यसपालिको मङ्सिर र नेपाली शिर

माया भण्डारी रुशिक
मंसिर १७, २०७७

सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार

मङ्सिर एक गतेको कुरा हो । यही कविता सम्झँदै, गुन्गुनाउँदै उकालो चढें । पहिले–पहिले हिँडिन्थ्यो; अहिले स्कूटरमा हुइँकिएँ । भावनाका उत्ताल तरङ्ग छरिए । उत्तरतिर उतुङ्ग हिमाल टल्केका थिए । गाउँ अलि उराठ लाग्यो । गाउँमा ठूलो मान्छे बितेको सम्झिन्छु । मुखियाको घरमा भयङ्कर रुवावासी चलेको थियो । निकै दिन गाउँघर शून्य जस्तो भाथ्यो । अहिले कोरोनाका कारण जताततै एक प्रकारको सन्नाटा छ । कोही कसैसित नजिकिएर बोल्दैन ।

उकालो काटेपछिको तेप्र्याइँमा खैरे र खैरिनी हात समातासमात गरेर हिँडिरहेका थिए । दुवैले मुखमा मास्क लगाएका थिए । अरु बेला भए म्वाइँ खाँदै हिँड्दा हुन् । उनीहरु प्रायः त्यसरी नै हिँड्छन् । लेकसाइडमा देखिने यस्ता दृश्य कोरोनाले खायो । कुरै कुरामा जोडले हाँस्दै खैरेले च्याप्पै खैरिनीलाई अङ्गालोमा कस्यो । मेरो ओँठमा मुस्कान फुल्यो । मैले श्रीमान्लाई सम्झें । मेरा श्रीमान् दूरीले छेकिएका छन् । बादलले छेकिएका छन् । उहाँ टाढा, धेरै टाढा परदेशमा; म घरदेशमा । भर्खरै घर आए के गर्दा हुन् ? मेरो स्कूटर भन्दा करोडौं गुना तीब्र गतिमा मन उड्यो ।

‘आइ लभ यू डार्लिङ !’
सुहाग रातमा मेरो घुम्टो हटाउँदै बूढाले भनेका थिए । केदार भण्डारी मेरो छिमेकी दाइ, सँगै क्याम्पस पढ्ने साथी; मेरा श्रीमान् बनेका थिए । मेरा बाबुआमाले केदारसँग मेरा हातपाऊ बाँधिदिए । हामीले पाणिग्रहण गरेका थियौं । म लाजले रात्तिएँ । शरीर बेस्सरी तात्तियो । १८/१९ को उमेर ! पृथ्वीनारायण क्याम्पसमा आइए पढ्ने विद्यार्थी; ‘आइ लभ यू टू !’ भन्न जानेकी थिएँ तर मैले भनिनँ । दकसले बोल्न सकिनँ ।

माया लाग्छ भनूँ–भनूँ सरि थिइन् लज्जावती ती पनि
आनन्दी व्यवहारमै हृदयका बल्थे हजारौं ध्वनि
दर्जनौंं पटक गौरी पढेकी छु । निर्घात–निर्घात् रोएकी छु । लज्जावती हुन सिकाइएकी थिएँ । म साँच्चै लजाएँ । बूढा छिटै विदेशिए । विदेशबाट आउँदा अलि लाज हटाएर आएछन् । भाँती–भाँती कुरा गर्न थाले । अहिले आए के गर्दा हुन् ? टङ् किस गर्न त दिन्नँ । मैले सोचेँ ।

दुई दाइकी बहिनी र एक भाईकी दिदी म । नेपाल सरकारका जागिरे दाइसँग भेट नभएको ठ्याक्कै एक वर्ष भएको थियो । सबैसँग भेटघाट भयो । नारी मनोविज्ञान त्यस्तै बन्दो रहेछ । माइतै रमाइलो लाग्ने । रोऊँ–रोऊँ लाग्ने, बित्थैमा पनि हाँसू–हाँसू लाग्ने । बालक्रिडाको थलो । प्रकृतिले अति नै माया गरेको ठाउँ ढिकुरपोखरी । बाला जोवन खेलेर गयो, वैँश जोवन मायालाई भैगयो । अहिले छोराहरुको लालनपालनमै ठिक्क । खै हामी नारीले आफ्नै जीवन कहिले बाँच्छौं ! एउटा मनले डिभोर्सी साथीहरुको जीवन फुक्काफाल र स्वतन्त्र जस्तो लाग्छ । अर्को मन मान्दैन । भर्खरै मीना ढकाल मिडियामा भाइरल भैरहेकी छन् । कोरोना संव्रmमित उनको पूर्वपति मनोज गजुरेलप्रति मीनाले सम्पूर्ण सद्भाव प्रकट गरेकी छन् । मान्छेहरुले मीनाको कुरा काटेका छन् । मीना अलि सूरी, आँटिली देखिन्छिन् । अरु कैयौं सस्तिएका पनि छन् । बजारु बनेका छन् । जीवनको रङ्रुप अनौठो छ । मेरो छोरो रुपेशले गाउँछ :
‘कहिले सादा, ‘कहिले रङ्गीन जिन्दगीको रङ्ग
यस्तैगरी बितिजान्छ दुःखसुख सङ्ग !’

दुःख झेल्दाझेल्दै अलिकति सुख बटुल्न माइत आएँ । दाजुभाइलाई टिका लगाइदिएँ, टिका लाएँ । सेल खाँदै दाजुभाइहरु गफिए । विषय राजनीतिकै उठे । पर्सी अर्थात् मङ्सिर ३ गते नै नेकपा फुट्ने चर्को हल्ला चलिरहेको थियो ।

‘जनताको ढाडको किर्नो जस्तो कम्युनिष्ट फुटे त जाति नै हुन्थ्यो !’ काङ्ग्रेसी ठूल्दाइले भने । जागिरे माल्दाइ बोलेनन् । साहित्यकार भाइ रामले भन्यो, ‘पुरै विदेशीको इसारामा नाच्ने रहेछन्, नफुट्न पनि सक्छ; फुट्न पनि सक्छ !’
‘३ गतेको सचिवालय वैठकमा केपी ओलीले नजाने भनेका छन्, साँच्चै अडान लिएर गएनन् भने त फुट्को स्थिति बनिहाल्छ नि …!’ ठूल्दाइ अलि हौसिए !’

‘चीन, भारत र अमेरिकाको खेलले हाम्रो देश ध्वस्तै हुने छाँट छ …!’ कर्मचारी दाइ पनि नबोली बस्न सकेनन् ।

क्याम्पस पढ्दा म साथीहरुको सङ्गतले अखिल जस्ती थिएँ । अखिललाई भोट दिन्थेँ । गाउँमा काङ्ग्रेस नेताकी बहिनी, काङ्ग्रेस नै ठानिन्थें । विहेपछि राजनीति, पढाई सबै छुट्यो । गृहिणी भएँ । राजनीतिमा चासो रहेन । अहिले होहल्लाले छुँदैछ । ‘जागौं पोखरा’को दुइटा कार्यक्रममा सहभागी भएँ । अन्यायको विरोध गर्ने आँट बढेको छ । ०३ गतेको नेकपाको सचिवालय बैठकबारे सम्पूर्ण ध्यान खिचियो । के गर्लान् त …? चौपट जिज्ञासा जाग्यो । दुई दिन उत्सुकतामा बितेपछि ०३ गते आयो । प्रचण्डले जण्ड भाषामा प्रतिवेदन लेखेका थिए । बैठकमै नजाने भन्ने प्रधानमन्त्री केपी ओली बैठकमा गए । प्रतिवेदनलाई निराधारको आरोप–पत्र बताए । दशदिनपछि प्रत्युत्तर गर्छु भने । नेकपाको ०३ गतेको खड्गो ट¥यो, १३ को प्रतीक्षा सुरु भयो । पोखरामा कोरोनाले मेरो चिनजानकै स्याङ्जाकी धनमाया गुरुङ्को कारुणिक मृत्यु भयो, म बेस्सरी बिथोलिएँ । उपचारका लागि ट्याक्सीमा अस्पताल चहार्दा चहार्दै बिचरी मरिन् । परिवारलाई कस्तो चोट लाग्यो होला ! फेरि अर्को दिन कास्कीकै कार्की उस्तै नियतिले उपचार नपाएरै बिते ।

‘मम्मी एकहजार रुपैयाँ दिनुहोस्, साथीहरुले डे पिकनिक जाने भनेका छन् ।’ आठ कक्षामा पढ्ने मेरो माइलो छोरोले भन्यो ।
‘पिकनिक जान हुन्न नि छोरा, प्रशासनले रोकेको छ ; बाहिरै ननिस्कनु भनेको सुनेनौं ?’ मैले सम्झाएँ ।
‘ह्या मम्मी कति घरमै कोच्चिने, चार/पाँच जना मात्रै जाने हो क्या !’
‘काँ जाने ?’
‘हेम्जाकोट हुन्छ होला… !’
हेम्जाकोट, मेरो सपनाको डाँडो । हामीले पनि आठ कक्षामा पढ्दा ढिकुरपोखरीबाट हेम्जाकोट घुम्न जाने भनेका थियौं । साथीहरु गए, मैले जान पाइनँ । अहिले फेरि त्यो दर्शनीय डाँडोले तान्यो । ०४ गतेको छोराको कार्यक्रम क्यान्सिल भएछ । कोरोना र राजनीतिले बिथोलिएको मन बहलाउन ०७ गते बिहानै हामी आमा छोराले जरेबरबाट हेम्जाकोटको यात्रा थाल्यौं । घुम्ने रहर कसलाई हुँदैन र ? बाँसकोटमा स्कुटर राखेर धितालको उकालो पैदल यात्रा शुरु गर्‍यौं ।

ठाडो उकालो, ढुङ्गाको सिंढी १०–१५ मिनेट हिँड्नासाथ सोम विश्वकर्माले बनाएको चौतारीमा बस्यौं । ठाउँ–ठाउँमा चौतारी रहेछन् । एउटा चौतारीमाथि विशाल पहरा रहेछ । मैले त्यो पहरा देख्दा कविता आलेको गीत सम्झेँ, भाका हालेर गाएँ :

पहरा भए पग्लिन्थ्यो होला
पग्लेन तिम्रो मन … !
‘ड्याडीको याद आयो कि क्या हो मम्मी ?’ छोराले जिस्क्यायो । हामी उकालो हिँडिरह्यौं । तीतेपाती, उन्यूँ, गुँरासको सुगन्ध… सास फुलेर स्याँस्याँ हुँदा पनि मन आनन्दित भैरह्यो । सिँढीको उकालो सिद्धियो । धिताल पुगियो । कालीको मन्दिरमा मैले ढोँग गरेँ । हामी हेम्जाकोट उक्लियौँ । उत्तरतिर ल्वाङ्घलेल, सिढिङ्, अलि तल मेरो माइत; दक्षिणतिर फेवा…हेम्जाकोटबाट पोखराको सबै ठाउँ देखिने । हामी स्वर्गको नजिकै पुगेका थियौँ ।

मङ्सिर १० गते महिला हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस, पोखरामा राजावादीको जुलुस । १३, नेकपाभित्रैको लडाइँ; केपी ओलीको ३८ पृष्ठ लामो प्रतिवेदन । मङ्सिर २०, काठमाण्डूमा जनताको ठूलै प्रदर्शन । फेरि चुनाव आउला । फेरि जनताले ठगिनै पर्ला । हाम्रा नेता यिनै हुन् । गर्ने यस्तै हो । २०७७ को मङ्सिरलाई एम्नेष्टीको रिपोर्टले अविस्मरणीय बनायो । नेपाल भ्रष्टाचारमा दक्षिण एशियाकै १ नम्बर ठहरिएछ । प्राविमा पढ्दा हामी उफ्रिउफ्रि नाच्थ्यौँ र गाउँथ्यौँ :
यो नेपाली शिर उचाली……!

यसपालिको मङ्सिरमा नेपालीको शिर निकै निहुँरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width