मास्क महिमा

शेषराज भट्टराई शेषराज भट्टराई
माघ १२, २०७७

मास्क भनेर उच्चारण समेत गर्न नजान्ने स्वाँठले पनि मास्कको महिमा थाहा पायो र लायो पनि । क्रुर समयले सास्तीसहित सिर्जना गरेको कोभिड १९ का लागि अचूक अस्त्र र उपायको भरपर्दाे औजार नै मास्क । राम्रा नराम्रा साना ठूला हाकिम, पिएन, गरिब, धनी, चोर, चन्डाल सबैका मुखमा एकतमासले झुण्डिरहेको छ मास्क । यसका आविष्कारक र परिकल्पनाकारलाई पनि मान्नु पर्छ । त्यो नभएको भए यो ज्यान नरहने । अनाहकमा फसादमा फसिन्थ्यो या त घरमै बसिन्थ्यो । मास्क छ र त दायाँबायाँ रल्लिन हल्लिन पाएका छौं ।

धुलो धुवाको उग्र रुपले हामीले लिने अक्सिजन ग्रहणयोग्य हुँदैन त्यसमा महामारीका जिवाणु तैरिरहेका हुन्छन् । फोक्सोलाई सुरक्षित राख्न सचेत मानवले नाकमुख ढाक्ने गरी मास्क लगाएका हुन्छौं । नत्र भने भइराखेको राम्रो म्वाइँ खाने थुतुनु छोपेर हिँड्न कसलाई रहर लाग्छ र ? महामारी वायुप्रदूषणले ज्यानै जोखिममा पर्छ भने त्यसमा ध्यान पनि दिनै प¥यो । आआफ्ना प्वाल सबैले बन्द गर्नुपर्छ । मानिसका शरीरमा धेरै किसिमका प्वालहरु हुन्छन् । घुस, जुस खाने प्वाल, कमिसन, नाफा, कमाइ खाने प्वाल, देश खाने प्वाल, मलमुत्र विसर्जन गर्ने प्वाल, देख्ने प्वाल, सुन्ने प्वाल, प्वालै प्वाल । प्वालकै पछि लागेर कतिपयले आफ्नो सहस्र जिन्दगीलाई नै प्वालमा समाहित गरेका हुन्छन् । प्वालमा ¥याल काडिरहेका हुन्छन् । जे होस् प्वालै पिच्छेका फरक फरक स्वाद लिने क्षमता हुन्छ प्वालमा । विषम परिस्थितिमा आफ्ना ती सबै प्वालमा मास्क लगाएर ढाक्नु पर्छ । आफ्ना थान्कामा राख्नु पर्छ । अड्कलेर खानु पर्छ र खाने मौकामा मात्र प्वाल खोल्नु पर्छ नत्र प्वालबाट प्रदूषण भित्रिन सक्छ । दूषित वायुले आयु घटाउन सक्छ । सिंगो ज्यान संकटमा पर्न सक्छ त्यसैले हामी जानी जानी छानी छानी राम्रा राम्रा मास्क लगाउने गर्छाै । मास्क निकालेर नै माहुर चाट्ने र म्वाइँ खाने गर्छाै । खाना, दाना, खप्लक्क निल्यो अनि मास्कले ढपक्क ढाक्यो क्यानन्द ।

मास्कधारी प्वालबाट चाहि हावा किटाणु भाइरस छिरेर सोझै फोक्सोमा ठक्कर खान्छ र त्यसले स्वस्थ तन्दुरुस्त शरीरलाई कुटुकुटु खान थाल्छ । फोक्सोको फुल्ने, फक्रिने क्रिया प्रक्रिया हावाकै कारणले हुन्छ । स्वास उत्पादन गर्ने फोक्सोलाई स्वच्छ पवित्र कञ्चन पवनको जरुरत पर्छ । त्यसैले बुद्धिमानी मान्छेले स्वच्छ हावा फोक्सोमा पैठारी गर्नकै लागि नाक मुखमा ढपक्क मास्कले ढाक्ने गर्छाै । यसरी थुतुनु र सिँगाने प्वाललाई मास्कले छोपेर थान्को लगाउने चलन प्रदूषणको प्रादूर्भाव भएपछि नै सुरु भएको हो ।

मान्छेका मुखबाट हराएर गाई गोरु पशुमा सीमित थियो मास्क/मुखन्डा तर आज मानवमै फर्कियो ।

प्रदूषण धुलो मैलोमा मात्रै होइन प्राणीको घ्याम्पे थैलोमा पनि हुन्छ । मान्छे मान्छेमा पनि व्यापक प्रदूषण हुने भएको हुनाले हामीले मानवको सम्मुख पर्दाखेरि वा परिन्छ कि भन्ने पिरलोले नाकमुख छोप्ने गर्छाै । यसो गर्दा रोग आदान प्रदान हुने सम्भावना न्यून रहन्छ । खाँट्टी रोग सर्न र मर्नबाट बच्न सकिन्छ । मर्नु प्रदूषण सर्नुलाई मान्छेले निको मान्दैनन् । रोगबाट संक्रमण भैहाले पनि तातैताताबाट तात्तातै उपचार गर्नु तातै खानु तातै लगाउनु बुद्धिमानी ठहर्छ । बुद्धिमानी भद्रभलादमी सुकिला मुकिलाले त्सै गरी राखेका छन् तसर्थ रोग सर्ने मर्ने बिरामी पर्ने केही मत्थर भएझै लागिरहेको छ ।

मान्छेका मुखबाट हराएर गाई गोरु पशुमा सीमित थियो मास्क÷मुखन्डा तर आज मानवमै फर्कियो । मनपरि खानाले महामारीलाई निम्ता दियो । यसैले महामारी झनै मौलायो । सरकारले पनि मास्क खेती गर्नेलाई राहत, अनुदान, दान, महादान दिनसम्म दिएको छ । त्यसैले मास्कका मालिकहरु मान्छेलाई मास्क किन नलगाएको भन्दै धकेल्दै थर्काउँदै हिँड्छन् । किनकि तिनीहरुसँग मास्क छ । पावर र पैसा छ अरु व्यापार व्यवसायीहरु धारासायी भएका छन् । निन्याउरा निरीह छन् । त्यसैले पक्कै पनि धक्का खान्छन् । यस महामारीले यो लेख तयार हुँदासम्म लगभग २० लाख मानव चोला खोलामा गइसके भने पचास लाख मानव मर्ने अनुमान गरिएको छ । म पनि लाइनमा छु । स्वर्गबास हुने त भए भए मस्त मास्क बेच्नेहरूचाहिँ स्वर्गीय आनन्दमा उग्राइरहेका छन् । जसरी सरकारी कार्यालयमा हुलाक टिकट नटासी वरको सिन्को पर सारिँदैन त्यस्तै मास्क रहित मानव सर्वत्र प्रतिबन्धित छन् । बाटाघाटामा समेत प्रवेश निषेध गरिएको छ भने निषेधज्ञा तोड्न पनि साथमा मास्क त बोक्नै प¥यो । एउटा हराए फाटे थोत्रिए वैकल्पिक मास्को जोहो जगेडा पनि गरौं । सुत्ने सिराने मुनि परिवार नियोजनको अस्थायी साधन मात्र होइन मास्क पनि राखौं । डाइनिङ हल बैठक कोठा, भान्साको थाल राख्ने ठाउँमा समेत मास्क थाक लगाएर राखौं । पर्स, पाइन्ट, गोठ, ओठ, भकारो, भकारीदेखि लडाइ हर्क बडाइँमा समेत मास्क मुख्य साधन स्रोत बन्न गएको छ । खुसी उन्माद, भोक, शोक खुद्रा थोक जता पनि मास्कको महत्त्व र महिमा थाहा भएको हामीले देखिरहेकै छौँ । सन्तको मुखमा पनि मास्क, जन्तको मुखमा पनि मास्क, सेवकका मुखमा पनि मास्क, मेवकका मुखमा पनि मास्क । फुस्रा खस्राको मुखमा पनि मास्क, चिल्ला चाप्ला सुकिला मुकिलाका मुखमा पनि मास्क । सासै फेर्न नसक्ने दमग्रस्त धम्कीका मुखमा पनि मास्क हासिरहेको हुन्छ । यी सबै मास्कमय वातावरण देख्दा लाग्छ मास्क रहित जिन्दगी के जिन्दगी ? सबैले एकमुखले मास्क लगाउने भएपछि मास्कका मामिलामा दुई मुख हुने त कुरै भएन नि । त्यसैले मास्क वरहित परहित जे जस्तो जस दिए पनि मान्छेका लागि सस्तो भए पनि मूल्यवान् अविनार्य र अनिवार्य मान्नु पर्छ ।

बरु श्रीमती छोड्नु मनासिब होला तर महामारीमा मास्क छोड्नुहुँदैन । एउटै मोटरसाइकलमा श्रीमान् श्रमिती बस्नु नहुने बसको सिटमा सँगै बस्नु नहुने, कसैले कसैलाई छुन नहुने, श्रीमान्ले श्रीमतीलाई सुम्सुम्याउनु नहुने भएपछि परिवार नियोजनको काम पनि कारोनाले नै गर्ने भयो । छुन नभएपछि सृष्टि सिर्जनामा ठप्प बिर्काे लाग्यो । तै पनि भैराखेको जिउँदो ज्यानलाई बचाउन महामारमिा कसरी बच्ने भन्ने शिक्षा महामारीले नै दिएको छ । विषम परिस्थितिबाट उम्कने कला पनि महामारीले नै सिकाएको छ । आक्कल झुक्कल कसैका सन्तान भैहालेछन् भने पनि महामारीमा जिउने पिउने कला सिक्नेछन् । हरेक कठिन परिस्थितिको सामुन्ने पर्न र सामना गर्न सिक्नु सक्नु पनि बुद्धिमानी मान्छेको ह्याउ, हैसियत र खुबी भित्रै त पर्छ होला छैन र ?

माक्र्सले महामारी मात्रै छेक्दैन यसले त चित्त नपरेकोलाई पनि छेक्न सक्छ । साहू महाजनको ऋण, कर्जाबाट पनि सजिलै सुरक्षा दिन्छ । शत्रुको त झन अनुहार नहेर्न नदेखाउन पनि मिल्छ । मन परेका असली दानी आए मास्क खोल्ने बुद्धि बंगारो देखाउँदै बोल्ने हाँस्ने अगतीला साहू, शत्रु, सुराकी, सुरक्षाकर्मी आए मास्कलाई फैलाएर आँखाको नानी मात्र पनि खुल्ला राख्न सकिन्छ । भगवानले छप्पर फोरेर दिएको यस्तो बहुउपयोगी मास्कलाई विश्वले कहिल्यै मानव मुखबाट विस्थापित नगरोस् । मानवीय मास्क मौलाएर फैलिएर नाक मुखमा मात्रै होइन अब डाँडाकाँडा नै ढाकोस् ।

एकताका काठमाडौंको वायु प्रदूषणले नेटो काट्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नै बोलीले जनताको मुखमा बुजो लाग्ने किसिमले भाषणमा भन्नु भएको थियो ‘काठमाडौं कन्चन भयो यहाँ मास्क लगाउने मान्छे नै छैनन् र जसले मास्क लगाउँछ ऊ सत्ता विरोधी हो । अहिले यसमध्ये महामारीमा पनि सत्तामा सुत्नेहरूले जनताले मास्क नै नलगाइदिए हुने थियो भन्छन् कि भन्ने लागिरहेको छ । सत्ताको उन्मत्त स्वादमा शासकहरु एसलाई नो भन्न पछि पर्दैनन् । आफ्नो भद्दा शासन शैलीलाई स्वर्णयुग सावित गर्न मुन्टाले टेकेर लागिपर्छन् । अहिले विश्वव्यापी रूपमा बालबृद्ध, अपांग तरुनी तन्नेरी धनी, गरीब, सबैका मुखमा गक्ष र लक्ष्य अनुसारका गरौं, हल्का, महँगा, सस्ता, रंगी विरंगी थरिथरिका मास्क एकतमासले फहराई रहेको देख्दा कोरोनाको जन्डी ओखती नै मास्क हो कि जस्तो लागिरहेको छ । तमाम नागरिकका मुखमा माम बरु छुट्ला मास्क छुट्ने छाँटकाट देखिँदैन । मरेका मान्छेका मुखमा पनि मास्क देख्दा कुन दिन आफ्नो धड्कनले पनि आफूलाई यसै गरी चड्कन लगाउने हो भन्दै रन्थनाएर दारा किटिरहेको छु । कस्तो कालो कलविष समय । रातिको सुताइमा पनि मास्क, बिहानको उठाइमा पनि मास्क, हिँडाइमा मास्क, बसाइमा मास्क, खाजामा मास्क भातमा मास्क, तिउन, पिउन, लिउन, सिउन, जिउन सबैका मुखमा मास्क । मास्क मानव मुख र बस्तीमा यत्रतत्र सर्वत्र देख्न पाइन्छ– त्यसैले आफू त नलगा भने पनि मास्क लाइन्छ । जय मास्क ! जिन्दावाद मास्क !

Related News

सम्बन्धित समाचार

    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…
    • जनमत, संविधान र संसद विगठन

      gehendramanudas डा. गेहेन्द्रमान उदास “पोखरेली” फागुन ७, २०७७
      राज्यका तत्वहरू– जमीन, जनता, सार्वभौमिकता र सरकार यी चार तत्वहरू मध्य जनता सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व देखिन्छ । किनभने…

    hero news full width