गीता दर्शनशास्त्र हो भने भागवत् पौराणिक साहित्य हो

यज्ञप्रसाद बास्तोला
श्रावण २७, २०७७

आज श्रीकृष्ण जन्माष्टमी । सबैले भन्ने गरेका छन् आज भगवान श्रीकृष्ण जन्मेको दिन । तर वैदिक दर्शनले भन्छ भगवानको जन्म र मृत्यु हुँदैन । शास्त्रहरु पनि भन्छन् ‘कृष्णस्तु भगवान् स्वयम्’ । भगवान कृष्णले स्वयं भन्नु भएको छ ‘अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः। अहमादिश्च मध्यं च भूतानामन्तएव च ।।’ श्रीमद्भगवद्गीता १०/२० अर्थात् हे अर्जुन ! म सबै प्राणीहरुको हृदयस्थित सबैको आत्मा हुँ,तथा सबै प्राणीहरुको आदि,मध्य र अन्त पनि म नै हुँ ।’

भगवान् श्रीकृष्ण अझै अर्को स्पष्टोक्ति यस्तो छ ‘अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते । इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ।।गीता १०/८ अर्थात् म नै सम्पूर्ण जगत् को उत्पत्तिको कारण हूँ, मबाटै सबै जगत् प्रवर्तित हुन्छ यस्तो भाव जानेर बुद्धिमान जनहरु मेरो भजन गर्दछन् ।

एकातिर स्वयं कृष्णले आफ्नो परिचय यसरी दिनु भएको छ भने अर्कातिर वेद व्यास कृष्णद्वैपायनले आफ्नो प्रसिद्ध कृति श्रीमद्भागवत् महापुराणमा श्रीकृष्णको जन्म माता देवकी र पिता वसुदेवबाट भएको प्रसंग उल्लेख गरेका छन् । कतिपय विद्वान विदूषीहरुले भागवत्का कृष्ण पौराणिक हुन् र गीताका कृष्ण दार्शनिक कृष्ण हुन् भनेका छन् । भगवद्गीता दर्शनशास्त्र हो भने भागवत् पौराणिक साहित्य हो ।

कतिपय विद्वान विदूषीहरुले भागवत्का कृष्ण पौराणिक हुन् र गीताका कृष्ण दार्शनिक कृष्ण हुन् भनेका छन् । भगवद्गीता दर्शनशास्त्र हो भने भागवत् पौराणिक साहित्य हो ।

सर्वसाधारण मानिसहरुलाई दर्शनको माध्यमबाटभन्दा सरस साहित्यको माध्यमबाट ज्ञान, कर्म र भक्तिको शिक्षा दिन सजिलो बनाउन मात्रै भागवत् सहितका प्रशस्त आख्यान र उपाख्यानमूलक पुराणहरुको रचना गरिएको हो भन्नु पर्दछ । अन्यथा हाम्रो वैदिक दर्शनको सर्वानुस्यूत, सर्वप्रतिसंवेदी प्राणधर्मको द्योतना र पौराणिक साहित्यको प्रेरणाका बीचको प्रस्तुति,संगति र अभिव्यक्तिमा ठूलो फाटो र विसंगति उपस्थिति हुनेछ । विद्वानहरुले यस विषयमा ध्यान पुर्‍याउनु पर्दछ ।

अतएव श्रीकृष्ण जन्माष्टमीलाई आस्था, विश्वास, संस्कृति र परम्परा तथा संस्मरणका रुपमा मनाउनुलाई लौकिक धर्मका रुपमा ग्रहण गर्न सकिन्छ । अर्थात् कृष्णलाई लौकिक वा ऐतिहासिक पुरुष भनेर मान्दा जन्माष्टमी सार्थक हुन्छ ।
श्रीकृष्णको तात्पर्य के हो ? कृष्णको अर्थ कालो रंग हो । व्रजका कृष्णलाई कालो वर्णका व्यक्तित्वका रुपमा वर्णन गरिएको छ । तर यो वास्तविक होइन । यद्यपि ऐतिहासिक वा लौकिक कृष्ण गोरो वर्णकै हुनु हुन्थ्यो । वास्तविक के हो भने भगवानको कुनै वर्ण हुँदैन, कुनै शरीर हुँदैन, कुनै देश र काल पनि हुँदैन । त्यसैले कृष्ण अर्थात् कालो रंग भनेको कुनै पनि रंगको अभाव हो । भगवान् वर्ण रहित हुनुहुन्छ भनिएको हो ।

कालो वर्णको अर्थ अव्यक्त पनि हो,भगवान अव्यक्त सत्ता हो भन्ने यसको तात्पर्य हो । सेतो रंगमा सवै रंग मिसिएको हुन्छ तर कालो रंगमा कुनै पनि रंग हुँदैन । सात रंग, सात वर्ण भनेको यो व्यक्त जगत् हो । त्यसकारण कृष्णलाई जगत्पति भनिन्छ । किनकि कृष्णबाटै जगत्को उत्पत्ति भएको हो । अर्थात् आधुनिक विज्ञानको भाषामा ब्ल्याक होलबाटै जगत्को उत्पत्ति भएको मानिएको छ अहिले सम्म ।

कृष्णको अर्को अर्थ आकर्षण पनि हो । कृष्णको आकर्षण शक्तिको प्रभावले नै यो व्यक्त विश्व ब्रह्माण्ड गतिशील, जीवन्त र अस्तित्ववान रहेकोछ । उदाहरणका लागि हाम्रो सौर्यमण्डलको अस्तित्व पूर्णरुपले सूर्यको आकर्षण शक्तिमा आधारित छ भन्ने तथ्य पनि सर्व विदितै छ ।

श्री श्री आनन्दमूत्र्तिका अनुुुसार श्रीकृष्णका सम्बन्धमा विवेचना गर्नु पर्दा उनलाई व्रजका कृष्ण र पार्थसारथि कृष्ण दुवै भूमिकामा उल्लेख गर्नु उपयुक्त हुन्छ । शब्दप्रमाणका आधारमा भन्नु् पर्दा श्रीमद्भागवत्का कृष्णलाई व्रजका कृष्ण भन्नु पर्दछ भने महाभारतका कृष्णलाई पार्थसारथि कृष्ण भन्नु पर्दछ । आध्यात्मिक दृष्टिमा व्रजका कृष्णको भूमिका सर्वोत्कृष्ट देखिन्छ । किनकि मानिसको चेतनालाई परमहंसको स्तरमा प्रतिष्ठित गराउने तथा मुक्ति मोक्ष प्र्रदान गर्ने परम उपास्य भूमिका यसमा निहित रहेकोछ भने भौतिक दृष्टिमा पार्थसारथिको भूमिका सर्वोत्कृष्ट देखिन्छ ।

किनकि यो भौतिक जगतमा सदासर्वदा सुख दुःख, शीत ऊष्ण र धर्म अधर्म तथा न्याय अन्यायको संघर्ष अनवरत रुपमा चलिरहन्छ । मानिस भित्र दैवी र आसुरी प्रवृत्तिका बीच संग्राममा सधै धर्म र न्यायको प्रेम र सत्यको विजय हुन्छ र हुन्ु पर्दछ । यही यथार्थको बोध गराउनकै लागि महासम्भूतिका रुपमा श्रीकृष्णको आविर्भाव युग युगमा भइरहनुको औचित्य सिद्ध हुन्छ र हुँदै आएको पनि छ ।

अव अन्त्यमा भगवान कृष्णका नामको अगाडि ‘श्री’ अनिवार्य रुपमा जोडिएको हुन्छ । यसको अर्थ यो व्यक्त जगत् प्रकृति पुरुष तथा शिवशक्त्यात्मक छ, राधा कृष्णयुक्त अथवा अर्धनारीश्वरयुक्त छ भन्नु नै हो । भगवान कृष्णलाई भौतिक र आध्यात्मिक दुवैको अभिन्न स्वरुपमा पहिचान गर्नु नै कृष्णको सही उपासना हो । श्रीकृष्णार्पणमस्तु !

Related News

सम्बन्धित समाचार

hero news full width