ज्ञान निर्माणमा बुद्धिजीवी चेत

प्रा. विश्वराज अधिकारी
मंसिर १७, २०७७

“स्वतन्त्र बुद्धिजीवी हुनु भनेको सधैँ जोखिम मोल्नु हो” एडवार्ड सइदको यस भनाइले बुद्धिजीवी चरित्रको धेरथोर चित्र छर्लङ्ग हुन्छ । उनले बौद्धिक भनेको स्वतन्त्र विश्लेषण गर्नु तथा आलोचनात्मक विचार प्रवाह गर्नु भन्ने आशय पनि व्यक्त गरेका छन् । तर साथसाथै कुनै पनि बुद्धिजीवी पूर्ण रुपले स्वतन्त्र हुन नसक्ने कुराको ठोकुवा समेत गरेका छन् । अलबर्ट आइन्सटाइनले यो संसार डरलाग्दो हुनाको कारण खराब मानिस भएर होइन । यो सब ती मानिसको कारणले हो जसले हेरेर बस्छन् आफू केही गर्दैनन् भनेर अत्यन्त सरल निष्कर्ष निकालेका छन् ।

यस लेखमा ज्ञान के हो र यसलाई समाज रुपान्तरणमा कसरी स्थापित गर्ने भन्ने बुद्धिजीवीहरुको भूमिकाको बारेमा आफ्ना विचार प्रस्ततु गर्न खोजिएको छ । यस विषयमा हालसालै खगेन्द्र संग्रौलाबाट अनुवादित लेखहरुको संगालोमा अमेरिकी लेखक हवार्ड जीनको निबन्ध विछताको प्रयोगहरु आधारित भएर बुद्धिजीवीहरुले ज्ञानको प्रयोग गरी सामाजिक रुपान्तरण गर्न सक्ने केही आधारलाई समेटिएको छ । ज्ञानको व्यापक अर्थ लगाउँदा कुनै व्यक्तिले जानेको अथवा मानव समुदायमा अस्तित्वमा रहेको विचारलाई अध्ययन मनन, अनुसन्धान, संश्लेषण तथा विश्लेषण गरी प्राप्त गर्ने विषय हो । अझ भन्नु पर्दा ज्ञान भन्नाले तथ्य वा विचारलाई अध्ययन, अवलोकन तथा अनुभवले तिखारेर प्राप्त भएको विविध विषयगत विचार पनि हो । ज्ञानका विभिन्न प्रकार मध्ये मूलतः साधारण मानिसले दिन प्रतिदिन अनुभव गर्ने, आफ्ना इन्द्रीयहरुले वा क्रियाकलापबाट प्राप्त गर्ने साधारण ज्ञान मुख्य हो । दोस्रो ज्ञान भनेको अरु कसैले उत्पादन गरेको ज्ञानलाई पढेर, सुनेर, प्रयोग गरेर परिमार्जित सामुहिक ज्ञान भनेर बुझ्न सकिन्छ । त्यसैले ज्ञान भनेको कुनै पनि विषयको सैद्धान्तिक तथा व्यवहारिक बुझाइ हो । प्लेटोले ज्ञान भनेको प्रमाणित सत्य विचारलाई मानेका छन् । तथ्य, सत्य, सिप र विषयसँग सम्बन्धित कुनै पनि विचार ज्ञानको घेराभित्र सहजै अटाउन सक्दछन् ।

हरेक क्षेत्रका बुद्धिजीवीहरु आफ्नो ज्ञानलाई तिखारेर समाज निर्माणमा लगाउनुको सट्टा पद प्राप्ति र प्रतिष्ठामा केन्द्रित हुँदा समाजका सबै क्षेत्र ओझेलमा परेका छन् । यहाँ बुद्धिजीवी भन्नाले विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरु मात्र हुन् भन्ने ठानिन्छ तर त्यो सत्य होइन । हरेक क्षेत्रमा आ–आफ्ना ज्ञान र विशेषता बोकेका दक्ष, निपूर्ण र अनुभवी व्यक्तिहरु आफ्नो कर्म गरिरहेका छन् । तर शिक्षा क्षेत्रमा लागेका बुद्धिजीवीहरुको सङ्ख्या संसार भरी धेरै हुनु स्वभाविक छ । दक्ष इन्जिनियर, राम्रो साहित्यकार, सफल प्रशासक, उत्कृष्ट फिल्म निर्माता, वरिष्ठ कृषि वैज्ञानिक, विद्वान् राजनीतिज्ञ, सफल चिकित्सक, वकिल आदि ज्ञान र क्षमतायुक्त बुद्धिजीवीहरु हुन् ।

जुनसुकै पेशा, व्यवसाय वा परम्परामा संलग्न बुद्धिजीवीहरु आ–आफ्नो कर्ममा नविनतम खोजी गर्ने, पेशा वा व्यवसायमा इमानदारी पूर्वक अभ्यास गर्ने तथा आफूले प्राप्त गरेको ज्ञानको समाज र राष्ट्रहितमा लगाउने मान्यता र प्रचलन संसार भरी नै छ । संसारका धेरै गणतान्त्रिक÷प्रजातान्त्रिक देशहरुमा बुद्धिजीवीहरु स्वतन्त्र हुन्छन् । उनीहरुले काम गर्ने संस्थाहरु वा संगठनहरु पनि धेरै मात्रामा स्वतन्त्र हुन्छन् । विधि, नियम, र पद्धतिको बारम्बार मूल्याङ्कन हुने गर्दछ । राजनैतिक परिवर्तन तथा सरकार परिवर्तनले उनीहरुलाई खासै असर पर्दैन । केवल उनीहरु आफ्नो सिप, कला र कौशलमा निपूर्णताको खोजीमा हुन्छन् र त्यसको प्रतिफल सामान्य जनमानसले सजिलै उपभोग गर्न पाउँछन् । तर यी सबै व्यवस्थाका लागि सुशासन, जवाफदेहिता, दण्ड, सजाय र पुरस्कार समेतको नियमित निगरानी र सन्तुलनको अविछिन्न चाजो पाजो मिलाइएको हुन्छ । तर विडम्बना हाम्रा कतिपय सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाहरुमा गरिने काम, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबाट फैसला भएका अनेकौँ निर्णयहरु विवादास्पद, निरिह, निरुत्साहित गर्ने, प्रगति र अग्रगमनको बाटो अवरुद्ध पार्ने खालका हुनुले हाम्रा बुद्धिजीवी मापन गर्ने सम्पूर्ण आधारहरू महादेवबाट भस्मासुरले पाएको बरदान जस्तै हुने त होइनन् भनेर प्रश्न गर्ने परिस्थिति नजिरका रूपमा स्थापित हुँदै छन् ।

हाम्रो मुलुकमा शिक्षा क्षेत्रमा संलग्न बुद्धिजीवीहरुको सङ्ख्या थोरै छ भने अन्य क्षेत्रमा नगण्य उपस्थिति पाइन्छ । तैपनि धेरै तथाकथित प्रमाणपत्र धारी स्वघोषित बुद्धिजीवीहरु देशै भरिका सरकारी, निजी तथा सामुदायिक शैक्षिक संस्थामा संलग्न छन् । यी सबै खालका तमाम बुद्धिजीवीहरुका आआफ्ना स्वार्थले काम गरिरहेको अनुभव गरिएको छ । सरकारी विद्यालय वा विश्वविद्यालयमा कार्यरत शिक्षक प्राध्यापकहरु सरकारी तलब भत्ता बुझेर अन्यत्र राम्रो आय आर्जनमा लगानी केन्द्रित गरेका पनि छन् । विदेशी योजना र स्वार्थ अनुकूलका गैह्र सरकारी संस्थाहरुमा संलग्न भएका डलर प्रेमीको संख्या पनि उल्लेख्य पाइन्छ । थोरै सङ्ख्यामा शिक्षक प्राध्यापकहरु मात्र आफ्नो पेशामा क्रियाशील देखिन्छन् । अन्य केही बुद्धिजीवीहरु विभिन्न सङ्घ संस्थाका नेता तथा पदाधिकारीहरु पद र प्रतिष्ठाको खोजीमा आआफ्ना गुट र उपगुटलाई प्रयोग गर्दै आएको यथार्थ हाम्रा सामु छँदैछ । त्यसै गरी निजी क्षेत्रमा संलग्न बुद्धिजीवीहरु सकेसम्म सोझा र निमुखा वर्गका सपनाहरुलाई भजाएर कुलीन अर्थ व्यवस्थाको पक्षपोषण गरी अति उच्च आर्थिक हैसियत बनाउन लालयित भएको पाइन्छ । शिक्षा क्षेत्र बाहेकका अन्य क्षेत्रहरुमा उच्च तहका कर्मचारी, सेना, प्रहरी, कृषि, वन तथा स्वास्थ्यमा संलग्न बुद्धिजीवी स्पष्ट नीतिको अभाव र जे गरे पनि छुट पाइने राज्य प्रणाली गर्दा सबै खालका दुष्कर्म गर्न पछि नपर्ने अवस्था सिर्जना भएको छ ।

वास्तवमा बुद्धिजीवी भनेका देश र समाज रुपान्तरण गर्ने महत्त्वपूर्ण साधन हुन् । यस्ता साधनहरुको उचित प्रयोग राज्यले गर्नु पर्ने हो । विश्वविद्यालयमा संलग्न प्राध्यापकहरुको मूलभूत दायित्व अध्ययन अनुसन्धान तथा ज्ञानको सम्प्रेषण गर्नु नै हो । खुलेआम पार्टीको वकालत गरी तल्लो तहको राजनैतिक प्रतिस्पर्धामा उत्रिने भएकाले आफ्नो पेशा र ज्ञान निर्माणमा संलग्न हुने अवस्था सिर्जना हुन सकेको छैन । संसारका अन्य मुलुकका बुद्धिजीवी तथा प्राध्यापकहरु आआफ्नो जिम्मेवारीमा पूर्ण उत्तरदायी हुने गर्दछन् । त्यसैले आफै विद्यार्थी छनोट गर्ने, आफै पाठ्यक्रम तयार गर्ने, अध्यापन गरी मूल्याङ्कन समेत गरिँदा कसैले प्रश्न गर्न नसक्नु स्वतन्त्रताको उच्चतम उदाहरण हो । शायद नेपाल मात्र त्यस्तो देश हो जहाँ बुद्धिजीवी भनिने सबै मानिस राजनीति गर्दछन् । राजनीति गर्न नहुने विषय भने पक्कै होइन तर आफू र आफ्नाको मात्र लाभ हुने काम गर्दा संस्थाहरुको दुर्गति भएको देखिन्छ । हाम्रा सबै जसो विश्वविद्यालयहरु शैक्षिक तथा प्राज्ञिक स्वतन्त्रताको केन्द्र बन्न सकेका छैनन् । यसको डरलाग्दो असर शिक्षा क्षेत्रमा देखिन थालेको अनुभव सर्वत्र गरिँदै छ । यिनै सन्दर्भमा अमेरिकी विद्वान् हवार्ड जीनको अनुवादित निबन्ध “विध्वताका प्रयोगहरु” लाई मनन गर्दै आफ्ना धारणा राख्न उचित ठान्दछु ।

बुद्धिजीवीहरुले आफ्नो विद्वताको निष्पक्ष प्रयोग गर्न सक्नु पहिलो अनिवार्य शर्त मान्ने गरिन्छ । आफूले प्राप्त गरेको ज्ञानको पूर्वाग्रह रहित सम्प्रेषण गर्नु बुद्धिजीवी हुनु हो । जसरी कक्षामा अध्यापन गर्दा सबै विद्यार्थीहरूलाई समान विषय वस्तुको जानकारी दिइन्छ त्यसै गरी समाजमा ज्ञानको प्रचार प्रसार निष्पक्ष भएर गर्नु पर्दछ । असत्य र झूटको खेती गरेर देश र जनताको विचल्ली पार्ने खराब विधि विधानको निर्ममता पूर्वक खण्डन गर्न सकनु नै निष्पक्षता हो । तर आजको अवस्थामा बुद्धिजीवीहरु निष्पक्षताबाट भन्दा पूर्वाग्रह बाट ग्रसित देखिन्छन् । यसको कारण ज्ञानको कमी हुनु वा सत्यको वकालत गर्न थरथरी काप्नु नै हो । हाम्रा तमाम क्षेत्रका बुद्धिजीवीहरु यिनै मध्ये कुनै एक कुराबाट ग्रसित भएका भने पक्कै छन् ।

दोस्रो महत्त्वपूर्ण कुरा भनेको वैज्ञानिकतामा आधारित वस्तुनिष्ठ विश्लेषण हो । वैज्ञानिकता भन्नाले विधिपूर्वक गरिएका अध्ययन र अनुसन्धानका निष्कर्षहरू हुन् र तीनको नियम संगत अकाट्य मान्यताहरुलाई अनुसरण गर्ने तौर तरिका हो । कुनै परिस्थिति र परिवर्तनलाई विश्लेषण गर्दा सामाजिक सञ्जाल तथा धुन्धकारी मनगढन्ते सूचनाका आधारमा आआफ्ना दृष्टिकोण बनाउँदा सही र सत्य निष्कर्षमा पुग्न सकिँदैन । कुनै पनि घटना परिघटनाको सतही विश्लेषणले दूरगामी असर पार्न सक्ने कुराको आँकलन गर्दै बुद्धिजीवीहरुले सत्य र तथ्यमा आधारित भविष्यलाई समेत दृष्टिगत गरी बस्तुनिष्ठ विश्लेषण गर्नु अपरिहार्य हुने गर्दछ ।

अर्काे मनन गर्नु पर्ने तर्क भनेको बुद्धिजीवीहरु आफ्नो ज्ञान प्राप्तिप्रति दृढ हुनु हो । ज्ञानको श्रोत सत्यताको विश्वव्यापी मान्यता र प्रयोगबाट प्राप्त हुन्छ । ईश्वरीय ज्ञान, आध्यात्मिक तथा अलौकिक ज्ञान तपस्या, आराधना, भक्ति र योगबाट प्राप्त भएझै भौतिक र सांसारिक ज्ञान तथ्य र प्रमाण, परीक्षण र निरीक्षण अनि त्यसको प्रयोगबाट आएका अनुभव र असरबाट प्राप्त हुने गर्दछ । यसरी संश्लेषण र विश्लेषण गरी उत्पादन भएको ज्ञानमा दृढ हुनु र अनेकौ विषम परिस्थितिमा पनि त्यसलाई आत्मसात गर्नु बुद्धिजीवीहरुको स्वःधर्म ठहर्छ । कुनै पनि विषयमा तटस्थ हुनु भने ज्यादै कष्टकर विषय हो । प्रायः बौद्धिक जगत एक न एक पक्षधरताको वकालत गरेर जीवन व्यतित गर्दछन् । पक्षधरताले विवेक शून्यमा झार्दछ, तर्क शिलतालाई कमजोर तुल्याउँछ, आत्मकेन्द्रित र घमण्डी बनाउँछ । निहित स्वार्थ र अपनत्वको भावनालाई त्यागेर सामाजिक उत्तरदायित्व बहन गर्ने बुद्धिजीवीले तटस्थ भएर आफ्नो ज्ञानको उपयोग गर्नु सर्वथा प्रभावकारी भूमिका अन्तर्गत पर्दछ ।

हवार्ड जीनका अनुसार भावनाबाट जोगिनु बुद्धिजीवीहरुको अनिवार्य शर्त हो । हामीले देखेका र भोगेका कतिपय राजनैतिक तथा सामाजिक उथलपुथलहरु भावनाबाट अनियन्त्रित बहुलठ्ठी प्रदर्शनका उपज हुन् । युद्ध, राजनीति, राष्ट्रियता, धर्म, जात, न्याय, भ्रष्टाचार आदि मूर्त तथा अमूर्त विषयवस्तुहरू व्यक्ति विशेषका भावनाबाट टाढा राख्नु बौद्धिकताको परिचय हो । कुनै पनि विषयको वस्तुनिष्ठ आलोचनात्मक चेतको विकास गर्ने काम बुद्धिजीवीहरुको हो किनभने उसले गरेका कल्पनालाई मूर्त रूप दिने, समाज विकासको बाटोमा डो¥याउने, अनेकौँ विभेदमा खुलेर प्रतिक्रिया दिने, चेतना जगाउने र आमूल परिवर्तनको फल सबैलाई भाग लगाउने कार्यमा ऊ सहभागी हुनै पर्छ ।

तर विडम्बना हाम्रो देशमा बुद्धिजीवीहरुको अवमूल्यन दिनानुदिन भएको छ । विभिन्न कर्म क्षेत्रमा लागि परेका बुद्धिजीवीहरुले प्राप्त गरेका ज्ञानका श्रोतहरु खिया लागेर सकिएका छन् अथवा विदेशमा रगत र पसिनासँग साटिएका छन् । कि त कसैको स्वार्थ परिपूर्तिका लागि हात जोरिरहेका छन् । नेपाली माटोमा हुर्किएका होनाहार डाक्टर, इनिजनियर, भौतिक शास्त्री, गणितज्ञ, अर्थशास्त्री, राजनीति शास्त्री तथा अनेकन आविष्कारकहरु अमेरिका, युरोप तथा अन्य विकसित राष्ट्रहरूका अनुसन्धान केन्द्रहरूमा रातो दिन घोटिएका प्रशस्त उदाहरण हामी सबैसँग छन् । उनीहरुलाई कर्ममा दृढ हुन् र भावनाबाट माथि उठ्नु, स्वतन्त्र हुनु र तटस्थ हुन कसैले रोकेका छैनन् । त्यसैले स्वतः स्फूर्त ज्ञानको किन बेच राष्ट्रको हितमा हुने गर्दछ । तर हाम्रा बुद्धिजीवीहरु निहित स्वार्थ र सानो कोटरीमा रमाउने, घमण्ड र दुराग्रहले मैमत्त साढे भएपछि उनका कुराको सुनुवाई कसले गर्ने ? किन गर्ने ? अझ राजनीति गर्ने पात्रहरुले बुद्धिजीवीहरुको कुरा किन बुझ्ने ? किन सुन्ने ? यस्ता प्रश्नहरुको उत्तर बुद्धिजीवी कहलाउने व्यक्तिहरु आफैले खोज्नु बढी सान्र्दभिक हुन आउँछ ।

मेरो विचारमा अहिलेका यावत् समस्याका पछाडि ज्ञानको उचित प्रयोग नभएको परिस्थितिले सिर्जित अस्थिर राज्य प्रणालीको सर्वत्र गतिहीनता मान्न सकिन्छ । नैतिकता, जवाफदेहिता, उत्तरदायित्व बहन गर्ने क्षमता, आत्मविश्वास र जिम्मेवार बन्नु आजका बुद्धिजीवी मात्र नभई अन्य तह र तप्काका सचेत नागरिकको कर्तव्य हो । अनिर्णय र अनिश्चयताले निम्त्याएका अनेकन समस्याहरुको गाँठो फुकाउने जिम्मा धेरथोर, बुद्धिजीवीहरुको काँधमा आउनु स्वभाविकै हो । तर हामी बुद्धि विकाउ कर्ममा लाग्ने सबै यथास्थितिका रमिते हुँदा आफूले प्राप्त गरेका न्यूनतम उपलब्धिहरु र वैयक्तिक स्वतन्त्रता धरापमा पर्ने सम्भावना उत्तिकै टड्कारो देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width