मध्यम मार्ग प्रतिगमन होइन

डा. गेहेन्द्रमान उदास “पोखरेली”
असार १७, २०७७

मध्यम मार्ग अर्थात सम्यक मार्ग यथार्थतामा आधारित उचित मार्ग हो । यस मार्गका प्रथम प्रणेता गौतम बुद्ध हुन् । उहाँको यो सम्यक मार्ग जनजनको जीवन शैली र राज्य चलाउने राजा र लोकतन्त्रका नेता हौँ भन्नेहरूले जनताको मानसम्मान र निरन्तर शान्ति र सन्तुष्टमय सुख प्राप्तिको लागि अपनाउनुपथ्र्यो । तर विडम्बना उनको यथार्थवादी वैज्ञानिक धम्मलाई हिन्दू, मुस्लिम, ईसाइ आदि धर्मजस्तै गरी ईश्वरीय धर्म भनी नाम दिएर गौतम बुद्धको सिद्धान्त विपरीत अपनाएका छन् । वास्तवमा बुद्धको ‘धम्म’ धर्म होइन । तर यो लेखको विषयवस्तु राजनीति सम्बन्धित भएको हुनाले राजनीतिकै सन्दर्भ ल्याउन अनुमति माग्दछु ।

कुरा के हो भने, आजकाल शासकहरुले लोकतान्त्रिक गणतन्त्र नेपालमा सुशासन र सुव्यवस्था ल्याउन नसकेको परिस्थितिमा विभिन्न व्यक्तिहरुले पूर्व राजा ज्ञानेन्द्रलाई फेरि राजा बनाई राजसत्ता फर्काउने कुरा उठाइरहेका छन् । र तिनीहरुको अन्तरवार्ता लिएर विभिन्न मिडियाले प्रचार पनि गरिरहेका छन् । जनमुखी सार्वभौम परिवर्तनलाई कोशेढुङ्गाको रुपमा प्रगति गर्ने प्रवृत्ति नराखी प्रतिगमनको प्रयास गरिरहेका छन् । यसरी २००७ सालपछि अहिलेसम्म नेपालको समस्या भनेकै प्रतिगामी सोच भइरहेछ ।

स्वाधिकारका महत्वाकाङ्क्षी तत्कालीन राजा महेन्द्रले २०१७ सालमा बहुदलीय व्यवस्था अन्तर्गत जनताको मताधिकार प्राप्त गरेको नेपाली काँग्रेसको पहिलो जनप्रतिनिधि सरकारलाई सैनिक शक्ति लगाई विघटन गरी निर्दलीय वा एकदलीय पञ्चायती व्यवस्थाको घोषणा गरेकोमा, मैले त्यो कदम “प्रतिगामी भयो” भन्दै तत्कालको परिस्थितिको मागअनुसार संवैधानिक राजतन्त्र अन्तर्गत नै बहुदलीय व्यवस्था कायम राख्ने र जनताको सार्वभौमिक अधिकार राज्यको शक्तिको स्रोतलाई अक्षुण राखेर दलीय व्यवस्था अनुसार नै सरकार चलाउने ।

करिब पाँच वर्ष अघि आइतबार १८ फागुन २०७० को काठमाडौंबाट प्रकाशित भएको “नागरिक” मा राजा त्रिभुवन र गणतन्त्र नामको शिर्षकमा मेरो लेख प्रकाशित भएको थियो । त्यस लेखमा “गणतन्त्रको उच्चारण शाब्दिक रूपमा गर्ने पहिलो व्यक्ति त्रिभुवन थिए र व्यवहारिक रूपमा वीरेन्द्रका छोरा दीपेन्द्रलाई काठमाडौँको बूढानीलकण्ठ बोर्डिङ्ग स्कूलमा, आवासीय विद्यार्थीको रूपमा पढाउँदा, खानेलाउने आदि व्यवहारमा जनताका छोराहरूलाई जस्तो व्यवस्था गरिन्छ, त्यसरी नै गर्नू भन्ने व्यवहारिक निर्देशन दिइएको थियो । यहाँसम्म कि बोली वचनमा समेत राजखान्दानको शब्दावली प्रयोग नगरियोस् र जनताका छोराहरूलाई जस्तो शब्दावली प्रयोग गरिन्छ, त्यही नै शब्दावली प्रयोग गरियोस् भन्ने राजा वीरेन्द्रको आग्रह थियो । त्यो बेला म बुढानीलकण्ठ स्कूलमा पढाउँथे । यस अर्थले राजा वीरेन्द्र व्यवहारमा पनि जनता नै राज्यको मौलिक, सार्वभौमिक शक्तिको स्रोत भन्ने नवीन संस्कार र भावनाले युक्त भएका व्यवहारवादी जनमुखी गणतन्त्रात्मक भावनाका राजा थिए भन्ने उक्त लेखको उपसंहार थियो । त्यस लेख प्रति छपकैया, वीरगञ्ज निवासी शिव शंकर यादवज्यूले शुक्रबार २३ फागुन २०७० को उक्त नागरिकमा “राजाको नियोजित वखान” शिर्षक दिएर निम्न लिखित प्रतिक्रिया जनाएका थिए, जस्तै “१८ गते आइतबार” को नागरिकमा गेहेन्द्रमान उदास पोखरेलीको लेख “राजा त्रिभुवन र गणतन्त्र” पढेर उनको विद्यावारिधिको ज्ञान थाहा पाउने मौका दिएकोमा खुसी लाग्यो । साथै मलाई पनि केही कुरा भन्न मन लाग्यो । ४ शहीदको माथि बसेका राजा त्रिभुवन गणतन्त्रको माथि पनि बस्ने छन् जस्तो भान भयो । गणतन्त्रको शाब्दिक उच्चारण उनले गरे होलान्, तर चाहेकोमा, २००७ देखि कति वर्ष चाहेको थियो ? त्यो उनको जीवन कालमा किन भएन ? मलाई त यस्तो लाग्छ कि नेपालमा अब सुनियोजित ढङ्गले शाह वंशलाई महिमा गर्ने काम सुरु भइसकेको छ । पृथ्वीनारायण शाहको बहस हुँदाहुँदै अब हामी त्रिभुवनको बहसमा लाग्नु पर्ने भयो । केही दिन अघि पनि यस्तै मध्यम मार्गी लेख पृथ्वीनारायणको बारेमा आएको थियो (सायद त्यो लेख मेरै हुन सक्छ) । यी निकम्मा राजाहरूको बयान गर्नु अब जनताको समय खेर फाल्नु हो ।” यसरी यादवज्यूले मेरो लेखलाई मध्यममार्गी भन्दै निकम्मा राजाहरूको बयान गर्नु अब जनताको समय खेर फाल्नु हो भनी टिप्पणी गर्नुभएको छ । मध्यममार्गलाई प्रतिगमनको प्रतिकको रूपमा इङ्गित पनि गर्नुभएको भन्ने लागेको छ । तर मध्यममार्ग अगाडि बढेको कदमलाई फेरि पछाडी फर्काउनु होइन ।
अब म यही कुरालाई केन्द्रमा राखेर अघि बढ्छु । सर्वप्रथम पृथ्वीनारायण शाहको सन्दर्भको कुरा गरौं । राजा पक्षका परम्परावादीहरूले ईश्वरको कुरासँग जोड्ने प्रयास गरेर गर्भदेखि नै नेपाल एकीकरणको अवतारको रूपमा जन्मेका र राष्ट्रिय एकीकरण कर्ता भनी अतिशयोक्ति कुरा गर्दछन् भने उनका विरोधीहरू खासगरी नेपालका आदिवासीहरूले हाम्रो राज्य अपहरण गर्ने भाषा, संस्कृति र इतिहासलाई विस्थापित गर्ने निरङ्कुश साम्राज्यवादी हुन्’ भनेर विरोध गर्छन् । उनीहरूले २०६२÷०६३को जनआन्दोलनमा त उनको शालिक समेत ढलाए ।

यथार्थ कुरा के हो भने उनी ईश्वरको अवतार पनि होइनन्, राष्ट्रिय एकीकरणकर्ता पनि होइनन् । तर नेपाल एकीकरणकर्ता भने निसन्देह हुन् । एकीकरण कर्ताको रूपमा गर्भमै अवतार लिएर जन्मेका होइन् । गोर्खा राज्य गरिब भएको र आगनकै नेपाल मण्डल धनी भएकोले काठमाडौँ उपत्यकाका शक्ति र सम्पत्तिले मात्तिएका तीन झगडालु राजाहरूलाई जित्ने मनसुवाले अगाडि बढेका हुन् र उनको कदममा गोर्खाका जनताले साथ दिएकोले पृथ्वीले सफल अभियान थाल्न सकेका हुन् । तर त्यो साम्राज्यवादी अभियान उनका कान्छा छोरा बहादुर शाहको नायवी काल र त्यसपछि मुख्तियार भीमसेन थापाको शासनकालमा किल्ला काँगडामा पुगेर मात्र पुरा भएको हो । यद्यपि काठमाडौं उपत्यका जित्ने साम्राज्यवादी अभियान भएपनि, त्यसले नेपालको राजनीतिक र भौगोलिक रूपले एकीकरण भएको तथ्य कसैले नकार्न सकिँदैन र नकार्न पनि हुँदैन । किनभने यसले नेपालको अस्तित्वमा एकीकृत अस्तित्वको, पहिचान बनाएको छ ।
पृथ्वीनारायण शाहको सन्दर्भमा मैले मध्यम मार्गलाई यसरी औल्याएको छु । त्यो कुरालाई पृथ्वीनारायण क्याम्पसका इतिहासका एक प्राध्यापकले पृथ्वीजयन्तीको उपलक्ष्यमा “श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको उपदेश आज पनि सान्दर्भिक छ” भन्ने शिर्षकमा कार्यपत्र प्रस्तुत गरेको थियो । मलाई टिप्पणीकारको रूपमा नियुक्त गरिएकोले मैले यस्तो व्यहोराको टिप्पणी गरेँ “कार्यपत्रमा पृथ्वीनारायणको उपदेशको अनुकूल पक्षको मात्रै विश्लेषण र विवेचना भएको छ । तर प्रतिकूल सन्दर्भको कुरा उठाइएको छैन । जस्तै नेपाललाई ‘खास हिन्दूस्तान हो’ भनेको र चारवर्ण छत्तिसजातको साझा फुलबारी’ भनेको कुरा नेपालीको आन्तरिक राष्ट्रियता, स्वाभिमान र सुदृढ एकताको लागि आपत्तिजनक छ । यसमा पनि प्रकाश पार्नुपर्दछ । शुद्धिकरण गर्नुपर्दछ । यसरी इतिहासबाट पाठ सिक्नको लागि र नेपालको राष्ट्रियता र स्वाभिमानको प्रगतिको लागि पृथ्वी नारायणको राम्रो गुण नेपालीले सम्झनुपर्दछ ।’’ यो विचार मध्यम मार्ग हो । तर यसको मतलब परम्परावादीहरूको निरंकुश धारमा शाह वंशको राजतन्त्र फर्काउने भनेको होइन ।

राज्यको विकासको सिद्धान्तमा राज्यका ४ अङ्गमध्ये जनता प्रमुख अङ्ग (आधार) भएको देखिन्छ । राज्यको सार्वभौम शक्ति र मालिक अन्ततोगत्वा जनता नै देखिन्छ, यद्यपि निरङ्कुश राजतन्त्रमा यो शक्ति राजाले प्रयोग गरेको इतिहासमा देखिन्छ । त्यसैले गणतन्त्र यथार्थमा जनताको तन्त्र हो । अब यसलाई फेरि हटाएर राजतन्त्र पुनस्र्थापना गर्नु भनेको पूर्ण प्रतिगामी कदम हो ।

राजदरबारको हत्याकाण्ड र अरुमा समेत जस्तो सुकै दोषारोपण भए पनि ६२/०६३ को जनआन्दोलनमा श्री ५ ज्ञानेन्द्रको शाही सरकारले हत्याहिंसा नगरीकन आठदलसँग सम्झौता गरेको भए न राजतन्त्र उन्मूलन हुन्थ्यो न आजसम्म संक्रमण काल लम्बिन्थ्यो । यो सम्झौताको एक मात्र कडी त्यसबेला राजाले संविधान सभाको घोषणा गर्नु थियो । त्यस कुरालाई लिएर मैले ‘ राजाले तुरुन्त संविधान सभाको घोषणा गर्नुपर्छ भन्ने शिर्षकमा मेरो लेख ४÷३०÷१२÷०६२ मा पोखराबाट प्रकाशित ‘पोखरापत्र दैनिकमा’ प्रकाशित भएको पनि थियो । तर मेरो कुरा कसैले पनि सुनेन । आवाजहिनहरूको आवाजभयो । अहिले फेरि राजतन्त्र फर्काउने नियत राख्नु, नागरिक भएका ज्ञानेन्द्रको आफ्नै वचनबद्धताको उल्लघंन हो । यसको सट्टा गणतन्त्रलाई सुदृढ गर्ने, कदम चालनु युग अनुसारको अग्रगमन हो र मध्यम मार्ग पनि हो । यदि ज्ञानेन्द्र शाहलाई फेरि सत्तामा आउने पूर्वाग्रह छ भने राजा हुनको लागि होइन, राष्ट्रपति र प्रधानमन्त्री हुनको लागि राजनीति गर्नुपर्छ । त्यो पनि धर्मको आडमा होइन । आजका नेताहरूले गरेको राजनीति र सत्ता सञ्चालन गर्दा गरेको प्रत्यक्ष वा अप्रत्यक्ष भ्रष्टाचार, अनियमितताको विरुद्ध राजनीति गर्नु आजको आवश्यकता हो । त्रिभुवन र वीरेन्द्र बाहेक अन्य शाह राजाहरूले गरे जस्तै जनताको सार्वभौम सत्ता र राज्यको मालिकत्वको विरुद्ध धर्मको नाममा अदुरदर्शी राजनीति गर्नु हुँदैन । यसले अशान्ति र अन्योलको वातावरण मात्र ल्याउँछ । गणतन्त्रात्मक लोकतन्त्रका नेताहरूले पनि अप्रत्यक्ष रूपले धर्मको राजनीति गरिरहेछन् । कसैले पनि कुनै पनि धर्मको आडमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राजनीति गर्न हुँदैन । मानवीय विश्वका सबै देश धर्म निरपेक्ष राज्य हुनुपर्छ । तवमात्र मानवीय जीवन शैली विश्वमा विकास हुन्छ । यसको आवश्यकता विश्वमा फैलेको कोविड–१९ कोरोना भाइरसको प्रकोपले देखाएको छ । यस तथ्यलाई वास्ता नगरी राजनीतिकर्मीहरूले ‘राज्यसत्ता प्राप्त गर्नको लागि परिस्थिति अनुसार जता पनि लाग्न सकिन्छ’ भनी वेश्यावृत्तिको उपमा दिएको सुन्दा गणतन्त्र मात्र होइन लोकतन्त्र नै त्यही कारणले असफल हुने वास्तविकता आउने देखिन्छ ।

मैले जहिले पनि मध्यम मार्गको वकालत गर्दै आइरहेकोछु अर्थात सत्यतथ्य (यथार्थ) लाई समातेर इतिहासमा गरेको गल्तीलाई नदोहो¥याउने, राम्रो कामलाई कोसेढुङ्गा थपेर प्रगति गर्ने यथार्थ कुरालाई ढाँकछोप गरेको दोष हटाएर यथार्थलाई अँगाल्ने । यी निर्देशनहरु मध्यम वा सम्यक मार्गका स्रोतहरू हुन् ।

यसरी धेरै क्षेत्रका समस्याहरू समाधान गरी प्रगति गर्नका लागि धेरै मध्यम मार्गहरू लेखद्वारा सार्वजनिक गरेको छु र गर्दैछु पनि । त्यसमध्ये एउटा उदाहरण यहाँ पेश गर्दछु ।
सन्दर्भ देशलाई संघीय संरचनामा पुनर्गठन गर्नसँग सम्बन्धित छ । माओवादी समेत आठ दलको सरकारका प्रधानमन्त्री गिरीजा प्रसादको पालामा संविधान सभाले बुधबार जेठ १५ गते २०६५ मा बसेको पहिलो बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ संसदहरूको विरुद्ध ५६० मतले नेपाललाई विधिवत सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ कार्यान्वयन भएको प्रस्ताव पारित गरेको घोषणा भएपछि मैले पाँच विकास क्षेत्रलाई नै पाँच विकास प्रदेशको रूप दिने विचार तत्काल पोखराबाट निस्कने स्थानीय पत्रिकामा दिएको थिएँ ।सक्रमण कालमा कोसेढुङ्गाका रूपमा सङ्घीयताको अग्रगामी कदम विकास गर्न, यो नै त्यो बेलाको उचित अर्थात यथार्थवादी मध्यम मार्ग थियो । किनभने प्रत्येक विकास क्षेत्रले (१) हिमाल देखि तराइसम्मको भूगोल समेटेको । (२) सबै क्षेत्रका जनतामा मनोवैज्ञानिक भावना विकास गरेको (३) प्रशासनिक प्राथमिक पूर्वाधार बनाएको (४) प्रत्येकको सिमाना निर्धारण गरिएको (५) नयाँ संरचना बनाउनुभन्दा विकास क्षेत्रलाई प्रदेशको रूप दिँदा खर्च पनि कम हुन्थ्यो । यी कुराहरूलाई दर्शाउँदै २०७२ सालको साउन ४ र ५ गते पोखरामा सुझाउ सङ्कलन गर्न आएका टोली समक्ष पनि राखेको थियोँ । मेरो कुरालाई सायद पञ्चायत कालको भनेर कसैले वास्ता गरेन । तैपनि म निराशाबाट हार नखाने मान्छे भएको हुनाले “पाँच विकास क्षेत्रलाई नै तत्काल पाँच प्रदेश किन नबनाउने ?’ भनी शिर्षक राखेर २०७२/४/१५/६ को पोखराबाट निस्कने राष्ट्रिय दैनिक आदर्श समाजमा प्रकाशित गरेँ । आज ७ प्रदेश लागु भए पनि त्यसले स्थिरता नपाएको, नामाकरणमा विवाद आएको र खर्च बढेको आदि धेरै कुराहरूले गर्दा सुचारूप लिन र सुव्यवस्था कायम गर्न नसकिरहेको परिस्थितिमा सङ्घीयता के होला ? भन्ने प्रश्न समाधान भएको छैन । अहिले पनि संघीयता खारेज गर्ने प्रतिगमनका कुराहरू निस्किरहेका छन् । पाँचविकास क्षेत्रलाई नै पाँच प्रदेश बनाएको भए सङ्घीयताले पूर्ण स्थायित्व प्राप्त भई प्रशासनिक सुव्यवस्था र समृद्धिमा कोसेढुङ्गाको रूपमा देशले आजसम्ममा स्थायित्व पाइसक्ने थियो ।
अन्त्यमा स्वाधिकारका महत्वाकाङ्क्षी तत्कालीन राजा महेन्द्रले २०१७ सालमा बहुदलीय व्यवस्था अन्तर्गत जनताको मताधिकार प्राप्त गरेको नेपाली काँग्रेसको पहिलो जनप्रतिनिधि सरकारलाई सैनिक शक्ति लगाई विघटन गरी निर्दलीय वा एकदलीय पञ्चायती व्यवस्थाको घोषणा गरेकोमा, मैले त्यो कदम “प्रतिगामी भयो” भन्दै तत्कालको परिस्थितिको मागअनुसार संवैधानिक राजतन्त्र अन्तर्गत नै बहुदलीय व्यवस्था कायम राख्ने र जनताको सार्वभौमिक अधिकार राज्यको शक्तिको स्रोतलाई अक्षुण राखेर दलीय व्यवस्था अनुसार नै सरकार चलाउने । तर सरकारले सुशासन–सुव्यवस्था चलाउन नसकेमा विशेषाधिकार प्रयोग गरी त्यो सरकारलाई भङ्ग गर्ने र अर्को सरकार खडा गर्नु वा नयाँ चुनावको घोषणा गर्नुपर्छ । तर राजाले अन्ततोगत्वा अधिनायकवादी नभएर जनताको सार्वभौमिकता र राज्यको मालिकत्वको सफा नियत भने राख्नुपर्छ । यसले गर्दा स्वार्थी पार्टी नेता र पार्टीहरूलाई डरत्रासको वातावरण रहेर दलीय व्यवस्था विसङ्गगतमय नभएर सुसङ्गतमय भई लोकतान्त्रिक राजनीतिक वातावरणको संस्कार–सांस्कृतिक विकास हुन्छ भनेर, मध्यम मार्गको आवाज उठाएको थिएँ । तर त्यस बेला कसैले पनि मेरो आवाजलाई मूल्य मान्यता दिएन । त्यसरी यथार्थवादी मध्यम मार्ग महेन्द्रले लिएको भए, अहिले सम्म आइपुग्दा लोकतन्त्र मजबूत भएर बेलायतको जस्तो संवैधानिक राजतन्त्र भएर नेपाल र नेपाली समाज (जनता) को राजनीति र सामाजिक बौद्धिक विकास उच्चस्तरको भइसक्थ्यो ।

Related News

सम्बन्धित समाचार

hero news full width