संस्मरण:  लकडाउनको चतुर्मास

bsnirab बी.एस.नीरव
असार २८, २०७७

खासगरी आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई चतुर्मास भनिन्छ । निर्जला एकादशीका दिन छरेको तुलसीको बिउलाई रोपेर विष्णुको प्रतीकका रुपमा पूजा गरिन्छ । अनि शारीरिक र मानसिक शुद्धिका साथ हरिबोधनी एकादशीसम्म व्रत बसेर दामोदर भगवान्सँग तुलसीको विवाह सम्पन्न भएपछि चतुर्मास सकिन्छ । चतुर्मासभरि भगवान् विष्णु क्षीर सागरमा शयन गर्नुहुन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । यस समयमा चलिआएका चाडपर्वबाहेक अन्य माङ्गलिक कार्यहरु गर्नु अशुभ मानिन्छ तर आज पङ्क्तिकारको विषय भने कोरोनाको कहरले निम्त्याएको लकडाउन अर्थात् बन्दाबन्दीको चतुर्मासको रहेको छ । यसको पृष्ठभूमिका रुपमा हेर्दा सन् २००२ मा देखा परेको खतरनाक भाइरस सार्सले झन्डै आठ हजार एक सयलाई सङ्क्रमित बनाएर लगभग आठै सयको ज्यान लिएको थियो । सार्स बनबिरालोबाट सरेको थियो भने सन् २०१२ तिर मध्यपूर्वमा देखिएको मेर्स सार्ने भाइरस चाहिँ उँटबाट मानिसमा सरेको थियो । त्यसबेला झन्डै ३ हजार सङ्क्रमित मध्ये ८ सय ५८ जनाको ज्यान लिएको थियो । सार्स र मेर्सको बलियो स्मृति अझै मेटिएको थिएन । यसकै भाव अनि कडा भाव बोकेर करिब १८ वर्षपछि आफ्नो शक्तिलाई लाखौँ गुणा बढाएर नयाँ खालको भाइरस देखापर्छ । यस भाइरसले आफ्नो इपिसेन्टर मध्य चीनको वुहान सहरलाई बनाउँछ । यसको लक्षणका रुपमा सामान्य रुघाखोकी र उच्च ज्वरो अनि सास फेर्न गारो हुने बताइएको थियो । पछि कोभिड – १९ नामको यस रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ११ मार्चमा विश्वमहामारी भनेर घोषणा गर्‍यो।

“जताततै त्रास र शङ्का, भय र त्राहित्राहिको कालो बादल मडारिइरहेको थियो । नयाँ नयाँ अफबाहहरु यसरी आइरहेका थिए कि मानौँ भीषण आगलागी क्षेत्रबाट आगाका लप्काहरु कोमल फूलमाथि बर्सिरहेका छन् । जुन फूलहरु आगो आउनुभन्दा पहिल्यै अर्धमृत अवस्थामा पुगिसकेका हुन्छन् । त्यसलाई आगोले पनि सहजरुपमा पचाउन सक्थ्यो । जताततै कोरोना युद्धको आगो रन्किरहेकै बेला बुद्धको देश पनि यसबाट जोगिन सकेन ।”

वुहान सहरको पशुपंक्षी व्यापार बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिन्छ । सुरुमा चमेरालाई कोरोना भाइरसको मूल स्रोत मानिएको थियो । विभिन्न अनुसन्धानहरु भइरहेकै बेला अर्को थ्योरी आयो र भन्यो – सालकबाट यो रोग फैलिएको हो । अनुसन्धान र खोज कुनै घेरामा सीमित हुँदैन । यसको दायरा दिन दुईगुणा र रात चौगुणा बढ्दै गयो । वैज्ञानिकहरु दिनरात रगतपसिना एक गरेर प्रयोगशालामा खटिन लागे । सबैले एउटै नतिजा असफलता मात्र हात पारिरहेकै बेला यस अगाडिका दुवै सिद्धान्तलाई नतमस्तक गराउँदै कसैले फेरि अर्को थ्योरी पस्कियो विश्वसमुदायमा । यो भाइरस चीनको वुहान सहरको जैविक प्रयोगशालामा तयार भएको हुनुपर्छ । चीनको जैविक हतियार भनेर विभिन्न युटुबर्स र मिडियाकार्मी देखा परे । यी र यस्तै वादविवादका बीच सारा विश्वभर हल्ला व्यापक भैसकेको थियो । कोही आफ्नो बडप्पन प्रदर्शन गर्दै थिए –चीनले सर्पबाट सारेको हो अरे । खास जे थियो त्यो अझै रहस्यको गर्भमै थियो । चिया पसलमा बुढापाकाहरु कलि धपक्कै बली भनेको यै हो । मासिने बेला आयो, अब के के हुने हो भनेर गफ चुट्दै थिए । यता स्कुलतिर आफूलाई स्वास्थ्य शिक्षक बताउनेहरु नेपालीलाई यो कोरोनाले केही हुँदैन भन्दै तातो पानी पिउन र चिसोबाट बच्न सिकाउँदै थिए । उता चीनमा सङ्क्रमणले रोकिने नामै लिएको थिएन । सारा उपाय र संयन्त्रहरु असफल भइरहका थिए । एक दुई गरेर भाइरस युरोप, अमेरिका तथा एसियाका अन्य मुलुकमा पनि फैलिइसकेको थियो । कोरोनाको चपेटामा मानिसहरुले ज्यान गुमाइरहेका थिए ।

यस्तैमा चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत ३२ वर्षीय पुरुष माघ १० मा नेपालमा पहिलो सङ्क्रमितका रुपमा देखा पर्छन् । यति बेलासम्म पनि नेपाल यसको तयारीमा जुटेको थिएन बरु जनतामा हल्लै हल्ला र त्रासले मन मथिङ्गल गलाइसकेको थियो । कोरोना चेकजाँच नेपालका लागि नयाँ र नौलो विषय थियो । त्यसैले होला ती सङ्क्रमित पुरुषको स्वाब हङकङ पठाइएको थियो । उनी निको भएर घर गए तर नेपाल निको भएन । जताततै त्रास र शङ्का, भय र त्राहित्राहिको कालो बादल मडारिइरहेको थियो । नयाँ नयाँ अफबाहहरु यसरी आइरहेका थिए कि मानौँ भीषण आगलागी क्षेत्रबाट आगाका लप्काहरु कोमल फूलमाथि बर्सिरहेका छन् । जुन फूलहरु आगो आउनुभन्दा पहिल्यै अर्धमृत अवस्थामा पुगिसकेका हुन्छन् । त्यसलाई आगोले पनि सहजरुपमा पचाउन सक्थ्यो । जताततै कोरोना युद्धको आगो रन्किरहेकै बेला बुद्धको देश पनि यसबाट जोगिन सकेन । नेपालरुपी स्वर्गमा पनि यसको आगो हनुमानको पुछरमा लागेको आगो स्वर्णिम लङ्कामा फैले जसरी फैलिने अवसर खोज्दै थियो । यसैक्रममा चैत्र ४ गते फ्रान्सबाट दोहा कतारको ट्रान्जिट हुँदै नेपाल भित्रिएकी काठमाडौंकी १९ वर्षीया युवतीमा पनि कोरोना भाइरस हाबी भएको थियो ।

कुन कति नम्बरमा पर्ने हो, कसैलाई सुइको थिएन । मैले पनि आपूm बाहिरफेर निस्कँदा मुख खुला राख्दैनथेँ र छोरी र उनलाई पनि विशेष निगरानी गरिरहेको थिएँ । मोबाइलमा बज्ने सन्देश तथा रेडियो टेलिभिजनका सूचना, समाचार र दृश्य देख्दा र सुन्दा त्यसै मुटुको ढुकढुकी बढेर आउँथ्यो । लाग्थ्यो आधिकारिक समाचार साँझमा एकपटक मात्र आए नि हुन्थ्यो नि । कहिले त टिभी नखोली त्यसै अनलाइन पोर्टलहरु हेरेर दिन बिताइदिन्थेँ । बलिका लागि पर्सिएका बोका जसरी सबै आआफ्नो नम्बर कुरेर बसे जस्तो लाग्थ्यो । मिडियामा बज्ने भावनात्मक गीतका हरेक शब्दशब्दले मेरै पीडाको भाव बोलेजस्तो लाग्थ्यो । रमाइला र चाखलाग्दा कुरा दिए हुने जस्तो लाग्ने । यता छोरी पनि नराम्रा सपना देखेको भन्दै सुनाउँथिन् । सिरानीमा हसिँया राखेर सुत्दा त्यस्तो डर नहुने भने पनि उनको बाल मस्तिष्कमा कोरोना कहरको त्रास अमिट रुपमा बास गरिसकेको थियो । उनीहरु दुवैलाई म मन दरो पारेर सम्झाउँथेँ तर मलाई सम्झाउने कोही नभए जस्तो लाग्थ्यो । बेलाबेलामा पानी पिइरहनु, बेसार र अदुवा अनि गुर्जेको लहरो, लसुन मिसाएर रस पिउनु दैनन्दिनी बनेको थियो ।

जहाँ गएर आए पनि हात साबुनपानीले मिचीमिची धुन मन लाग्ने । सेनिटाइजरले सफा गर्न मन लाग्ने । बाहिर तरकारी लिन जान कम भएको थियो । वरिपरिबाटै काम चलाइरहेका थियौँ । केही सामान ल्यायो कि तातो पानीमा डुबाउन मन लाग्ने । सायद तातो पानीमा कोरोना जीवित नहुने अपुष्ट भए पनि त्यही समाचारले अवचेतनमा डेरा जमाएको थियो । कहिले कहिले त झुक्किएर गरेका साना तिना गल्तीहरु पनि सम्झनामा आउने । कहिले लाग्ने के पाप गरिएको छ र मर्नलाई । भगवान्को आश पनि लाग्ने । घरमा कोही आगन्तुक आउँदा कोरोनाको भारी नै बोकेर आए जस्तो लाग्थो । अलिक सतर्कताका साथ चिया पिएपछि गइदिए हुन्थ्यो जस्तो लाग्ने । यसैबीचमा कसैलाई ज्वरो आयो भने रोगले भन्दा कोरोनाको डरले मुटु सुक्थ्यो । अझ छेवैमा आएर कसैले हाच्छ्युँ गर्‍यो कि त ब्रह्महत्या बराबर पाप गरेको ठहथ्र्याे । मनमा एक किसिमको बेचैनी, अनिद्रा, उकुसमुकुस, र तनाव मात्र थियो ।

सरकारले चैतको ५ गतेबाट २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा एकै पटक भेला हुन नपाइने घोषण ग¥यो । खाडी मुलुक तथा युरोपबाट आउनेलाई रोक लगाइएको समाचार बाहिर आयो । यो समाचारको छैठीँ गर्न नपाउँदै सरकारले फेरि अर्को नयाँ उर्दी जारी ग¥यो– लकडाउन । लकडाउन अर्थात् बन्दाबन्दी । न लक डाउन न लक आउट यस अघि नेपाली जनता सायदै परिचित थिए होला । सरकारको मायाले भन्दा पनि आफ्नो अमूल्य जीवन रक्षाका लागि एक आज्ञाकारी बालक झैँ प्रायः ले यसको पालना गर्दै थिए । कोही भने अभैm पनि सुने नसुने झैँ गर्दै आफ्नो तुजुक देखाइरहेका थिए । यही क्रम चलिरहेको थियो । मेरो भने मुखमा मुखौटो, हातमा सेनिटाइजर र बेलाबेलामा साबुन पानीले हात धुनु, नयाँ मान्छेसँग सामाजिक दुरी कायम गर्नु अनि डराई डराई काममा लागिरहनु नै कोरोना माताको पूजाविधि थियो । माताको पूजा गर्नु हरेक विश्व नागरिकको प्रमुख कर्तव्य थियो । यस्तै यस्तै गरेर नित्यकर्म चलिरहेको थियो । छोरी कृतिका र उनी यसको दुई दिनपछि ७ गते नै हतारहतार गाउँतिर फाल हालिसकेका थिए । म पनि कुनै स्कुलको नेपाली भाषा विषयको शिक्षक । सरकारले दिएको निर्देशन र स्कुलको तालिकाअनुसार चैत्र ५ गतेसम्म शैक्षिक सत्रको अन्त्य गर्ने सत्रान्त परीक्षा सकिएको थियो । सबैलाई बिदा भए पनि शिक्षकहरु परीक्षार्थीका उत्तरपुस्तिका परीक्षणमा तल्लीन थिए । मलाई भने परीक्षा संयोजक भएकाले विद्यालयले बिदा दिएको थिएन । बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म बेलाबेलामा आउने शिक्षकका माक्र्स इन्ट्री गराउँदै दिन बितिरहेका थिए । हिजो बेलुका ८ बजेसम्म स्कुलमा रिजल्टको तयारीमा जुटेको म लकडाउनको पहिलो दिन चैत ११ गते पोखरा छोड्ने सोच बनाएँ । लकडाउनको पहिलो दिन भएकाले जान पाइएला कि भन्ने झिनो आशा र यता स्कुलले पनि नबोलाउला भन्ने लख काटेर म हिँडेँ जन्मघरतिर । बडो दुःखका साथ गाउँमा पुगेँ । पहिला झैं कोही पनि भेट्न आएनन् । आएका पनि हाँसो गर्दै टाढाटाढा सर्ने । जे होस् गाउँमा पनि नयाँ मान्छे आउँदा सबै डराएका थिए । त्यसैले घर पुगेर पनि म १४ दिन जति होम क्वारेन्टाइनमा बसेँ ।

लकडाउन सुरु गरेसँगै सरकारले सिसिएमसी अर्थात् कोरोना सङ्कट व्यवस्थापन समिति बनायो । यससँगै क्वान्टाइन मापदण्ड पनि स्वीकृत गरेको थियो । देशभर ७५ हजार ९ सय ४ सिटको साधारण क्वारेन्टाइन र ३० हजार क्षमताको गुणस्तरीय क्वारेन्टाइन रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे । गाउँगाउँका स्कुलमा पनि बेन्च जोडेर क्वारेन्टाइन बनाइयो । मेरो घरछेउको स्कुलमा पनि यस्तै थियो । यसको मापदण्ड भाषणमा सीमित थियो । नाम मात्रका क्वारेन्टाइन भए पनि समाचारमा ठाउँ पाएका थिए । भारतबाट आउने र जानेहरुको ठेलमठेल थियो नाकानाकामा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरी नेपालको डेडिकेटेट आइसोलेटेड अस्पताललाई कोभिड– १९ को रोकथाम र उपचारको कार्यभार सुम्पियो । पछि यसको क्षेत्र बढाइयो र प्रदेश प्रदेशमा पिसिआर मेसिनहरु भित्रिए । कतै द्रुत परीक्षण अर्थात् आर डी टी परीक्षण हुन थाले । यसरी बढेको कोरोनाको कहरले अहिले नेपालका ७७ वटै जिल्ला आक्रान्त परेको स्थिति छ । सङ्क्रमण आज आएर ह्वात्तै बढेको छ । पङ्क्तिकारको पछिल्लो अद्यावधिसम्म सङ्क्रमितको सङ्ख्या लगभग १७ हजार पुगिसकेको छ भने अहिलेसम्म ३५ जनाले मृत्युवरण गरिसकेका छन् । क्वारेन्टिनमा २३ हजार ९ सय १० जना छटपटाइरहेका छन् भने ८ हजार ६ सय ३ जनाले अझै आइसोलेसनमा जीवन र मृत्युसँग पौँठेजोरी खेलिरहेका छन् । ८ हजार ११ जना स्वस्थ भएर घर फर्केका छन् । सरकारले अहिलेसम्म जम्मा २ लाख ७५ हजार ९ सय जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।

“लकडाउनको चतुर्मास सकिनै लागेको छ । सारा प्रकृति उही र उस्तै गतिमा अगाडि बढिरहँदा प्रकृतिको सर्वश्रेष्ठ एवम् विवेकशील प्राणी भनिने मानिस मात्र घरभित्रै थुनिएको छ । आखिर प्रकृतिमाथि घोडा चढेको मान्छेले प्रकृतिलाई जितेँ भनेर जति नै फुर्ति लगाए पनि सर्जकभन्दा ठूलो उसको सिर्जना हुन सक्दैन भन्ने दर्शन बिर्सेपछि यस्तै हुँदो रहेछ ।”

तेस्रो नंम्बरमा लकडाउनको दोस्रो दिन अर्थात् चैत्र १२ गतेका सङ्क्रमित थिए । उनी धादिङका ३२ वर्षीय पुरुष । चैत ६ गते युएईबाट एयर अरेबियाको फ्लाइट हुँदै नेपाल आएका । त्यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दुबईबाट आएका ३४ वर्षीय युवा पनि अछुतो रहन सकेनन् । उनी चैत्र ११ गते अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । अब भने भाइरस अलिक छिटो छिटो देखिन थालेको थियो । जेठ ३ गते धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक सुत्केरी महिलाले केवल ९ दिने शिशुलाई टुहुरो पारेर गएपछि नेपालमा कोरोना सङ्क्रमितको पहिलो मृत्यु पुष्टि भयो । जे भए पनि भारत लगायत विभिन्न देशबाट आएका नव आगन्तुकमा मात्रै देखिएको कोभिड १९ जेठ २१ सम्म आइपुग्दा समुदाय स्तरमा पुगिसकेको थियो । सुर्खेतका ६ जना स्थानीय र जुम्लाका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पोजेटिभ भएको पुष्टि भएको थियो । देशको स्थिति दिनप्रतिदिन भयावह बन्दै थियो । उता भारतबाट आउनेहरु ज्यानको बाजी लगाएर महाकालीमा हाम फालेरै भए पनि आफ्नो घर आउँदै थिए । यहाँसम्म आइपुग्दा धेरै समाचार आए । धेरै मृत्युको मुखबाट फर्केर आउनेले अबिर र माला अनि खुसीको कोसेली नवजीवन पाए । कति कल्यै नब्युँझने गरी चिरनिद्रामा ब्रह्मलीन हुन पुगे । यता कालीगण्डकीमा पनि धेरै पानी बगिसक्यो । पूर्वमा उदाएर सूर्य पनि सयौँ पटक अस्ताइसकेको थियो

। अफ्रिकी मुलुकबाट विश्व भ्रमणमा निस्केको लोकस्ट प्लेग भनिने सलह किरा ४ हजार माइलभन्दा लामो यात्रा तय गरेर सुन्दर देश नेपाल भेट्नका लागि आएको छ । धेरैका सपना सिसाको घरसरी चकनाचुर भए भने कतिले नसोचेको धन कमाएर नव धनाढ्य बने । कालो बजारी, कृत्रिम अभाव र महँगीले आकाश छोयो । बजारमा मास्क र सेनिटाइजर अभाव देखिन थाल्यो । राहात वितरणमा एकद्वार प्रणालीबाट भने पनि वास्तविक पीडितले पाउन नसकेका समाचार बजिरहे ।
अलि अलि चीनको लकडाउन, पाकिस्तान, इटली र अमेरिकाको हबिगतबाट बुझेका मान्छेहरु एकदुई महिनालाई सामान सञ्चय गर्न व्यस्त देखिन्थे । अस्पतालका डाक्टरहरु विदेशी आउनेवित्तिकै डराएर भागिरहेका थिए । कोही भने व्यक्तिगत सुरक्षा कवच पिपिई लगाएको फोटो हालेर सामाजिक सञ्जालमा प्रशंसाको चास्नी र आलोचनाको सिस्नुपानी एकैसाथ खाइरहेका थिए । स्कुल, कार्यालय, उद्योगधन्दा, यातायात, कलकारखाना सबै ठप्प थिए । कृषि र विकास निमार्णका एकाध काम फाट्टफुट्ट भइरहेका थिए । हिजो गाउँलाई सौताको छोरा जसरी हेला गरेका मनुवाहरु लुकीछिपी भए पनि गाउँ फर्क अभियानमा जुटेका थिए । सहर बजारका व्यस्त सडक सुनसान देखिएका थिए । फाट्टफुट्ट मानिसहरु बाटामा देखिन्थे । प्रायः सबै कुनै अपराध गरेर जेलमुक्तिपछि समाजमा निस्के जसरी मास्कले मुख छोपेर हिँडिरहेका थिए । उता भारतबाट वैधानिक तथा अवैधानिक रुपमा नेपाल आउनेहरुको बिजोग हेरिनसक्नु थियो । एउटा दुइटाबाहेक घरपट्टीहरु घरभाडा छुट दिने नामै लिँदैनथे । नाका नाकामा ज्वरो नाप्ने थर्मल गन लिएर अपर्याप्त स्वास्थ्यकर्मी जोखिम मोलिरहेका देखिन्थे । मृत्युपछि मात्रै कोरानाको पुष्टि भइरहेकै बेला क्वारेन्टाइनमै आत्महत्या र बलत्कारका घटना सार्वजनिक भए । मान्छेलाई क्वारेन्टाइनका नाममा भैँसी गोठमासमेत राखेर सरकारले नाङ्गो नाच नाचिरह्यो । बेलाबेलामा सरकार नैतिक भ्रष्टाचारको काण्डमा धमिलिइरहेको बेला नेकपा पार्टीभित्र आन्तरिक रुपमा आएको दरारले धेरैको मन अमिलो बनायो । सरकारले स्वदेशी १० अर्ब रुपैयाँ कोरोनामा खर्च गरेको विवरण सार्वजनिक ग¥यो तर दातृ निकायले दिएको ८ अर्बको कुरा कतै आएन । खै हिसाबको कुर्सीमा बसेर बेहिसाब भइरह्यो । आम्दानी शून्य प्रायः भए पनि सरकारले कर तिर्न कर गरेरै छाड्यो । यसैबीचमा सरकारले नेपालको नयाँ नक्सा जारी गरेर सबैको मनमा आशा र उत्साह भने जगाएकै हो ।

कोरोनाले सबैको जीवनशैली परिवर्तन गरिदिएको छ । मेरो पनि परिवर्तन नहुने कुरै भएन । मोबाइलको कर्कस अलामसँग उठ्ने म आजकल बिहानको शीतल मौसममा वेदका ऋचाको मधुर ध्वनिसँगै उठ्न अभ्यस्त बनेको छु । बुबाले पढ्ने भागवत्का श्लोकहरुले कान पवित्र हुन्छन् । बिहान लगभग ४० मिनेट जति योगाभ्यास गरेपछि नित्यकर्म सकेर एकछिन आराम गर्छु । त्यसपछि आमाले मीठो चिया ल्याउनुहुन्छ । चियाको चुस्कीसँगै अनलाइन समाचार सुन्नु मेरो आदत परेको छ । स्कुलले सुरु गरेको भर्चुअल टिचिङको तयारीमा जुट्छु । करिब १० बजेतिर खाना खाएपछि कोठैबाट पढाउँछु पोखरा सहरका आधुनिक विद्यार्थीहरुलाई । गुरु पूर्णिमामा धेरै शुभकामना आए । वाइफाई जोडेर पढाउन सुर गरेँ । पढाउन भनेरै एउटा ल्यापटप पनि जोरजाम गरेँ । तलब नथापेको पनि ३ महिना हुन लागेछ । विद्यालयले तलब दिने त कुरै छाडौँ । आश्वासन पनि दिएको छैन । गुरुगुरुआमाहरु बोल्न डराउँछन् । नैतिक बन्धन र भोलि त्यही जागिर भए पनि जाला भनेर । यो मेरो समस्या होइन । सारा शिक्षकहरुको समस्या हो । भोजनविना भजन पो हुँदैन । भोजनविना पढाइ किन हुँदैन । बाँकी दिन कहिले पाकिस्तानी सिरियल त कहिले साउथ इन्डियन मुभी । बेलाबेलामा आमालाई काममा सघाउन पाएको छु । आफ्नो परिवारलाई समय दिन पाएको छु । त्यसभन्दा बढी त यसबाट उर्वेको समय सिर्जनामा लगाउन थालेको छु । फेरि कहिले गाउँतिरको मेलापात त कहिले दिनभर फेसबुक र युट्युब हेरेर दिन बितिरहेका थिए । बेलुका ७: ३० बजेतिर खाना खाएर एकछिन समाचार सुन्छु । केहीबेर बाहिर शीतल हावामा बस्छु अनि एकछिनपछि दिनभरका पिर व्यथा र कथालाई निन्द्रा देवीको काखमा अर्पण गर्छु । लकडाउनको चतुर्मासभरिको मेरो दैनिकी यसरी नै बितेको छ ।

लकडाउनको चतुर्मास पनि सकिनै लागेको छ । सारा प्रकृति उही र उस्तै गतिमा अगाडि बढिरहँदा प्रकृतिको सर्वश्रेष्ठ एवम् विवेकशील प्राणी भनिने मानिस मात्र घरभित्रै थुनिएको छ । आखिर प्रकृतिमाथि घोडा चढेको मान्छेले प्रकृतिलाई जितेँ भनेर जति नै फुर्ति लगाए पनि सर्जकभन्दा ठूलो उसको सिर्जना हुन सक्दैन भन्ने दर्शन बिर्सेपछि यस्तै हुँदो रहेछ । हुन पनि अति सर्वत्र वर्जयेत त्यसै भनिएको होइन । ढिलै भए पनि प्रकृतिको अति दोहन नै आजको रोदनको कारण बनेकोमा सबै मान्छे एक मत भएका छन् । बीचरा ! निरिह मानिसको अरण्य रोदन खै कसले सुनिदिन्छ । प्रकृतिले मात्र मान्छेलाई थुनेर अरुलाई स्वतन्त्रताको मिठो स्वाद चखाइरहेको छ । वास्तवमा लाटो खान्छ एक बल्ढ्याङ बाठो खान्छ दस बल्ढ्याङ भनेको यही हो । मानिसले आफूले सिर्जेका समस्याबाट आज आफँै ग्रसित भएको छ । शब्दान्तरमा भन्ने होे भने मान्छेले आफ्ना खुट्टामा आफैले बन्चरो हानेको छ । हुबेई प्रान्तको राजधानी वुहानमा कोरोनाले पहिलो मृत्यु ९ जनवरीमा भएको भए पनि यसको अन्तिम मृत्यु या भनौँ कोरोनाको मृत्यु कहिले हुने हो कसैले भन्न सकेन । कोरोनाको यस महामारीबाट नेपालले छिटै मुक्ति पाओस् अहिले म यही कामना गर्न चाहन्छु ।
अस्तु !

हाम्रो सुझाव