मर्दी पदयात्राका स्मृत तीन दिन

दुर्गाप्रसाद आचार्य
मंसिर ६, २०७९

अन्नपूर्ण हिमशृंखलाको बीचमा उभिएर पोखरा नियालिरहेको हुन्छ माछापुच्छ्रे हिमालले । यो देख्दा लाग्यो, तालहरुको वाटिका सहर पोखराको लाइफ गार्ड हो माछापुच्छ्रे । हिन्दु धर्मअनुसार यो हिमालको महिमा जति छ, त्यति नै सुन्दर । माछापुच्छ्रे हिमाललाई भगवान् शिवजीको शिरको प्रतीकका रुपमा लिने गरिन्छ । यस हिमालबारे बिबिसी न्युज नेपाली संस्करणमा संस्कृतिविद् डा. जगमान गुरुङले बताउनु भएको छ,‘माछापुच्छ्रे भनेको माछाको पुच्छर होइन शिर हो । त्यो हिमालको चुचुरो नर र नारायण भन्ने तपस्वीको प्रतीक हो । त्यसैले नर र नारायणको शिरमा मानिसको पाइला टेक्नु हुँदैन ।’ यसै मान्यतानुसार माछापुच्छ्रे आरोहणका लागि खुल्ला गरिएको छैन । हुनत यो हिमाल निकै नै सुन्दर भएर आरोहण नगरिएको भन्ने मत पनि सुन्न पाइन्छ । ६,९९३ मीटर अग्लो माछापुच्छ्रे र यसको नाकैमा टल्कने मर्दी हिमालको सुन्दरतामा प्रणयोन्मत्त नहुने मानिस होला र ?

सधैंका दसैंमाजस्तै यसपालि पनि हिमालपारिबाट भेडाच्यांग्र्राका बथान पोखरा झरिरहेका थिए । घटस्थापनाको दिन पूर्ण पुन, रामु पौडेल (इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स विभागका फ्याकल्टी) र म मर्दी हिमालको पदयात्रामा निस्कने तरखरमा थियौँ । ऋतु शरद्, नवदुर्गा भए पनि यस पटक मनसुन भने सकिएको थिएन । बिहान पौने ६ बजे नै हामी ब्याकप्याक भिरेर पोखराबाट निस्क्यौँ । बस स्टेसनमा चियाको चुस्कीसँगै यस पदयात्राको लागि उपयुक्त ट्रेल छनोट गरियो र लुम्ले काँडेसम्मको यात्रा सार्वजनिक बसमा गर्‍यौँ । बिहानको नौ बजेको थियो । आकाशमा घाम र बादलको लुकामारी चलिरहेकै थियो । हामी काँडेबाट अस्ट्रेलियन क्याम्पको उकालो चढ्दै थियौँ । पसिनाले शरीर निथ्रुक्कै थियो र मुख सुक्का । बाटो छेवैमा तिरतिरे धारोबाट पानी तिरतिर झरिरहेको थियो । पानी पिउने इच्छाले हामी रोकियौँ । पदयात्रीको एउटा समूह हामीलाई उछिनेर गयो । बाटोभरि परफ्युमको बास्ना फैलियो । त्यस समूहमा एकै किसिमका सेता टिसर्ट लगाएका युवतीको संख्या धेरै थियो । सायद उनीहरुको पदयात्रालाई कुनै संस्थाले आयोजना गरेको थियो ।

अस्ट्रेलियन क्याम्पबाट खाना खाएर हिँड्दा साढे ११ बजेको थियो । जंगलको बाटो, पानीको कलकल आवाज, फूलको मिठो सुगन्ध, त्यसमा मिसिएर आउने किराहरुको टिरटिर आवाज र पदयात्रीको ओहोरदोहोर । लोकेसन म्याप हेर्दै हामी अघि बढिरह्यौँ । पितम देउराली पुगेर चिया पिउँदै बाटोमा खिचिएका फोटाहरु हेर्दै त्यसमा कमेन्ट गर्दै गर्दा झण्डै एक घन्टा समय बिताएछौँ । हाम्रो फोटो खिच्ने काइदा पनि बेग्लै थियो । जसलाई जुन ठाँउमा खिच्न मन लाग्छ ऊ अगाडि गएर पोज दिइहाल्ने र पछाडि आउनेले खिचिदिने ।

मनसुन सकिइ नसकेकोले बाटो भने हिलो र चिप्लो थियो । त्यसमाथि छिन छिनमा आउने कुहिरोले बाटो पूरै ढाकिदिन्थ्यो । पितम देउरालबाट उकालो लागेपछि बेपत्ता भएको घाम कता छ, पत्तो थिएन । घडीमा साढे चार बजेको थियो । पानी पर्लाजस्तो अँध्यारो भयो । जंगलको बीच, पानीको कलकल आवाज र किराहरुको टिरटिर । खुट्टा थाकेका थिए । मौसम चिसो । थर्मसमा उमालेको तातो पानी थियो । कफीको सर्जाम पोखराबाट बोकेका थियौँ । पूर्ण सरले स्टिल कपमा कफीको धुलो, चिनीको क्युब राख्नु भयो र थर्मसको तातो पानी । ब्ल्याक कफी तयार भयो । ठूला ठूला ढुंगामाथि बसेर कफीको आनन्द लिँदै गर्दा मलाई अँध्यारो जंगलभित्र दिशा थाहा पाउने मन लाग्यो । तिनै जना कन्फ्युज भयौँ । मोबाइलको कम्पास हे¥यौँ । हाम्रो अनुमान पूरै गलत रहेछ । अब हिँड्ने बाटो भने तेर्साे तेर्साे छ तर चिप्लो । पदयात्रीहरु निकै सावधानीका साथ हिँडेका देखिन्छन् । झण्डै एक घन्टा हिँडेपछि फरेस्ट क्याम्प पुगियो । यहीं पुगेर मर्दी पदयात्राको पहिलो बास बस्ने योजना बनाएका थियौँ पोखराबाट । बस्ने होटलको बन्दोबस्त भयो । जंगलमा चराहरुको चिरबिर आवाज आइरहेको थियो, सायद तिनीहरु पनि बासको बन्दोबस्त गर्दै थिए होलान् । मेरो खुट्टा निकै चिलाए जस्तो भयो । कोठाभित्र पसेर जुत्ता खोलेँ । खुट्टाबाट रगत आइरहेको थियो । जुका लागेको रहेछ ।

फरेस्ट क्याम्पमा बिहानै घाम लाग्यो । मौसम खुलेको थियो । होटेलको आँगनमा बसेर कलिलो घामको तापसँगै बिहानको खाजा खायौँ । हामीले प्राप्त गरेको सूचनानुसार बेलुका बास बस्न आनन्दसँग हाइक्याम्प पुगिन्छ । यस पदयात्रामा भ्युप्वाइन्ट जाने अघिल्लो रात त्यहाँ बास बस्नै पर्छ । तेसो नगर्दा भ्युप्वाइन्टबाट सुर्याेदय हेर्ने अवसर हुँदैन ।

पहाडको टाकुरै टाकुरामाथिको यात्रा जति कठिन छ, उचाइ बढ्दै जाँदा त्यति नै रमाइलो हुने गर्दछ । पर परसम्म देखिने मनोरम दृश्यले मनमा आनन्दको सञ्चार भइरहेको छ । हाम्रो उचाइ बढ्दै छ । हिमालका पंक्ति नजिक नजिक हँुदैछन् । गोरेटोभरि खसेका मेलायका सुनौला पातहरु जसले मनमा आँटम (शरद्) ऋतुको छनक दिन्थ्यो । विस्तारै कडा हुँदै गएको घाम क्षण भरमै नाट्यशालाको नेपथ्य जस्तै बादलको पर्दाभित्र पस्यो । हामी हिँडिरहेको गोरेटो अनि सिंगै पहाडलाई कुहिरोले निलिदियो । किराहरुको टिरटिर आवजले भने छाडेन । हामी निरन्तर हिँडिरह्यौं, कुहिरोले छोपेको गुराँस र मेलायको जंगलभित्र ।

नाम नै बादल डाँडा । मेरो मनमा एकाएक लोककवि अलि मियाँका शब्दहरु आए ‘आकाशमा बादलु डम्मै छ मनमा के छ भन्नेलाई सम्मै छ…।’ डाँडामाथि आकाशमा बादल डम्मै थियो । कुहिरोले छोपेर वरपरका पहाडहरु सम्मै थिए । भोक लागेको थियो र थकाइ पनि उस्तै । त्यहीं खाना खाने निधो भयो । चिसो हावासँगै कुहिरो नाचिरहेको थियो । हामी डाइनिङ हलको हिटर वरपर बस्यौँ । आगो बलिरहेको थियो । हल न्यानो थियो । बाहिर भने सिमसिम पानी पर्न थाल्यो । तातो तातो भात, निउरोको अचार, टुसाको तरकारी साथमा कालो दाल अनि त्यो खाना खान दिने भाइको मुस्कानको कम्बो निकै रुचिकर ।

चारै दिशा घुमेर हेरेँ, आफ्नो माथि, तल निलो आकाश, सामुन्ने हाँसेको हिमाल, पूर्वमा लाली चढेको थियो

आकाश बिस्तारै खुलेजस्तो भो, पानी बिदा भयो । बादल डाँडालाई पिठ्युँ फर्काएर अघि बढ्यौँ हामी । मौसम छिनछिनमा बिग्रिरहेको थियो । झण्डै झण्डै एक डेढ घन्टा हिँडेका थियौँ, पानी पर्न थाल्यो । संयोग मान्नुपर्छ बाटो निर एउटा ठाँटी रहेछ, ओत लाग्यौँ हामी । एकै छिनमा देशी विदेशी पदयात्रीले खचाखचा भरियो ठाँटी । पदयात्रामा निस्कने अघिल्लो दिन बन्दोबस्तीका विषयमा निकै कुरा भएका थिए तर हिँड्ने बेलामा बर्सादी घरमै छुटेछ । पूर्ण सरसँगमात्र थियो एउटा बर्सादी । बिस्तारै पानी कम हुँदै गयो । पदयात्री पालैपालो निस्कन थाले, ठाँटी खाली हुँदै गयो । आकाशमा चराहरु उड्न थाले । पूर्ण सरले बर्सादी लगाउनु भयो हामीले बाक्ला ज्याकेट । रामु सरले कफी खाएर निस्कौं भन्नुभयो । कफीको सर्जम निकाल्न थाल्नु भयो पूर्ण सर । हाइक्याम्पमा बस्ने बन्दोबस्त तल फरेस्ट क्याम्पबाट नै गरेका थियौँ । डबल भ्यु होटेलका सञ्चालकले फोन गरे । हाइक्याम्प पुग्न अझै एक घन्टा जति हिँड्नुपर्ने कुरा सुनाए उनले । आइपुग्ने बेला अलि उकालो पर्छ । सुरुकै होटेल हो, बिस्तारै आउनुस् भनेर कुरा टुंग्याए उनले । बाटो सुनसान थियो । कफी खाएर हामी निस्क्यौँ । पिठ्युमा झोला गह्रौं लागिरहेको थियो । हामी झण्डै ३३०० मिटरको उचाइमा छौँ । लगातार आइरहने किराहरुको टिरटिर आवाज बिलाउँदै गयो । ठूला ठूला रुखहरुको जंगल छैन, अब ससाना लालीगुराँस र सल्लाहरु छन् आकाशमा भने बादल झन्झन् भरिँदै छ । हामी हाइक्याम्प पुग्नै लागेका थियौँ पानी दर्दर् बर्षिहाल्यो फेरि । पूर्ण सरको बर्सादी फिँजाएर तीन जनाले टाउको लुकायौँ । शरीर भने पूरै रुझ्यो । पानीले राम्रैसँगै चुट्यो । विस्तारै पानी बिदा भयो र चिसो हावा चल्न थाल्यो । हाम्रा ओठ नीला भए । रुझेका भारी कपडासँग डबल भ्यु होटलमा पुग्यौँ र आगोको रापमा बस्यौँ । होटलका भाइले अगेनामा दाउरा थपिदिए र तातो पानी दिए । उनले भने, ‘दश मिनेट जति ढिला हुनुभएछ नत्र त रुझ्नु हुँदैनथ्यो नि ।’

पानीमा भिजेका हामीलाई हिटरको रापले निकै राहत दियो । गार्लिक सुप अर्डर गर्‍यौँ । डाइनिङ हलको चारैतिर ठूला ठूला झ्यालहरु भए पनि बाहिर केही देखिएको थिएन । हामी जस्तै पानीमा भिजेर एक जना कोरियन युवा भित्र छिरे । उनी पनि हामीकै लाइनमा बसेर शरीर तताउन थाले । रामु सर र ती युवाबीच गफ निकै चल्यो । राम्रोसँग कोरियन भाषामा कुरा गर्न सक्ने रामु सर उनको साथी बन्नु भो । उनको नाम छे हान रहेछ । कोरियन युट्युबर हान दुई दिनदेखि मर्दी हाइक्याम्प बसेका रहेछन् । हातमा भिडियो क्यामेरा लिएका हानले स्टेन्डमा राखेर हामीतर्फ सोझ्याए । हानले रामु सरसँग निकैबेर कुरा गरे । बीचबीचमा हामी दुई जनाले पनि साथ दियौँ ।

अँध्यारोले हाइक्याम्पलाई छोपिसकेको थियो । किचनमा खाना तयार भइरहेको छ । पूर्ण सर र म क्यारिमबोर्ड खेल्न लाग्यौँ । हिटरको अलि पर रहेका डेनिस युवाहरु पनि खेल्न खोजे हामीसँगै । उनीहरु यसअघि क्यारिमबोर्ड खेलेका रहेनछन् । खेल्दै गर्दा उनीहरुसँग फुटबलको विषयमा कुरा भयो । आकर्षक शरीर भएका लक्का जवान ती युवाको फुटबलर क्रिस्टियन इरिक्सनप्रति ठूलो श्रद्धाभाव रहेछ । उनीहरु चार जनाको समुहमा थिए । एक जना युवा कोलम्बियन रहेछन् । निला आँखा भएकी युवती निकै सुन्दर थिइन् । हाम्रो निम्छरो खेल उनी पनि चाखपूर्वक हेरिरहेकी थिइन् । उनको कर्लि गोल्डेन हेयर पोनी टेल स्टाइलमा टाउकाको बीचनिरबाट बाँधिएको थियो र पिठ्युसम्म झरेको । हाम्रो खेल सकियो रामु सर र हानको गफ भने चलिरहेकै थियो ।

हाम्रो पदयात्रको तेस्रो बिहान साढे तीन बजे उठ्यौँ । जिन्जर टी पिएर मर्दी हिमाल भ्युप्वाइन्टतर्फ लाग्यौँ । अँध्यारै थियो । उकालोमा पदयात्रीको पिलपिले लाइट जुनकिरीजस्तै लाग्थे । आकाश भने निकै सफा थियो । बिस्तारै पूर्वको आकाशमा लाली चढ्न थाल्यो । अँध्यारो बिलाउँदै गयो । आँखै अगाडि हिमाल टल्कन थाल्यो । भ्युप्वाइन्ट पुग्न केही मिनेटमात्र बाँकी छ । घडीमा पाँच बजेर चालीस मिनेट गएको छ । उषाकालको यो दृश्यले मन साँच्चिकै आनन्दातिरेक भएको छ । उकालोमा उभिएर आनन्दको सास फेर्न मन लाग्यो मलाई । तलमाथि चारै दिशा घुमेर हेरेँ । आफ्नो माथि निलो आकाश छ, तल पनि उस्तै आकाश । पूर्वमा लाली चढेको छ । आफ्नै सामुन्नेमा हिमाल हाँसेको छ । पूर्ण सर भ्युप्वाइन्ट पुगिसक्नु भएको छ । म पुग्नै लागेको छु । रामु सर केही तल हुनुहुन्छ । मन भने चंगा झैं उडेर हिमालको चुचुरो पुगिसकेको छ ।

हामी तिनै जना भ्युप्वाइन्ट पुग्यौँ । भ्युप्वाइन्ट पदयात्रीहरुले भरिभराउ थियो । यतिका धेरै मानिसहरु कति छिटो आइपुगेका ! डिलबाट अलि पर हेरे टिकटक बनाउने युवा युवती निकै फुर्तिला देखिन्थे । झण्डै ४२०० मिटरको उचाइ त्यहाँबाट हिमचुली, अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी, गंगापूर्णलगायत हिमालको दृश्यावलोकन गर्न सकिने रहेछ । हामीले मर्दी हिमालको छिमेकी पहाडमा उभिएर चियाको चुस्कीसँगै सधैं पोखरा नियालिरहने माछापुच्छ्रे नियाल्यौँ, जुन अनुहारले पोखरा हेर्दैन ऊ । भ्युप्वाइन्टको साँगुरो डिलबाट माछापुच्छ्रे हेरेर उभिँदै गर्दा मैले मोदी खोला र मर्दी खोला सम्झेँ । त्यही हिँउको थुप्रो पग्लिएर एकातर्फ निस्कने मोदी खोला कता पुगेर कालीगण्डकीमा मिसिन पुग्छ र उसले कहाँ कहाँ बग्ने गर्छ । अर्काेतर्फ निस्कने मर्दी खोला सेतीमा मिसिएर कुन भूगोलमाथि बग्ने गर्छ । वास्तवमा मानिसलाई पनि त उसको जीवनमा आउने कुइनेटाले कहाँबाट कहाँ पुर्‍याउँछ ।

हिमाल बिस्तारै दसैंमा सेतो कमेरोले पोतेको घरको भित्ता झैं भयो । सफा चट्ट परेको सेतो । तिनै जनाले मिलाई मिलाई हिमालसँग फोटो खिच्यौँ । बिहानको आठ बजिसकेको थियो । तल हाइक्याम्पमा ब्रेकफास्ट तयार भइसकेको छ । ओरालोमा बिस्तारै झर्दै गरेका पदयात्रीलाई उछिन्दै हामी हाइक्याम्प झर्‍यौँ । हाम्रो योजना आजै पोखरा पुग्ने छ । ब्रेकफास्टको सेट टेबलमा आइपुग्यो । आलु चिल्लि निकै मन पर्‍यो ।

हामीले पाएको सूचनाअनुसार चार/पाँच बजेसम्म सिदिङ पुगिन्छ । सिदिङबाट पोखरा जाने जिपको समस्या छैन । जतिबेला पनि चल्छ । ओरालो झर्न हामीलाई सजिलो भएन, कारण के भने पानी परिरहेको हिलो बाटो । हिलो र चिप्लो बाटो छिचोल्दै बेलुका पाँच बजे सिदिङ आइपुग्यौँ । सिदिङबाट पोखराका लागि जिप चढ्यौँ । शरीर भने निकै थाकेको थियो । (लेखक पोखरा विश्वविद्यालयका उप प्रशासक हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width