पुस्तकालय ज्ञानको भण्डार

के.वी. मसाल
भाद्र १५, २०७७

नेपालमा पुस्तकालयको इतिहास हेर्दा शिलालेख, ताम्रपत्र आदिमा लेखिएको अभिलेखबाट सुरु भएको छ । त्यस्ता सामग्री मठ मन्दिरमा राखिन्थ्यो र सबैको सार्वजनिक सूचनाको सामग्री बन्ने गर्दथ्यो । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि गोरखा र नुवाकोट दरबारबाट जम्मा पारेका हस्तलिखित ग्रन्थ पूजाकोठामा जम्मा पारेर राखेका थिए । त्यहि सामग्रीलाई राजा गीर्वाणयुद्ध विक्रम शाहका पालामा वि.सं.१८६९ भाद्र १५ मा पुस्तकालय सम्बन्धी लालमोहर जारी भएपछि राष्ट्रिय पुस्तकालयको सुरुवात भएको हो ।

पुस्तकालय लेखी, छापी, कोरी, खिचि वा यस्तै अरु विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञान सामग्री सु–व्यवस्थित रुपमा नियमित शिक्षा प्रदान गर्ने शैिक्षक केन्द्र हो । पुस्तकालय शब्द संस्कृत भाषाको पुस्तक र आलय शब्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने बुझिन्छ । यसलाई ग्रन्थालय पनि भनिन्छ । कुनै बेला ज्ञान र सूचना पुस्तकबाट मात्रै पाइने हुनाले पुस्तकालय भनिएको हो । तर अहिले सूचना केन्द्र पनि भन्न थालिएको छ । पुस्तक प्रकाशनको इतिहाससँगै पुस्तक जम्मा पारेर पुस्तकालयको सुरुवात भएको पाइन्छ ।

तीन करोड नेपालीले प्रतिव्यक्ति पाँच रुपियाँ पुस्तकालय स्थापना र विकासका लागि दान र सहयोग गर्न सक्यौ भने देशमा सयौं पुस्तकालय खुल्न सक्छन् । खुलेका सयौं पुस्तकालयलाई सहयोग पुग्छ ।

पुस्तकालयको इतिहास हेर्दा ५५०० इसापूर्वदेखि सुमेरियनहरुले माटोको गिलो खबटा बनाएर त्यहाँ चित्र बनाउने, लेख्ने गरेको इतिहास भेटिन्छ । त्यसरी बनाएको चित्रलाई घाममा सुकाएर पछिसम्म हेर्न सकिने गरी संकलन गर्ने गरेको पाइन्छ । पछि उनीहरुले क्युनिर्फम नामको लिपि विकास गरेर ल्याटिन भाषामा त्यस्ता माटाका खबटामा लेखेर राख्ने गरेका थिए । हाते कागजको टुक्रामा लेखिएको पुस्तकमध्ये बुक अफ द डे नामको पुस्तक विश्वमा अति प्राचीन पुस्तकको रुपमा चिनिन्छ । पापाइरस घासबाट कागज बनाएर लेखिएको सामग्री बेरेर पुस्तकालयको रुपमा राखिने चलन थियो । ३०० इसापूर्व इजिप्टका तत्कालीन राजा टोलमीले अलेक्जान्ड्रियाको पुस्तकालयमा सात लाख पापाइरस स्क्रोलको संग्रह गरेका थिए । जुन विश्व इतिहासमा ठूलो पुस्तकालय मानिन्छ । कहिले जनावरको हाड र काठमा खोपेर त कहिले माटाको खबटामा कुदेर, कहिले वनस्पतिको कागज निर्माण गरेर पुस्तकालय बनाउँदै आएका थिए ।

सन् १४५० तिर जर्मनीको जोहान गुटेनबर्ग नामका व्यक्तिले छापाखानाको आविष्कार गरेपछि छापाखानाबाट पुस्तक छापिन थाल्यो । पुस्तकको उत्पादनसँगै पुस्तकालय पनि बन्न थाल्यो । पुस्तक छापिन थालेपछि शिक्षाको स्तर पनि बढ्दै गयो । अहिले एउटा कम्प्युटरमा संसार भेटिन थालेको छ । तैपनि एकातिर नेपालमा पुस्तकालयको पहुँच कम छ भने अर्कोतिर भएको पुस्तकालयको पनि पर्याप्त प्रयोग भएको छैन । संसारमा अहिले माइक्रोफिल्म तथा श्रव्य दृश्यका कतिपय माध्यममा सूचना सामग्री उत्पादन हुन थाले । त्यसपछि ठूलो मात्रामा पुस्तकका सामग्री सानो साधनमा अटाउन थाल्यो । सन् १९८० को दशकमा रोमले सीडी र सन १९९० को दशकमा भिसीडीको आविष्कारले त सूचना उत्पादन, प्रयोग र प्रसारणमा क्रान्तिनै ल्याइदिएको छ । परम्परागत कागजको तुलनामा सीडी र भिसीडीमा धेरै गुणा सूचना अट्ने, किफायती, भण्डारण गर्न सहज र सरलताले गर्दा विद्युतीय सूचना पुस्तकको उत्पादन बढन थाल्यो । इन्टरनेटको सुविधापछि आजभोलि घरमै बसी–बसी खोजे जस्तो सामग्री पढ्न सकिएको छ । आज डिजिटल र भर्चुअल लाइब्रेरीको अवधारणाको पनि विकास भइसकेको छ ।

नेपालमा पुस्तकालयमा गएर अध्ययन गर्ने बानी परेको छैन । एक अध्ययन अनुसार जनसख्याको आधारमा तीन प्रतिशत नेपाली पुस्तकालय गएर अध्ययन गर्ने वर्गमा पर्दछन् । केशर पुस्तकालय नेपालको एक सरकारी पुस्तकालय हो जुन सुरुमा केशर शम्शेरको निजी पुस्तकालय थियो । यो काठमाडौंको केशर महल भवनमा शिक्षा तथा खेलकुद मन्त्रालय संगै रहेको छ । केशर सम्शेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं.२०२६ देखि केशर पुस्तकालयको रुपमा सञ्चालन हुँदै आएको छ । केशर पुस्तकालयमा रहेका केही सामग्री विश्वमै अप्राप्य छन् । करिब ७५० हस्तलिखित सामग्री केशर पुस्तकालयमा संरक्षित छन् । ११३९ वर्ष पुरानो आर्युवेद विषयको श्रुशुतसंहिता ग्रन्थ लिच्छवि लिपि र संस्कृत भाषामा छ । काठको गाता हालिएको र ताडपत्रमा लेखिएको हस्तलिखित ग्रन्थ ५३.५ से.मी. लम्बाइ र ४.४ से.मी. चौडाइको रहेको छ । सन् ८७८ मा लेखिएको सामग्री जर्मन प्रोजेक्टले माइक्रोफ्लिम गरिसकेको छ, र यो माइक्रोफ्लिम राष्ट्रिय संग्रहालय काठमाडौँमा सुरक्षित छ । केशर पुस्तकालय बृहत् अध्ययनपछि सन् २०१३ देखि विश्व सम्पदाको अन्तर्राष्ट्रिय रजिष्टरमा सूचीकृत गरेको छ ।

राणाकालसम्म सरकारी तवरबाट बाहेक गैरसरकारी तवरबाट कसैले पुस्तकालय खोल्न पाइन्न थियो । जसका कारण सार्वजनिक पुस्तकालयहरु खुल्न सकेका थिएनन् । सरकारले खोलेको पुस्तकालयमा सबैको पहुँच पुग्ने थिएन । त्यस समयमा पढ्न नपाएका नागरिकका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत ४० र ५० जना युवकले पुस्तकालय खोल्ने प्रयास गरेका थिए । पुस्तकालय खोल्ने काममा जुटेका सबैलाई राणा सरकारले राजद्रोहको मुद्दा लगाएर प्रतिव्यक्ति एकसय जरिवाना भएको थियो । जस्लाई लाइब्रेरी पर्वको नाममा लिने गरिएको छ ।

प्रजातन्त्रको स्थापनापछि २०१३ सालमा राजगुरु हेमराज पाण्डेको व्यक्तिगत पुस्तकालय भारती भवनका पुस्तकहरु नेपाल सरकारले किनेर सिंहदरबारस्थित सिक्री ढोकामा राखियो । त्यति बेलामा नेपाल सरकार र अमेरिकी सरकारको युएसआइडीबीच काठमाडौमा एउटा पुस्तकालय खोल्ने विषयमा सम्झौता भयो । फलस्वरुप २०१६ सालमा डा ई डब्लु इरिक्सनको नेतृत्वमा काठमाडौमा केन्द्रीय पुस्तकालय नाममा अत्याधुनिक पुस्तकालय स्थापना गरियो । उक्त पुस्तकालय स्थापनामा जोन एल हाफेन रिचेर नामका अमेरिकी सल्लाहकारको ठूलो योगदान रहेको थियो ।

अमेरिकासँगको दौत्य सम्बन्ध स्थापना भएपछि पुस्तकालय स्थापना भयो । अन्तर्र्रािष्ट्रस्तरको पुस्तकालय अहिले काठमाडौमा रहेको छ । १५ हजारभन्दा बढी विद्युतीय माध्यमका पुस्तक र त्यत्तिकै सख्यामा अन्य पुस्तकहरुको अत्याधुनिक सुविधा रहेको सो पुस्तकालयमा दैनिक १०० जनाले नियमित अध्ययन गर्ने गरेका छन् । विश्वलाई सचेत गराउने अभियानमा अमेरिकाले सन् २००० देखि विश्वमा अमेरिकन कर्नरको नाममा पुस्तकालयको स्थापना गरिसकेको छ । नेपालमा पनि भैरहवा, विराटनगर, पोखरा, धनगढी आदि स्थानमा स्थापना भइसकेको छ भने इलाममा नयाँ लाइब्रेरी खोल्ने तयारी भइरहेको छ ।

त्यस्तै विभिन्न संस्थाले नेपालमा पुस्तकालय स्थापनामा सहयोग गर्दै आएका छन् । पछिल्लो समयमा रुम टु रिड नामक संस्थाले पनि नेपालमा ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ । रिडले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यकोसमेत व्यवस्था गरिदिएको छ । नेपालको धेरै जिल्लाका विद्यालयहरुलाई यो सस्थाले पुस्तकालय स्थापनाका लागि सहयोग दिँदै आएको छ । विद्यालयबाहेक यो सस्थाले सार्वजनिक पुस्तकालय स्थापना गर्नका लागि पनि धेरै जिल्लामा सहयोग पु¥याउँदै आएको छ । रिड नामक सस्थाबाट दाङ जिल्ला देउखुरीको गढवामा पुस्तकालय सञ्चालन भएको छ ।

राणाहरुको पालामा पनि नेपालमा केही स्थानमा पुस्तकालय खुलेका थिए । तानसेन पाल्पाको धवल पुस्तकालय नेपालको जेठो र ऐतिहासिक पुस्तकालय हो । वि.स.१९८३ मा राणा शासनका बेला सञ्चालनमा आएको हो । बाग्लुङको विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै पुरानो पुस्तकालय हो । यो पुस्तकालय धवलागिरि क्षेत्रको जेठो पुस्तकालय पनि हो । बन्दीपुरको पद्म पुस्तकालय पनि राणा प्रधानमन्त्री पद्म शम्शेरको पालामा खुलेको हो । पुस्तकालयको इतिहासमा पोखरामा युवाहरुको पहलमा २००८ सालमा आदर्श पुस्तकालय स्थापना भयो । पोखरा महेन्द्रपुलमा सार्वजनिक पुस्तकालय रहेको छ । दाङ जिल्लामा २०१० सालमा स्थानीय युवाहरुको सक्रियतामा घोराही बजारको केन्द्रमा सर्वोदय पुस्तकालय तथा वाचनालयको स्थापना भयो ।

पुस्तकालयको अवधारणालाई अब भावी पुस्ताले अध्ययन गर्न चाहेको विषयलाई सहजै पाउन सकोस् भन्ने हेतुले पनि अबका दिनमा पुस्तकालय संस्कृतिको विकास गर्न जरुरी छ । पुस्तकालय ज्ञानको भण्डार र चेतनाको दियो हो । पढने विद्यार्थीहरुलाई सानै उमेरमा पुस्तकप्रेम जगाइदिन सकियो भने उनीहरुमा पढने बानी विकास हुन्छ । बाहिरी पुस्तक पढने बानी बसेपछि उनीहरुले कोर्सका किताब पनि पढछन् । पुस्तक पढने संस्कार बस्छ । पुस्तक पढेका नानीहरुले बहुक्षेत्रको ज्ञान लिन सक्छन् र लिएका हुन्छन् । पुस्तक पढेका मान्छे ज्ञानी र सभ्य हुन्छन् । विवेकशील हुन्छन् । भविष्यमा असल नागरिक बन्छन् ।

गाउँका केही विद्यालयमा पुस्तकालय स्थापना भए तापनि ती नाममात्रका छन् । सामुदायिक पुस्तकालय त एकदम कम संख्यामा खुलेका छन् । राज्यले पुस्तकालय स्थापना र प्रवर्धनका लागि केही गरेकै छैन भन्दा पनि हुन्छ । विद्यालयमा त पुस्तकालय हुनुपर्छ नै सँगसँगै सामुदायिक पुस्तकालय पनि विद्यालयहरुकै दूरी अन्तरमा खुल्नुपर्छ । यसमा विद्यालयका शिक्षकहरुले सक्रिय भूमिका खेल्नुपर्छ । नेपालका ग्रामीण भेगका विद्यालयहरुमा पुस्तकालय छँदै छैनन् भने पनि हुन्छ । शिक्षकले चाहेमा के गर्न सक्दैनन् र तर उनीहरुमा निस्क्रियता देखिएको छ । शिक्षक नै नजागे कसले गरिदिने ? आधुनिक उपकरणसहितको पुस्तकालय बनाउन नसकिएला तर थोरै पैसामा पनि पुस्तकालय बनाउन सकिन्छ ।

बालसाहित्य, बालपत्रिका, सामान्य ज्ञान, विज्ञान, भूगोलसम्बन्धी किताब किन्न कति नै पैसा खर्च हुन्छ र आठ दश हजार रुपियाँका किताब किनेर एउटा दराजमा व्यवस्थित गरी राख्न र सबै बालबालिकालाई पढ्ने मौका दिइयो भने पनि काफी हुन्छ । इन्टरनेट, ई–लाइब्रेरी र टेलिसेन्टरको आवश्यकता नै पर्दैन । तर विद्यालयमा पुस्तकालय राख्नुपर्छ भन्यो भने शिक्षकहरु नै पन्छिन्छन् । अधिकांश शिक्षकहरुमा नै पढ्ने संस्कार छैन । प्रायः शिक्षकहरु कोर्स बाहिरका किताब पढ्न चाहँदैनन् । अरु किताब पढेर के हुन्छ र ? किन टाउको दुखाउने ? कोर्सका किताबहरु विद्यार्थी पास हुने गरी पढाइएकै छ । अधिकांश शिक्षकको भनाइ यस्तै पाइन्छ । यसलाई शिक्षकहरुकै बेवास्ता भन्नुपर्छ । विद्यालयमा सरकारले बर्सेनी मसलन्द, प्रशासनिक खर्च, एसएसआरपी आदि शीर्षक पैसा दिइरहेको छ । त्यसैबाट थोरै रकम पुस्तकालयका लागि खर्च गर्न सकिन्छ । शिक्षकको तलब भत्ताबाट पुस्तक किन्नुपर्ने अवस्था छैन । विद्यालयमा पुस्तकालय बनाउने काममा शिक्षकहरु अल्छी भएकै देखिन्छ ।

जति विद्यालयमा पुस्तकालय छन्, ती व्यवस्थित छैनन् । राज्यले पुस्तकालयप्रति खासै चासो नदेखाए पनि शिक्षकहरुले आँटे भने पुस्तकालय बन्छ । कतिपय ठाउँमा शिक्षकले गरेका पनि छन् । पुस्तकालयले अध्यापनमा ठूलो सहयोग पु¥याउँछ । विद्यार्थीलाई किताब पढ्ने बानी बसाइदिन मात्र सकियो भने ती बरालिएर हिँड्दैनन् । शिक्षकले किताब बोकेको र पढेको देख्दा विद्यार्थीले पनि त्यसको अनुशरण गर्छन् । प्रत्येक शिक्षकको घरमा थोरै परिमाणमा भए पनि किताबहरु हुनुपर्छ । सानै भए पनि प्रत्येक विद्यालयमा पुस्तकालय अनिवार्य छ । पढेर लेखेका र साक्षरमात्र भएका अभिभावकले पनि घरमा पुस्तक राख्नु आफ्ना बालबालिकाहरुका लागि प्रेरणादायी हुन्छ । आफ्ना बालबालिकाहरुलाई हातहातमा पुस्तक बोकेर हिँडने बानी बसाउनुपर्छ । प्रविधिले जति फडको मारे पनि गाउँमा त्यो सुलभ हुन अझै केही वर्ष लाग्ने देखिन्छ । मानिस इन्टरनेटबाट भन्दा हातमा किताब राखेरै पढन रमाउँछ । किनभने खुला पुस्तक पढ्दा जुन जीवन्त अनुभव हुन्छ, प्रविधिले त्यो आनन्द दिन सक्दैन ।

कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर धेरैले संसार जितेका छन् । प्राचीन दार्शनिक प्लेटो हुन् वा आर्थिक सम्पन्नताका हिसाबले अहिलेका विल गेट्स नै किन नहुन् । पुस्तककै प्रयोग गरेर त्यस ठाउँसम्म पुग्न सफल भएका हुन् । एउटा भनाइ छ– पुरानो कोट लगाउ, नयाँ पुस्तक पढ । मानिस सधैं अध्ययनको भोको हुन्छ । नयाँ–नयाँ विषयवस्तुबारे जानकारी पाइने मात्र होइन, अध्ययनले मानिसको जीवनशैली नै पनि परिवर्तन हुन सक्छ । अध्ययनबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्त गर्न सकिन्छ । ज्ञानका विभिन्न पक्षहरु हुन्छन् । पुस्तकले समाजको संस्कृति सभ्यता र व्यवहारको जानकारी दिन्छ । साहित्यिक कृतिले मानव जीवनको यथार्थ बुझ्न सहयोग गर्छ । संसारका हरेक क्षेत्रमा रहेका मानिसहरुबारे जानकारी लिन पनि अध्ययनले सहयोग पुर्‍याउँछ ।

बालबालिकालाई असल नागरिक बनाउनु छ भने पुस्तक पढ्न पुस्तकालय स्थापना गरौ । पठन सस्कृतिको विकास गरौ । आफ्नो समयको व्यवस्थापन गरी पुस्तकालयमा गएर अध्ययन गर्ने बानी बसालौ । तीन करोड नेपालीले प्रतिव्यक्ति पाँच रुपियाँ पुस्तकालय स्थापना र विकासका लागि दान र सहयोग गर्न सक्यौ भने देशमा सयौं पुस्तकालय खुल्न सक्छन् । खुलेका सयौं पुस्तकालयलाई सहयोग पुग्छ । पुस्तकालय गएर नयाँ ज्ञान लिने र पुस्तक पढने कामलाई दैनिक जीवनको एक अंगको रुपमा अंगीकार गर्न सके सभ्य समाज निर्माणमा मद्दत पुग्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width