले कम्युनिस्ट चरित्रकै कारण बज्रपात थेग्नु पर्‍यो । सायद जवाफ छैन होला, भए पनि जवाफमा कुनै तुक र दम हुँदैन, यदि तपाई कम्युनिष्ट भनाउँदाहरु मध्येको एउटा पात्र हुन्नुहुन्छ भने ।

तर त्यही जवाफ एउटा सच्चा देशभक्त नागरिकले दिए भने त्यसमा अलबल्ले सत्य तथ्यहरुको फेहरिस्ता हुन सक्छ । अर्थात् वामगठबन्धनको नीति र नियत घाम झैं छर्लंग छ । प्रचण्ड मिल्नुमा माओवादी प्रतिदिन धारासाही हुँदै गएको जनमत हो । उनी एउटा सुरक्षित राजनीतिक जीवन चाहन्थे, जुन प्रकारको जीवन तत्कालीन माओवादीमा थिएन । केपी ओली बहुमतको प्रधानमन्त्री चाहन्थे । एमालेमा मात्र त्यो सम्भावना देखेनन् ।

छातीमा हात राखेर सोच्नु पर्छ, मैले विश्वास गरेको पार्टी र नेता देशको लागि कति उपयुक्त छ ।

एकताका नेपाली राजनीतिका सम्भावित पात्र बनेका प्रचण्डको जनयुद्धको औचित्य लगभग पृष्टि भैसकेको थियो । उनको असलियत धरातलमा छरप्रष्ट भएको छ र ‘खुट्टी हेर्दा चिनियो’ जस्तो जनधारणा विकसित हँदै गएको छ । त्यसैले एमालेसँगको उनको एकता जतिसुकै भाषा मिलाएर तोडमोड गरे पनि, आदर्श र सिद्धान्तका फूलबुट्टा भरे पनि गाँठी कुरा प्रचण्डको बठ्याइँ हो । त्यो बठ्याइँमा उनले पद र पैसाको सुरक्षा देखे । अनिश्चित भविश्य र निराशावादी बन्दै गएको राजनीतिक चालचलनको एउटा साम्यविन्दु ठाने । अन्तत : दुवैको सम्झौता स्वार्थमूखी थियो । न त स्वयं कम्युनिस्ट सिद्धान्तमा आधारित थियो । न त राष्ट्र, राष्ट्रियता र गणतन्त्रको पक्षमा थियो । अनि स्वार्थको पल्ला यताउति हुने बित्तिकै फुट्यो । बिना जगको घर भत्किए जसरी गर्लामगुर्लुम्म लड्यो ।

त्यसो नहोस पनि कसरी ! जसै पार्टी एकता भयो, कुनै रात्रीकालीन यात्रामा निस्केका यात्रीमध्ये दुईटाले अगाडि अगाडि लाइट बालेर हिडेका छन्, पछि पछि भरोसामन्द बटुवा हिँडेका छन् । अर्थात् कुनै भेडाको बथानलाई २ वटा टाठाबाठा र स्वार्थी च्यांग्राले बगाल डोर्‍याए जसरी अगाडि बढिरहेका छन् । अनि अर्थ लाउन थालियो, ‘राजनीतिमा कोही शत्रु हुँदैनन् ।’

अन्य कम्युनिस्ट पार्टीलाई इंगित गर्दै यतिसम्म भन्न पछि परेनन्, ‘तपाईं पनि आउनोस् हाम्रो समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियानमा लागौं । साना साना पसल खोलेर बस्ने बेला यो होइन, हामी कम्युनिस्ट मात्रैले सक्छौं यो देशको मुहार फेर्न । हामी फुटेर होइन जुटेर, हात र काँध मिलाएर अगाडि बढौं ।

ओहो, कत्ति ठूल–ठूला भाषण । कति चर्का–चर्का संवादहरु । सूर्य डुब्ने बेलामा छायाँ लामो हुन्छ जस्तो । निभ्ने बेलाको बत्ती चम्किलो भएजस्तो । त्यो सत्य आंशिकरुपमा सावित भयो । पूर्ण रुपमा सावित हुन बाँकी छ । भन्नाले धुकधुकी अझै बाँकी छ । त्यही धुकधुकी नेपाली जनतालाई सास्ती र पीडाजन्य बनिरहेको छ । कम्युनिस्ट सिद्धान्त नेपाली राजनीतिक वृत्तमा एक प्रकारको घाँडो बनेको छ । जनता सशंकित मात्र होइन, सचेत हुनुपर्ने बेला आएको छ । २१ औं शताब्दिका सचेत नागरिक आफ्ना निजी सपनाका कारोबार गर्ने विचारकहरुको जमातलाई वहिष्कृत गर्न अब हामी पछि पर्नु हुन्न । समय धेरै धर्किसक्यो । अब पनि हामी सचेत, सबल र सक्षम भएनौ भने देश सदासर्वदा पछाडि पर्दछ । हाम्रा सन्तति मानसिक रुपमा स्वदेशमा र भौतिक रुपमा विदेशमा दास बन्नेछन् ।

किनभने हामी व्यवस्थाका कारणले भन्दा नेताहरुको गलत धारणा र स्वार्थसिद्ध मनोभावनाका कारणले पटकपटक ठगिएका छौ । माओवादीले एउटा तरंग लिएर आयो । हामी हलचल भयौं । सम्पूर्ण नेपालीले विश्वास योग्य पार्टी मायौं । आफूसँग भएको सर्वश्व सुम्पेर साथ दियौं । यतिसम्म कि सारसौंदो शरीरलाई सहिदमा परिणत गर्न पनि रौं बराबर ठानेनौं । तिनैहरु कै अपव्याख्या ‘सच्चा कम्युनिस्ट भनेको रगतले हात रंग्याएको हुन्छ’ भन्ने मान्यतालाई समेत आत्मसात गर्‍यौं ।

कालान्तरमा हामी नेपालीले के पायौं ? उही मनोदशा र मानसिकतामा हामी थिग्रियौं । चुलो बाल्नका लागि विदेश जान पर्‍यो युवाहरु । उपचार गर्न नसकेर मृत्यु वरण गर्नु पर्‍यो वृद्धाहरु । छोरी चेलीहरु अफ्रिकाजस्ता गरिब मुलुकका बारमा नाच्न बाध्य हुनु पर्‍यो । जनमतताकाको विश्वास सधैं झैं बालुवामा पानी मिसाएजस्तो भयो । यस्तो नेपाल र नेपालीको बढोत्तरी दिनहिनताको प्रध्यानमन्त्रीलाई कुनै मतलब छैन, कुनै वास्ता छैन । उनी त उखान टुक्कामा निमग्न छन्, सुन्नेहरुको हाँसोमा उपलब्धि अनुभूत गर्दछन् । स्वार्थको स्वाद सिवाय उनमा अर्काे चाख छैन । अहिले संसद विघटन भएपछि पनि उनको तुजुक ज्यूँका त्युँ छ ।

केपी ओली र प्रचण्ड उही ड्याङका मुला हुन् । अलिकति आकारमा तलमाथि होला । तर हामी किन बुझेर बुझ पचाएका छौ । तिनैलाई सत्ताआरोहण गराउन, अर्थात् कुर्सीमा टिकाइरहन हामी किन मरिहत्ते गरेका छौ ? किन सडकसम्म आएर जिन्दावाद र मुर्दावादको नाराले जाडोयाम तताएका छौं ? वडो बिडम्वनालाग्दो र आश्चर्यजनक कुरा पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ जस्तो सामजिक, सामायिक र सान्दर्भिक गीतको खेदो खन्यौं । एनसेलको कर छलि, अनि छेलेखेलो भ्रष्टाचार काण्डमा, निर्मला बलात्कार हत्याकाण्डमा नदेखिएका अनुहार पनि सडकमा छापिए, ओइरिए । तिनै भ्रष्ट नेताको स्वार्थी भाषणमा ताली बजाए । पहिले ‘मित लाएर खाने अहिले कुकुरझैं’ भगडा गर्ने, एक अर्काले नग्नरुपमा उछित्तो काट्ने खुराफाती नेताहरुको घिनलाग्दो दोहोरीमा साथ दियौं, तिनले उठाएका टुक्का छोप्दा खुब आनन्द मान्यौ । भलै सैद्धान्तिक मनमुटाव र टकराव एउटा कित्तामा हुन्छ । राष्ट्रिय मर्यादाका पदलाई सम्मान गर्नु पर्छ । औपचारिक रुपमा स्वीकार गर्नुपर्छ, तर हामी मानवीय संवेदनाका हिसावले यतिसम्म तल झरेर आफ्ना भनाउँदा नेताको पक्ष घोषणामा नारा लगायौ, यतिसम्म राष्ट्रपति र प्रममाथि प्रहार गर्‍यौं, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धलाई जोडेर’ के यही हो राजनीतिक संस्कार ? के यही हो कम्युनिस्ट चरित्र ? आचरण र मर्यादाका न्यूनतम बुँदाहरुलाई पनि ख्याल गर्न नसक्नेहरुको जमात हो कम्युनिस्ट । एउटाले भन्छ, ‘गोरुले कपडा नलगाएको देखेर मलाई लाज लाग्दैन ।’ अर्काेले भन्छ, ‘महिलाको किड्नी हालेको भएर त्यसको बुद्धि त्यस्तो भएको हो ।’

अर्काले भन्छ, ‘प्रम गुण्डाहरुको नाइके हो ।’ अर्काले भन्छ, ‘प्रम ओलीले भाङ खाएर ताण्डव नृत्य देखाइरहेका छन् ।’ अर्काले भन्छ, ‘ओलीका छोराछोरी छैनन् ।’ मानौं काठे बस्तीको एउटा भट्टीमा जाँड खाएपछिका जड्याहाहरुको झगडा जस्तो । कुनै दुरदराजका पधेर्नीहरु पानी भर्ने पालोमा किचलो हुँदा भएको भगडाजस्तो । पुरानो घटनालाई पनि नवीकरण गरेर मैदानमा उत्रेका छन् ।

तर झगडाको मूल विषयान्तर ओली र प्रचण्डबीचको खिचातानी थियो । तीमध्ये कसलाई प्रम बनाउने एवं बन्न दिने भन्नेमा केन्द्रित थियो । अब हामी आफ्ना लागि भन्दा राष्ट्रियताका लागि केही सचेत हुने बेला आएको छ । केही व्यक्तिगत आशा ‘यो प्रधानमन्त्री भए मेरो त्यो स्वार्थ पुरा हुन्थ्यो, त्यो प्रम भए मेरो त्यस्ता आशा सम्वोधन हुन्थे’ जस्तो व्यक्तिवादी महत्वाकांक्षा त्याग्नु पर्छ । छातीमा हात राखेर सोच्नु पर्छ, मैले विश्वास गरेको पार्टी र नेता देशको लागि कति उपयुक्त छ । कुन हदसम्म उसले आफूलाई राष्ट्र र राष्ट्रियताको लागि प्रस्तुत गरेको छ । अनि बल्ल सिद्धान्त र नेतृत्वका पछि लाग्नु जायज हुन्छ ।

आजसम्म देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल सबै आफ्नो विकासको लागि प्रधानमन्त्री बने । आफ्ना स्वार्थसिद्धका लागि प्रम भए । आफ्नै चुलो बाले आफ्नै हातमुख जोरे । त्यति मात्र होइन आफन्तको पेट पनि भरे । रहेबचेको, जुठो पुरा कार्यकर्ता नाममा मनुवालाई दिए । त्यही जुठो पुरा खानको निम्ति हामी पिछेलग्गु हुन हुन्न, भेंडा हुनहुन्न । त्यस्ता नेताहरुको आज्ञाकारी पात्र भोले, बोके हुनहुन्न । अब पनि राष्ट्र र राष्ट्रियताका लागि सोचेनौ भने, समय सापेक्ष सचेत भएनौं भने ढिलो हुन्छ । समयमा नपुर्‍याएको बुद्धिले समय बितेपछि पछुताउनु सिवाय केही हुन्न । साँचो कुरा ओलीको विकल्प ओली र प्रचण्डको विकल्प प्रचण्ड हुन सक्दैनन । हामी यी सबै भ्रष्ट नेताहरुको विकल्प खोज्नु पर्छ । हाम्रो देशलाई राम्रो देश बनाउन पर्छ । शान्तिपूर्वक जीवन यापन गर्न पाउनु पर्छ । मांसहारी द्वन्द्वबाट देशलाई बचाउनु पर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width