कीर्तिका अविश्मरणीय कीर्ति

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७

कीर्तिराज बराल ( साइला बा ) अव भौतिक रुपमा हामी सामु रहनु भएन भनेर लेख्नु पर्दा धेरै कठीन भएको छ । यो कठीन र असजहताले उहाँँप्रति मभित्र निर्माण भएका उच्च सद्भाव र अविस्मरणीय क्षणहरु र उहाँले समाजका लागि पुर्‍याउनु भएका शैक्षिक, धार्मिक, सामाजिक आदि महत्वपूर्ण योगदानहरु छोपिन पुगे भने अर्को ठूलो पीडा हुने कुरालाई महसुुस गरी उहाँँको १३ औं पुण्य तिथिका दिन मेरो जाग्रत मानसिकतामा छचल्किएका स्मृतिका केही शब्दहरुका साथ उहाँँप्रति श्रद्धाञ्जली अर्पण गर्न यो रुपमा उपस्थित भएको छु ।

श्रद्धाञ्जलीका यी स्मृतिहरु लेखिराख्दा आत्मा कहिल्यै मर्दैन भन्ने श्रीमद्भागवत गीता र सद्विचार, व्यवहार र उच्च चेत भएकाहरुको स्वर्गमा वास हुन्छ भन्ने गरुण पुराणको भावलाई मनन गर्दा केही लेख्ने शक्ति सञ्चित हुँदो रहेछ । मुत्यु एक शास्वत सत्य हो र यो सत्यलाई जसले जति छिटो बुझ्दछ र स्वीकार गर्दछ उ त्यति नै धेरै सुखी, शान्त र संयमित रहन्छ भनेर हामीलाई सधैं भर स्मरण गराइरहनु भयो साइँला बाले । आध्यात्मिक चेतनाका कारण साइँला बाको अमर आत्माले सुख र शान्ति भावका साथ स्वर्गमा महत्वपूर्ण स्थान पाएको छ भनेर उहाँँको अनुपस्थितिमा आउने सबै खाले रिक्तताहरुलाई बिर्सन प्रयास गर्नुवाहेक हामीसँग अरु कुनै विकल्प रहेनन् ।

मृत्यु शास्वत छ । जन्मेपछि मर्नु पर्ने यो प्राकृतिक नियमलाई ढिलो चाँडो सबैले स्वीकार गर्र्नै पर्दछ । तर यो संसारमा एकाध व्यक्तिहरु उनका कृति, विचार, व्यवहार, संस्कार र प्रवृत्तिका कारण मरेपछि पनि बाँचिरहने उच्च कोटीको मरण मर्ने गर्दछन् । सामाजिक मानसपटलमा ताजा स्मरण वनेर प्रेरणा स्रोतको रुपमा स्थापित भई नै रहन्छन् । भौतिक रुपमा मरेर जानेहरुका लागि मरेपछि पनि बाँचिरहने यो प्रक्रियाले खासै अर्थ नराखे पनि भौतिक रुपमा बाँच्नेहरुका लागि भने मरेपछि पनि बाँचिरहने यस्ता महान आत्माहरुबाट प्राप्त हुने शक्तिले हरेक व्यक्तिको व्यक्तिगत र सामाजिक जीवनलाई पथप्रदर्शन गरिरहेको हुन्छ ।

शिक्षक र गुरुको बीचमा देखिने फराकिलो अन्तरलाई उहाँको समकालीन समाजले स्पष्टसँग देख्न र महसुस गर्न सक्ने गरी आफूलाई खरो उतार्नुभयो

सवै मानिसका सबै कीर्तिहरुले लिपिवद्ध भएर कुनै पुस्तकको आकार लिनुपर्छ भन्ने छैन । अलिखित रुपमा पनि मानिसबाट व्यक्त हुने वाणीहरु र सामाजिकरुपमा प्रदर्शन भइरहने उसका सद्विचार, व्यवहार, संस्कार र मूल्य मान्यताहरु पनि महान कीर्तिकारुपमा जीवन्त रहने गर्दछन् । कीर्तिराज बरालबाट लिखित कीर्तिहरुमध्ये केही लेख रचनाहरु एकाध रुपमा प्रकाशित भएका भएका छ् । उहाँँद्वारा लिखित तर अप्रकाशित रहेका लेख, कथा, नाटक, कविता आदिका थुप्रै पाण्डडुलिपीहरु प्रकाशनको प्रतीक्षामा छन् । यसलाई उपयुक्त समयमा प्रकाशन गर्ने जुन इच्छा दाजु शंकरराज बराल (कीर्तिराजका जेठा छोरा) ले गर्नु भएकोले यसले हामी सबैलाई खुसी बनाएको छ । यसका साथै उहाँँका अलिखित कीर्तिहरु र त्यसले पार्ने प्रभावलाई यो सानो लेखमा सीमाबद्ध गर्न त्यति सजिलो अवश्य पनि छैन । तर पनि उहाँँलाई चिन्ने जो कोहिका लागि उहाँँको व्यवहार र संस्कारमा देखिने उहाँका कीर्तिहरु चिरकाल सम्मका लागि अविश्मरणीय भएर बाँचिरहने छन् ।

उहाँले लामो समय सम्म आफूलाई नेपालको शिक्षाको क्षेत्रमा समर्पण गराए । रतन पाण्डे माध्यमिक विद्यालय, आर्बा, भद्रकाली माध्यमिक विद्यालय, कुँडहर, गण्डकी आवासीय माध्यमिक विद्यालय लामाचौर र भवानी कालिका माध्यमिक विद्यालय, घारिपाटनमा विभिन्न समयमा सफलता पूर्वक अध्यापन गराएर सेवानिवृत्त हुनुभयो । शिक्षण पेसामा रहेर अध्यापन गर्दाको उहाँँको सबैभन्दा ठूलो विशेषता के रह्यो भने उहाँँ कहिल्यै पनि शिक्षक हुनु भएन । एउटा गुरुको रुपमा उहाँले आफूलाई सम्पूर्णरुपमा समर्पित गर्नुभयो । शिक्षा क्षेत्रको एउटा उदाहरणीय व्यक्तिको रुपमा आफ्नो पहिचानलाई दर्बिलो तरिकाले स्थापित गराउनुभयो । शिक्षक र गुरुको बीचमा देखिने फराकिलो अन्तरलाई उहाँको समकालीन समाजले स्पष्टसँग देख्न र महसुस गर्न सक्ने गरी आफूलाई खरो उतार्नुभयो । मैले यहाँनेर शिक्षक र गुरुको यो प्रसंगलाई किन पनि उठाइरहेको छु भने शिक्षक मस्तिष्कबाट निर्देशित हुँदो रहेछ र गुरु हृदयबाट । मस्तिष्क स्वार्थी, लोभी र नाफा नोक्सानको हिसाब किताब राख्ने बानियाँ प्रवृत्तिको हुन्छ भने हृदय इमान्दार । शिक्षकले तलब, भत्ता, बढुवा र अन्य सुविधाका लागि काम गर्दछ । गुरुले प्रेम, सद्भाव र हार्दिकताका साथ विद्यार्थीको जीवन र उसको सम्यक भविष्यका निम्ति काम गर्दछ । विद्यार्थीको असल चरित्र निर्माण र त्यसका लागि आवश्यक पर्ने लगन, अनुशासन र प्रतिवद्धता गुरुको केन्द्रीय भूमिकामा पर्दछ । कीर्तिराज बरालले जुन जुन विद्यालयहरुमा अध्यापन गराउनुभयो ती सबै ठाउँबाट प्राप्त जानकारीहरुको आधारमा उनले आफूलाई सँधैभर गुरुकैरुपमा स्थापित गराउनुभयो । उहाँले सधैंभर विद्यार्थीहरुलाई मस्तिष्टकबाट होइन हृदयबाट पढाउनु भयो र वर्तमान समयमा हराउँदै गएको गुरुको दियोलाई आफ्नो जीवनकालभरि सफलतापूर्वक बालिरहनु भयो ।

शिक्षा क्षेत्रको विकासको कुरा गर्दा आर्बास्थित रतन पाण्डे माध्यमिक विद्यालयलाई कास्की जिल्लाकै एउटा नमुना विद्यालयको रुपमा स्थापित गरेर यसैको माध्यमबाट आर्बाको विकासका थप सम्भावना खोज्न सकिने बलियो तर्क उहाँको थियो । शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेर उहाँसँग हुने हरेक भेटमा यस विद्यालयप्रति देखिने उहाँको गम्भीर चासो र चिन्ताभित्र शिक्षाप्रतिको उहाँको लगाव र प्रेमलाई स्पष्टसँग बुझ्न र महसुस गर्न सकिन्थ्यो । यस रतन पाण्डे माध्यमिक विद्यालयललाई आध्यात्मिक (हृदयको शिक्षा), प्राविधिक (हातको शिक्षा) र हामीले दिँदै आएको शिक्षा (मस्तिष्कको शिक्षा) मार्फत् उहाँ हृदय, हात र मस्तिष्कको सुन्दर संयोजन गरेर यस विद्यालयमार्फत् अहिले वर्तमान शिक्षा व्यवस्थाभित्र देखिएको अपुरो भागलाई पूरा गर्न गराउन चाहनुहुन्थ्यो । विद्यालयको व्यवस्थापन समितिमा रहेर उहाँले कार्य गर्दा शैक्षिक विकासका निम्ति गरेका प्रयासहरु अनुकरणीय छन् । तापनि सबै आर्बाली जनताको विश्वासको केन्द्रको रुपमा रहेको यस विद्यालयले आशातीत सफलता प्राप्त गर्न नसक्नुको कारणहरुको खोजी गरेर उहाँको परिकल्पना अनुसार यस विद्यालयका शैक्षिक गतिविधहरुलाई अगाडि वढाउन सकिने हो भने यो उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने थियो ।

जीवनको लामो समयसम्म शिक्षण पेसामा संलग्न भएर पनि बाँकी समयमा उहाँले आफूलाई विभिन्न सामाजिक धार्मिक गतिविधिहरुमा उत्तिकै क्रियाशील राखेर बाँच्नुको अर्थलाई थप सार्थक बनाई नै रहनुभयो । आर्बाको शिरमा रहेको महाप्रभु धामलाई धार्मिक पर्यटकको रुपमा स्थापित गराएर धार्मिक पर्यटनको माध्यमबाट आर्बालीको आर्थिक सामाजिक जीवनको रुपान्तरणका लागि उहाँले गर्नु भएका प्रयासहरु अनुकरणीय छन् । यस सम्बन्धमा पटक पटक उहाँबाट अभिव्यक्त भएका धारणाहरुले निश्चय पनि भोलि एउटा सशक्त आकार लिने छ । त्यसको जगमा उभिएर आर्बालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा स्थापित गराउने उहाँको सपनालाई उहाँका परिवारका जिम्मेवार सदस्य र उहाँ हुर्के बढेको समाजले पूरा गर्न सक्यो भने यो उहाँप्रतिको सबै भन्दा ठूलो श्रद्धाञ्जली हुने छ । उहाँको धेरै सन्निकटमा रहेर मैले साँइला बालाई जुनरुपमा जसरी बुझ्न सकेको छु त्यसको आधारमा मैले यसो भन्ने हक राखेको छु । उहाँ वास्तवमै आर्बाको प्रभुधामलाई धार्मिक पर्यटनकारुपमा विकास गर्न सकिने र त्यसको तागतबाट आर्बालीको आर्थिक रुपान्तरण गर्न सकिने कुरामा दृढ निश्चयी हुनुहुन्थ्यो ।

हरेक भेटमा त्यसैलाई प्राथमिकतामा राखेर कुरा गर्नु हुन्थ्यो । हामीलाई घच्घच्याइ रहनु हुन्थ्यो । साइँला बा, तपाईंले देखेको त्यो सपना अधुरै छ त्यो हामीलाई रामै्रसँग थाहा छ । तपाईंले देखेको त्यो अधुरो सपनालाई पूरा गर्न तपाईंले हुर्काए, बढाएका र सिकाएका हामीहरु अझै छौं । तपाईंको हृदयको स्पन्दनलाई हामीले रामै्रसँग सुनेका छौ । हामीलाई स्वर्गको चुचुरोबाट हेरिरहनु होला र आशीर्वाद दिइरहनु होला । आज तपाइँको १३ औं पुण्य तिथिको दिन तपाईंको फोटोलाई छोएर आर्बाको महाप्रभु धामलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने तपाईंको अधुरो सपनालाई धेरै छिटै पूरा गर्ने संकल्प गरेका छौं ।

उहाँको आजको यो १३ औं पुण्य तिथिका दिन उहाँले आर्बाको धार्मिक, शैक्षिक, सांस्कृतिक विकास र त्यसको संरक्षण र सम्वद्र्धनका लागि कति धेरै चासो र महत्व राख्नु हुन्थ्यो भन्ने कुरालाई थप स्मरण गराउन पनि आवश्यक ठानेको छु । आर्बाको उत्पत्ति र यसको नाम रहनुको कारण, महाप्रभुधामको धार्मिक महत्व र यसको पृष्ठभूमि, आर्बाभित्र रहेका मठ मन्दिर र यिनको धार्मिक महत्व, आर्बाभित्र प्रचलनमा रहेका अन्य सांस्कृतिक सम्पदा जस्तै भजन टुक्काहरु, झारफुक मन्त्रहरु, पाटी पौवा, चौतारा र पोखरीहरु, विवाह व्रतबन्धका हाम्रा संस्कार र चलनहरु आदि विषयमा उहाँले अत्यन्त गहिरो जानकारी राख्नुहुन्थ्यो । यसबारेमा जानकारी राख्ने अन्य धेरै अग्रजहरुको देहान्त भइसकेको र त्यसलाई समयमै लिपिबद्ध गरेर संरक्षण गर्न सकिएन भने हाम्रो भावी पुस्ता यस सम्बन्धमा अनभिज्ञ रहने छ । यसैलाई आधार मानेर आर्बाको सम्पूर्ण विशेषताहरुलाई लिपिबद्ध गरिदिन मैले गरेको यो अनुरोधलाई उहाँले आफ्नो जीवनको उत्तरार्धको समयमा पनि जुन उत्साह र क्रियाशीलताका साथ समयको व्यवस्थापन गरेर आर्बाको परिचय भन्ने एउटा लामो आलेख लेखिदिनु भयो । यसले हामी सम्पूर्ण आर्बालीहरुलाई ऋणी बनाएको छ । उहाँद्वारा लिखित उक्त आलेखलाई एउटा पुस्तकका रुपमा प्रकाशन गर्नुभन्दा अगाडि यसमा उल्लेख भएका कतिपय सूचना र तथ्यांकहरुको सबै आर्वालीहरुद्वारा अपनत्व ग्रहण गर्न सक्ने गरी सार्वजनिक गर्नु पर्ने आवश्यकतालाई वोध गरी यस सम्वन्धमा रुची र थप केही जानकारीहरु राख्न सक्ने केही अग्रजहरुलाई १/१ प्रति फोटो कपी वितरण गरिएको पनि थियो । उहाँद्वारा लिखित यस आलेखलाई थप आकर्षक, परिपक्क र आधिकारिक बनाउन जुन जुन अग्रजहरुलाई कपी वितरण गरिएको थियो उहाँहरु मध्ये केही थोरै अग्रजहरुबाट मात्रै केही सुझाव र सूचनाहरु प्राप्त भएको थियो । केही अग्रजहरुबाट अझैसम्म पनि कुनै किसिमको पृष्ठपोषण नपाइएको र पछिल्लो समयमा मेरो आफ्नो व्यस्तताका कारणले पनि यसको प्रकाशनमा ढिला हुन गएको हो । यसका लागि साइँला बासँग हार्दिकरुपमा क्षमा माग्न चाहन्छु । यो आलेखलाई धेरै छिटै प्रकाशन गर्ने प्रतिवद्धता उहाँको १३ औं पुण्यतिथिमा व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

यहाँनेर उहाँको जीवनको एउटा अत्यन्त महत्वपूर्ण कुरा के पनि स्मरण गराउँ भने प्रजातन्त्र र लोकतन्त्रप्रतिको अटुट विश्वास भएका कारण उहाँ नेपाली कांग्रेससँग जीवन पर्यन्त आवद्ध हुन पुग्नु भयो र हामीलाई प्रजातन्त्र र लोकतन्त्रको महत्व र गरिमाका बारेमा सँधै भर प्रशिक्षित गरिने रहनुभयो । राजनीतिप्रतिको उहाँको संलग्नता कुनै सत्ता प्राप्ति र सुख भोगका लागि थिएन । उहाँ प्रजातन्त्रलाई आफ्नो आदर्श मान्नुहुन्थ्यो । प्रजातान्त्रिक संस्कार र सभ्यताभित्र मात्रै समग्र समाजको विकास सम्भव हुने कुरामा उहाँ विश्वस्त हुनुु हुन्थ्यो । उहाँ हामीलाई सम्झाउनु हुन्थ्यो । राजनीति भनेको संस्कार हो । राजनीतिमा संस्कार, इमान्दारिता र चरित्र हरायो भने भ्रष्टाचार मौलाउँछ र भ्रष्टाचारले समाजलाई समुल नष्ट गर्दछ । योे उहाँको केन्द्रय वुझाई थियो । उहाँमा आम मानिसमा हुने भन्दा फरक अर्कोे एउटा अनौठो किसिमको प्रवृत्ति के पनि थियो भने उहाँ सवैलाई समभावका साथ हेर्नु हुन्थ्यो र व्यवहार गर्नु हुन्थ्यो । नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा पनि अन्य राजनीतिक विचार राख्नेहरुलाई उहाँले देखाउने सद्भावपूर्ण व्यवहारकाप्रति हामीले कहिँ कतै असन्तुष्टि राख्यौं भने हामीलाई सम्झाउनु हुन्थ्यो । भन्नुहुन्थ्यो, राजनीति एउटा कुरा हो र व्यक्तिगत र सामाजिक जीवन अर्को कुरा हो । हामीले कहिल्यै पनि राजनीतिको आग्रह र पूर्वाग्रहभित्र रहेर सामाजिक र व्यक्तिगत जीवनलाई खलल पार्ने गरी कुनै पनि काम गर्न गराउन हुँदैन । व्यक्ति अनुशासन, नैतिकता र चरित्रले अगाडि बढ्ने कुरा हो । इष्र्या, घृणा र पूर्वाग्रहले हामीलाई कहिँ पनि पुर्‍याउँदैन । बाबा, तपार्इंका यी अमृत वचन र वाणीहरुलाई हामीले कति धेरै सुरक्षित राख्न सक्दछौं र त्यसलाई व्यवहारमा उर्तान सक्दछौं भन्ने कुरामा अत्यन्त सचेत र जिम्मेवार छौं । तपाईंका यी सद्विचारहरुले हाम्रो बाँकी जीवनलाई पथ प्रदर्शन गरिनैरहने छन् भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं । माथि उल्लेखित यिनै शब्द सुमनका साथ बाबाप्रति पुन एक पटक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र अमर आत्माको वैकुन्ठ वासका निम्ति भगवानसँग भक्तिभावका साथ प्रार्थना गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width