कुँवर, राणा र राष्ट्रिय राजनीति

प्रा.डा. यमबहादुर पौडेल
जेठ २९, २०७८

हालको पोखरा १४, मझेरीपाटनमा सूर्यवंशी वत्स गोत्रीय कुँवर खलकमा जन्मिएका व्यक्ति हुन्–क्षेत्रबहादुर कुँवर । यिनको वंशज–वृक्ष हेर्न खोज्ने हो भने कुँवरहरू भारतको चितौडगढसम्म पुग्नुपर्ने हुन्छ । कुँवरहरू हिन्दू धर्मावलम्बी राजपूतहरू नै थिए । ‘राजपूत’ को शाब्दिक अर्थ खोज्ने हो भने यसले राजाका पुत्रहरू वा वंशजहरू भन्ने जनाउँछ । तसर्थ, राजपूतहरू हजारौँ वर्ष पहिलेदेखि राजकाजमा संलग्न रहँदै आएका राजवंशीहरू हुन् भन्ने बुझ्न सकिन्छ । छैटौँ/सातौँ शताब्दीदेखि नै इस्लाम धर्मावलम्बी शासकहरूबाट पीडित बन्दै धर्म र जीवनको रक्षार्थ अन्य कुलवंशीहरूका साथ यी राजवंशीहरू पनि पहाडी बाटो हिमाली क्षेत्रतिर उकालो लाग्दै नेपाल प्रवेश गरेका थिए । धेरै लामो समयको अन्तरालमा उनीहरू जुम्ला राज्यका राजाको प्रशासनमा सहभागी भए । यसरी सहभागी भएपश्चात् राजपूत सन्ततिका परम्परागत विशेषताहरू प्रदर्शन गर्न थाले । उनीहरूका विशेषता थिएः हतियार निर्माण गर्ने, हतियारको नयाँ रूपमा आविष्कार गर्ने र युद्धका क्रममा युक्तिपूर्वक ती हतियार प्रयोग गर्दै जाने । युद्धमा ‘खुँडा’ को प्रयोगबाट शत्रुपक्षमाथि विजय हासिल गर्दै जाँदा जुम्लाका तत्कालीन राजाबाट यी कुँवरहरूले ‘खड्का’ उपाधि प्राप्त गरेका थिए । ‘खड्का’ उपाधिलाई कुँवर वंशले प्राप्त गरेको त्यति बेलाको राजकीय उपाधि ठान्न सकिन्छ ।

जुम्लाबाहेक अन्य राज्यमा पनि कुँवरहरूको ख्याति बढ्न थाल्यो । जुम्लाबाट कास्की, लमजुङ र गोरखा राज्यहरूमा पनि कुँवरले राज्य प्रशासनकै क्षेत्रमा भाग लिँदै गए । अन्ततः यिनीहरूले गोरखाका राजा पृथ्वीनारायण शाहको राज्य एकीकरणको अभियानमा पनि सहयोग पुर्‍याउन थाले । जंगबहादुर कुँवरका जिजुबाजेहरू नै पृथ्वीनारायण शाहका फौजमा कतिपयले सिपाहीका हैसियतमा र कतिपयले कमाण्डरको हैसियतमा काम गरिसकेका थिए । एकीकरण अभियानको पछिल्लो पुस्तामा वीर बलभद्र कुँवरले ब्रिटिस साम्राज्यवादी शासकसँग मुकाबिला गर्दै अन्तर्राष्ट्रियजगत्मै ‘वीर बलभद्र’ नामबाट परिचित भए, ज्यादै ठूलो नाम कमाए । पश्चिम नेपालतिर लडाइँमा अगाडि बढ्दै जाँदा अन्ततः अफगानिस्तानसम्मको भूमिमा पुगेर देहत्याग गरेको प्रसंग ऐतिहासिक बनिसकेको छ । नेपाल अधिराज्यको एकीकृत राज्य सञ्चालनमा केही कमजोरी रहेको अवस्थामा जंगबहादुर कुँवर प्रधानमन्त्री बने र राजसंस्थाकै माध्यमबाट राज्यसञ्चालनको बागडोर आफ्नै हातमा लिए । तत्कालीन राजाबाट ‘राणा’ उपाधि पनि प्राप्त गरे । तत्पश्चात् शासनसत्तामा संलग्न कुँवर परिवारहरू ‘राणा परिवार’ कहलिए । राणा परिवारले १०४ वर्षसम्म राजसंस्थाको अनवरत सेवा पु¥याएको इतिहास घामजत्तिकै उज्यालो रूपमा देख्न सकिन्छ । जनताका मौलिक अधिकारहरू कुण्ठित गराइए पनि उनीहरूले राजा र राजसंस्थालाई बलियो टेवा दिइरहेका थिए । राजसंस्थाको दीगो स्थापनामा योगदान पु¥याउनु बाहेक, बलभद्र कुँवर एवं भीमसेन थापाजस्ता राष्ट्रवादी सोचका महान् व्यक्तिहरूले लडाइँकै बलमा एकीकृत नेपाल राष्ट्रको संरक्षण पनि गरिरहे । जंगबहादुर राणाजस्ता शक्तिशाली प्रधानमन्त्रीबाट ब्रिटिस साम्राज्यवादीको अधीनमा रहेका पश्चिम नेपालका ४ जिल्लाहरू नेपाल अधिराज्यको मातहतमा ल्याइए, यसकारण जंगबहादुर राणाले गुमिसकेको भूभागलाई फिर्ता गराए, नेपाल राज्यको राज्यविस्तारमा योगदान पुर्‍याए ।

कुनै पनि व्यक्तिहोस् वा परिवार, वंश कुल होस् वा आ¬–आफ्नो रूपमा विकसित जातजाति नै किन नहोस्, उनीहरूको समाजलाई सम्बन्धित देशको राज्य–व्यवस्थाले प्रभाव पारिरहेको हुन्छ । व्यक्ति र परिवारलाई समाजको निम्नतम् इकाइ रूपमा लिन सकिन्छ । समाजको उच्चतम् इकाइ भन्नु नै राज्य–व्यवस्था हो । यसर्थ, व्यक्ति र राज्य व्यवस्थाबीच अनेकौं प्रकारका अन्तर–सम्बन्ध हुन्छन् । हाम्रै देश नेपालका ऐतिहासिक कालखण्डतर्फ विचार गर्ने हो भने पनि यस कुरालाई स्पष्ट गराउन सकिन्छ । गाउँ–समाजलाई सञ्चालन गराउन हरेक थुम्का–थुम्कामा मुखियाहरू रहन्थे । यिनै गाउँ–मुखियामध्ये कोही कसैलाई राजा मान्दथे । त्यसै कारणले बाइसे राज्यहरू र चौबीसे राज्यहरू देखा परे; संख्यात्मक रूपमा अरू सयौं÷हजारौं राज्य–रजौटाहरूको उत्पत्ति भयो । सामाजिक उत्थानमा व्यक्ति–व्यक्तिका बीचमा अन्तर–संघर्ष भएझैं राज्य–रजौटाहरूका बीचमा पनि लडाइँ र संघर्ष हुँदा कमजोर राज्यहरू शक्तिशाली राज्यका मातहतमा गए । स–साना राज्यहरू विलीन हुँदै गए र ठूलठूला राज्यमात्र अस्तित्वमा आए । यिनै राज्य–रजौटा पनि साम्राज्यवादी भावनाबाट उत्प्रेरित हुँदै गए र विजित भए, अनि लडाईंमा पराजित हुनेहरू पीडित पनि भए । भारतीय उपमहादीपमा समुद्र पारीको बेलायती साम्राज्यवादले भारतका सम्पूर्ण राज्यहरूलाई एक–एक राज्य गरी आफ्नो अधिनमा ल्यायो र नेपालबाहेक भारत, बर्मा, थाइल्याण्ड, श्रीलंका, पाकिस्तानलगायत सबै राज्यहरू बेलायतका उपनिवेश हुन गए । हिन्दूस्तानका छिमेकी मुलुकको हार, राज्य–राज्यको हार र बृटिश साम्राज्यवादको चौतर्फी विजय देख्दै आएका गोर्खाका राजा पृथ्वीनारायण शाहले गोर्खा राज्यबाट एकीकरणको अभियान थाले र बाइसे–चौबीसे राज्यहरू क्रमशः एकीकृत हुँदै गए । तत्पश्चातमात्र आधुनिक नेपाल राज्यको प्रारूप तयार भएको थियो ।

एकीकरणको अभियानमा धेरै जातजातिका सिपाहीहरू र अभियानकर्ता, गुरु/पुरोहित र सर्वसाधारणको योगदान छ । अभियानअगावै र एकीकरणको अभियान सफलपछि पनि विभिन्न कालखण्डमा कुँवर वंशका व्यक्तिले राज्य–सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएको नेपालको इतिहासमा गाढा रूपमा उल्लेख पाइन्छ ।

वंशजका दृष्टिकोणमा कुँवर र राणाहरू एउटै वंशवृक्षका निकटतम् हाँगाहरू हुन् । यस वंशमा शासकीय क्षेत्रमा पाइने विशेषता बाहेक, कला र साहित्यिक क्षेत्रमा समेत विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरू पाइन्छन् । राणा शासनकालमै पनि बन्दुक र पिस्तोलजस्ता हतियार निर्माण गर्ने वैज्ञानिकहरू यसै परिवारभित्र थिए । साहित्यका कवि एवं नाटककार बालकृष्ण सम, कथाकार पुष्करशमशेर राणा, ‘सेतोबाघ’ उपन्यासका लेखक डायमण्डशमशेर राणा आदिले नेपाली साहित्यिक जगतमा विशेष योगदान पुर्‍याएका छन् । यस्तै साहित्यकारमध्ये उदीयमान साहित्यकार हुन्–क्षेत्रबहादुर कुँवर (२००२) ।

नेपालमा राजा र राजसंस्थालाई दिगो राख्ने मनसाय र व्यवहार हुँदाहुँँदै पनि मौलिक हक अधिकारको पूर्ण रूपमा उपयोग गर्न नपाएकै खातीर राणाका विरुद्ध जनविद्रोहको लहर चल्यो र अन्ततः २००७ फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो । राजा र राजसंस्था भने कायमै रह्यो । यस पश्चात् राजा र राजसंस्थाप्रतिको आस्था, राजनीतिक परिवर्तन र सामाजिक परिवर्तन, मूलतः कास्की पोखराको पुरानो र वर्तमान अवस्थाबारे क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ मा केही स्पष्ट झलक प्राप्त गर्न सकिन्छ । “…सानो थिएँ, सम्झन्छु । राजा त्रिभुवन पहिलो पटक हवाइजहाज चढी पोखरा आएको । राजा आउने भनेपछि त्यो विषय खडेरीको आगो फैलिएझैँ फैलियो । राजा भनेका अर्कै विशेष रूप हुन् भन्ने मानसिकता आम मानिसमा व्याप्त थियो” (पृष्ठ ३) ।

यो समय २००९÷०१० सालतिरको हुनुपर्दछ, किनकि राजा त्रिभुवनको मृत्यु २०११ साल फागुनतिर भएको थियो । त्यतिबेला पोखरा क्षेत्रका अनि सम्पूर्ण नेपालका जनता अत्यन्त राजभक्त रहेछन् भन्ने जनाउँछ, राजाको अनुहार हेर्नमा कति ठूलो उत्सुकता रहेछ जनतामा ! त्यतिबेला लेखक कुँवर ७/८ वर्षका बालक रहेछन्, मानिसको भिडले अँठिएर चिच्याएछन्, रोएछन्, सुरक्षाकर्मीले जोगाएछन् । त्यसैबेलाका राजप्रेमी जनताका छोरा नातिहरू करीब ५ दशक पछाडि ‘राजतन्त्र मुर्दावाद’ भन्दै नारा लगाउन थाले । अन्ततः राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना गरेर अत्यधिक जनमानसले चुपचाप आत्म–सन्तोष लिइरहेको छ भने जनमानसको न्यून संख्याले सडकपेटीमा आएर ‘राजतन्त्र जिन्दावाद’ पनि भनिरहेको छ ।

२०१२ सालतिर यी १० वर्षे बालक क्षेत्रबहादुर पनि राजा महेन्द्रको अनुहार हेर्न झनै जिज्ञासु बनेछन् । उनको घरदेखि उत्तरपट्टि विजयपुरको घारीपाटनमा राजा महेन्द्रको सवारी भएको रहेछ, साँझपख घरबाट एक्लै निस्केर त्यहीँ पुगेछन् । यस अनुभवबारे उनी लेख्छन्, “मेरो मुमाको गाली भने मजैले खाएँ ।” (पृ. ६) रातभर छोराको पीरले छटपटिएकी मुमाको गाली खाए पनि ढुंगा र पहरामुनि एक्लै रात बिताउन सक्ने बालक क्षेत्रबहादुर कुँवर भने बलियो आत्मा भएका बालक रहेछन् भन्न सकिन्छ ।

गाउँ–समाजलाई सञ्चालन गराउन हरेक थुम्का–थुम्कामा मुखियाहरू रहन्थे । यिनै गाउँ–मुखियामध्ये कोही कसैलाई राजा मान्दथे ।

बाल्यकालमा ‘खोलाले बगायो’ भन्ने एउटा छोटो लेख छ, जसमा २ अर्थपूर्ण घटना उल्लेख छ । एउटा हो– आफ्नै दिदीको पैसा चोरिएको घटना जुन गलत मनसायबाट उत्प्रेरित थियो, त्यो उनको राक्षसी मनको परिणाम थियो । चोरिएपछि त्यो घट्ना वस्तुगत यथार्थमा परिणत भयो । आत्मिक मूल्यांकनमा उक्त कार्य अनुपयुक्त रहेछ भन्ने महसुस गरिएको छ । यसलाई भौतिकवादमा आधारित यथार्थका रूपमा लिन सकिन्छ । अर्को घटना छ तारघाटसम्बन्धी । पोखरा उपत्यका वरपर त्यतिबेला कुनै ठाउँमा पनि पक्की पुल थिएनन् । कैयौं ठाउँमा काठे पुल समेतको अभाव भएको बेला यिनी बडो मुस्किलले दिदीको घरमा पुगेछन् । थुप्रै खोलाहरू तर्दै गएछन् । अन्तिमको एउटा खोला तर्दा चिप्लिएर खोलामै बगेछन् । यात्रुले बचाएछन् । यस घटनाको अनुभवबारेमा उनी लेख्छन्, “ती बचाउने मानिसलाई मैले साक्षात ईश्वरको रूपमा देखेँ” (पृ. ८) । वास्तवमा अध्यात्मवाद भनेको र ईश्वरप्रतिको आस्था भनेको यही नै हो । आफ्नै आत्मादेखि उत्पन्न भएको भावना, विचार र कल्पना अध्यात्मवादकै क्षेत्रमा पर्दछन् । यस अर्थमा क्षेत्रबहादुर कुँवर बाल्यकालमा अध्यात्मवादी रहेछन् भन्न सकिन्छ ।

‘बनारसमा हरायांैं’ लेखले राजनीति सचेत कुँवरको युवा अवस्थाको झझल्को प्रस्तुत गर्दछ, अनि यसले नेपालको ऐतिहासिक राजनीतिक कालखण्डसमेत इंगीत गर्दछ । यसको सुरुआतमै कुँवर लेख्दछन्, “२०२० सालतिरको कुरा हो । मेरो नसामा राजनीतिक रगत राम्रैसँग चढेको थियो ।” (पृ. ११८) वास्तवमा राजनीतिक सचेत सबै युवा र बौद्धिक व्यक्तिमा राजनीतिक चेतना बढेको थियो । यसको गहिरो र अलिकति लामो पृष्ठभूमि पनि छ । २००७ सालमा राणा परिवारको एकलौटी शासन समाप्त भएर पनि दिल्ली सम्झौता अनुरूप मोहनशमशेर राणा नै प्रधानमन्त्री भए । यसैबाट बुझिन्छ कि त्यसबेलाको क्रान्तिले पूर्णता प्राप्त गरेको थिएन । राजाकै रेखदेखमा विभिन्न दलले सरकार चलाउँदै आए तापनि राजनीतिक स्थिरता आउन सकेन । २०१५ सालमा संसदीय आमचुनाव भएपछि नेपाली कांग्रेसले दुइतिहाई बहुमत ल्यायो, वीपी कोइराला प्रधानमन्त्री भए । परन्तु राजा महेन्द्रले विभिन्न कारण देखाई यस व्यवस्थालाई अफापसिद्ध गराए । २०१७ पुस १ गते संसद भंग गरे । र, देशैभरि पञ्चायती व्यवस्थाका इकाइ गठन गर्दै गए । दल विशेषमा आधारित राजनीतिक संगठनलाई अवैध घोषित गरिएका थिए । त्यस परिपाटीको द्वन्द्वात्मक असर देशैभरि फैलिएको थियो । तसर्थ, नेपालबाट विस्थापित भएका दलका नेता पनि बनारसतिरै पुगेका हुन्थे । विद्या आर्जन गर्न र राजनीतिक प्रशिक्षण पनि प्राप्त गर्न सकिने हुँदा १८/२० वर्षसम्मका राजनीति–सचेत विद्यार्थी बनारस पुग्न रुचि राख्दथे । बनारसको सहरी क्षेत्र र गल्लीमा नवआगन्तुक व्यक्ति अलिकति हिडँ्दैमा पनि हराउन सक्छन् । त्यही मुक्तभोगी अनुभव कुँवरले सटिक रूपमा बताएका छन् ।

तत्कालीन राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गराएको भए तापनि कुँवरले वामपन्थी विचार र वामपन्थी राजनीतितर्फ आफ्नो झुकाव राख्न थालेका रहेछन् । “मेरो राजनीतिक संलग्नता” शीर्षक लेखमा उनले बताएका छन् २७ वर्षको उमेरमा उनी पुष्पलाल श्रेष्ठको नेकपामा आवद्ध रहे । २०३६ सालको जनमत संग्रहको बेलासम्म उनी यसै पार्टीमा सक्रिय रहे । २०३७ देखि मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपामा संलग्न भए । परन्तु त्यस पार्टीको स्पष्ट नीति नभएका कारण अर्का नेता विष्णुबहादुर मानन्धरले नेतृत्व गर्दै आएको पार्टीमा २०३९ सालदेखि २०४४ सालसम्म जिल्ला सेक्रेटरियट सदस्य भई काम गरे । २०४६/२०४७ सालको जनआन्दोलनपछि नीलाम्बर आचार्य लगायत यस पार्टीका नेताहरू सरकारमा सहभागी भए, मन्त्रीसम्म भए ।

२०४७ पछि मनमोहन र सहाना प्रधानसहितको गुट एक भई नेकपा एमाले निर्माण भयो र यही नै वामपन्थी विचारको मूल प्रवाह बन्न पुग्यो । क्षेत्रबहादुर कुँवर लगायत मानन्धर समूहका कार्यकर्ता पनि नेकपा एमालेमा प्रवेश गरे । २०५४ सालमा यस पार्टीमा फुट पैदा भयो–माले र एमाले हुन गए । राष्ट्रवादी ठानिएको माले पार्टीमा कुँवर लगायत कार्यकर्ता र वामपन्थी नेताहरू माले समूहमा समाहित भए । विभाजन भएको ४ वर्षपछि यी दुवै पार्टी पुनः एकीकृत भए । २०५२ सालदेखि जनयुद्ध सुरु गर्ने नेकपा माओवादी पार्टीको भने कुँवरले “जीवनकथा” को कुनै विवरणमा पनि उल्लेख गरेको पाइँदैन ।

शिक्षासेवा र समाजसेवाका भुक्तभोगी, राष्ट्रभक्त कुँवरको दृष्टिकोण अनुसार देशको राजनीतिक परिपाटीले देशकै अस्तित्व खतरामा पुर्‍याएको अनुभव गर्दछन् । “राजनीतिको अचानो” शीर्षक लेखमा छ, “२०१७ पुस १ गते राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाए । जननिर्वाचित सरकार र संसद विघटन भयो । राजाले प्रत्यक्ष शासन अँगाले ।” (पृ. १६२) यसरी राजा स्वयंले नै प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई अचानोमा पारे र निरंकुश राजतन्त्रको छहारीमा पञ्चायती प्रजातन्त्र स्थापित गराए । परिणामस्वरूप प्रजातान्त्रिक धारका नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी लगायत अनुयायीले आ–आफ्ना संगठन विस्तार गर्न थाले; स्कूल, कलेज र कारखानामा तहगत कमिटी गठन गर्न थाले, विशुद्ध शिक्षामा निष्ठावान रहनुको सट्टा विद्यार्थी र शिक्षक दुवैलाई राजनीतिमा निष्ठावान गराउने प्रयासहरू भइ नै रहे । निम्न तहका सरकारी कर्मचारी र कलकारखानाका मजदुर सरकार र पेसाप्रति वफादार रहनुभन्दा बढी दलगत राजनीतिप्रति वफादार बन्न थाले । विस्तारै यी सबैलाई संघर्षको मैदानमा उतारेर राजनीतिकै अचानो बनाए । पञ्चायत व्यवस्थाका उच्चस्तरका राजनीतिज्ञले राजाकै पहलमा ‘गाउँ फर्क अभियान’ लागु गरे । अनि पञ्चायतका जनप्रतिनिधिको माध्यमबाट मात्र जनतालाई सेवा सुविधा दिलाउने र स्वतन्त्र अभिव्यक्ति दिने लिने पञ्चायतविरोधी अन्यलाई अचानोमा पारेर पिस्दै जाने नियतले प्रशासन परिचालित गराइन्थ्यो भन्ने कुरा पनि भुक्तभोगी कुँवरले बताएका छन् ।

लेखक कुँवर एक गतिशील व्यक्तित्व हुन् भन्ने कुरा उनका अनेकौं क्रियाकलापबाट प्रष्ट हुन आउँछ । जीवनी संग्रहमा अनेकौं विद्वानहरू, प्राध्यापकहरू, समाजसेवी र राजनीतिज्ञले आ–आफ्ना चर्म–चक्षुले देख्दै आएको र भोग्दै आएको यथार्थ दृष्टिकोणबाट व्यक्त गरिसकेका छन् । कुँवर स्वयंको अन्तर–चक्षुले देखे–भोगेका आधारमा पनि आफू र आफ्नो वरपरको संसारलाई साहित्यिक सन्दर्भमा व्यक्त गरेका छन् । उनका साहित्यिक कृति हुन्, १) जिन्दगी हाँसो भनेको त आँसु पो रहेछ । यो कविता–संग्रह हो, जसभित्र हाँसो र रोदन दुवै पाउन सकिन्छ । २) संयोग भनौं वा भाग्य ! यो एउटा मनोवैज्ञानिक उपन्यास हो, यसमा पनि जिन्दगी यस संसारमा संयोगकै रूपमा देखा पर्दछ, अनि अनेकौं जिवात्मामध्ये मानव भएर जन्म लिन पाउनु एक अहो–भाग्य पनि हो भन्ने कुरा सहज बुझ्नुपर्दछ । ३) ‘नारी स्वतन्त्रता र त्यस माथिको बलात्कार’ तेस्रो कृति हो; यो निबन्ध–संग्रह हो, जसमा स्त्री र पुरुष दुवैले स्वतन्त्रताको उपयोग बराबर रूपमा गर्न पाउनुपर्दछ भन्ने भाव पाइन्छ । महिलाको स्वतन्त्रताको हनन् पुरुषबाट मात्र भएको हुनुपर्दछ भन्ने देखिन्छ । ४) ‘मनको देश’ दोस्रो कविता–संग्रह हो, जसमा मनभित्र कोरिएको र खिचिएको तस्बिरलाई बाहिर ल्याउने प्रयास गरिएको छ । ५) ‘भूमिगत अभिव्यक्ति’ एक कथा–संग्रह हो, जसमा विभिन्न अप्ठ्यारा परिस्थितिमा गुज्रनुपरेको सामाजिक जीवनको तस्बिर पाउन सकिन्छ । ६) ‘अलिकति बाँच्न सिक्दा’ तेस्रो कविता–संग्रह हो, जसमा जीवनका अनेक विषम परिस्थितिलाई चिर्दै हरेक व्यक्ति जीउन÷बाँच्न बाध्य छ भन्ने शास्वत अनुभव व्यक्त गरिएको छ ।

यी सम्पूर्ण साहित्यिक कृति आधारमा उनी अन्ततः एक अविष्मरणीय साहित्यकार पनि बन्न पुगेका छन् । साहित्य समग्र समाजको दर्पण पनि हो; साहित्य अचानोमा पिसिएर पनि लेखिन्छ, अचानोमा पेलिएर पनि लेखिन्छ; साहित्यमा आजका यथार्थ र अनुभवलाई ऐतिहासिक रूपमा जीउँदो राख्ने प्रयास गरिन्छ । उनको जीवन–भोगाइ आधारमा लेखिएका सारपूर्ण साहित्यिक कृति छन्, जसलाई सारांशमा भए पनि साहित्यप्रेमीका लागि मननयोग्य छन् भन्ने लाग्दछ । अन्त्यमा, साहित्यकार कुँवरको सु–स्वास्थ्य र लोकमा सुकीर्ति फैलिइरहोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु ।

Related News

सम्बन्धित समाचार

hero news full width