मतदान किन गर्ने ?

सुदीप घिमिरे
वैशाख १९, २०७९

स्थानीय निर्वाचन नजिकिँदै गर्दा मतदान दिने वा नदिने भन्ने विषयमा चर्चा हुन थालेको छ । कतिपयको तर्क छ जसलाई मत दिए पनि, जुन पार्टीलाई दिए पनि केही गर्ने होइनन्, के का लागि मतदान गर्ने ? कतिपय त मतदान नदिने भनी बसेको छन् । कतिपय सर्वसाधारणले भने मतदान दिन पाउनु आफ्नो अधिकार भएको स्वीकार गर्दछन् । यस लेखमा मतदान भनेको के हो, किन मतदान गर्ने भन्ने विषयमा चर्चा गरिएको छ ।

मतदान भनेको के हो ?

प्रतिनिधि छनोटका लागि मतपत्रमा मतदान गरी मतपेटिकामा मतपत्र खसाउने कामलाई मतदान भनिन्छ । मतदान गर्नु भनेको प्रजातान्त्रिक मुलुकमा नागरिकको कतव्र्य हो । त्यसैले आफूलाई मन परेको उम्मेदवार वा पार्टीका उममेदवारलाई मत दिनु भनेको मतदाताको अधिकारको रुपमा लिइन्छ ।

नेपालको संविधान २०७२ ले मतदान दिने अधिकार सुनिश्चित गरेको छ । मतदाताको यस अधिकारलाई बालिग मताधिकार भनिन्छ । जहाँ १८ वर्ष पुगेका व्यक्तिले मात्र आफ्नो मताधिकारको प्रयोग गर्न पाउँछन् । लोकतान्त्रिक शासन व्यवस्थामा सबै नागरिकहरु निर्वाचनमा सहभागी हुन पाउनु गर्वको विषय हो । जहाँ जनता आफैंले, आफ्नो प्रतिनिधिमार्फत् र निर्णय गर्न पाउने अधिकारसहितको शासन व्यवस्था गरिएको हुन्छ । यही लोकतान्त्रिक शासन व्यवस्थाका कारण जनताले लेख्ने, बोल्ने, छाप्ने, सभा संगठन गर्न पाउने, पार्टी खोल्ने र त्यसमा सहभागी हुन पाउने, प्रतिनिधि चयन गर्न र सरकार बनाउन पाउने जस्ता नागरिक तथा राजनीतिक अधिकार हुन्छन् ।

निर्वाचन नागरिकको वैधानिकरुपमा जनमत दिने महत्वपूर्ण विधि हो । नागरिकको अभिमतलाई प्रतिनिधिको रुपमा रुपान्तरित गरिन्छ । जसमा दुई वा दुईभन्दा बढी उम्मेदवार वा दलमध्येबाट निर्वाचित गर्न पाउने वा मत जाहेर गरी चयन गर्न पाउने अधिकार छ । यो गोप्यरुपमा गरिन्छ । त्यसैले निर्वाचनको विशेष महत्व र अर्थ छ ।

नेपालमा राजनीतिक पार्टी, उनका नेताहरुमा राजनीतिक संस्कृति प्रभावकारी नहुनु र नागरिकभन्दा पार्टी सदस्य र आफन्तलाई प्राथमिकतामा राख्ने गरेका कारण लोकतन्त्रप्रतिको वितृष्णा बढिरहेको छ । फलस्वरुप निर्वाचनमा मतदान दिने वा नदिने भन्नेमा बहसहरु हुने गरेको पाइन्छ । मतदान बहिस्कार गर्ने व्यवस्था भने नेपालको संविधान २०७२ ले गरेको छैन । नेतृत्व चयनमा नागरिकको महत्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ ।

किन मतदान गर्ने ?

जनतामा मात्र निहीत अधिकार मतदानको अधिकार हो । यसले स्वयं जनताका प्रतिनिधिलाई नेतृत्व गर्ने स्थानमा पुर्‍याउँछ । लोकतान्त्रिक शासन विधिको पहिलो चरण निर्वाचन हो । यो अधिकार हरेक दिन आउँदैन । आगामी ५ वर्षका लागि नेतृत्व छनोट गर्ने अधिकार वैशाख ३० गते नागरिकलाई छ । आगामी ५ वर्षका लागि यो दिन विशेष दिन रहन्छ । नागरिकले चित्त नबुझेको राजनीतिक दल वा उम्मेदवारलाई पराजित पनि गर्न सक्दछौं । मतदान नगरे कुनै उम्मेदवारलाई हराउने वा जिताउन सक्ने अधिकारको प्रयोग हुँदैन । यदि निर्वाचन नहुने हो भने शासन प्रणालीमा सरकारको शक्ति सन्तुलन कायम रहँदैन । शासन गर्ने व्यक्ति जनता प्रतिभन्दा शासकप्रति बफादार बन्नेछन् । शासकहरु नागरिक स्वतन्त्र भएको रुचाउँदैनन् ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा नै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई आत्मसात् गर्ने कुरा उल्लेख छ । संविधानको भाग २० धारा २६९ मा समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले कानुनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन् भनी उल्लेख गरिएको छ ।

नागरिकको अधिकारभन्दा पार्टी र दलप्रति बफादार बन्ने परम्परागत सोचाइले नेतृत्वमा गुणात्मक परिर्वतन भएकोे छैन

त्यसैले, निर्वाचनपछि नेतृत्व वर्गले देशको कानुन बमोजिम नागरिकहरुले हक, हितमा काम गर्नुपर्छ । निर्वाचनको समयमा मतदाताहरुसँग गरेको वाचाको आधारमा निर्णय लिनुपर्छ । नेपालमा जनप्रतिनिधिहरु व्यक्तिगत र दलगत स्वार्थमा फसेका कारण नागरिकमा दलहरुप्रति नकारात्मक दृष्टिकोण बन्ने गरेको छ । तर लोकतन्त्रमा दलीय प्रतिस्पिर्धा बिनाको निर्वाचनको कुनै अर्थ रहँदैन । उनै दलका नेताहरु निर्वाचनमा आफ्नो घोषणापत्रसहित नागरिकमा आउनुपर्छ । यो कार्यावधि निश्चित समयमा लागि मात्र भएकाले जनप्रतिनिधिहरुले जनताको इच्छाअनुसार काम नगरेमा अर्को निर्वाचनमा उनीहरु चयन वा नगर्ने अधिकार स्वयं मतदाताहरुमा हुन्छ । नेपालका ठूला दलहरुको सिन्डिकेटले नागरिकको अधिकार भन्दा उसको पार्टी र दलप्रति बफादार बन्ने गरेको देखिन्छन् । नागरिकमा पनि राम्रो नेतृत्वभन्दा आफ्नो पार्टी र मेरो दल भन्न परम्परागत सोचाइका कारण नेतृत्वमा गुणात्मक परिर्वतन हुन सकेको छैन । फलस्वरुप निर्वाचनमा स्वतन्त्र व्यक्ति उठ्ने संस्कारको विकास हुन थालेको छ । स्वतन्त्र व्यक्तिमा विकासको स्पष्ट भिजन देखिन्छ तर उनीहरुको स्थानीयस्तरमा दलीय संरचना नभएका कारण उनीहरुले जित्ने सम्भावना कम रहन्छ । त्यसैले नागरिकले आफ्नो मान्छेभन्दा राम्रोलाई मत दिने संस्कारको सुरुआत गर्न सके नेतृत्वमा सकारात्मक परिर्वतन हुन्छ । देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा थप टेवा मिल्छ ।

कसरी मतदान गर्ने ?

वैशाख ३० गते समयमै मतदान केन्द्रमा पुग्नुपर्छ । सुरक्षाका कारण मतदानका दिन सरकारले सवारी साधनहरुमा रोक लगाउन सक्छ । आफ्नो नामावली भएको केन्द्रमा आफ्नो मतदाता परिचयपत्रसहित उपस्थित हुनुपर्छ । मतदान केन्द्रमा गएर मतदान अधिकृतले हस्ताक्षर गरिदिएको मतपत्र लिने । मतदान कक्षमा प्रवेश गर्ने । टेकल वा कुर्चीमा रहेको स्वस्तिक छाप लिने । हल्का स्टाम्म प्याडमा चोब्ने । मसी लागेको वा नलागेको परीक्षण गर्न अन्य पेपर भए परीक्षण गर्ने । आफूलाई दिन चाहेको उम्मेदवारको चिन्हमा छाप लगाउने । छाप लगाउँदा कोठाभित्र पर्ने गरी लगाउनु पर्छ । स्वस्तिक छापको मसी नलत्पतिने गरी बिस्तारै मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने । मतदान गर्ने क्रममा मसी लतपतिएमा, कोठामा छोएका तपाईंको मत बदर हुनसक्छ । विगतका निर्वाचनमा मतदान गर्ने भनेर कसैले औंठा छाप लगाएको पनि यदाकदा सुन्नमा आएको थियो । औंठा छाप वा अन्य चिन्हहरु लगाउन पाइँदैन । तपाईंको एक भोटले ठूलो अर्थ राख्छ । कहिलेकाहीं तपाईंले रोजको उम्मेदवारले एक भोटले पनि जित्ने वा हार्ने सम्भावना रहन्छ । कुन पदका लागि कति जनालाई भोट हाल्ने हो भन्ने यकीन गर्नुपर्छ ।

वि.स. २०७४ सालको स्थानीय निर्वाचनमा देशभर ७४.२ प्रतीत खसेको मतमा ३.४ प्रतिशतको मत बदर भएको थियो । त्यसैगरी प्रदेश सभाको निर्वाचनमा समानुपातिकमा १४.१६ प्रतिशत मत बदर भएको थियो भने प्रत्यक्षतर्फ ४.१४ मत बदर भएको निर्वाचन कार्यालयले आफ्नो बुटेलिनमा प्रकाशित गरेको छ । वैशाख ३० गते हुने निर्वाचनमा पनि बदर हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सबै उमेर, समूह र व्यक्तिलाई सही सूचना दिनु जरुरी छ ।

निर्वाचन आयोगका अनुसार वैशाख ३० गते देश भर ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडामा ३५ हजार दुई सय २१ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् । जसमा १ करोड ७७ लाख ७ हजार २३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । जसमा पुरुष ८९ लाख ९२ हजार १० जना, महिला ७८ लाख ४१ हजार ५३० जना रहेका छन् भने अन्यमा १८३ जना छन् । देशभर १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्रहरु निर्वाचन आयोगले तोकेको छ ।

मतदान गर्न के के चाहिन्छ ?

आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमा मतदाता परिचयपत्र लिएर जानु पर्नेछ । मतदान गर्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्दछ । मतदातालाई पायक पर्ने स्थानहरु विद्यालय, स्वास्थ्य चौकी, गाउँपलिका भवनमा मतदान केन्द्रहरु तोकिएको हुन्छ ।
दृष्टिविहीन वा शारीरिक अशक्तता वा अरु कुनै कारणवश आफैं मत दिन नसक्ने भएमा आफ्नै घरको सदस्यलाई साथमा लैजान सकिन्छ । मतदान अधिकृतको अनुमतिमा व्यक्तिले इच्छाइएको दलको नेतालाई मत दिन सक्नेछन् । मतदाता परिचयपत्र हराएको छ भने तुरुन्तै नजिकको निर्वाचन कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ । आफ्नो मतदाता परिचयपत्र कहाँ छ खोजेर तयारी अवस्थामा राख्नु पर्छ ।

समग्रमा भन्नुपर्दा विधिको शासनमा मतदानले ठूलो अर्थ राख्छ । मतदानले नै वैधानिकरुपमा को प्रति जनमत छ भन्ने कानुनीरुपमा प्रमाणित गर्छ । त्यसैले निर्वाचनमा सहभागी बनौं । आफ्नो अधिकारको प्रयोग गरौं । आफूले रुचाएको नेतृत्वलाई जिताउन भूमिका हुनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width