सडकनाटक ‘नमाझिएको कसौडी’

सुदीप घिमिरे
मंसिर ३, २०७९

‘वन डढेको सबैले देख्छन्, मन डढेको किन कसैले देख्दैनन् ?’ सुदर्शनले रुँदै सुनीतालाई सोध्छन् । सुनीता उत्तर थियो, ‘परिस्थिति सजिलो भयो भने मनस्थिति सजिलो भइहाल्छ नि । हाम्रो मन नमाझिएको कसौडी जस्तै हो सुदर्शन । नमाझिएको कसौडीलाई सफा गरे पछि पुन प्रयोग गर्न मिल्छ । हाम्रो मनलाई अमिल्दो सामाजिक गतिविधिले चञ्चल बनाइदिन्छ । हामी आत्तिन्छौं । रिस उठ्छ । कसैसंँग बोल्न मन लाग्दैन । एक्लै बस्न मन लाग्छ र जीवनप्रतिको आशा हराएर जान्छ । त्यसैले जीवनप्रतिको आशा जगाउन कसौडीलाई सफा गरेजस्तै मनलाई सफा गर्नुपर्छ । परिवार र समुदायले त्यसमा प्रेरणा थप्नुपर्छ ।’

यी संवाद ‘नमाझिएको कसौडी’ नामक सडक नाटकका मुख्य मात्रहरु सुदर्शन र सुनीताका हुन् । कोसिस र मञ्जरी नाट्य समूहले पोखरा महानरपालिका र लमजुङ जिल्लाका विभिन्न स्थानहरुमा आत्महत्या रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्यले तयार पारेको नाटकको केही एक अंश हुन् । उक्त नाटक पोखरा २५ हेमजा, पोखरा ९ पृथ्वीचोक, पोखरा ८ को सुकुमवासी बस्ती, पोखरा ६, हल्नचोक र लमजुङको सुन्दरबजार नगरपालिका विभिन्न वडाहरुमा प्रदर्शन गरिएको थियो ।

नाटकमा सुदर्शनले मुख्य पात्रको भूमिका निर्वाह गरेका थिए । कोभिडका कारण सुदर्शनले आमा गुमाउनु परेको पीडा थियो । बेरोजगार हुनु, परिवार र समाजको नकारात्मक व्यवहार र लाञ्छनाले गर्दा सुदर्शनलाई कसैसँग बोल्न मन नलाग्ने, एक्लै बस्ने, घरायसी क्रियाकलापमा ध्यान नदिने, आफ्नो सरसफाइ पनि नगर्ने र बेला बेला मर्ने विचार आइरहने लगायत समस्या देखिएका थिए । उनको आनीबानीलाई सुधार गर्न सुदर्शनका बुबा बैदारले धामीझाँक्री लगाएका थिए तर मनमा परेको पीडामा सुधार आउन सकेको थिएन । समुदायकै एक आले पुजारी जो विवाहको चाँजोपाँजो मिलाउने काम गर्दछन् । सुदर्शनमा आएको मानसिक स्वास्थ्य समस्या बिहे गरे निको हुने भन्दै गाउँकै युवतीहरु विवाहका लागि देखाउँछन् । बिहे गरेपछि मानसिक स्वास्थ्य समस्या निको हुने उनको विश्वास छ । गाउँकै सुबेदारकी छोरीलाई विवाह गराउने प्रबन्ध उनी मिलाउँछन् । घरमा सुदर्शन र उनको परिवार धामीझाँक्रीबाट उपचार गरिरहेको भेटिन्छ । मानसिक समस्या भएको केटालाई आफ्नो छोरी विवाहका लागि कुरो गरेको देखेर उनी रिसाउँछन् र सामान्य झगडा हुन्छ । सुनीता एक युवती हुन् । उनी भर्खरै स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि सुदर्शनकै गाउँ पुग्छिन् । सुदर्शनको अवस्था देखेर चिन्तित हुन्छिन् । सुदर्शन र उनको बुबालाई कुरा गरेर मनोविमर्श र मानसिक स्वास्थ्य उपचारका लागि आत्महत्या रोकथामको राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ मा कुरा गरी मनोविमर्शको लागि पोखरानै भएको कुरा गर्दछन् । उनको मनोविमर्शकर्ता र मानसिक स्वास्थ्य विशेषज्ञवाट उपचार हुन्छ । परिवार र समुदायको माया, सहयोग र प्रेरणा प्राप्त गर्दछन् ।

केही महिनाको मनोविमर्श र सामाजिक सहयोगले सुदर्शनमा देखिएको आत्महत्याको सोचाइमा परिर्वन हुन्छ । उनले नमाझिएको कसौडी नामक पुस्तक प्रकाशन गर्दछन् । पुस्तकमा आत्महत्याका सोचाइहरु आउनुका कारण त्यसदेखि लक्षणहरु, समस्याबाट बाहिर आउन पेसाकर्मी, परिवार र समुदायले खेलेको भूमिकाबारे चर्चा गर्दछन् । कसैलाई आत्महत्यासम्बन्धी सोचाइ आएको छ भने मैले उपनाएको विधि एक प्रभावकारी माध्यम हुनसक्छ भन्दै नाटक समापन हुन्छ ।

नाटकले आत्महत्याको सोचाइको विकास कसरी हुन्छ, जोखिमको बेला कस्ता भावनाहरु व्यक्तिले अनुभव गर्दछ र समस्याको निराकरणका लागि कसरी सहयोग गर्ने र परिवार र समुदायको कस्तो प्रेरणा जरुरी छ भन्ने मुख्य सन्देश दिएको छ । पोखरा २५ हेमजाका भरतबहादुर थापाले समुदायको विद्यमान समस्यालाई नाटकमार्फत् देखाउन सफल भएको भन्दै नाटकका मुख्य पात्र सुदर्शनलाई २ हजार रुपयाँ पुरस्कार दिए । पोखरा २५ का वडा अध्यक्ष एवं पोखरा महानरपालिका प्रवक्ता मोतीराज तिमल्सेनाले ‘नाटकलाई देशका हरेक कुनाकाप्चामा देखाउन सक्यौं भने आत्महत्या न्यूनीकरणका लागि ठूलो योगदान पुग्ने बताए । उनले थपे, ‘नाटकले आत्महत्याको कारणहरूमा बेरोजगारी, कोभिड–१९ ले निम्त्याएको विषम परिस्थिति, आर्थिक समस्या आदि देखाएको छ । यस्तो बेला व्यक्तिलाई माया र सहयोगको खाँचो पर्ने रहेछ । हामी जनप्रतिनिधिहरू, महिला स्वयंसेविका, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सके नाटकले देखाएजस्तै सकारात्मक परिर्वतन ल्याउन सकिन्छ ।’ त्यसैगरी सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले भने, ‘यस्ता कार्यक्रममार्फत् समाजको कारणले गर्दा व्यक्तिमा उत्पन्न हुने विभिन्न खाले मनोसामाजिक समस्या, नैराश्यता र जीवन बेकार लाग्ने जस्ता विचारहरू समयमा नै पहिचान हुन गई आत्महत्या रोकथाममा टेवा मिल्छ । नयाँ शैलीवाट समाजलाई सूसुचित गर्ने प्रयास गरेकामा मञ्जरी नाट्य समुह र कोसिसलाई धन्यवाद ।’

नाटक अवलोकन गरिसकेपछि पोखरा महानरपालिका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले भने, ‘समुदायमा आत्महत्या रोकथामसम्बन्धी सचेतना फैलाउने उपयुक्त माध्यम नाटक पनि हो । प्रस्तुत नाटकले व्यक्तिमा मनोसामाजिक समस्या र आत्महत्या सोचाइ कसरी विकास हुन्छ, अनि त्यसको निराकरणका लागि कसको के भूमिका रहन्छ भन्ने प्रष्ट पारेको छ ।’

पछिल्ला वर्षहरुमा नेपालमा आत्महत्याको दर बढिरहेको सन्दर्भमा सरकारी एवं गैरसरकारी निकायबाट पनि विभिन्न प्रयासहरु हुन थालेका छन् । साथै समुदायमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम गर्न सरकारी, गैरसरकारी निकाय, निजी संस्था, प्रहरी, पत्रकार एवं सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहिआएको छ । त्यसका लागि समुदायमा सचेनता फैलाउने, आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुको प्रारम्भिक पहिचान र उपचार गर्ने, स्वास्थ्यकर्मीको निम्ति मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न, विषादी, औषधी, मादकपदार्थको वेचबिखनका लागि उपयुक्त नीति र व्यवस्था गर्न, आत्महत्याका सम्भावित साधन एवं माध्यमहरूमा पहुँच सीमित गर्न, संवेदनशील मिडिया रिपोर्टिङ गर्ने, स्थानीयस्तरमा मानसिक स्वास्थ्य उपचारको प्रबन्ध गर्न, मानसिक स्वास्थ्यकै कारण लाग्ने लाञ्छना र विभेदको व्यवस्थापन गर्न जस्ता रणनीतिहरु कार्यान्वयन गरेमा आत्महत्याको दर घटाउन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width