महासंकट कोरोना पछिको स्थिति के होला ?

कुसुम केशव पराजुली
वैशाख ६, २०७७

लुटपाट गर्नु, डकैत गर्नु उनिहरुको दिनचर्या बन्न सक्ने छ । केही युवाहरु बिरक्तिएर पुन संगठित राजनीतिका आधारमा सशस्त्र युद्ध तर्फ आकर्षित हुने छन् । योग्यता र क्षमता भएका युवा वा बुद्धिजिवी समेत राज्य वा समाजको पक्षपात नीतिका कारण उक्त आन्दोलनमा सहभागि हुन सक्ने छन् ।

१. पुरानै जीवनशैली र स्थितिमा फर्कन आतुर गर्ने छौंः
हामी स्वभावैले पुरानो सोँच, बिचार, संस्कार, संस्कृति र आनीबानी चाँडै छाड्न सक्दैनौ । हामीले बिग्रिएको आहार बिहार जीवनशैली र संकटका बेलामा लागेको लकडाउनबाट प्राप्त अप्रत्यक्ष जीवनशैलीको सुधारलाई बेवास्ता गर्ने छौं । हामी मध्य ९० प्रतिशतले पुरानो जीवन शैली र स्थितिमा फर्कन आतुर गर्ने छौं ।
२. सिकाई हुने छैन र कोरोनाबाट उत्पन्न सचेतना पनि बिर्सन थाल्ने छौः
कोरोना भाईरस उत्पन्न भएको र संक्रमण फैलिएको अवस्थामा जुन डर त्रास थियो त्यो क्रमशः हराउँदै गएको अवस्थामा मानिसहरुले सचेत हुन र सतर्कता अपनाउन बिर्सने छन् । यस्को मतलव के हो भने कोरोना कहरबाट सिक्नु पर्ने पाठ हामीले सिक्ने छैनौं र आफनो जीवन सुधारका लागि तयारी गर्ने छैनौं ।
३. जनहितमा काम नगरेका अस्पतालमा मानिसहरु घुईचो लाग्ने छः
हामी यति बेबकुफ छौं कि साधारण टाउको दुखेको बेलामा समेत ठुला–ठुला अस्पताल धाउने गर्दछौं । हाम्रो शिक्षा, संस्कृति यस्तो बनाई दिएको छ कि सामान्य उपचारका लागि समेत ठुला ठुला उपकरणहरुबाट परीक्षण गरिनु पर्दछ चिकित्सा शास्त्र यति ब्यापारिकरण भयो कि महंगो शुल्क तिरेर पढ्नु पर्दछ । महंगो शिक्षा अध्ययन गरेका चिकित्सकहरुको एउटै मात्र उद्देश्य हुन्छ कसरी आफनो लगानी उठाउँ वा पैसा कमाउँ ? त्यस्तै प्रणालीमा हुर्काईएका हामीले सामान्य उपचार गर्न पनि संकटका बेलामा स्वास्थ्य सेवा नदिएका तीनै मानवीयता हराएका अस्पतालमा स्वास्थ्य उपचारका लागि हामीले घुँईचो लगाउन र उनीहरुको कमाउ धन्दालाई फेरी सघाउने छौं ।
४. बिफ संस्कृतिमा पल्किएकाहरुबाट बार, रेष्टुरेण्ट खचाखच हुने छः
भनिन्छ नेपालमा अधर्म बहुदल आए पछि अझ भनौं गणतन्त्र आए पछि फैलियो । उनिहरुले पञ्चायतका बेलामा मन्दिरबाट मुर्ति तस्करी हुने गरेको र बिदेशका संग्रहालयमा राख्ने गरिएको कुरा बिर्सिएका छन् । त्यति बेलाका दरवारिया र घराना परिवारमा पश्चिमा देशबाट बिफ मगाएर खाने गरेको कुरा लुकाएका छन् । घरानियाहरुको देखासिकीबाट हाम्रो समाज यति बिकृत भयो कि कालान्तरमा आएर बिफ संस्कृति सर्बसाधारण नेपालीमा समेत फैलियो । त्यहि गलत खानपान र जीवन शैली कोरेनाको महासंक्रमण हुने रहेछ भनेर युरोप अमेरिकी समाजले देखायो । हामी कहाँ पोखराको लेकसाईड, काठमाण्डौको दरवारमार्ग, ठमेलमा त्यस्तै संस्कृति देख्न पाईन्थ्यो । सायद बिफ, बफ र पिज्जा खाने हाम्रो बानीमा कुनै कमी आउने छैन र ती रेष्टुरेण्टहरु खचाखच हुने छन् ।
५. कठीन अवस्थामा आपुर्ति गरेको कालाबजारीले उन्मुक्ति पाउने छन्ः
यहि त हो नि मौका भनेर संकटका बेलामा नसुहाउदो मुल्य लिएर अत्यावश्यक बस्तु आपुर्ति गर्ने ब्यापारी, सप्लायर्सलाई कालोबजारीको सुचिमा जनताले राखे पनि सरकारले कारवाही गर्न सक्ने छैन । सरकारले कारवाही गर्न सबुत प्रमाण चाहिन्छ । प्रायजसो कालोबजारी गर्नेले दसी प्रमाण छाडेका हुन्नन् त्यसैले उनिहरुले उन्मुक्ति पाउने छन् । हुन ता कुटनीतिज्ञको गाडि प्रयोग गर्ने ब्यापारीलाई सरकारले कारवाही नगरेको होईन ।
६. ब्रम्हलुट गर्ने कम्पनीको सम्झौता रद्द भएपनि कारवाही गरिने छैनः
बिशेष गरि कोरोनाको संक्रमण बढ्न थाले पछि स्वास्थ्य उपकरण र सामग्री ल्याउन सरकार संग अपारदर्शि सम्झौता गर्ने ओम्नी ग्रुपलाई जनताको बिरोध पछि कारवाही गरियो रे । संकटका बेलामा ब्रम्हलुट मच्चाउने कम्पनीको सम्झौता रद्द गरेपनि उनिहरु संग मिलेमतो गर्ने केही सरकारी निकायका ब्यक्तिहरुले ओम्नी कम्पनीलाई कारवाही गर्न दिने छैनन् ।
७. मिलेमतो गरेका भए पनि भ्रष्टाचारको कारवाही अगाडि बढाईने छैनः
संकटका बेला गरिएको भनिने भ्रष्टाचारको रकम यति ठुलो छ कि अब उनिहरुले त्यसको बाँडफाँड सम्बन्धित धेरै ठाउँमा पुरयाउने छन् साथै उनिहरुले अब सबैै प्रमाणहरु नष्ट गरिसकेका हुने छन् र कारवाही अगाडि बढाए पनि चोखिने छन् ।
८. शिक्षा, स्वास्थ्य नीति र मौजुदा योजनामा परिवर्तन हुने छैनः
हिजोको विकृत समाज, राज्य ब्यवस्थामा परंपरादेखि अपनाउँदै आएको हाम्रो शिक्षा र स्वास्थ्य नीतिमा किञ्चित फेरबदल गरिएको छैन । त्यसैले गर्दा भ्रष्ट शिक्षा र स्वास्थ्य प्रणलिले निरन्तरता पाई रहेको छ । के बहुमत प्राप्त बर्तमान सरकारले निजी क्षेत्रको संलग्नतामा विकास गर्ने पुरानो प्रणलिमा सुधार गर्ने छ ? तथाकथित निजी क्षेत्रले पनि विकासको गलत मोडेलमा नहिंडेर जथाभावी शिक्षा र स्वास्थ्यमा ब्यापार गरिरहने छन् ? यो प्रतिबद्धता आउन जरुरी छ ।
९. साँस्कृतिक पतनका बारे बुद्धिजिवी चुप लाग्ने छन्ः
बुद्धिजिवी भनेका स्वतन्त्र र बिवेकशील हुनु पर्ने हो । सत्ता र प्रतिपक्षमा बाडिएका बुद्धिजिविहरु पनि स्वार्थकै लागि विभाजित छन् । वर्गिय समाजमा त्यसो हुनु स्वभाविक छ । तर पनि हदै सम्मका लम्पट बुद्धिजिवीहरुले तुलनात्मक दृष्टिमा स्वतन्त्र हुन सक्ने छैनन् र दलाली पदवी फुत्किन्छ कि भनेर चुप लागेर बस्ने छन् ।
१०. पूर्वीय दर्शन अनुसन्धान हुने छैन, पश्चिमा संस्कृति नै हावी हुने छः
कोरोनाले लम्पट बनाएको ईटली र स्पेनमा होमन गर्न थालिएको, स्वस्ती बाचन गरिएको भिडियो निकै भाईरल गराईयो । संकटका बेलामा आखिर मानिसले बिकल्प खोज्दो रहेछ । यो पूर्वीय दर्शनका लागि खुशिको खबर हुँदो हो । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले घण्ट बजाउन र दियो बालेर कोरोना भगाउन अह्राए । उनले राजनीतिक फाईदा लिन एकताको सन्देश लिनु थियो त्यसै गरे । त्यस्ले हामी पूर्वीय दर्शन मान्नेहरुलाई खाशै फरक पर्दैन । पूर्वीय दर्शन मान्ने गरेका हामीलाई पश्चिमा शिक्षा र संस्कृतिले यति करापेको छ कि यो महामारी पछि पनि हामीले चेत पाउने छैनौं । न ता सरकारले हाम्रा दर्शन र नेपाली संस्कृति प्रति अध्ययन अनुसन्धानका लागि कुनै प्रश्रय नै दिने छ ।
११. कृषि र जैविक संरक्षणलाई वास्ता गरिने छैन, गाँउ, पाखा बाझै रहनेः
हरेक कुरामा बिकृति छाएको बर्तमान परिवेशमा खाद्य बस्तुमा मिसावट हुनु के नौलो रहयो र ? बेसार, दालमा रंग, फलफुलमा मैन, सुनिन्छ प्लाष्टिकका खाद्य पदार्थ, गुणस्तर हिन औषधि आदि । जैविक कृषि र जैविक संरक्षणका अभावमा उत्पन्न हुने यस्तै महासंकटका बारे कतिपय देश सतर्क भईरहँदा हाम्रा सरकार, नागरिक समाज र निजी क्षेत्र सबै अनभिज्ञ रहने छौं । जैविक उत्पादन त परे छाडौं परम्परागत कृषि समेत नगरिदा गाँउघर पाखाहरु बाँझै रहने छन् । के हामीले त्यता तिर सोचेर आफना नीति कार्यक्रम बनाउन सक्ने छौं ? जस्ले राष्ट्रिय उत्पादनमा बृद्धि त गर्छ नै स्वस्थ्य रहनका लागि रोग प्रतिरोधात्मक क्षमता बृद्धि समेत गर्ने छ ।
१२. शिक्षाका नाममा बिदेशिने र बैदेशिक रोजगारीमा जाने छन्ः
हाम्रो दिल दिमागमा थोपरिएको बैदेशिक शिक्षाको गुणस्तरीयता सायद स्वदेशमै पाउन शुरु भएको दावी गरिन्छ । यहाँको राज्य ब्यवस्थाको अस्तब्यवस्तता र स्थिर आर्थिक सामाजिक नीति कार्यक्रम नभएको कारण युवा जमात पलायन हुनको लागि बैदेशिक शिक्षा प्रणााली उच्च छ भन्ने निहँु पारेका हुन् । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी दिनु पर्ने सरकारले त्यस्तो ब्यवस्था पहिले देखि नै नगरेको कारण अहिलेको अवस्था आएको हो । यस्तो अवस्था तुरुन्तै रोकिने वाला छैन त्यसैले शिक्षा वा रोजगारीका नाममा बिदेश जानेहरु रोकिने छैनन् । झन् संकटग्रस्त ठहरिएका पुजिवादी देशमा अब शिक्षा र रोजगारी महंगो बन्ने कुरा भने निश्चित छ ।
१३. श्रमको मुल्य र मान्यता हुने संस्कृति विकास नीति र कार्यक्रम ल्याउन सकिने छैनः
यस्तो अवस्था भए पनि सरकारमा बस्ने बर्ग र निजी वा समुदायमा अझै चेत आउने छैन । स्वदेशमा बसेर गरिने कुनै पनि उद्यम, कृषि वा अन्य स्थानी सिपलाई प्रश्रय दिन हिचकिचाईने छ । सरकार, समुदाय अर्थात सहकारी वा निजी क्षेत्रले त्यस्तो रचनात्मक कार्ययोजना ल्याउन वा कार्यको थालनी गर्न सक्ने छैनन् । हाम्रा पुराना नीति, नियमावली सबै प्रायः विकासका बाधक छन् । त्यसैले ठोस नीति कार्यक्रम आउला भन्ने आशा गर्न सकिदैन ।
१४. काम नपाउँदा कतिपय समुह लुटपाटमा संलग्न हुने छन्ः
सबै क्षेत्रमा फैलिएको विसंगतिका कारण र वैदेशिक रोजगारमा समेत आउने संकटले देश भित्रका युवाहरुलाई काम दिन नसकेको अवस्थामा कतिपयले खराब बाटो लिने छन् । लुटपाट गर्नु, डकैत गर्नु उनिहरुको दिनचर्या बन्न सक्ने छ । केही युवाहरु बिरक्तिएर पुन संगठित राजनीतिका आधारमा सशस्त्र युद्ध तर्फ आकर्षित हुने छन् । योग्यता र क्षमता भएका युवा वा बुद्धिजिवी समेत राज्य वा समाजको पक्षपात नीतिका कारण उक्त आन्दोलनमा सहभागि हुन सक्ने छन् ।
१५. गरिब धनीको अन्तरमा कमी ल्याउने नीति र कार्यक्रम दलहरुले ल्याउने छैनन्ः
समाजवाद उन्मुख सम्बिधान भनिए पनि हाम्रो ब्यवहार वा संबिधान कार्यान्वयन त्यता तर्फ नलागेको अवस्थामा धनी र गरिबको अन्तर यथावत कायम रहने छ । यस्तो गरिबी र धनीको हुने अन्तरलाई कमी ल्याउने नीति, कार्यक्रम कुनै राजनीतिक दलहरुले तत्कालै ल्याउने छैनन् । यद्धपि अहिले यो समयको माग हो र बर्तमान महासंकटले हामीलाई त्यो अवसर दिएको छ ।
१६. उपभोग्य बस्तुको मुल्य हवात्त बढने छ, नियन्त्रण गर्ने निकाय हुने छैनः
बर्तमान महासंकट पश्चात उत्पादन घटेको, बजारमा प्रशस्त भण्डारण नभएको, कृत्रिम अभाव गराईएको बिभिन्न बहानामा सबै कुराको अतिरिक्त खाद्यान्नको मूल्य हवात्त बढ्ने छ । नियन्त्रण गर्छु भनेर लागे पनि सरकारलाई असफल बनाउन विभिन्न प्रतिरोधी शक्तिहरु लागि पर्ने छन् । त्यसैले संबिधान बनाउँदा, लागु गर्दा नेपाली राजनीतिक दलहरु जसरी अनेकतामा एक भएका थिए त्यसै गरि उत्पन्न हुन सक्ने खाद्य औषधि संकटलाई पनि मिलेर समाधान गरिनुपर्छ ।
१७. गरिबीको संख्या बढ्ने र यो अवस्थालाई माथि उठाउन पाँच बर्ष लाग्ने छः
राष्टिय सहमति बनाएर नेपालका राजनीतिक दलहरु विकासको नयाँ मोडेल तयार पार्दै लागे पनि गरिबीको रेखामुनी हुने नागरिकको संख्या बढ्ने देखिन्छ । यो अवस्थालाई माथि उठाउन उनिहरुलाई कम्तीमा पाँच बर्ष लाग्ने छ । उपरोक्त भनाईबाट आशा निराशामा बदलिएको भन्ने आरोप लाग्न सक्छ । त्यो आरोप सत्य होला जव हामी सबैले उपरोक्त आरोपलाई झुठो साबित गर्न ब्यवहारमा उत्रौंला । कुरा के भने कोरोना पछि बर्तमान अवस्थाबाट मानव जातिले उन्मुक्ति पाउनु पर्छ भन्ने सांचेका थिए । के त्यो सत्य सवित गर्न सरकार, सबै सचेत नागरिक, उद्यमी ब्यवसायी, समुदाय लागि परौंला तर जहाँ बढि बिनास भयो त्यहाँका मानिसहरुले सोंच्न सक्लान्, उनीहरु प्रत्यक्ष भोगेका छन् । कसैकसैको ता सबै परिवार सखाप भएका छन् । पैसाले मात्रै के गर्न सक्यो र त्यस्ले मानविय संस्कार दिन सकेन, उनिहरुले नेपाली किसानहरुले जस्तै सडकमा पैसा फालेको दृष्य देखिन्थ्यो ।
कोरोनाको कहरले ज्यादै पिडा नभोगेका हामीले आफनो आनीबानी, जीवनशैली फेर्न असजिलो मान्ने छौं । कोरोनाका अबधिमा अपनाईएका स्वास्थ्य सतर्कता अपनाउन सक्ने कमै सम्भावना छ । आहार बिहार र तनाव कम गर्ने साधन योग, ध्यानलाई खाशै वास्ता गर्ने छैनौं । कोरोनाको कहरका बेलामा प्रसारित भएको एउटा युट्युवका अनुसार अरबौं आम्दानी भएका देखावटी धर्मभिरु मठ–मन्दिरहरुले संकटका बेला मानव जातिलाई कुनै सहयोग गरेनन् भने । हामीले पनि यहाँ त्यस्तै दृष्य देखेका छौं । त्यसैले धर्मका नाममा अधर्मीहरुले राज गरेको बर्तमान अवस्थामा खाशै परिवर्तन नहोला ।
राज्य भन्दा ब्यक्ति निरिह हुन्छ त्यसमा कुनै गुनासो छैन । ब्यक्तिहरु पनि को कति दानी छन् धनिको नाम कमाएकाले मानव जातिको आपतमा को कस्ले कति सहयोग गरे त्यो मुल्यांकन स्वयम आफै गरुन् र नागरिक समाजको सहयोग बेगर सरकार पनि निरिह नै हुन्छ । राज्यका सहि नीति कार्यक्रममा सहयोग जुटाउनु नागरिक समाज र निजी क्षेत्रको पनि कर्तब्य हो । हामीले के कति सचेत नागरिकको भूमिका निर्वाह गरयौं त ? (लेखक प्रेस स्वतन्त्रता सेनानी एवम् सामाजिक अभियन्ता हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width